कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

वर्षा अगावै दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात

आन्तरिक माग पूरा गरी अतिरिक्त करिब १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने प्राधिकरणको लक्ष्य 
यस आर्थिक वर्षमा १५ अर्ब २१ करोडको विद्युत् भारतसँग किन्यौँ र हालसम्म १३ अर्ब ४७ करोडको उसलाई बेच्यौँ, असार मसान्तसम्म यो ग्याप पूरा गरी नेपाल पहिलोपल्ट खुद निर्यातकर्ता बन्दै छ । -कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
सीमा तामाङ

काठमाडौँ — नदीहरूमा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन वृद्धि भएसँगै भारततर्फ निर्यात सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोमबार रातिदेखि भारत पठाउन थालेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा दैनिक ४ सय मेगावाट विद्युत् बिक्री गर्न सुरु गरेको हो । 

वर्षा अगावै दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात

‘जेठ १४ देखि दैनिक ४ सय मेगावाट हाराहारीमा विद्युत् भारततर्फ निर्यात सुरु गरेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘नदीमा पानीको बहाव बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ ।’

यो वर्ष आन्तरिक माग पूरा गरी अतिरिक्त हुने करिब १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने लक्ष्य राखिएको घिसिङले बताए । ‘निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं,’ उनले भने, ‘सूचीकृत गरी पठाइएका आयोजनामा तामाकोशी, चमेलिया, लिखु ए, लिखु–१, लिखु– २, मिस्त्री खोला, माथिल्लो भोटेकोशी, खिम्तीलगायत छन् ।’

द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइएको उनले जानकारी दिए ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित ६ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । त्रिशूली, देवीघाट, मर्स्याङ्दी, कालीगण्डकी–ए, मध्य मर्स्याङ्दी, लिखु–४, चिलिमे, सोलुखोला, काबेली बी–१, तल्लो मोदी, दोर्दी खोला, सोलु खोला (दूधकोशी), माथिल्लो कलंगाड, माथिल्लो चमेलिया, माथिल्लो दोर्दी–ए आयोजनाले स्वीकृति पाइसकेका छन् ।

६ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुनदेखि अक्टोबरसम्म पाँच वर्षका लागि १ सय १० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको प्राधिकरणले जनाएको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा खरिद बिक्रीको पनि अनुमति पाएको छ । हाल ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट ७० मेगावाट निर्यात भइरहेको छ ।

बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगन्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको घिसिङले बताए । ‘कन्डक्टर बदल्ने काम २/३ दिनमा सकिनेछ, त्यसपछि समस्या समाधान हुनेछ,’ उनले भने । दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनको क्षमता डबल हुनेछ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको हिउँदमा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात गरेको थियो । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ ।

सुक्खायाम सुरु भएसँगै नदीहरूमा पानीको बहाव घटी विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो । प्राधिकरणका अनुसार १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातको तुलनामा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको छ । आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएको भन्दा सस्तो रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ । गत आर्थिक वर्षभर १० अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए । ‘६/७ वर्षअघिसम्म विद्युत् आयातको मात्र अवस्था थियो, २/३ वर्षअघिबाट निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी थियो, अब निर्यातकर्ता बन्ने अवस्था देखिएको छ,’ उनले भने । चालू आर्थिक वर्षमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिए पनि बाँकी अवधिमा निर्यात हुने विद्युत् परिणामले यो ‘ग्याप’ लाई पूरा गरी खुद निर्यातकर्ताका रूपमा रहने उनको भनाइ छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार गत वैशाखसम्म कुल विद्युत् जडित क्षमता ३ हजार १ सय ४१ मेगावाट छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १९८० मेगावाट, प्राधिकरणको जलविद्युत् आयोजनाबाट ५८३ मेगावाट, प्राधिकरणको सहायक कम्पनीबाट ४९३ मेगावाट, निजीसहितको कुल सौर्य ऊर्जा ११६ मेगावाट लगायत गरी कुल जडित क्षमता ३१४१ पुगेको हो ।

खोला तथा नदीमा पानीको बहाव बढ्न थालेपछि कालीगण्डकी ए, मर्स्याङ्दी, माथिलो त्रिशूली ३ए, मोदीलगायत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको उनले सामाजिक सञ्जालमै लेखेका छन् । अहिले आन्तरिक उत्पादन सरदर १६ सय मेगावाट र पिक लोड २०५० मेगावाटसम्म पुगेको उनले जनाए । घिसिङका अनुसार पिक समयमा आन्तरिक खपत दुई हजार मेगावाट छ । ७/८ वर्षअघि दैनिक विद्युत् खपत एक/डेढ करोड युनिट हाराहारी रहेकोमा हाल बढेर ४ देखि साढे ४ करोड युनिट पुगेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८१ ०५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×