वैवाहिक हिंसाका सामाजिक दाग

सम्बन्धबाट प्रताडित भएर एकै ठाउँ जकडिनु विवाह संस्था बचाउनु होइन कि मक्किएको घरमा बस्नु जत्तिकै हो, जुन घर जुनसुकै बेला भत्किन सक्छ ।
सुशीला शर्मा

मार्च महिना महिलाका विषयमा बहस, छलफल, वकालत, सेलिब्रेट गरेर मनाइने महिना हो भनिन्छ । महिलासँग सम्बन्धित घरेलु समस्यादेखि लिएर कैयौं मुद्दा उजागर पनि भई नै रहेका छन् । हुन त एकथरी मानिस रिसाउन सक्छन्, नेपालमा लेख्ने र दुखेसो पोख्ने अरू कुनै अस्त्र छैन भनेर । त्यस्तै परे डलरे, पश्चिमा पनि भन्दिन सक्छन् । तर धर्मविरोधी पनि नभईकन र सबै कुरा पश्चिमले भनेअनुसार गर्नुपर्छ नभनीकन हामीले भन्नुपर्ने धेरै कुरा रहेछन् । विशेष गरेर महिलाका सन्दर्भमा । 

वैवाहिक हिंसाका सामाजिक दाग

अनेक खालका यौनजन्य विकृति, बलात्कारजन्य अपराध फैलिएकै छन् हाम्रो समाजमा । कलिला मुनाहरू बलात्कृत हुने, कतिपयले आत्महत्या गर्ने, जातको आधारमा पूरै समाज खनिएर किशोरकिशोरी मारिनुपर्ने जस्ता घटना हाम्रो समाजका परिचय बनेका छन् । ती घटनामा धर्म, समाज, संस्कृति, रीतिथितिले प्रमुख भूमिका खेलेका छन् । तर, विश्वमै पवित्र र वैज्ञानिक खोज गर्न सकिने भनिएका शास्त्रार्थ पनि एसियामै छ, अझ भारत–नेपाल लगायतका हिन्दु बाहुल्य समाजमा त धर्मलाई सामाजिक नियमका रूपमा अभ्यास नै गरिन्छ । तर यही अभ्यासभित्रैबाट हामीले गरिआएका सामाजिक, सांस्कृतिक अभ्यासमा कहीं त्रुटि छ कि, कुनैलाई छोड्नुपर्ने पो हो कि या परिमार्जन गर्नुपर्ने हो कि भन्न खोज्दा कतिपयको आँखी हुन पुग्छौं । केही समुदाय छन्, जोसँग सबैथोक छ– शिक्षा, सम्पत्ति, देश–परदेशका अनुभव, राम्रो जागिर या सरसंगत । उनीहरू हाम्रो संस्कृति जोगाउनुपर्छ भन्दै अनेक आध्यात्मिक र धार्मिक पर्यटन गर्दै हिँडी पनि रहेका हुन्छन् । एकातिर पश्चिमा भनिएका सबै संसाधनको उपभोग गर्ने र अर्कोतिर आफ्ना रीतिथिति, जात, धर्म, संस्कृति जोगाउन पर्दैन भन्दै हप्काउन पनि पछि पर्दैनन् ।

तर जो सांस्कृतिक मान्यतालाई फलो गरिरहेका छन्, जो पौराणिक कथालाई ध्रुवसत्य मान्दै पछ्याइरहेछन् अनि आधुनिकतातर्फ आकर्षित पनि छन्, तिनीहरूलाई हो यी धर्मकर्मले गाँजेको । हामीलाई हाम्रा धर्म संस्कारले दयालु हुन सिकाउँछ, त्यहीबेला फेरि ईर्ष्या पनि सिकाउँछ । परम्परागत हुन सिकाउँछ, त्यतिबेलै आधुनिक र बजारवादी दुनियाँमा फिट हुनुपर्छ भन्ने पनि सिकाउँछ । हामीलाई अंग्रेजी नयाँ वर्षले पनि तान्छ र नेपाली नयाँ वर्ष त झन् मनाउनैपर्‍यो । हामी विवाह पञ्चमीलाई पनि सीता दिवस भन्दै मान्छौं र उता भ्यालेन्टाइन्स डे पनि मन पराइरहेकै छौं । यस्तो स्थितिमा हामी ढोंगी भइरहेछौं । राम नाम, कृष्ण भजन सबै जपिरहेछौं । पुराणका कथा वाचन गर्दै हिँड्ने युवा बाबाजीहरू पनि निस्किएका छन् । त्यो एउटा व्यवसाय र आफ्नो संस्कृति जोगाउने सिलसिलामै आइरहेको छ ।

ज्ञान बाँड्ने मान्छे एकदम निष्कलंक र नैतिकताको कडीमा खरो उत्रनुपर्छ भन्ने हामीलाई लाग्छ । शुद्ध विचार, शुद्ध आनीबानी, शुद्ध व्यवहार एक पण्डितबाट आशा गर्छौं । हुन त समाजमा नैतिकता र कर्मकाण्ड सिकाउने थुप्रै स्वामी महाराज छन् । तर आशाराम बापु, राम रहिमजस्ता निर्दयी र हिंसात्मक पनि थिए भन्ने कुरा बाहिर नआएका होइनन् । त्यो क्रम आधुनिक समाजमा पनि धार्मिक शास्त्रलाई आफ्नो जीवनयापन बनाएका युवा पण्डितमा नसर्ला भन्न सकिएन । हालै एक महिलाले आफ्ना श्रीमान् कथावाचक पण्डितले आफूलाई गुमराहमा राखेर अन्य महिलासँग सम्बन्ध बनाएको सार्वजनिक गरिन् । अरू महिला पीडित नहोऊन् भन्नका लागि ‘पण्डित’, ‘महाराज’ को छवि बनाएर समाजमा ख्याति कमाउनेहरूको भित्री कर्तुत खोल्नुपरेको उनको भनाइ थियो । उनको दाबी मान्ने हो भने उनी तीन वर्ष अगाडि ती पण्डितसँग वैवाहिक जीवनमा गाँसिइन् । तर, केही समयपश्चात् अन्य महिलासँगको सम्बन्धबारे शंका उठ्न थाल्यो । बिहे अगाडिका सम्बन्ध जेसुकै हुन्, ती कुरा बिर्सेर अगाडि बढ्न चाहे पनि विवाहेत्तर सम्बन्धलाई श्रीमान्ले अगाडि बढाउन चाहेको पीडितको भनाइले बुझिन्छ ।

एउटी महिला आफूमाथि घरेलु हिंसा भयो, आफ्नो श्रीमान् गलत निस्किए भन्दै मानसिक ‘रिलिफ’ का लागि सार्वजनिक हुन चाहन्छिन् भने महिला अधिकारकर्मी वा सचेत वर्गले केही धारणा राखी नै हाल्छन् । राख्नु पनि पर्छ । चाहे ती जुनसुकै धर्म, वर्ग वा भूगोलकी होऊन् । यी सब भन्नका लागि अदालत जानुपर्थ्यो या जहाँ भने पनि हुन्छ भनेर निर्णय गर्ने पनि हामी होइनौं । समाजमा दैनिक भइरहने तर बाहिर नआएका यस्तै घटनाले समाजमा वैवाहिक सम्बन्धभित्रका तिक्तता र महिला संख्यात्मक रूपमा बढी पीडित छन् भन्ने देखाउँछ । ती पीडित महिलाले आफूले भोगेको हिंसा व्यक्त गरिसकेपछि केही प्रतिक्रिया यस्ता आए कि, जहाँ मानवीयताको सानो अंशसम्म देखिएन ।

‘यिनको अनुहारमा कुनै पीडाको झल्को छैन’, ‘हेर कस्तो प्रतिस्पर्धी नेताको भाषण जस्तो’, ‘सिउँदोमा सिन्दुर छैन’, ‘बानी खराब भएपछि यस्तै हो’, पश्चिमाका दलाललाई खुसी बनाउने एक पात्र’ । लाग्छ, सामाजिक सञ्जालले नै निर्णय दिइसक्यो कि उनी पीडित छैनन्, श्रीमान् गलत हुन सक्दैनन् । अनि अर्को भाष्य यसैले बनाउने देखिन्छ । जस्तोः पीडित देखिन रोएको रोयै गर्नुपर्छ, पतिव्रता हो भने सिउँदोमा सिन्दुर र वैवाहिक नारीको झल्को लिएर हिँड्नुपर्छ । हुन त हामीले अन्य कैयौं पीडित महिलाका सन्दर्भमा पनि समाचार आउँदा अधिकांश मानिसले पीडक पुरुषलाई भन्दा महिलालाई नै लाञ्छना लगाएका देखेकै हौं । हामी एकपक्षीय भएर र महिला संवेदनाप्रति उदासीन भएर नै हो यस्ता प्रतिक्रिया महिलाको सन्दर्भमा आइरहेका । समाजको संरचनाले नै हाम्रो मस्तिष्कको पनि संरचनालाई ढालिसकेको छ ।

यी पीडित भनिएकी महिला साँच्चै यस्ता विषाक्त लाग्ने सम्बन्धबाट बाहिर निस्कन चाहन्छिन् भने सात जुनी काट्ने, बाआमाले पाउ पुजेर दिएका, यिनले छोडे म कहाँ जाने जस्ता भाष्य र असुरक्षाको भय छोड्न आँट गर्नुपर्ने हुन्छ । यिनी पढेलेखेकी र जीविकोपार्जनका लागि कुनै पेसा अँगाल्न पनि सक्षम नै देखिन्छिन् । सम्बन्धबाट प्रताडित भएर एकै ठाउँ जकडिनु विवाह संस्था बचाउनु होइन कि मक्किएको घरमा बस्नु जत्तिकै हो, जुन घर जुनसुकै बेला भत्किन सक्छ । यी युवती जस्तै भित्रभित्रै तड्पिएका तर मानसिक यातना सहेर बसेका जोडीले ‘अगाडि बढ्ने’ निर्णय लिँदा पनि राम्रो । अनि संस्कार, संस्कृति, धर्म बचाउने, जोगाउने जिम्मा महिलाको मात्र पनि होइन । धर्मको नाममा मखुण्डो लगाएर अन्य दर्शकलाई सम्मोहन गर्ने कलालाई अज्माउने पण्डित, पुरोहित या जुनसुकै धर्मका अगुवाले अब यस विषयमा सोच्नुपर्छ ।

बाबा बन्ने (माता बन्ने क्रम पनि बढेकै देखिन्छ) र अरूलाई अर्ती उपदेश दिने तर आफ्नै बुद्धि र विचारमा भने भ्रष्ट हुँदै जाने परिपाटीले समाजलाई नै हानि पुर्‍याउँछ । धर्म, संस्कृति जोगाउन चाहने, धार्मिक दर्शनलाई कायम राख्न चाहने जमातलाई पनि घाटा नै पुग्ने हो । जुनसुकै धर्मका अगुवाको प्रवचन सुन्न ती धर्मका अनुयायीको रुचि हुनु स्वाभाविक हो । तर, आफ्नो आइडल मानेका त्यस्ता अगुवाहरूको द्वैध चरित्रबारे पनि अब ख्याल गर्नुपर्ने बेला आएको छ । धार्मिक ग्रन्थ कुनै बेलाका समाजका कानुन पनि थिए । ती धार्मिक कानुनलाई निरन्तर मान्छु भनेर प्रतिबद्धता गर्दै अरूलाई उपदेश दिनेहरू विशेष सतर्क हुनुपर्छ र रोलमोडल पनि हुनुपर्छ अनि पो समाज सकारात्मक बाटोमा हिँड्नेछ ।

अर्को महत्त्वपूर्ण कुरा, अहिलेको समयमा मागी विवाहमै पनि युवायुवतीले प्रशस्त कुराकानी र छलफल राख्ने परिपाटी बनाउनुपर्छ । कोही लमीले फोटो देखाएको भरमा ‘हुन्छ’ भनेर विवाह गरिवरी सम्बन्ध टिकाउने युग त सकिइसकेको छ । कन्यादान, पाउ पुज्ने कुरालाई पछाडि नै छोडिदिऊँ । आफ्ना जीवनसाथी कस्तो कल्पना गरिएको छ भन्नेबारे एरेन्ज म्यारिजमा पनि छलफल गरौं । महिलाहरूले पनि आश्रित खालको वैवाहिक जीवन चाहेको हो या आत्मनिर्भर र स्वतन्त्र खालको भन्ने पनि सोचविचार गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनको प्रतिबद्धता सात जुनी काट्ने भन्दा पनि यही एउटै जुनीका लागि कसरी सहज जिउने भन्ने हुनुपर्छ । नभए त फेरि अलग–अलगको सिद्धान्त छँदै छ ।

प्रकाशित : चैत्र २०, २०८० ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?