कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सशस्त्र द्वन्द्वको ऐना

‘पीपला’ मा स्पष्टै देखिन्छ– द्वन्द्वकालीन नेपाली समाजको त्रासदी र आमसमुदायको मनोदशा
डम्बर रसिक भारती

सडकछेवैको एउटा पसलमा बजिरहेको रेडियो भन्दै थियो– महिला, बालबालिका तथा समाज कल्याणमन्त्री जनार्दन अधिकारी सवार गाडीको ठक्करबाट मानसिक सन्तुलन ठीक नभएकी एक महिलाको मृत्यु ।

सशस्त्र द्वन्द्वको ऐना

औपन्यासिक कथावस्तुले समाप्ति पाए पनि मनमा उठेका तरंगचाहिँ झनै उछालिन थाल्छन् । विगत रिंगिन थाल्छ । धेरै पीपला, अनुराधाका अनुहार एकै पटक नजरमा आउँछन्, साहिँलौ अर्थात् जनार्दन अधिकारीहरूका कुरूप अनुहार पनि मस्तिष्कभरि छाउँछन् ।

लेखक विमल नेपालले भोगेको परिवेशलाई मैले झनै अघिदेखि भोगेको हुँ । उही परिवेशमा एकाकार भएको छु । सशस्त्र द्वन्द्वको प्रारम्भ, उत्कर्ष साथै बैठानलाई पनि नजिकबाट अनुभूत गरेको छु । लाग्छ, उपन्यासले त्यही जीवन, त्यही दुर्दशाको ऐना देखाएको छ । केही केही शल्यक्रिया पनि गरेको छ ।

अनेकन कथानक छन् । थुप्रै यथार्थ किस्सा छन् । सोही किस्सालाई जोड्ने कला विमलसँग भएरै त्यसले किताबको रूप लिएको छ, ‘पीपला’ को रूपमा । यो किताबले भरपूर सपना देख्ने एक निम्नवर्गीय परिवारको व्यक्तिको मनोदशा अनि वास्तविकता देखाएको छ । कथा पीपलामा मात्रै केन्द्रित छैन । समीरको पाटो पनि कम मार्मिक छैन । एउटा निम्नवर्गीय परिवारको बाध्यता, चाहनालाई पनि नजिकबाट बुझ्न यसले सघाएको छ ।

नेपाली इतिहासमा दशक समयावधिको माओवादी सशस्त्र द्वन्द्व एउटा महत्त्वपूर्ण घटना हो । यसमा असल, खराब दुवै पाटा मौजुद छन् । समुदायको तल्लो तहसम्म हकअधिकारका, समानताका विषयमा यसले वकालत गरेको छ । भुइँमान्छेले पनि आफ्नो शक्ति बुझ्न सक्षम भएका छन् । अर्कोतिर त्यो द्वन्द्वले भग्न बनाएको परिवार, समाज अहिले पनि पीडाबाट अलग्गिन सकेको छैन ।

भोक, रोग र अभावले पिल्सिएको नेपाली समाजमा माओवादी युद्धले प्रशस्त सपना देखायो । रहर, अपेक्षा वा बाध्यताले धेरैजना युद्धमा लामबद्ध भए । पीपलाहरू पढाइ बिसाएर बालवयमै बन्दुक बोक्न बाध्य भए । अनुराधाहरू पनि युद्धमा डोरिए । साइँलौजस्ता खराब चरित्र भएका व्यक्तिले राम्रो स्थान पाए ।

अध्ययन अनि परिवार त्यागी युद्धमा सामेल भएकाहरू सबैको व्यवस्थापन हुन सकेन । उनीहरूले कतिसम्म निकृष्ट जीवन भोग्नुपर्ने अवस्था सिर्जना भयो भन्ने कुरा यस उपन्यासले राम्ररी बोलेको छ । अवसर छोप्न सक्नेहरू पटक–पटक सांसद, मन्त्री भए । ती लाखौं सम्पत्ति थुपार्न पनि सक्षम भए । युद्धका घाइतेहरू अहिले पनि शरीरमा गोली बोकेर पीडा खपिरहेका छन् । वैदेशिक रोजगारीमा जान विवश छन् । जीवनयापनका लागि कोही सहरमा निकृष्ट काममा लागेका छन् ।

द्वन्द्वकालीन नेपाली समाजको अवस्था, त्रासदी, विद्यार्थी अनि आमसमऽदायको मनोदशालाई ‘पीपला’ उपन्यासले स्पष्ट देखाएको छ । निम्न तथा मध्यमवर्गीय परिवारको अवस्था, चाहना, सन्तानप्रतिको जिम्मेवारी, बाध्यतालाई पनि किताबले केलाउने प्रयास गरेको छ ।

उपन्यासमा केन्द्रीय पात्र छिन्– पीपला । पीपलाले युद्धमा सहभागी धेरैको प्रतिनिधित्व गरेकी छन् । प्यारो सरको हत्यापछि नै पीपलाको पीडादायी दिन सुरु हुन्छ । अपहरण, हत्या जस्ता घटना त्यतिबेला धेरै विद्यार्थीले भोगेकै हुन् । यसबाट विद्यार्थीको मनोविज्ञानमा नराम्रो असर पुग्छ ।

मिल्ने साथी समीरसँगको बिछोड, साहिँलौको यौन अत्याचार र अनेक यातना सहेकी पीपलासँग बदलाको भाव उत्पन्न हुन्छ । युद्धमा होमिएर बदला लिन सक्ने अवस्था पनि आउँदैन । उनै अत्याचारी, व्यभिचारी, हत्यारा चरित्रको व्यक्ति नै युद्धको नाइके बनेको छ । युद्धबाट विक्षिप्त भएर सहर पसेकी पीपलाका दिन झनै दुःखद् बनेका छन् ।

नबहुलाइ पनि बहुलाएको अभिनय गरेर बाँच्ने कोसिसमा हुन्छे– पीपला । समीरप्रतिको प्रेमभावले थोरै भए पनि जिजीविषा मनमा सँगालेकी छ उसले ।

पीपलाको बचाइलाई लिएर भन्न सकिन्छ– प्रेमभावले संसार र आफैंसँग भागिरहेकाहरूसँग पनि मनमा आशादीप भने निभ्न दिँदोरहेनछ ।

हरेकतिर हारेर पनि मान्छे बाँचिरहेको हुन्छ भन्ने उदाहरणका रूपमा पीपलालाई उभ्याइएको छ । कहींकतै न्याय पाएकी छैन उसले । जीवनका सबै गल्छेडामा दुःखबाहेक उसको भागमा केही छैन । यो दुःख, सास्ती, त्रासदी पीपलाको मात्रै होइन, धेरै नेपालीकै कथा हो । साहिँलौहरूकै जगजगी छ समाजमा । हिजो पनि तिनै चरित्रले समाजमा शासन गरेका हुन्, अहिले पनि उनीहरूकै हालिमुहाली छ । यस्ता चरित्रले नै राज गरिरहेकाले नै पीपलाहरूको जीवनमा सुख–शान्ति आउन नसकेको हो । अझै यही प्रवृत्ति छँदै छ वर्तमान समाजमा ।

माओवादी सशस्त्र द्वन्द्वका बेला समुदायको मनोदशा, समुदायले भोगेको कष्ट, निर्दोष अनि असल व्यक्तिको पनि हत्या हुने अवस्था, खराब व्यक्तिहरूको पार्टी प्रवेश र उचाइ प्राप्ति, साधारण परिवारले व्यहोर्नुपरेको पारिवारिक बिछोडका साथै अध्ययन, परिवार, सारा त्यागपछिको परिणामलाई बुझ्न ‘पीपला’ पढ्नुपर्छ ।

तत्कालीन अवस्था भोगेकाहरूले ती दिनलाई अझै राम्ररी बुझ्न यो किताब पढ्नुपर्छ भने पछिल्लो पुस्ताले त्यसवेलाको अवस्था बुझ्न पढ्नुपर्छ ।

शैलीगत रूपमा उपन्यास सलल बगेको छ । कथानकले जिज्ञासापूर्वक अगाडि बढ्न उकासेको छ । समीरले बहुलाहीलाई नजिकैबाट भेट्दा पनि चिन्न नसक्नु अस्वाभाविक छ । धेरै लामो समयावधि पनि होइन, तर सहपाठी ठम्याउन नसक्नु स्वाभाविक लाग्दैन ।

प्रकाशित : फाल्गुन १९, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×