कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

राजधानी केन्द्रित बसाइँसराइले स्थानीय संस्कृति मासिन्छ : बालेन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वका अन्य देशका महानगरमा देखिएका घरबारविहीनका समस्या र नेपालको समस्या भिन्न भएको बताएका छन् । 

राजधानी केन्द्रित बसाइँसराइले स्थानीय संस्कृति मासिन्छ : बालेन

ब्राजिलको साओ पाउलोमा भएको महानगर निर्देशक समितिको बैठकअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘नीति बहस’ मा उनले नेपाल र यहाँका सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस वास्तवमै घरबारविहीन नभएको बताएका हुन् ।

‘विश्वका अन्य देशको अनुभव सुन्दा हाम्रो देश र सहरमा बस्ने अधिकांश मानिस वास्तवमै घरबारविहीन छैनन् । उनीहरू आफ्नो सहरबाट अर्को सहर वा राजधानी काठमाडौंमा स्थानान्तरण भएका हुन्,’ उनले भने, ‘हाम्रो सोच मानिसहरू अन्यत्रबाट काठमाडौं किन बसाइँ सरिरहेका छन् भन्ने मूल कारण पत्ता लगाउनु हो ।’ उनले काठमाडौंको तुलनामा अन्य सहरका साथै ग्रामीण क्षेत्रमा उपयुक्त स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरहरू नभएकाले बसाइँसराइ भइरहेको बताए ।

‘हाम्रो सोच काठमाडौं महानगर आसपासका त्यस्ता सहरका नगरपालिका र गाउँपलिकासँग सहकार्य गरेर त्यहीँ प्राप्त गर्न सकिने सुविधालाई सुदृढ गर्नेछ,’ उनले भने, ‘काठमाडौं महानगरले त्यहीँको स्वास्थ्य र शिक्षाका पूर्वाधारमा सुधार र रोजगारी सिर्जना गर्न सहयोग गर्ने नीति लिएको छ ।’ उनले काठमाडौं महानगरले बसाइँसराइलाई प्रोत्साहित नगर्ने पनि बताए ।

मेयर बालेनले अवसर र सुविधाको खोजीमा राजधानी आएकालाई काठमाडौं महानगरले नै सीपमूलक तालिम दिएर पुनः आफ्नो ठाउँमा फर्केर आत्मनिर्भर जीवन बिताउन सहयोग गरिरहेको बताए । ‘देशभरका सबै स्थानमा जनताले राज्यबाट प्राप्त गर्ने सेवा र सुविधा एकनाशको हुनुपर्छ । एउटा सहरले मात्रै सबै शक्ति र स्रोतको उपभोग गर्ने वातावरण हुनु हुँदैन,’ उनले भने, ‘हामीले मानिसहरूको नागरिकताका आधारमा उनीहरू कुन स्थानबाट काठमाडौं आएका हुन् भन्ने विषय निर्क्योल गर्न सक्छौं । त्यहाँ उनीहरूको घरबार छ ।’

घरबारविहीनलाई भने महानगरकै समन्वयमा गैरसरकारी संस्थाका साथै अन्य सहयोगी संस्थासँग सहकार्य गरेर गाँसबासको सुनिश्चितता गर्ने काम गरिरहेको पनि बालेनले दाबी गरे । उनले कोही पनि घरबारविहीन हुन नहुने पनि बताए । अवसर र सुविधाको खोजीमा हुने बसाइँसराइले मानिसको आफ्नो पहिचानसँगै ऊसँग जोडिएको कला, संस्कृति, भाषा र स्थानीय ज्ञान पनि मासिने हुँदा त्यसको जगेर्ना

गर्न पनि बसाइँसराइ रोक्नुपर्ने तर्क उनको छ । ‘बसाइँसराइले स्थानीय कला, संस्कृति, भाषा, पर्व पनि हराउँछ,’ उनले भने, ‘त्यसैले त्यो सहरको कला, संस्कृति र भाषालाई जोगाउन पनि बसाइँसराइलाई निरुत्साहित गर्दै त्यहीँ बस्ने वातावरण बनाउनुपर्छ ।’

बालेन महानगर निर्देशक समितिको सदस्य छन् । यो संस्थामा विश्वका ठूला १५० भन्दा धेरै महानगरहरू आबद्ध छन् । यसले आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्नुका साथै सामूहिक अवधारणा बनाउन काम गर्दै आएको छ ।

प्रकाशित : असार १०, २०८१ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×