कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अभिनयमा कम, अनुहारको भरमा स्टारडम

अनुहार अलग भए पनि ‘हिरो’ ले गर्ने यात्राको नक्सा एउटै हुन्छ । चुनौती/समस्यासागै उसको यात्रा सुरु हुन्छ । प्रदीप खड्का, अनमोल केसीहरू जहाँ पुग्छन्, त्यहीं फ्यान ओइरिन्छन् । आखिर यी ‘हिरो’ लाई लोकले किन रुचाउँछ ? 
रीना मोक्तान

प्रेमगीत’ प्रदर्शन संघारको एक दृश्यबाट नेपाली फिल्म र युवा स्टारमाथिको यो विमर्श सुरु गरौं । आठ वर्षअघि ‘प्रेमगीत’ को प्रचार टिम निस्कियो, देश दौडाहामा । प्रचार समूह सानो थियो । प्रदीप खड्का र सन्तोष सेन गाडीको क्याबिनमा सुतेरै पुगेका थिए, चितवन–पोखरा । सहरका प्रत्येक विद्यालय पुगेका निर्माता सेन कलाकार चिनाउँदै भन्थे, ‘ऊ चाहिँ हाम्रो फिल्मको हिरो, मिस्टर प्रदीप खड्का ।’

अभिनयमा कम, अनुहारको भरमा स्टारडम

तर, विद्यार्थीहरू चासो दिँदैनथे । चलेको हिरो भए पो सेल्फी खिच्नु !

उतिबेला प्रदीपलाई कसले पो चिन्थ्यो र ! तर, फिल्म प्रदर्शनसँगै ‘प्रेमगीत’ चर्चामा, प्रदीप हिट ! ‘प्रेमगीत’ कै दोस्रो शृंखलाका बेला देश दौडाहामा निस्कँदा त्यो पुरानो दृश्य ठ्याक्कै उल्टियो । तिनै विद्यालयमा प्रदीपसँग फोटो खिचाउनेको भीड लाग्यो । प्रदीपको एक स्पर्सलाई नै मरिहत्ते गर्नेहरू देखेपछि सेनले सोचे, ‘ओहो ! यस्तो पनि हुँदोरहेछ जिन्दगीमा !’

दमौलीको चौर होस् वा धरानका चौबाटा– प्रदीप देख्नेबित्तिकै दर्शक झुम्मिन्थे । दमौलीमा फिल्मको कार्यक्रम थियो । ‘प्रदीप आउँदै छन्’ भन्ने खबरले दमौली तातो थियो । दिउँसैदेखि दर्शक उत्सुक भएर प्रदीपलाई पर्खिरहेका थिए । फिल्मको गीत गाउन जब प्रताप दास स्टेज उक्ले, त्यहाँ पनि प्रदीपकै खोजी ! सोनिका रोकाया नाच्दा पनि प्रदीपकै पर्खाइ ! साँझ ढल्दै थियो, प्रदीप स्टेज उक्ले– दर्शकले उनको पक्षमा व्यापक हुटिङ गरे । उनलाई छुन खोज्नेको

ठेलमठेल ! ‘प्रेमगीत–२’ को प्रदर्शनताका त्योभन्दा पनि ठूलो भीडले घेरिए, प्रदीप । अष्टनारायण हलमा फिल्ममाथि प्रतिक्रिया लिन पुगेका प्रदीपसँग दर्शक झुम्मिए । हलको प्रांगण भरियो, हुलमा एम्बुलेन्स फसेपछि सेनले निकै गाली खाए । ‘ऊ हिरो हो भन्दै हिँड्दाका ती दिन र दर्शकले छुन मात्रै पाए हुन्थ्यो यी दिनको साक्षी बनें’, प्रदीप–क्रेज सम्झे सेनले, ‘प्रेमगीत ठिकठाकै चल्यो । तर, जब प्रेमगीत–२ हाउसफुल, भन्ने खबर पहिलो पटक मकहाँ आइपुग्यो, अचम्मै लाग्यो ।’

‘कृ’ निर्देशक सुरेन्द्र पौडेलले अनमोल केसीको पनि यस्तै फ्यान–क्रेज देखेका छन् । जहाँ–जहाँ अनमोलको सुटिङ हुन्थ्यो, दर्शकको भीड थामिनसक्नु ! सुटिङमा भीडले काम गर्ने माहोल नै बिगारिदिएपछि सुरेन्द्रले अनमोलका लागि ‘बडी गार्ड’ खटाए । धेरैले ‘त्यो स्टन्ट हो’ भने । तर, दर्शक सम्हाल्नै त्यो उपाय अपनाइएको थियो । फ्यानको रुवाबासी, गुलाफ दिनेको भीड ! अहो, उनी जहाँ पुग्छन्, त्यहीं यो दृश्य दोहोरिन्छ ।

आयुष्मान देशराज जोशीका फ्यान पनि उस्तै ! ‘चपलीहाइट–२’ को सुटिङ कमलपोखरीमा हुँदा छतबाट आयुष्मान हेर्नेको ताँती ! फ्यान यसरी कराउँथे– चिच्याउँथे, निर्देशक खनाल दंगै पर्थे । त्यो हल्ला र चिच्याहट सम्हाल्नै मुस्किल हुन्थ्यो । आयुष्मान अभिनेता कम, मोडलका रूपमा बढी चिनिन्थे । ‘चपलीहाइट– २’ प्रदर्शनताका आयुष्मानलाई सीडीसी हल पुर्‍याइँदाको क्षण निर्देशक दीपेन्द्र के. खनालको स्मृतिमा अझै छ । पार्किङबाटै फ्यानले आयुष्मान पछ्याए । हातभरि गुलाफ र आयुष्मानको स्केचसहित आँखाभरि आँसु लिएका फ्यानले घेरिँदा उनलाई हल पस्नै सकस भयो ।

धीरज मगरका फ्यान त झन् पत्रकार सम्मेलनमै आइपुग्थे । राजधानीको एक महँगो होटलमा ‘इन्टुमिन्टु लन्डन’ को कार्यक्रम थियो । यो दृश्य ७ वर्ष पुरानो हो । कार्यक्रमपछि निर्देशक रेनाशा बान्तवा राईसँग गफिँदै थिए– धीरज । पत्रकारले उनी दुईसहित अन्य कलाकारलाई व्यस्त बनाए । त्यस्तैमा एक समूहले उनको नामै लिएर चिच्याए, ‘धीरज ! धीरज !’ फ्यानले धीरजसँग अटोग्राफ लिए, उपहार दिए, फोटो खिचाए । एक युवती त धीरज देख्नेबित्तिकै रुन थालिन् ।


प्रदीप, अनमोल, धीरज मात्रै होइन नाजिर हुसेन, आकाश खड्का, सलोन बस्नेत, अनुपविक्रम शाही, सलिनमान बनियाँका पनि यस्तै फ्यान–क्रेज भेटिन्छ । यी अनुहार जहाँ पुग्छन्, त्यहाँ फ्यान ओइरिन्छन् । आखिर यिनलाई लोकले किन रुचाउँछ ?

जवाफ हो– ‘हिरो’ । ती नेपाली फिल्मका चल्तीका ‘हिरो’ हुन् । यस्ता पात्र, जसले पर्दामा ‘बहादुरी’ देखाएर लोकबाट प्रशंसा कमाउँछन् । ‘हिरो’ हुन्छन्, थुप्रै गुणले भरिएका । ती यस्ता हुन्, जसले आजीवन आवश्यकतामा परेका समूह वा व्यक्तिलाई मद्दत गर्छन्– कुनै इमानको आस नराखी वीरता देखाउँछन्, जोखिम र बलिदान स्विकारेरै । पर्दामा ती हुन्छन्– बहादुर, इमानदार, सहयोगी, शक्तिशाली, प्रेरणादायी !

अनुहार अलग भए पनि हिरोले पूरा गर्ने यात्राको नक्सा एउटै हुन्छ । चुनौती/समस्यासँगै हिरोको यात्रा सुरु हुन्छ । कोही विद्वान् (सहायक) को सहयोगमा हिरो समस्या समाधानमा हिँड्छ र लक्ष्यसम्म पुग्न नदिने भिलेनसँग लड्छ । ‘युद्ध’ जितेर अन्त्यमा एक सामान्य वा असामान्य व्यक्ति नै हिरो बन्छ । हाम्रा साहित्य, फिल्म, टेलिभिजनमा यही फर्मुला स्थापित भयो ।

हिरो कस्तो भने चिल्लो अनुहारको, सुगठिलो शरीरको ! कम्मर मर्काउँदै गुन्डाहरूबाट हिरोइनलाई बचाउन सक्ने ! ऊ असम्भव काम पनि एक निमेषमै फत्ते गर्छ । हिरोको यही स्थापित अनुहारमा अटाए– अनमोल, प्रदीप, धीरजहरू ।

हिरोको स्थापित मूल्य/मान्यताकै कारण यी कलाकारलाई दर्शकले रुचाएको बताउँछन् समीक्षक एवं आलोचक अनुप सुवेदी । ‘हिरो यस्तै हुनुपर्छ भन्ने बिम्ब हाम्रो दिमागमा हाल्दिएको छ– ती हुन्, लार्जर द्यान लाइफ चरित्र । त्यही इमेजलाई मानिसले निरन्तर उपभोग गर्न खोज्छ,’ सुवेदी हिरोका ख्याति खोतल्छन्, ‘शाहरूख खानले जतिसुकै फिल्म गरे पनि जुन निश्चित भूमिकामा दर्शकले उसलाई हेर्न चाहन्छ, त्यो गुणमा उसले दायाँबायाँ गर्दैन । मानिस आफूले जे बुझिरहेको छ, त्यसैलाई दोहोर्‍याएर हेर्न/सुन्न चाहन्छ ।’

निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘उनीहरूको अनुहार, पहिरन र कन्टेन्टले यी युवा रुचाइए । मिडियाले स्थापित गरेको भाष्यले पनि ती रुचाइएका हुन् ।’ फिल्मकर्मी तथा समीक्षकका अनुसार, यी कलाकार मन पराइनुको अर्को एक कारण हो– एकै उमेर समूह ! यी हिरो रुचाउने एउटा निश्चित उमेर समूह छ । किशोरावस्थाका दर्शक फिल्ममार्फत ‘आइडल’ खोजिरहेका हुन्छन् । ती चाहन्छन्– आफ्नो प्रतिनिधित्व पर्दामा होस् । र, हल जाने दर्शक नै १४–३५ उमेर समूहका हुन् ।

त्यही उमेर समूहले आफूलाई पर्दामा खोज्ने क्रममा यी नाम चर्चामा आएको विश्लेषण छ, निर्देशक नवीन सुब्बाको । ‘प्रेमगीत’ का प्रत्येक शृंखलामा प्रदीप लभर–ब्वई बने । फिल्मले किशोरावस्थाकै प्रेम–विछोड देखायो । ‘लभस्टेसन’, ‘रोज’ र ‘लिलीबिली’ मै पनि प्रेम–कथा समेटिए । किशोर–किशोरी यस्ता विषयमा झुम्मिने नै भए । अनमोलले पनि प्रेमकथाकै फिल्म खेलिरहे । ‘जेरी’, ‘गाजलु’, ‘होस्टेल’, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर’ का दुई शृंखलामा युवाले अनमोलमा आफू भेट्टाए । युवा स्टारका यी फिल्ममा गहकिला मुद्दा त केही भेटिँदैन, भेटिन्छ उही प्रेम, विछोड र बदला ! अनि २/४ गीत र एक्सन–दृश्य ! फिल्ममा ती हिरोले युवाकै प्रेम, भावना र अनुभूति अभिव्यक्त गरे । किशोर प्रेम र पात्रमा युवाले ‘आफू’ पाए ।

युवा–कथाकै कारण उतिबेला प्रदीप चर्चामा आएको तर्क गर्छन्, सेन । ‘त्यतिबेला लभस्टोरी फिल्मको माहोल थियो । त्यसैले टिनएजर्स र युवाले प्रदीप रुचाए,’ सेन भन्छन्, ‘उनको अनुहार पनि चक्लेटी, स्वभाव पनि विनम्र ! त्यहीमाथि मिहेनती पनि छन् ।’

सुरेन्द्र पौडेल पनि सेनलाई नै पछ्याउँछन् । भन्छन्, ‘लभस्टोरी फिल्म चल्दा अनमोल चलेको हो ।’ उस्तै उमेर समूहका दर्शकले रुचाइदिएपछि प्रदीप–अनमोलले धेरथोर स्टारडम बटुले । तर, बिस्तारै यो स्टारडम खस्कँदै गएको बताउँछन् नवीन सुब्बा । ‘एउटा उमेर समूहले उनीहरूलाई मनपराइरहेका थिए । तर, त्यो क्रेज पछिसम्मै तिनले विकास गर्न सकेनन् । प्रयास गरिरहेकै छन्, तर सकिरहेका छैनन्,’ सुब्बा भन्छन् । दीपेन्द्र के. खनाल पनि यी स्टारले दर्शक गुमाउँदै गरेको सत्य सुनाउँछन् । ‘प्रदीप र अनमोलहरूको फ्यान क्रेज अहिले हरायो । म चाँडै तिनको फिल्म चलेको र त्यही स्तरको स्टारडम फर्केको देख्न चाहन्छु,’ खनाल आसावादी सुनिए, ‘जबसम्म हिरोको क्रेज हुँदैन, तबसम्म फिल्ममा त्यस किसिमको आकर्षण हुँदैन ।’ स्टारडम खस्किनुमा खनालको एउटै बुझाइ छ– यी कलाकारले बेचिरहेको कन्टेन्ट । ‘सबै हिरोले खेलेको फिल्म एउटै देखिन्छ । त्यही लभस्टोरी, त्यही डायलग प्याटर्न । एउटै इन्डिङ र एउटै फ्रेम,’ खनाल भन्छन् ।

धीरजको पछिल्लो फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ हेरौं । कथा छ, धराने केटो ज्याकी लिम्बूको । डान्सकै कारण धरानमा ज्याकी चर्चित छ । डान्समै भविष्य फराकिलो बनाउन काठमाडौं आइपुग्छ । यात्रामा रुबी (जसिता गुरुङ) भेट्छ, भेट प्रेममा परिणत भइहाल्छ । प्रेममा तगारो बनिदिन्छ– परिवार र सपना । प्रेम र सपनामा आइपर्ने समस्या सुल्झाउँदै अगाडि बढ्छ ज्याकी । फिल्मको कथा त डान्समा भविष्य बनाउन चाहने एक पात्रको हो । तर, फिल्मले ज्याकी र रुबीको प्रेम, उल्झन देखाउँछ ।

भारतीय बजारछेउ पुगेको प्रदीपकै ‘प्रेमगीत–३’ को कथा पढौं । खजाक राज्यका क्रूर शासक युद्धवीर (शिव श्रेष्ठ) का कान्छा छोरा युवराज प्रेम (प्रदीप) बाल्यकालदेखि नै साधारण युवतीको प्रेममा पर्छ । राजा बन्ने योग बोकेको प्रेमसामु एक दिन बाल्यकालको उही प्रेमिका आइपुग्छे । राज्य सत्ताको भारबीच प्रेम प्रेमका लागि लडाईं लड्छ । हिन्दीमा डब गरिएको यो फिल्ममा पनि प्रेमकै कथा छ । यी फिल्मका हिरोहरूले प्रेम–संघर्ष गर्छन् र त्यसैको निचोडमा कथा सकिन्छ । खनालले भनेझैं यी कलाकारले एउटै स्वाद पस्किइरहे । तर, विश्वका फिल्मको पहुँचसँगै दर्शकको स्वाद बदिलियो ।

एकै विषय दर्शकले सधैं नरुचाउने समीक्षक सुवेदीको तर्क छ । ‘सौगात र दयाहाङले राजेश हमाल र भुवन केसीका जस्ता परम्परागत फिल्म गरेका छैनन् होला । तर, अनमोलहरूले त्यही चक्लेटी, लभर–ब्वई इमेज बेच्न खोजिरहे । उनीहरूसँग त्यही इमेज छ । दयाहाङसँग परम्परागत अनुहार, शरीर थिएन, त्यसैले उनीहरूले एक्टिङमा जोड दिए । समयक्रममा राजनीतिमा पहिचानका मुद्दा आयो । समाजले दयाहाङलाई पनि स्वीकार गर्‍यो,’ अनुप भन्छन्, ‘दर्शकले दयाहाङबाट फरक कन्टेन्ट खोजे पनि अनमोलबाट भने लार्जर द्यान लाइफ चरित्र खोजे– आम मानिसभन्दा सुन्दर, भिलेनसँग भिड्न सक्ने, बलियो पनि । त्यही इमेजमा फिट भएर अनमोलले बजार बनाए । तर, एउटै कुरा दर्शकले सधैं किन खोज्छ र ?’

निर्देशक लामा यी कलाकारबाट सन्तोषजनक फिल्म नआएको सत्य सुनाउँछन् । ‘अनमोलको तुलनामा प्रदीपले राम्रो काम गरिरहेका छन् । तर, अनमोलको काम राम्रो आइसकेको छैन । समग्रमा यी कलाकारका काम चित्तबुझ्दो छैन,’ लामा भन्छन्, ‘दयाहाङ, सौगात र विपिनका फिल्मलाई एक किसिमले प्रशंसा गर्न सकिन्छ । तर, तिनको काम प्रशंसायोग्य छँदै छैन ।’

नवीन सुब्बा भन्छन्, ‘नेपालमा मात्रै होइन कोरियन, जापानिज, टर्किस, फ्रेन्च फिल्म हेर्दा यो उमेर समूहका दर्शक–लक्षित केही भेटिन्न, फिल्ममा । तर, निश्चित उमेरका दर्शकले यी फिल्म यसरी रुचाउँछन् कि तीनका हिरोमा आइडल भेट्छन् ।’ यी हिरोहरूले फिल्म छनोटमा ध्यान नदिएसम्म यस्ता फिल्म निरन्तर दोहोरिने सुब्बाको निचोड छ ।

निर्देशक लामा भने यी युवा–स्टारका फिल्म एकै हुनुमा निर्देशकको पनि दोष देख्छन् । ‘त्यो उमेर समूहको कलाकारले प्रेमकथा नै गर्नुपर्छ भन्ने छैन । त्यही उमेर समूहका रणवीर कपुर, वरुण धवन, साहिद कपुरले राम्रा फिल्म खेल्न थाले । प्रदीप र अनमोलले पनि त्यस्ता फिल्म खेल्न सक्थे । यसमा उनीहरूको भन्दा निर्देशकको दोष देख्छु । निर्देशकले सधैं चक्लेटी ब्वईकै रूपमा उनीहरूलाई प्रयोग गरिरहेका छन्,’ लामा भन्छन् ।

‘कृ’ निर्देशक सुरेन्द्र पनि बलियो कन्टेन्ट दिने निर्देशककै अभाव देख्छन् । ‘कृभन्दा अघि अनमोल ५–७ लाखमा काम गर्थे । ‘कृ’ पछि ५० लाखको डिमान्ड गर्न थाले । डिमान्ड पूरा गर्‍यो, बजारले । कृमा मैले अनमोललाई २० लाख दिएँ । बजारमा ५० लाखको हल्ला भयो । त्यसपछिका फिल्ममा उनले ५० लाख नै लिन थाले । तर, अहिले अनमोलको स्टारडम खस्कँदै गएको भन्दा पनि पब्लिकलाई हेर्न मन लागेको कुरा नै नआएजस्तो लाग्छ,’ सुरेन्द्र भन्छन्, ‘अनमोलका लागि राम्रो कन्टेन्ट नै बन्न सकेन । हिरोलाई बनाउने निर्देशक नै भएनन् हाम्रोमा ।’

निर्देशकले पनि ‘भिजन’ सहित यी युवा कलाकारलाई फिल्ममा लिनुपर्ने सुब्बा बताउँछन् । ‘निर्देशकमा त्यो भिजनको अभाव छ । एउटा कालखण्ड बिताइसकेकाले उनीहरूलाई त्यही भूमिकामा दर्शकले स्विकार्दैनन् । त्यही अनुरूप उनीहरूले इमेज सिफ्ट गर्न सकिरहेका छैनन्,’ सुब्बाको विश्लेषण छ, ‘त्यो इमेज सिफ्टको तयारी गर्नुपर्‍यो । एक्सन फिल्म गर्ने हो भने शरीरमै पनि काम गर्नुपर्‍यो ।’

सुब्बाको यो भनाइले माथि चर्चा गरिएका युवा–स्टारको पर्दा–आयु सकिँदै गएको संकेत छ । पर्दामा हिरो/हिरोइनको निश्चित आयु हुन्छ । उनीहरू फिल्म उद्योगमा प्रवेश गरेकै दशक बित्न लाग्यो । अब त्यही प्रेमकथा, उही हिरोलाई दर्शकले रुचाउलान् त ? प्रदीप–अनमोललाई पर्दामा हेरेका दर्शक अब परिपक्व भइसके । एक दशकमा ती दर्शकको फिल्म–स्वाद पनि पक्कै फेरियो । परिपक्व भइसकेका दर्शकलाई पनि यी स्टारले मौलिक कन्टेन्ट दिन नसक्दा तिनको स्टारडम घटेको खनाल सुनाउँछन् । ‘बक्स अफिस चलायमान यी स्टारले नै बनाउने हो । कम्तीमा २ दिन त ढुक्कले दर्शक उनीहरूका फिल्ममा ह्वात्तै आउँथे । कन्टेन्टभन्दा पनि क्रेजले दर्शक तानिन्थे,’ दीपेन्द्र भन्छन्, ‘तर छड्के यता युथबाट ती स्टारको कनेक्सन टुटेको छ । त्यो सम्बन्धलाई कसरी ब्युँताउने ?’

दीपेन्द्रको भनाइमाथि सुब्बा सही थप्छन्, ‘१० वर्षमा दर्शकको पनि स्वाद फेरिइसक्छ । दर्शकको रुचिअनुसार यी कलाकारले काम गर्नुपर्छ । त्यहीअनुरूप कथा छनोट गर्ने क्षमता हुनुपर्छ । तर, त्यो क्षमता तिनमा म देख्दिनँ ।’ अहिले हिरोको अनुहारमा दर्शकले ‘नयाँ अनुहार’ खोजिरहेको सुब्बाको धारणा छ । ‘त्यही टिनएज चरित्रमा प्रदीप र अनमोललाई परिपक्व दर्शकले स्विकार्दैन । हरेक १० वर्षमा कलाकारको पनि नयाँ पुस्ता चाहिन्छ,’ उनी भन्छन् ।

वरुण, रणवीर, साहिदले झैं फरक विषयवस्तुका फिल्ममा यी कलाकारले आफूलाई ढाल्नुपर्ने निर्देशक लामा सुनाउँछन् । हुन त यी कलाकारले पनि फरक विषयका फिल्ममा फड्को नमारेका होइनन् । पर्दामा चिल्लो/सुन्दर देखिन चाहने प्रदीप ‘प्रकाश’ मा झुत्रे कपडा, मैलो शरीरमा देखिए, प्रेमकथाभन्दा परको कथामा । अनमोलले पनि एक्सन विधातर्फ आफूलाई उभ्याउन खोजे । नाजिर ‘गुलाबी’ जस्तो चरित्रमा देखिँदै छन् । तर, यी स्टारमा आएको यो परिवर्तनलाई दर्शकले झट्टै स्विकारेका छैनन् । तिनले यी फिल्मका चरित्रमा आफूलाई स्थापित गर्न मिहेनत गर्नुपर्ने सुब्बा सुनाउँछन । भन्छन्, ‘उनीहरूको उमेर ठ्याक्कै त्यो भूमिकाका लागि पुगेको देखिँदैन । त्यो भूमिकामा त्यो निपुणता भेटिँदैन । लभर–व्वईबाट देखिएकालाई ग्याङ्स्टारका रूपमा झट्ट दर्शकले स्विकार्दैनन् । चरित्रमाथिको विश्वनीयतामा अभाव देखिन्छ ।’ सुवेदी सुब्बाको भनाइमा सहमत छन् । भन्छन्, ‘अब अर्को दयाहाङ चल्दैन । कुन समयमा कुन समाजमा कस्तो चरित्र रुचाइन्छ भन्ने हो ।’

यी युवा स्टार नरुचाइनुमा कन्टेन्ट मात्रै बलियो आधार हो त ? सुवेदीले भनेझैं यी हिरो नरुचाइनुको अर्को बलियो कारण हो– समाजले समातेको नयाँ भाष्य । नेपाल मात्रै होइन बलिउड–हलिउडमै पनि हिरोको अनुहार बदलिएको छ । अब दयाहाङ, सौगात मल्ल र विपिन कार्कीहरूलाई फिल्मको हिरोका रूपमा समाजले स्वीकार्न थाले । पहिले हिरोहरू ‘लार्जर द्यान लाइफ’ चरित्र बाँच्थे । समयसँगै हिरोको देवत्वकरण हरायो । यी हिरोका कथा जटिल, परिपक्व र सूक्ष्म हुन थाले । पहिले हिरो बलियो र शक्तिशाली हुनैपर्छ भनिन्थ्यो । अहिले त हिरो महिला–पुरुष दुवै हुन सक्ने भए । शारीरिक रूपमा बलियो हुनुले अर्थ राखेन । उसले समस्यासँग आफ्नै तरिकाले लड्न सक्छ भन्ने भाष्य बन्यो ।

८० को दशकतिर भारतीय फिल्मले ‘मर्दको दर्द नही होता’ भन्ने भाष्यका फिल्म बनाए । तर, अहिले ‘मर्दको दर्द होता है’ भन्ने भाष्य विकास भयो । पर्दामा अब हिरोले डर, कमजोरी, जोखिम देखाउन थाले । ‘समाजमा पर्फेक्ट हिरो, पुरुष वा महिला छैनन् । यसको अर्थ हामीसँग कमजोरी छन्,’ आयुष्मान खुरानाले भारतीय मिडियालाई भनेका थिए,’ अहिले दर्शकले यस किसिमका फिल्म र स्टेरियोटाइप भत्काएका कुरालाई स्विकारेको देख्दा खुसी लाग्छ ।’

सन् २००० तिर हिरोभन्दा विषयवस्तुतर्फ बलिउड ढल्कियो । ‘मसान’, ‘काइ पो चे’ जस्ता फिल्मको कथा हिरो बन्यो, त्यसको पात्र होइन । भुइँमान्छे हिरो बन्न थाले, ‘चेन्नई एक्सप्रेस’ मा शाहरूख खानको चरित्रले भन्छ– डन्ट अन्डरस्टिमेट द पावर अफ अ कमनम्यान ! साधारण व्यक्ति नै पर्दाको हिरो हुन थालेपछि हिरोको क्रेज हराउँदै गएको ‘द इन्डियन एक्सप्रेस’ ले लेखेको छ, ‘बलिउड हिरो अहिले मान्छे हुने क्रममा देखिन्छ । उनीहरूले हिरोइनलाई वस्तुको रूपमा लिन छोडेको छ ।’

रणवीर सिंह, विक्की कौशल, राजकुमार राओ, आयुष्मान खुराना त्यही नयाँ भाष्यको अनुहारमा देखिए । बलिउडका ‘खेलाडी’ अक्षय कुमार ‘प्याडम्यान’, ‘जली एलएलबी टु’, ‘स्पेसल २६’ मा साधारण पात्रमा देखिए । अमेरिकामै पनि अब बन्दुक बोकेर मान्छे मार्न सक्नेलाई होइन, बन्दुकधारीबाट बचाउनेलाई हिरोका रूपमा व्याख्या गर्न थालियो । अब समाजका डाक्टर, फाइर–फाइटर्स हिरो भए, जो जोखिम मोलेर बहादुरी देखाउन सक्छन् ।

समाजले विश्वास गरेको ‘हिरो’ भन्दा फरक देखिएकै कारण हाम्रा युवा हिरोलाई दर्शकले पत्याउन छोडेको देखिन्छ । ‘अहिले नेपाली समाजका लागि भयानक/घातक मान्छेले लाइक भ्युज पाइरहेको हुन्छ । यो कस्तो समाजमा हामी आइपुग्यौं ? फिल्मकर्मीका हिसाबले मैले त्यो मान्छेलाई हिरो बनाउने कि भुइँमान्छेलाई ? त्यो छनोट सर्जकमा छ । हिरो मुख्य पात्र मात्र होइन, तपाईंले फिल्ममा प्रस्तुत गरेको भाष्य पनि नायक बन्न सक्छ,’ ‘शाम्बाला’ का निर्देशक मीन भाम भन्छन्, ‘हिरो राजनीतिक शब्दावली भयो । पुरातनवादी सोचले ढाकिएको नायक हामी कल्पना गर्छौं, चाहे त्यो सामाजिक होस् या राजनीतिक रूपमा होस् । तर, आर्ट हाउस फिल्मका लागि यो मानक सत्य हुन पनि सक्छ, नहुन पनि । यस्तो अर्थ नायक भनेको उच्च कद, लामो नाकको होइन ।’ नेपालमै पनि दयाहाङ, विपिन कार्की र सौगात मल्ल भुइँमान्छेको ‘हिरो’ बने । हाम्रा युवा हिरोहरूले अभिनयमा आफूलाई सुधार्दै लैजाउनुपर्ने रंगकर्मी आकांक्षा कार्की सुनाउँछिन् । ‘अनुहार हुञ्जेल उनीहरूको क्रेज रहला । तर, अनुहारको चमक हराएपछि ती रहन्नन् । तिनलाई जोगाउने त अभिनयले नै हो । अहिले त सौन्दर्यको मापदण्ड बाहिरका कलाकारले बजारमा सक्रिय छन् । अब चक्लेटी हिरोहरूले आफूलाई अन्तिमसम्म रहन अभिनयतर्फ आफूलाई विकसित गर्नुपर्छ,’ आकांक्षा भन्छिन्, ‘उनीहरूको अभिनयसँगै त्यसमा निर्देशकको पनि कमजोरी छ । निर्देशकले ती हिरोलाई अभिनय गराउन सक्नुपर्छ ।’

अभिनयका आलोचक सुब्बा यी हिरोले अभिनय नै नगरेको तर्क गर्छन् । ‘प्रकाश फिल्ममा प्रदीपले कोसिस गरे । यिनीहरूले अभिनय नगर्दा दयाहाङ र सौगातले मौका पाइरहेका हुन् । यिनीहरूले अभिनय गर्ने हो भने उनीहरूलाई गाह्रो पर्थ्यो,’ सुब्बा भन्छन्, ‘अहिले राजेश हमालको सर्व स्वीकार्यता एकदमै ठूलो छ । तर, उनकै फिल्म किन चल्दैन ? यिनीहरूले आफूलाई विकास गरेनन् भने हुने त्यही हो । स्टारडम त रहिरहन्छ, तर तिनका काममा विश्वास नहुने अवस्था सिर्जना हुन सक्छ ।’

प्रकाशित : माघ २०, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×