कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सेफ सन्तोष साहको 'मिथिला थाली'को काठमाडौंमा तीन शाखा

काठमाडौँ — बीबीसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन् ।

सेफ सन्तोष साहको 'मिथिला थाली'को काठमाडौंमा तीन शाखा

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उनले केही समय अघि झम्सीखेलमा मिथिला थाली सुरु गरेका थिए । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो आउटलेटको बिहीबार सफ्ट ओपनिङ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने उनले जानकारी दिए ।

'जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सीखेलमा रेष्टुराँ सुरु गरेका थियौँ,' उनले भने, 'झम्सीखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुरेन्ट सुरु गर्न लागिएको हो ।'

उनका अनुसार गौशालाको आउटलेटमा शुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्र्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको उनको भनाइ छ । साहले अब काठमाडौँबासीले गौशालामै मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद लिन पाउने बताए । मिथिला थाली अन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।


'मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो,' उनले भने, 'त्यसैले रेष्टुराँमार्फत मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ ।' रेष्टुराँमा आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । 'हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरूले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ, उनले भने ।

दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बीबीसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहेका छन् ।

प्रकाशित : असार ८, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×