कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'हेलम्बु दर्पण' पुस्तक विमोचन 

अनिश तिवारी

हेलम्बु — सिन्धुपाल्चोको पर्यटकीय गाउँ हेलम्बुलाई समर्पित गर्दै विभिन्न साहित्यकारले तयार पारेका रचना समेटिएको 'हेलम्बु दर्पण' पुस्तक विमोचन गरिएको छ ।

'हेलम्बु दर्पण' पुस्तक विमोचन 

शनिबार दुई हजार चार सयको उचाइमा रहेको हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले उक्त कृति विमोचन गरेका हुन् । यहाँ २०८० फागुन ६ गते पर्यटनका लागि साहित्य हेलम्बु साहित्य यात्रा-२०८० सुरु गर्दै झण्डै १७ जना अग्रज साहित्यकारले यस कृतिका लागि यात्रा गरेका थिए । हेलम्बु घोप्टेघ्याङबाट सुरु भएको यात्रा दुई दिनभर विभिन्न गाउँ पुग्दै कुटुमसाङ पुगेर टुंगिएको थियो । त्यही क्रममा यहाँका हृयोल्मो समुदायको प्राचीन परम्परा, धर्म संस्कति, इतिहास र सुन्दर भूगोललाई वर्णन गर्दै साहित्यकारहरुले कथा, कविता सृजना गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । 'साहित्यकारको सृजनाको सम्मान गर्दै हेलम्बु गाउँपालिकाको लगानीमा यो कृति प्रकाशनमा ल्याएका छौं, यसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ, यस कृतिका लागि वरिष्ठ साहित्यकार र स्रष्टाले मिहिनेत गर्नुभएको छ,' शेर्पाले भने ।

पुस्तकमा पुराना नियात्राकार तथा लेखक राजेन्द्रमान डंगोल, वरिष्ठ साहित्यकारहरु आरएम डंगोल, माधव घिमिरे अटल, राजकुमार बानियाँले सम्पादनसहित हेलम्बुको स्याउ, षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ट्रेल), आमायांग्री, अम्बाथान झरनाबारे रोचक कथा र नियात्रा लेखेका छन् ।

पुस्तकमा हेलम्बुको शिरमा रहेको सेमिसिदाङ, आमायांग्री, खरानेजस्ता दर्जनौं हिमश्रृंखलाको काखमा रहेको भव्य जंगल, पहाड, झरनामात्रै नभई बौद्ध धर्मको पुराना इतिहासबारे उल्लेख छ । बौद्ध धर्मको प्रसिद्ध सम्प्रादय बज्रयानका महान् बज्रगुरु रिन्पोछे पद्मसंम्भव, मिलारेपाको तपोभूमिबारे चर्चा पुस्तकमा पाइन्छ ।

पुस्तकमा अन्य स्रष्टाहरु प्राडा ऋषिराम शर्मा, कुमारी लामा, केशव पुडासैनी विमल, जयराम विडारी, प्रभा बराल, डा विन्दु शर्मा, माधव घिमिरे अटल, लक्ष्मी माली, लक्ष्मी रुम्बा, स्नेह सायमीले आफ्नो यात्राबारे कथा, कविता लेखेका छन् । साहित्यकारले निर्माणाधीन षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ट्रेल) को अवलोकन गर्दै आफ्नो रचना वाचन गरेका थिए ।


प्रकाशित : जेष्ठ २६, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×