कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बीपी–साहित्यलाई मर्दवादको तातोपानी

बीपीले महिला पुनर्जागरणको भाषा आख्यानका स्त्रीपात्रमार्फत बोले । तर, मर्दवादले त्यसलाई ‘यौन–साहित्य’ को घेरोमै सीमित गरिदियो ।
सीमा आभास

बीपीले कतै भनेका छन्, समालोचक हुन पर्याप्त ज्ञान–सीप आवश्यकता पर्छ । भनाइको तात्पर्य हो– बृहत् चेतनाले लेखिएको साहित्यलाई अझै फराकिलो बनाउन विशेष ज्ञान, सीप, सिर्जना र क्षमता खिपिएको समालोचना हुनुपर्छ । तर, हाम्रा समालोचकले बीपीको समग्र साहित्यलाई ‘फ्रायडियन मनोविज्ञान’ र ‘सामाजिक यथार्थ’ सँग जोडेर व्याख्या गरेका छन् । 

बीपी–साहित्यलाई मर्दवादको तातोपानी

बीपीले साहित्यमा नयाँ आवाज, नयाँ मुद्दा बोकेर स्त्रीपात्रहरू खडा गरेका छन् । तर, बीपीको साहित्यमा महिलापात्रद्वारा उठाउन खोजेको विषय र कोणलाई छुँदै नछोई अन्य विषय र कोणबाट मात्र किन साहित्यको व्याख्या गरियो ? बीपीमाथि समालोचना गर्ने हुन् या सोध गर्नेहरू अधिकांशले मर्दवादको चस्मा लगाएर बीपीमाथि व्याख्या गरे । बीपीको साहित्यलाई यौन–साहित्य भनेर चिरपरिचित गराइयो । त्यसैलाई सर्वमान्य मानियो र महिला पात्रद्वारा देखाइएका चरित्रलाई ढाकछोप गरियो । ती पात्रका आवाज सुन्ने चेष्टा गरिएन । मर्दवादले महिलाका आवाजलाई नसुन्नु र नसुनेझैं गर्नुमै आफूलाई शक्तिशाली ठान्छ ।

जात, लिंग, वर्गका आधारमा विविधतायुक्त मानिएको नेपाली समाजको दर्शन र आदर्शको जग अलगअलग छ । समाजले पहिचान गर्न बाँकी रहेको वर्ग, जात, समुदायका महिलालाई बीपीले आख्यानमार्फत चरित्र निर्माण गरेर साहित्यको मूलधारमा ल्याएका छन् । नत्र त सामाजिक विषयमा लेखिँदा महिला पात्र दया र सहानुभूतिका रूपमा चित्रण गरिन्थ्यो । या सहनशीला या देवीजस्ती या महान् बनाइन्थ्यो । महिलालाई सामाजिक यथार्थको धरातलमा मान्छे भएर उभिनै नदिनु मर्दवादको एक चरित्र थियो ।

बीपीले पात्र उभ्याउँदा सामाजिक मान्यताबाट वर्जित, तर महिलाको प्रकृति र स्वभावसँग गाँसिएका विषयलाई स्वयं पात्रमार्फत बोल्न लगाएका छन् । लेखकका दृष्टिले देखेका विषयलाई सम्बन्धित पात्रमार्फत बोल्न लगाउनु लेखकको धर्म हो ।

बीपीले जुन समयमा साहित्य लेखे, त्यो समयमा अहिलेजस्तो वर्ग, जात, लिंग, समुदायका आधारमा अधिकारका कुरा उठ्नुपर्छ भन्ने चेत जन्मिएकै थिएन । त्यही समाजभित्रका, तर समाजले नचिन्ने वर्गबाट पात्रहरूलाई बोकेर बीपीले साहित्यको मूलभागमा उभ्याए । ‘राइटरबाजे’ कथाका पात्र हेलम्बुका भोटेनी दिदीबहिनी ! ‘सुम्निमा’ उपन्यासका पात्र सुम्निमा र पुलोमा ! ‘तीन घुम्ती’ उपन्यासकी इन्द्रमाया ! ‘मधेसतिर’ कथाकी पात्र विधवा, 'नरेन्द्र दाइ' उपन्यासकी मुनरिया ! ‘बिहा’ कथाकी पात्र हरिमती ! ‘श्वेतभैरवी’ की पात्र फगुनीको श्वेतभैरवी रूप ! ‘मोदिआइन्’ उपन्यासकी पात्र मोदिआइन् ! ‘कर्नेलको घोडा’ कथाकी पात्र कर्नेल्नी ! ‘मधेसतिर’ कथाकी पात्र विधवा ! यी महिला पात्रहरू उनका कथा र उपन्यासमा दरिलो आवाज र मुद्दा बोकेर उभिएका छन् । ती पात्रमार्फत समाजमा वर्गीय र जातीय अन्तरघुलनको परिकल्पना सम्भव छ र अन्तरघुलन गराउनुपर्छ भन्ने दृष्टिकोण राखेका छन् बीपीले ।

समाज परिवर्तनका लागि विद्रोह र क्रान्ति अनिवार्य तत्त्व हो । क्रान्तिकारी र विद्रोहीसँग दया, सहानुभूति खोज्ने स्वभाव हुनु हुँदैन । आफूलाई न्याय गर्न सक्नेले मात्र अरूलाई न्याय गर्न सक्छ भन्ने सिद्धान्तका आधारमा बीपीले महिला पात्र उभ्याएका छन् । समाजका पर्खाल भत्काउन विद्रोही चेत जरुरी हुन्छ र उनका पात्रको विद्रोही चेत छ । कुण्ठित व्यक्तिबाट परिवर्तन सम्भव छैन । हाम्रा नियम, कानुन र बन्धनले बाँधेर सबैभन्दा बढी कुण्ठित महिलालाई बनाउँछ । बीपीले पात्रलाई शारीरिक यौनकुण्ठाबाट मुक्त गराउने कथाहरू निर्माण गरेका छन् ।

त्यतिमात्रै होइन, यी कुण्ठा तोडेर हिँड्न सक्ने पात्रसँग उठाइएका केही सामाजिक मुद्दा छन् । जस्तै– महिलालाई सम्पत्तिमाथिको अधिकार हुनुपर्छ, सन्तानले आमाबाट चिनिनुपर्छ, महिलाको इच्छा मुताबिक आमा बन्न कसैलाई पर्खिरहनुपर्दैन, विधवाहरूले पनि घरजम गर्नुपर्छ, बिहेपछि पनि सम्मानजनक स्थान पाउनुपर्छ, अनमेल विवाह गरिनुहुँदैन, यौनअधिकार र चाहना पुरुषको मात्र होइन महिलाको पनि हो । ग्रन्थलाई पढेर पुनर्कथन गर्ने क्षमता महिलाले राख्छन्, सबै लोग्नेले महिलालाई खुसी राख्न सक्छन्, त्यो जरुरी छैन । उनीहरू बेखुसी रहन पनि सक्छन् । उनीहरूलाई बाटो निर्माण गरिदिनुपर्छ । महिला पात्रले लोग्नेलाई साथी बराबरमा राखेर ‘तिमी’ सम्बोधन गर्न सक्छन् । यस्ता विषयका मुद्दा बीपीको साहित्यमा छ । बीपीले त्यसबेला साहित्यमा उठाएका मुद्दा अहिले बल्ल राजनीतिमा उठ्न थालेको छ । तर, व्याख्याताले ती महिला पात्रका आवाज नजरअन्दाज गरेर त्यसलाई केवल ‘मनोवैज्ञानिक सामाजिक यथार्थवादी आख्यान’ भन्न भ्याए । र, यी आख्यानको मर्मलाई बेवास्ता गरे ।

अहिलेको जल्दोबल्दो मुद्दा छ– आमाको कानुनी पहिचान । ‘सुम्निमा’ पात्रले ‘आमाको नाम पो भन्नुपर्छ’ भनेर सोमदत्तलाई सिकाएकी छन् । मर्दवादले बाँधिएका सोमदत्तहरू आज पनि आमाको कानुनी पहिचान र आमाको सिंगो अस्तित्वलाई सुन्दैनन् । ‘सन्तानहरू आमाको नामबाट चिनिनुपर्छ’ भन्ने बीपीको मुद्दा थियो, त्यो स्पष्ट छ । आमाको नामले सन्तानको कानुनी पहिचान दिन आज पनि मर्दवादको कैंचीले काटिरहेको छ । सुम्निमामार्फत उठाइएको यो आवाज बीपीको आदर्श र सिद्धान्त बोकेर हिँड्नेहरूले सुन्नुपर्नेजति सुन्न सकेका छैनन् । जान्नैपर्नेहरूले जान्न सकेका छैनन् । बल्लतल्ल संविधानमा उल्लेख गरिएको महिलाको वंशीय–हक पनि सम्मानजनक कार्यान्वयन हुन सकिरहेको छैन ।

‘राइटरबाजे’ की भोटेनीले राइटरबाजेबाट तालाचाबीको झुप्पो लिँदा भोटेनी केटी खुसी भएको प्रसंग छ । ‘राइटरबाजे’ कथा पढ्दा थाहा हुन्छ– महिलालाई सम्पत्तिमाथिको अधिकार रहनुपर्छ भन्ने चिन्तन बीपीको थियो । बल्ल अहिले महिलालाई पनि सम्पत्तिमाथिको अधिकारको मान्यता दिएर नेपाली समाज अगाडि बढेको छ ।

‘एक रात’ कथाको विद्रोही पात्र किशोरले उसकी श्रीमतीलाई पढाएको छ । किशोरकी बहिनीले पढेकी छे । छोरीहरूलाई अनिवार्य शिक्षाको धारणा नआउँदै बीपीले ‘अविवाहित होस् या विवाहित महिला शिक्षा अनिवार्य छ’ भनेर शिक्षाको मुद्दा उठाएका थिए ।

‘खुट्टा भए जुत्ता कति कति’ भन्ने कहावतले समाजमा सम्मानजनक स्थान पाएको समयमा बीपीको ‘नरेन्द्र दाइ’ उपन्यासकी मुनरिया नरेन्द्रले ‘श्रीमती हो’ भनेर चिनाउँदा खुसी भएकी छे । बिहेले स्त्रीलाई सम्मानजनक स्थान दियो भने खुसी हुन्छन् । समाजमा सम्मानजनक अस्तित्व सबैको बराबर हुनुपर्छ भन्ने मुद्दा उठाएका थिए उनले ।

अहिले पनि सरकारले विधवाहरूलाई एकल सामाजिक भत्ता दिएर टालिरहेको छ । बिहे र भत्ता अलग विषय हो भनेर राज्यले बुझेको छैन । घरजम गर्ने, सन्तान जन्माउने इरादाका साथ आफूसँग भएको केही सम्पत्ति बोकेर ‘मधेसतिर’ कथाकी विधवा पहाड छाडेर मधेस झरेकी छन् । बीचमै उनको सबै पैसा, गहना लुटेर भाग्छ, उनले घरजम गर्न खोजेको केटा । विधवा–बिहेको धारणा बीपीले त्यस कथामा उठाएका छन् । जसरी विधुरसँग कन्याकेटीको बिहे हुन्छ, त्यसैगरी विधवासँग कन्यकेटाको बिहेको अभियान चलाउनुपर्ने हो/थियो । तर, राज्यले विधवासँगको बिहेलाई प्रोत्साहन गर्नुपर्नेमा एकल भत्ता बाँडेर बसिरहेको छ । यस मानेमा लोकतन्त्रले स्थापना गरेको सिंगो प्रणालीभन्दा बीपीको विचार कति बलियो छ कति !

साहित्यमा स–साना ढंगले उठाइएका प्रसंग राजनीतिक विषय हुन् । साहित्यमार्फत समाज पुनर्जागरणको बीज बीपीले रोपेका थिए । एउटा समुन्नत समाज बन्न स्त्री र पुरुषहरूको बराबर अस्तित्व अपरिहार्य ठानेका छन् उनले । बीपीले विधवा बिहे, आमाको अस्तित्व, सम्पत्तिमाथिको अधिकार, शिक्षाको अधिकार, अन्तरजातीय विषय, आमा हुने अधिकार– यी तमाम विषयमाथि आवाज उठाएका छन् ।

व्यक्तिले आफू बाँचेको समाजबाट भागेर होइन, त्यही समाजभित्र बसेर समाजलाई सुधार्नुपर्ने हुन्छ । आदर्श र दर्शनले समाज डोहोरिएको हुन्छ । साहित्यका व्याख्याताले एउटै दर्शनलाई अलगअलग धारणा र कोणबाट व्याख्या गर्छन् । त्यही व्याख्याको सेरोफेरोमा रहेर समाजको मनोविज्ञान निर्माण हुन्छ । त्यही मनोविज्ञानमा आधारित रहेर हामी बाँचेका हुन्छौं ।

‘बीपीले साहित्यमा राजनीति छिर्न दिएनन्’ भनेर अर्को मर्दवादी धारणा स्थापित गराइएको छ । त्यही धारणमा आजसम्म ल्याप्चे लगाइएको छ । के साहित्य राजनीतिभन्दा टाढा हुन्छ ? यी माथि उठाइएका विषय राजनीतिक मुद्दा होइनन् ? खासमा बीपीको साहित्यमा राजनीतिक मुद्दा थिए र छन् । बीपीको व्यक्तित्व र उनको समाजवादी धारणालाई दृष्टि दिएर मात्रै व्याख्या गरिएको थियो भने पनि उनले के–के मुद्दा उठाए भन्ने व्याख्या हुन्थ्यो, तर त्यसो गरिएन । बीपीपथ–गामीहरूले पनि उनको यस मर्मलाई पूरै बुझेको देखिँदैन । साहित्यमा सम्राट् पनि नाङ्गो हुन्छ भन्ने बीपीलाई ढाकछोप गरेर व्याख्या गरिँदै पाठकलाई बुझाउन खोजियो । त्यसरी नाङ्गो रूपमा चित्रित सम्राट्लाई पढेपछि समालोचक र पाठकहरूलाई लाज लाग्छ । समाज भत्किन्छ भन्ने डर लाग्छ अनि कहिले सिरकले छोप्छन्, कहिले समालोचना गर्दा लुगा लगाइदिन्छन्, सिँगारपटार गरिदिन्छन् र समाज जोगाउँछन् ।

साहित्यलाई समयसापेक्ष प्राण भर्न समालोचना चाहिन्छ । समाजलाई स्पष्ट कुरा बताउन समालोचनाको भूमिका रहन्छ । समालोचनाले समयसापेक्ष साहित्यको व्याख्यालाई अलगअलग ढंगले बुझाएर धारणा निर्माण गर्न मद्दत गर्दछ र साहित्य बुझ्न एउटा सहज बाटो तय गरिदिन्छ । बीपीका साहित्यलाई कसरी समालोचना गरिए र कसरी धारणा निर्माण भए ? के बीपीले उठाएका विषयलाई आजको समयसापेक्ष समालोचकले गरेको समालोचनाको कोण पर्याप्त छ ? कि नवीन धारणा पनि खोजिनुपर्छ अब ?

बीपीको साहित्यलाई मर्दवादका दृष्टिबाट मात्रै व्याख्या गरिएको छ भन्ने दाबी छ मेरो । मर्दवादले के गर्छ त ? मर्दवादले जहिले पनि आफूलाई केन्द्रमा राखेर आफू सर्वोच्च रहेको प्रमाणित गराउने कोसिस गर्छ । मर्दवाद आफूसँग नभएको कुरा अर्कोसँग छ भने कि त त्यसलाई हटाउन र खोस्न खोज्छ कि त्यसलाई हियाउन खोज्छ । मर्दवादले जहिल्यै आफ्नो पक्षमा भाषा निर्माण गर्छ र नजानिँदो गरी ‘म ठीक थिएँ, म सर्वोच्च हुँ’ भन्ने प्रमाण जुटाइरहन्छ ।

मर्दवादले समाजमा दर्शन र आदर्श स्थापित गरेको छ । यदि त्यो आदर्श र दर्शनमा थोरै मात्र हलचल आउन खोज्यो भने लेखक, समालोचक, समाज, संस्कार जोगाउने ठेकेदारहरू ‘बिग्रियो भत्कियो, मासियो, सकियो’ भनेर रुवाबासी गर्छन्, कोकोहोलो गर्छन् । खासमा त्यो चिच्च्याइ र डर नै मर्दवादीको असली आवाज हो । साहित्य जहिले पनि समसामयिक समाजमा विद्यमान मुद्दाको जगमा वस्तुनिष्ठ भएर बुझिने गरी उभिनुपर्छ । पूर्वीय दर्शनको जगमा उभिएर लेखिएका बीपीका महिला पात्रको अस्तित्वको महत्त्व विशेष छ । पूर्वीय दर्शनले एक पूर्ण आमालाई मात्रै पनि स्वीकार गर्छ । जस्तै– कुन्ती, सत्यवती । तिनै कुन्ती, सत्यवती जस्ता आदर्श स्त्रीपात्रको आधुनिक अवतारका रूपमा बीपीले सुम्निमा, इन्द्रमाया, पुलोमा, विधवा जस्ता स्त्रीपात्रहरू उभ्याए । ती पात्र त्यसै उभिएका छैनन्, महिलाका आवाज सुनाउन उभिएका पात्र हुन् ती । आज हामी आमाको कानुनी पहिचानका लागि लडिरहेका छौं, जो बीपीले उहिल्यै बोलेका छन् ।

बीपीले महिला पुनर्जागरणको भाषा आख्यानका स्त्रीपात्रमार्फत बोले । स्त्री–प्रकृतिको चिन्तन र महिलाका सामाजिक मुद्दालाई सघन रूपमा साहित्यमा उतारे । इन्द्रमायाले स्त्री–अस्तित्व, आमा हुने रहर, स्त्री–यौनेच्छाका विषयमा समाजलाई सुनाइदिएको छ । तर, मर्दवादले यसलाई यौन–साहित्य भनेर महिलाको आवाजलाई तातोपानी हालिदियो ।

बीपी एक दूरदर्शी चेतनाले भरिएका व्यक्ति थिए । तर, उनलाई व्याख्या गर्नेहरूले महामानव भनिदिए । कस्तालाई भनिन्छ महामानव ? ‘अलौकिक गुण भएका, दैविक गुण भएका व्यक्तिलाई महामानव भनिन्छ’ भनेर शब्दकोशले व्याख्या गरेको छ । बीपी साँच्चै त्यस्ता थिए त ? उनी मर्दवादको सिकार यहाँ पनि भएको देखिन्छ । लौकिक कुरालाई अलौकिक बनाइदिने चरित्र मर्दवादको हुन्छ । दूरदृष्टि भएका, आदर्शनिष्ठ, सैद्धान्तिक धरातलमा उभिएका, अभयचाहिँ थिए भन्ने देखिन्छ । तर, अलौकिक नै थिए भन्ने विषयमा चाहिँ पुनर्परिभाषित गरिनुपर्दो हो । किन पुनर्परिभाषित गरिनुपर्छ भने, जे हो त्यही रूपमा व्याख्या गर्‍यो भने मात्रै उसको आदर्श, सिद्धान्त, साहित्यको मर्म बुझिन्छ ।

अहिले बीपीको साहित्य र उनको सिद्धान्तलाई सही ढंगले बुझ्न नसक्नुको कारण नै मर्दवादको कोपभाजनमा परेर हो, त्यो चिर्नुपर्छ । उनी महामानव थिए भन्दा पनि दर्शन र सिद्धान्त बुझेका सिर्जनशील र निष्ठावान् व्यक्ति थिए भनेर त्यहाँबाट उनलाई बुझ्न थालियो भने बीपी र उनका सिर्जनामाथि न्यायिक ढंगले बुझ्न, लेख्न र बोल्न सकिएला ।

बीपीले जन्माएजस्ता पात्रहरू किन सिलसिलेवार रूपमा नेपाली साहित्यमा आएनन् ? बरु उनका पात्रलाई ढाकछोप गरेर मनोवैज्ञानिक मात्र किन भनियो ? नेपाली महिला लेखकले पनि त्यसरी लेख्न सकेको देखिँदैन । पुरुष साहित्यकारले लेख्ने त कुरै भएन । बीपीले भनेका छन्– विरोधीहरूलाई सिद्धान्तका आधारमा जित्नुपर्छ । साहित्यमा पनि यही मुद्दा लागू हुन्छ ।

प्रत्येक घरमा महिला हुन्छन्, ती महिलामाथि राज्यले, समाजको सिद्धान्तले अन्याय गरेका छन् भनेर उनले आवाज उठाए । अन्याय कहाँबाट सुरुआत भएको छ भने स्त्री शरीरलाई बाँधेर अन्याय गरिएको छ, जसले मनोविज्ञान भने त्यो ‘फ्राइडियन’ मनोविज्ञान होइन मर्द–मनोविज्ञान हो, जो स्त्रीको शरीरलाई सधैं वशीकरण गरेर आफू शक्तिशाली बन्न चाहन्छ । बीपीका हरेक पात्रहरू त्यो मनोविज्ञानको विरुद्धमा छन् ।

‘सामाजिक यथार्थमाथि लेखिएको साहित्य’ भनेर समालोचकहरूले भनेका छन् बीपीको लेखनलाई । सामाजिक यथार्थ भनेको के हो ? सामाजिक यथार्थ भनेको मर्द–मनोविज्ञानको जगमा उभिएर गरिएको समालोचना मात्रै हो ? साहित्यलाई सभ्यताको प्रतीक ठान्ने बीपीले ‘साहित्यमा अराजकवादी हुँ’ भन्नुको तात्पर्यलाई यौन–मनोविज्ञानसँग मात्र जोडियो । यौन वर्जित विषय हो, त्यसैमाथि बीपीले खुलेर लेखे भन्ने ढंगले चिनियो । समाजमा यौन भनेको राजनीतिक मुद्दा हो । स्त्री र पुरुषको यौनसम्बन्धभित्र ठूलो राजनीतिक भेदभाव छ । यौनका विषयलाई लिएर महिलालाई धार्मिक र कानुनी पाटोमा पूर्ण रूपमा बाँधिएको छ । बाँधिएका मान्छेसँग कुनै अधिकार हुँदैन । अधिकार बाँध्नेका हातमा हुन्छ । बाँधिने निरीह हुन्छ । कहिलेकाहीं त बाँधिनेले ‘म बाँधिएको छु’ भनेर पनि थाहा पाइराखेको हुँदैन ।

समाजमा विद्यमान यौन एकाधिकारको विरुद्धमा बीपीले कथा र उपन्यासका नारी पात्रलाई प्राण भरेर उभ्याएका छन् । समाज त ‘महिलाको शरीर पुरुष नियन्त्रणमा रहनुपर्छ’ भन्ने मान्यतामा उभिएको छ । तर, बीपीले महिला पात्रको आवाजमा ‘आफ्नो शरीरको अधिकारी आफू हो’ भन्ने आवाज दिएका छन् । सायद यसैकारण उनले आफूलाई अराजकवादी भनेका हुन् ।

महिलाले आफ्ना कुरा उठाउँदा, आफ्ना कुरा बोल्दा मात्रै पनि अराजकवादी भन्ने मर्दवादीहरू प्रशस्त छन् । बीपी दूरदृष्टि राख्न सक्ने हुनाले आफूले आफूलाई अराजकवादी भने ।

‘साहित्यमा त सम्राट् पनि नाङ्गो हुन्छ’ भन्ठान्ने बीपीले मान्छेभित्रको मान्छे लेख्न सके । तर, त्यसलाई व्याख्या गर्दा मर्दवादी धारमा गरियो ।

प्रकाशित : श्रावण ५, २०८१ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×