१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

संगीतका अविजित साधक 

भक्तराजले हामीमाझ जे छाडेर गए, त्यो नेपाली आधुनिक संगीतमा अनवरत चम्किरहनेछ । ती गीतमा भएका जीवनदर्शन, मानवीय संवेदना र कविताले नै उनका कृतिलाई कालजयी बनाउनेछ ।
विप्लव प्रतीक

सिन्थेसाइजरबाट बज्ने संगीतको मेलोडीभन्दा साँच्चिकैका बाजाहरूबाट निस्किने सुर–धुन ज्यादा कर्णस्पर्शी हुन्छ, अधिक हृदयस्पर्शी हुन्छ । र, वाद्ययन्त्रहरू बन्नुभन्दा पहिले मानिसको आवाजलाई संगीत गुरुहरूले अकाउस्टिक वाद्ययन्त्रको दर्जामा राखेका छन्, जुन प्राकृतिक स्रोतबाट पवनको माध्यम हुँदै कानसम्म पुग्छ ।

संगीतका अविजित साधक 

२०३० को दशकको पूर्वार्द्धमा रेडियो नेपालबाट भक्तराज आचार्यको आवाज जब गुञ्जियो, त्यसले स्पष्ट रूपमा बाजाझैं आवाज पनि अकाउस्टिक हुन्छ भन्ने उही स्थापित तथ्य दोहोर्‍यायो ।

बच्चुकैलाश, नारायणगोपाल, माणिकरत्न, प्रेमध्वज, फत्तेमान र दीप श्रेष्ठजस्ता अलग–अलग टोनल क्वालिटी भएका गायकहरूमाझ नयाँ गायकका रूपमा रेडियोमार्फत भक्तराज आचार्यको प्रवेश हुँदा त्यो कुनै आश्चर्यको विषय थिएन । आश्चर्य यो थियो कि पहिलो गीतबाटै भक्तराज आचार्यको स्पष्ट, मननीय र ग्राह्य स्थान बन्न पुग्यो– श्रोताहरूमाझ । र, गीत जसले पनि गाउला, तर गीतमा भएको भावलाई आफ्नो आवाजले सिंगारेर सुनाउँदा श्रोताले त्यसलाई ग्रहण गर्नु र गीतमा भएको दर्शनलाई पत्यारिलो बनाउनु असल गायकको पहिचान हो । उहाँको गायनलाई त्यतिखेरका श्रोताहरूले तत्काल ग्रहण गरे । गायकीमा शब्द उच्चारणमा स्पष्टता र गायन प्रस्तुतिलाई सर्वस्वीकार्य बनाउन सक्ने उहाँको शिल्पले यसमा अर्थपूर्ण काम गरेको हुनुपर्छ । यसरी नेपाली श्रोताहरूले अर्को एक अद्भुत गायक पाए, नेपाली आधुनिक संगीतमा एउटा नयाँ रत्न थपियो ।

त्यतिखेर अहिले जस्तै अटो ट्युनर थिएन, जसले नमिलेको सुर पनि मिलाइदिन्छ । त्यसैले त्यस जमानामा गायक–गायिका बन्न अवश्य पनि सुर–तालको ज्ञान र श्रोताको हृदयलाई नियन्त्रण गर्न सक्ने अभिव्यञ्जन चाहिन्थ्यो । त्यति मात्रै पनि कहाँ पर्याप्त थियो र ? भनिन्छ, समय धन हो । तर, समय–धन त्यतिखेर प्रशस्त खर्च गर्न धैर्य र आँट चाहिन्थ्यो । एउटा गीत रेकर्ड गर्न निरन्तर दुई–चार महिना कम्तीमा एक जना कण्ठ–शिल्पीले खर्च गर्नुपर्थ्यो, त्यो पनि दिनहुँ । दैनिक गुजारा चलाउने कामसँगै संगीत साधना र गीत सिर्जना गर्नु कम मुस्किलको काम थिएन । गीत तयार भएपछि एक मात्रै रेकर्ड गर्ने व्यवस्था भएको सिंहदरबारस्थित रेडियो नेपाल थियो । कसैगरी गीत लोकप्रिय भयो भने पनि गीतबाट यथोचित आम्दानी हुने त कसैको कल्पनामा पनि आउँदैनथ्यो । गीतकार, संगीतकार र गायकले जनही दस–दस रुपैयाँ पाउँथे । त्यसैले गायकका रूपमा भक्तराजको यात्रा लामो समय नजान पनि सक्थ्यो, यदि उहाँमा गायनका साथसाथै आफैंले संगीत भर्न सक्ने सामर्थ्य र एरेन्ज गर्ने सीप नहुँदो हो त ।

गायनको प्रारम्भिक कालखण्डमा उसबेलाका संगीतकारहरूको संगीतमा उहाँले नगाएको पनि होइन । तर, उहाँको गायनको क्षुधा त्यतिमै तृप्त हुने अवस्थामा थिएन । कसैले समकालीन समयमा उहाँको गीति यात्रालाई विश्लेषण गर्न चाह्यो भने त्यो कुरा छर्लङ्ग हुनेछ । गीतकारहरूसँग गीत माग्नु, संगीतकारहरूसँग संगीतका निम्ति सत्संगमा रहनु र रेडियो नेपालमा बल्लबल्ल गाउने मितिको अनुमति पाएपछि गीत रेकर्ड गराउनु निकै लामो र थकित तुल्याउने प्रक्रिया थियो । तर, जब उहाँले आफ्नो गीतका निम्ति आफैं संगीत तयार पार्न थाल्नुभयो, रेकर्ड भएपछि उहाँका गीतहरू तत्काल श्रोताहरूका मनमा जब कुँदिन थाले, सम्भवतः तब गायनसँगसँगै उहाँभित्रको संगीतकारको पनि उदय भयो र आफ्नै संगीतमा गीत गाउने उहाँको यात्रा त्यहींबाट आरम्भ भएको हुनुपर्छ ।

आफ्नो गायन कालखण्डमा उहाँले आधा दर्जन गीत पनि अरूको संगीतमा गाउनुभएन या गाउने मौका जुरेन । अम्बर गुरुङ, मदन परियार, नोर्बु छिरिङ र प्रकाश गुरुङको संगीतमा एक–एक वटा गीत गाएको मात्रै मेरो स्मृतिमा छ । अर्थपूर्ण र उल्लेखनीय कुरा त यो छ कि उहाँका जति पनि गीतहरू रेकर्ड भए, ती सबैमध्ये कुनै न कुनै गीतले श्रोताका मन हरे । गीतमा रहेका शब्दहरूलाई कसरी धुनमा अभिव्यक्त गर्ने भन्ने उहाँको सूक्ष्म बुझाइको यसमा भूमिका थियो । एरेन्जमेन्ट, बाजाहरूको सम्मिलन, इन्टरल्युड र प्रिल्युडले गीतलाई ब्युटिफाई गरेको हुन्छ । तर, उहाँको गायकीसामु सबै शृङ्गारहरू फिक्का थिए । उहाँका रेकर्डेड गीतहरू त्यसका अभिलेख हुन् ।

संगीतले गीतलाई एउटा आकार दिनैपर्छ । हरेक गम्भीर संगीत–शिल्पीले गीत तयार पार्दा यस कुरालाई बडो ध्यान दिएका हुन्छन् । गीतलाई आकार दिन विभिन्न संगीतकारका विभिन्न मौलिक तरिका हुन्छन् । कसको असल र कमसल भन्ने विषयमा विवाद आवश्यक रहँदैन । किनभने कलामा तुलना हुँदैन, हरकलाले अर्को कलालाई कम्प्लिमेन्ट गर्छ, अनुपूरण गर्छ ।

र, भक्तराज आचार्यको पनि आफ्नै अनौठो तरिका थियो– संगीत गर्ने । प्रत्येक शब्दलाई शब्दको मर्मअनुसार उच्चारण गरेर मेलोडी पनि सिर्जना गर्ने उहाँको शैलीले नेपाली आधुनिक संगीतमा बेग्लै पहिचान बनाएको छ । दिवङ्गतद्वय नातिकाजी र गोपाल योञ्जनका कृतिहरूले नेपाली आधुनिक संगीतमा जसरी अलग र विशिष्ट पहिचान बनाएका छन्, त्यसरी नै अलग र दुर्लभ स्थान भक्तराजको बनेको छ । यो उहाँले बुझेर गम्भीर साधना गरेको परिणाम हुनसक्छ या जन्मिँदै लिएर आएको अनमोल मणि हुनसक्छ । गीत–संगीतसँगको मेरो निकटता बाल्यकालदेखि नै थियो । त्यही क्रममा मेरो दाइ भक्तराजसँग परिचय भयो, तर उहाँको गीतमार्फत, जसरी सशरीर भेट्न नपाएका अधिकांश नेपालीहरूको उहाँसँग परिचय भएको हुनुपर्छ ।

अब किशोरवयको कुरा गरूँ– मेरो दिमागमा भएको रोम्यान्टिक रसायनलाई अधिकांशतः दाइ बच्चुकैलाश र नारायणगोपालका गीतहरूले पोषण प्रदान गर्थे । त्यही वयमा मेरो नजर कसैमाथि पर्‍यो । उनीसँग म मोहित भएँ । प्रेम हो वा आकर्षणको नशामा फिट्टु ! तर, उनलाई प्रभावित पार्न मसँग केही थिएन । अचानक दिमागमा एउटा आइडिया फुर्‍यो । कोठामा गएँ । कापी पल्टाएँ र दाइ भक्तराजका गीतहरूमध्ये कण्ठस्थ एउटा गीत पन्नामा सारें– ‘तिमी हाँसिदेऊ एकछिन, मायाका मिठास भरेर, तिमी अब लजाइनदेऊ प्रेमका अर्थ भुलेर ।’ मेरो भावलाई त्यही गीतले आवाज दिएको थियो त्यतिखेर ।

गीत लेखिसकेपछि पन्ना च्यातें र पसिना पुछ्दै, रफ्तारमा धड्किरहेको मुटुलाई नियन्त्रण गर्दै एवं दुनियाँको नजर छल्दै आफूले मन बिसाउन चाहेको परीलाई सुम्पिएँ । सुनेका अरू सारा गीत भुलेर यही गीत मेरो मनमा किन आयो, थाहा छैन । गीत दिएर पुगेन, उनको घरछेउमा पुगी रातको सन्नाटामा त्यही गीत मैले गाएर पनि सुनाएँ । त्यतिखेर कसैले आएर घरछेउमा गाउँदा हल्ला गरेको मानिँदैनथ्यो, फोसामा मनोरञ्जन पाएको ठानिन्थ्यो । हरेक टोलमा त्यस्ता टोले गायकहरू भेटिन्थे । टोले गायकहरूले आफ्नो प्रतिभाको प्रस्तुति दिइरहँदा केही मानिसहरू मस्त निदाइसकेका हुन्थे, बाँकी ननिदाएकाहरू झर्को नमानी सुन्थे । मेरो प्रेम फुल्यो या ओइलिएर झर्‍यो त्यो कुरा पछि । अहिले भने भन्न चाहन्छु, त्यसपछि मेरो फेभरेट सिङ्गरमध्ये एक हुनुभयो– भक्तराज आचार्य । हरेक गायकका झैं उहाँका नयाँ गीतहरू पनि व्यग्रताका साथ प्रतीक्षा गर्न थालें । साथीहरू डाइमन्ड सिंह, ओमविक्रम विष्ट, सन्तोष बस्नेत आदिसँग म बेलाबेला रेडियो नेपाल गइरहन्थें । दाइ भक्तराज पनि भेटिनुहुन्थ्यो । र, कुरा भने औपचारिक मात्रै हुन्थ्यो, छोटो समयका लागि हुन्थ्यो र गीतसंगीतमै केन्द्रित हुन्थ्यो ।

दिनहरू बित्दै थिए । दुनियाँ मस्तीमा छ, सबैले पाउनुपर्ने पाइसके, म मात्रै संघर्षमा होमिएको थिएँ, मलाई यस्तो लाग्थ्यो । त्यतिखेरको नेपालको सन्दर्भमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउने कल्पना पनि थिएन । र, त्यसताका गायक–संगीतकार दीप श्रेष्ठ, गीतकार श्रीपुरुष ढकाल र म अक्सर सँगै रहन्थ्यौं । अचानक अनपेक्षित कुरा सुन्नुपर्‍यो– भक्तराज आचार्य अस्पतालमा । हामी तीनै जना अस्पताल पुग्यौं । कसैले उहाँलाई पाशविक रूपमा प्रहार गरेछ । सम्भवतः उहाँको उपचार पनि समयमा र यथोचित हुन पाएन । भनिन्छ, र कसैले विश्वास पनि गर्छन् कि नियति बलवान् छ र सबै लेखिएको छ । तर, त्यस्ता विलक्षण र संगीतको उपासना गर्ने कलाकारको नियति किन त्यस्तो तय भयो ? कलाकारलगायत मानिसहरूकै नियतिमा पनि किन कष्टको कहर खसिरहन्छ ? जवाफ मैले मात्रै होइन, कसैले पनि नपाएको हुनुपर्छ ।

सबले आ–आफ्नो लडाइँ आफैं लड्नुपर्छ । यो सत्य बडो क्रूर छ । दाइ भक्तराजको लडाइँ पनि उहाँले आफैं लड्नुभयो । साथ थिए त बडो निकटका केहीले मात्रै । केही वर्षपछि थाहा भयो, उहाँको जिब्रोमा क्यान्सर भएको छ र काट्नुको विकल्प छैन । बडो आहत तुल्याउने कुरा थियो त्यो, जसलाई व्यक्त गर्न शब्दको अभाव हुन्छ । मेरा एक निकटका चिकित्सक थिए– अनिल खनाल, होमियोप्याथीका डाक्टर । कसैले माने पनि नमाने पनि यो चिकित्सा पद्धति बडो अद्भुत छ, नानाथरीका रोग च्वाट्टै निको पार्छ । देशका दुर्लभ गायक र उहाँका कृतिप्रतिको प्रेममा अनिल पग्लिएका थिए । उनले भक्तराजका निम्ति अत्यन्तै महँगो औषधि तयार पारे । प्रचारमा आउने उनको योजना थिएन । उनको मनसुवा त त्यो औषधि उहाँलाई निःशुल्क दिने र रोगमुक्त तुल्याउने थियो । भक्तराजको घरसम्म पुग्न उनले मेरो साथ मागे । सुन्नेबित्तिकै त्यही कामलाई सर्वोपरि ठानी हामी दुवै उहाँको निवासमा पुग्यौं ।

घरभरि मान्छेको हूल थियो । भक्तराज नितान्त विचलित मनोदशामा हुनु स्वाभाविक थियो । पीडाको पहाड खसेका बेला अनिलको कुरा धैर्यपूर्वक सुन्ने अवस्थामा परिवारका कोही पनि थिएनन् । कति निष्ठुर नियति ? अनिल निराश भए र हामी दुवै लगनखेल गयौं । र, बसबाट घर फर्कियौं । पछि खबर आयो, दिल्लीमा उहाँको जिब्रो काटियो । त्यही साँझ माइकल ज्याक्सनको कन्सर्टको प्रचार गर्न हेलिकोप्टरबाट पर्चा फालिँदै थियो । एउटा देशको सुर–पुत्रको जिब्रो काटिँदै थियो, अर्को देशको कलाकारको कन्सर्ट हुँदै थियो । थाहा छैन नियति को हो र किन खेल्छ अश्रुपुरित खेल मानिससँग ?

गुजाराको मार्ग पहिल्याउँदै ‘हिमाल खबर’ पत्रिकामा काम गर्न थालेको थिएँ म, पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय नजिक थियो– अड्डा । त्यहाँ बग्गीखाना भन्ने बुटिक प्रेक्षालय पनि थियो । बेलाबखत सांगीतिक, काव्यिक, सिनेमासम्बन्धी र अर्थपूर्ण बहसका कार्यक्रम हुन्थे त्यहाँ । कनकमणि दीक्षित, बसन्त थापा र डा. नोबलकिशोर राई बीचको बैठकमा भक्तराजको जिब्रो फर्काउन कुनै प्रयत्न गर्न सकिन्छ कि भनेर एक दिन छलफल भएछ । डा. नोबल त्यसबेला जर्मनीका लागि नेपालका तर्फबाट राजदूत हुनुहुन्थ्यो । उहाँले जर्मनीको अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था र खर्च कुनै सुरतले जुटाउनु हुने भयो । राष्ट्रिय ध्वजावाहकले हवाई खर्च व्यहोर्ने भयो । बाटा खर्च पनि चाहिएला, त्यसका निम्ति बग्गीखानामा सांगीतिक कार्यक्रम गर्ने निधो पनि भयो । नहिच्किचाईकन टिकटको मोल एक हजार राखियो, जुन त्यतिखेरका लागि महँगो थियो ।

सांगीतिक कार्यक्रमको संयोजनका लागि म छानिएँ । ईश्वर अमात्य र लोचन भट्टराई गायक–गायिकामा छानिए । वाद्यवादकहरू खोजियो । रिहर्सल गरियो । र, कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । उठेको रकममध्ये केही मायाको चिनोस्वरूप कलाकारहरूलाई चढाएर बाँकी भाउजूमा हन्तान्तरण भयो । उहाँहरू जर्मनीका लागि उड्नुभयो । जर्मनीमा दाइको आश्रयस्थल डा. नोबलकै निवासमा तय थियो । र, हामी परिणामको प्रतीक्षा व्यग्र रूपमा गर्दै थियौं । जर्मनीका चिकित्सकले गायकको महत्त्व बुझेका थिए र उक्त अवसरको महत्त्व पनि । सारा जोड लगाएर उनीहरूले आफ्नो काम सम्पन्न गरे । र, हामी सबै जना पनि आफूले पुण्यको काम गरेकोमा आनन्द मान्दै सु–समाचार आउने दिन पर्खिन थाल्यौं ।

हामी सबैको नियत पवित्र थियो, तर मानिसको नियत पवित्र भए पनि नियतिलाई हाम्रो नियत मञ्जुर रहेनछ । सबै काम राम्ररी सम्पन्न भए पनि भक्तराजको गायकीलाई फर्काउन चिकित्सकहरू सफल भएनन् । दाइ–भाउजू नजाने कुन मनोदशामा स्वदेश फर्किनुभयो । किनभने घुमघाम गर्ने उद्देश्य राखेर गरिएको भ्रमण थिएन त्यो । सम्भवतः निराशाको पन्तुरो बोकेर फर्किनुभयो होला । जसले भक्तराजको आवाज फर्काउन आफ्नो बुताबाट डट्नुभएको थियो र नेतृत्व लिनु भएको थियो सदाशयताका साथ, उहाँहरूले के सोच्नुभयो र कसरी त्यस प्रयासको विफलतालाई लिनुभयो, मलाई जानकारी छैन । मैले उहाँका निम्ति साधारण सिपाही भएर काम गरेको थिएँ । चिकित्सकको असफलता सायद मैले आफ्नै थाप्लोमा लिएँ कि क्या हो ? त्यसैले त्यसपछि म दोहोर्‍याएर दाइको घरमा जान सकिनँ । अहिले पनि कहिलेकाहीं एकान्तमा के–के कुराहरू खेल्दा कहिलेकाहीं दाइको जीवनको तस्बिर मनमा खेल्छ । उहाँको जीवन कुनै ग्रिक रोमन नाटकको त्रासदीभन्दा कम लाग्दैन मलाई । लेखकलाई अल्जाइमर्स हुनु र गायकको जिब्रो नरहनुमध्ये कुन ठूलो त्रासदी मानिएला ? थाहा छैन, निरुत्तर छु ।

भक्तराजले नेपाली श्रोताहरूलाई ४/५ सय गीत मात्रै सुम्पिनुभयो होला । बेअर्थका हजारौं गीतभन्दा अर्थपूर्ण सयौं गीत कुनै चानचुने सम्पत्ति होइन । अहिलेका झैं काव्यरहित गीत उहाँले विरलै गाउनुभयो । उहाँका गीतहरू काव्यसहित हुन्थे । संगीतको साथ पाउँदा काव्य झन् स्पर्शी हुन्छ । त्यसैले भक्तराजका गीतहरूलाई आउने पुस्ताले उत्तिकै प्रेमले गुन्गुनाउनेछन्, जसरी हाम्रो पुस्ताले गुनगुनायो । त्यति मात्रै होइन, उहाँका गीतहरूको अक्षरशः साधना गर्‍यो भने तिनै गीत गायनका विद्यार्थीहरूका लागि रियाज हुनेछ । यसबाहेक उहाँका दुई सन्तान सत्य र स्वरूप आफ्ना सांगीतिक कृतिभन्दा कम सम्पत्ति होइनन्, हाम्रो समाज र संगीत क्षेत्रका लागि । दुवैले आफ्ना बुवाको विरासतलाई बडो इमानदारी र कुशलताका साथ अगाडि बढाएका छन् ।

कैयन्ले अभिव्यक्त गर्न नसकेको प्रेम, संवेदना र निजी अनुभूतिलाई स्पष्ट आवाज दिने यी विलक्षण सितारा अर्थात् भक्तराजले नेपाली संगीतलाई जे दिएर जानुभयो, त्यो नेपाली आधुनिक संगीत आकाशमा अनवरत चम्किरहनेछ । र, भक्तराजका गीतहरूमा भएका जीवनदर्शन, मानवीय संवेदना र कविताले नै उहाँका कृतिलाई कालजयी बनाउनेछ ।

प्रकाशित : फाल्गुन १९, २०८० १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?