कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

गृहिणी होइन, गृह व्यवस्थापक

जीवनैभर काम गर्ने बिनातलबका श्रमिक हुन्– गृहिणी, दुःख खेपेरै परिवारलाई सुख दिन्छन् । तर, यो अनवरत खटाइको मूल्यांकन कसैले गरेको छ ?
अमृता अनमोल

केही काम गर्दिनँ, मात्रै गृहिणी हो,’ के काम गर्दै छौ भन्ने मेरो सोधाइमा ४० हाराहारीकी साथी मीनाले जवाफ फकाई, ‘मैले त पढेर पनि केही गर्न सकिनँ । खाली बसेरै जीवन बिताएँ । पढाइ खेर गो ।’ 

गृहिणी होइन, गृह व्यवस्थापक

मीना मेरी स्कुले साथी, जो २०५४ को एसएलसीपछि बटौली मेलामा पहिलो पटक भेटिएकी थिई । त्यो खुसीको माहोलमा मैले किन कामबारे सोधें हुँला ? असहज महसुस गरेँ । भनें, ‘घर सम्हाल्ने जति ठूलो काम के हुन्छ र ? तिमीले घर सम्हालेकै कारण घरपरिवारलाई कति सहज भएको छ होला !’ उसले मेरो मुख नियाली र धेरैबेरमा अनिश्चित जवाफ फर्काई, ‘खोई ...होला...!’

गृहिणी अर्थात् घर सम्हाल्ने मान्छे ! सोझो अर्थमा गृह व्यवस्थापक ! घरपरिवार, भान्सामा चाहिने सबै सामानको जोहो र व्यवस्थापन गर्ने मान्छे ! खाना पकाएर खुवाउने र भान्सा सम्हाल्ने मान्छे ! घर–परिवारमा सबैभन्दा धेरै समय काम गर्ने गृहिणी हुन् । सबैको चित्त बुझाउनुपर्ने पनि उनैले हो । कोही तातो खाने भए अर्कोले चिसो खाने भन्छ । कसैले पीरो मागे अर्कोले गुलियो खान खोज्छ । तर, गृहिणीको कामको गणना हुँदैन । घर बस्ने न हो, अरू काम छैन भनेर दिनहुँजसो टिप्पणी गरिन्छ । यसले जीवनभर घर सम्हालेर बसेका महिलाले आत्मग्लानि महसुस गरेका छन् । घर सम्हाल्ने पुरुष पनि हुन सक्छन् । तर, हाम्रो समाजमा महिला धेरै छन् ।

घरजस्तै विद्यालय, कार्यालय, उद्योग प्रतिष्ठान सम्हाल्ने पनि व्यवस्थापक हुन्छन् । व्यवस्थापकको ओहोदा अरूभन्दा माथि हुन्छ । उनीहरूको खटनपटन र निर्देशन चल्छ । कसैले पदीय दायित्व सोधे, उनीहरू गौरवसाथ भन्छन्, ‘म व्यवस्थापक ।’ तर, घर सम्हाल्ने गृहिणीले कहिल्यै गौरव गर्दैनन् । बरु ‘म गृहिणी मात्रै हो’ भनेर आफूलाई बेकामे ठानिरहेका छन्् । सधैं घरपरिवारको सेवा–सुसारमा खटिने गृहिणीको काम किन देखिँदैन ? सोझो जवाफ छ– अन्य व्यवस्थापकले काम गरेको पारिश्रमिक पाउँछन् । नगद आर्जन गर्छन् । तर, गृह व्यवस्थापक अर्थात् गृहिणीले जति नै काम गरे पनि पारिश्रमिक पाउँदैनन् । नगद नकमाउनेलाई हाम्रो समाजमा काम गरेको मानिँदैन ।

सामान्य गृहिणीको दिनचर्या हेरौं । बिहान ५ देखि साढे ५ बजेभित्र उठिसक्नुपर्छ । त्यसपछि घरको सरसफाइ, नुहाइधुवाइ, मन्दिरको सरसफाइ र

पूजाआजा ! बच्चाबच्चीलाई दूध वा लिटो र ठूलालाई चियापानीको प्रबन्ध ! स्कुले छोराछोरीलाई ९ बजेभित्रै खानाको जोहो र सिंगारपटार ! श्रीमान् तथा परिवारको अफिस तयारी र खानपिन गृहिणीकै जिम्मा ! भाँडावर्तन माझ्ने, लुगाफाटो धुने गरेर फुर्सद नहुँदै फेरि स्कुलबाट फर्कने बच्चाबच्ची र पाका पुस्ताको खाजाको जोहो ! साना छोराछोरी छन् भने गृहकार्य गराउने जिम्मा गृहिणीकै ! गाउँ हो भने मेलापात र पशु स्याहारको काम ! बजार हो भने पनि घरयासी सामग्री किनमेल ! साझको खाना र त्यसपछिको व्यवस्थापन ! यति सक्दा रातिको १० बजिसक्छ । कम्तीमा पनि गृहिणी दैनिक १६ देखि १८ घण्टा काममा घोटिन्छन् । बिडम्वना, उनीहरूको कामलाई काम गनिँदैन ।

अन्तर्राष्ट्रिय श्रम ऐन भन्छ, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम ।’ तर, दैनिक १८ घण्टासम्म काममै घोटिएका गृहिणीले यस्तो सुविधा कहिल्यै पाउँदैनन् । बाहिर काम गर्नेका लागि साप्ताहिक बिदा हुन्छ । चाडपर्व बिदा हुन्छ । तर, हाम्रा गृहिणीहरूको कहिल्यै बिदा हुँदैन । अरूको बिदा हुँदा अझ बढी काममा घोटिनुपर्छ । चाडपर्वमा झनै धेरै खटिनुपर्छ । जीवनैभर काम गर्ने बिनातलबका श्रमिक हुन्– गृहिणी । आफू नखाएर पनि परिवारलाई खुवाउने, आफूले दुःख खेपेर पनि परिवारलाई सुख दिने व्यक्ति हुन् गृहिणी । यो अनवरत खटाइको मूल्यांकन कसैले गरेको छैन ।

काम दुई प्रकारका हुन्छन्– सेवामूलक र आयमूलक । पितृसत्तात्मक समाजले सेवामूलक धेरै काम महिलालाई सुम्पेको छ । उस्तै होस्, रकम आउने काम भए पुरुषले गर्छन् । तर, सेवा मात्रै भए महिलाले ! केही उदाहरण हेरौं– मन्दिरमा पूजा गर्दा पैसा आउँछ, त्यो पुरुषले

गर्छन् । घरमा पैसा आउँदैन, महिलाले पूजा गर्नुपर्छ । ठूलाठूला होटल–रेस्टुराँमा खाना बनाउने भान्से पुरुष हुन्छन् । तर, घरमा महिलाले पकाउनुपर्छ । पैसा पाइने भएपछि लक्का जवान केटाहरू पनि होटलमा हाँस्दै खाना पस्कन र जुठा भाँडा उठाउन आउँछन् । तर, तिनैले घरमा त्यस्ता काम गर्दैनन् । कार्यालयमा सहयोगी पुरुष हुन्छन् । उनीहरू कत्ति पनि असजिलो नमानी कार्यालय सरसफाइ गर्छन् । तर, तिनै पुरुष घरमा सरसफाइको काम गर्दैनन्, गृहिणीलाई लगाउँछन् । हेपिएका र च्यापिएका छन्, गृहिणी ।

महिलालाई भान्सामा लगाउन उत्साहित गर्ने यौटा उखान छ, ‘खाना त चुरा बजेकै मिठो !’ बेसवाल हाम्रा आमा, दिदी भाउजू यही उखानमा मक्ख परेर घर सम्हाले र गौरव महसुस गरे । अहिले महिला पढालेखा भए । आयआर्जन हुने बाहिरका काम पनि गर्न सक्ने भए । त्यसैले जीवनभर सेवामूलक घरयासी काममा अल्झाएर ‘तिम्रो काम छैन’ भन्ने वचन सुनाउने समाजबाट गृहिणी दिक्क छन् ।

पुरुषको स्थायी काम हो– वीर्य उत्पादन र महिलाको स्थायी काम– गर्भवती हुनु, सुत्केरी हुनु, स्तनपान गराउनु । अरू सबै काम बाँड्न सकिन्छ । त्यसैले घरको काममा पुरुषले पनि सघाउने गरौं । महिला–पुरुष मिलेरै भान्सा सम्हालौं । मिलेर घर बाहिरको काम गरौं ।

महिला चाहन्छन्– खुरुखुरु कमाएर ल्याउनेभन्दा तिमीलाई सन्चो छ/छैन ? खायौ/खाएनौ ? सोधिदिने श्रीमान् । महिलाले परिवार सम्हालेकै कारण पुरुषलाई कति सहज भएको छ ? त्यसको लेखाजोखा गरौं । घर सम्हाल्ने महिलालाई बेकामे र बेरोजगार नभनौं । अब गृहिणी होइन, गृह व्यवस्थापक भनौं !

प्रकाशित : माघ २०, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?