कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
जीवा लामिछानेकी आमा

दुःखको चोला फेरेकी हरिकला

निरक्षर हरिकलाले कहिल्यै अक्षर चिन्ने रहर गरिनन्, श्रीमान्–छोराहरूले सिकाउँछु भन्दा पनि । अक्षर नचिनेकामा कुनै पश्चात्ताप पनि छैन उनलाई । तर, भयंकर पश्चात्ताप छ– उबेला छोरीलाई नपढाएकामा । ‘त्यो समय छोरीलाई पढाउने कुरा खासै सोचिँदैनथ्यो । अर्काको घर जाने जात भन्थे छोरीहरूलाई । चास्सचुस्स यसो पनि भन्थे– अर्काको भाग्यमा खाने जात,’ हरिकला भन्छिन् ।
दीपक सापकोटा

काठमाडौँ — आफ्नी आमा सधैं शक्ति, ऊर्जा र जाँगरकी प्रतिमूर्ति लाग्छ उनलाई । र, आमा हिँडिआएका पुराना श्यामश्वेत दिनहरू किंवदन्ती र लोककथाजस्ता । उनले जति फराकिलो संसार देखेका छन्, उति नै साँघुरो देखेका छन् उनकी आमाको परिवेश ।

दुःखको चोला फेरेकी हरिकला

संसारलाई अनेक पटक फन्को लगाइसकेका जीवा लामिछानेका अनेकन परिचय छन्– उद्यमी, घुमन्ते, लेखक र इन्जिनियर । बहुपरिचय भएका जीवालाई जन्म दिने आमाचाहिँ सम्झनामा लगभग परिचयविहीन थिइन्, जसरी परिचयविहीन थिए त्यस समयका ग्रामीण नेपाली महिला ।

आफ्नो निर्णय र छनोटको स्वतन्त्रता थिएन तिनलाई । परम्परा र यथास्थितिका बाध्यताबाट मुक्त भएर स्वतन्त्र आत्मनिर्णयको अधिकार पनि थिएन । त्यसैले जीवालाई लाग्छ, समाज परिवर्तनको मधुरो प्रकाशमय समयको बकपत्र हुन् उनकी आमा, जसको व्यक्तिगत अनुभूति, सामाजिक जीवन र मनोविज्ञान नै समाज पढ्ने किताब हो ।

जीवा जन्मिएको चितवनको पदमपुर गाउँ उस्तै छ । केवल फेरिएका छन्– गाउँलेका भोगाइ र तिनले बाँचिआएको साँघुरो संसार । जसरी गाउँ आफैंमा साक्षी हो– गाउँलेका वेदना र संघर्षको, जीवालाई लाग्छ, उनकी आमा पनि उस्तै साक्षी हुन्– गाउँ र गाउँलेका परिवर्तनको ।

आमा हरिकलाका साथमा जीवा लामिछाने । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेका यात्रा संस्मरणबाट पाठक मोहित छन् । उनका ‘सरसर्ती संसार’, ‘देश देशावर’ वा अखबारमा लेखिरहने संस्मरणले पाठकलाई संसार परिक्रमा गराउँछ, इतिहास स्मरण गराउँछ, नितान्त नयाँ भूगोल चिनाउँछ । जस्तो– बर्मुडा ट्र्यांगलको रहस्यमयी संसार वा अन्टार्कटिकाको तिलस्मी हिउँ–भूगोल वा युद्धग्रसित रुवान्डा वा इदि अमिनको युगान्डा !

अनिँदा रातहरू, एक्ला दिनहरूमा जीवाको मार्गदर्शक केही थियो भने त्यो हो, आमाको न्यानोपन । झरीपछि धुम्मिएको आकाशतिर हेर्दै उनी आमाका पीर र चोटहरू स्मरण गर्छन् । लाग्छ उनलाई, जुन यादहरूले अर्थपूर्ण बनायो जीवनको गोरेटो । आमा हिँडेर यहाँसम्म आएको समयका अगणित रङ छन्– दुःखका, दर्दका र पीरका । तिनका अनेकन संगीत–सुर छन्, एकान्त पहाडमा रेटिएको सारंगीको तारबाट गुन्जिएजस्ता । जीवनमा नयाँ–नयाँ अध्याय थपिँदै गएका छन् । तर, जीवाकी आमा हरिकला लामिछाने (९०) बाल्यकालका तिनै पहिलो अध्यायतिरै अल्झिन्छिन्, जुन दिनहरूले उनी हिँड्ने जीवन–बाटो तय गरिदिएको थियो ।

***

१९९२ साल असारमा कास्कीको अर्मला हरपाकमा जन्मेकी हरिकलालाई गाउँलेहरू सेती भन्थे । लगभग शताब्दीअघिको पहाड, डाँडापाखा, वन–जंगल र गाउँका गोरेटाहरूको सम्झना खुब ओहोरदोहोर गर्छन् आजकाल । त्यो बाटो, त्यो यात्रा र ती कमला अनुभूति हरिकलालाई जीवनका सर्वाधिक महत्त्वका दिनहरू लाग्छन् ।

बुबा बलभद्र र आमा नन्दकलीकी कान्छी सन्तान हरिकलाअघि २ दाइ र १ दिदी थिए । हरिकला वर्षकी थिइन्, उनका बुबा बित्दा । उनलाई थाहा छैन, कस्तो थियो बुबाको अनुहार ! बुबा कति वर्षको उमेरमा बिते ? त्यो पनि थाहा छैन, तर अनुमान गर्छिन्– ३० वर्ष पनि पुग्नुभएको थिएन कि ! त्यसबेला आमाको उमेर पनि थाहा छैन । हरिकलालाई आमाले सुनाएकी थिइन्– बुबा फुपूको घर गएका रहेछन् । फर्किंदा बाटोमा ऐंसेलु टिप्न खोज्दा भीरबाट चिप्लेर लडेछन् । कसैले बोकेर घर ल्याउँदा घिटीघिटी अवस्थामा थिए, त्यही मेसोमै उनी बिते । हरिकलाकी आमा भने ०५३ सालमा ८६ वर्षको वैधव्य उमेरमा बितिन् ।

हरिकलालाई उबेला घरबाट टाढाको गोठमा बस्ने ११ वर्षे दाजु र आमाको खुब सम्झना आउँछ । ‘निकै टाढा लेकमा गोठ थियो, वन छेउमा । भैंसी गोठमा बस्नुहुन्थ्यो दाजु । २ हलको पाखोसहित जम्मा ४ हलको थियो जग्गाजमिन । पर्म, गोठालो, खेताला– सबैतिर भ्याउनुपर्ने भएकाले आमालाई पनि दुःखै थियो । आमा बाहिरैको काममा हिँडिरहनुहुन्थ्यो, घरको काम म गर्थें,’ हरिकला सम्झनाको झ्यालबाट चियाउँछिन् ।

जाँतो उचाल्दै कोदो पिँध्नु र दाजुका लागि गोठ पठाउनु हरिकलाको दैनिकी थियो । घरमा भेडा थिए, ती कहिले सप्रिन्थे, कहिले घट्थे । उनका दाजु तिनै भेडा बेचेर हरिकलालाई कपडा किनिदिन्थे । अनि भन्थे, ‘तेरै लच्छिनले गर्दा भेडा बेचेर लुगा किन्देको छु ।’ गोठमा ५/६ वटा भैंसी थिए । २/३ घण्टा मास्तिर हिँडेर जानुपर्थ्यो गोठ । उनकी आमा घाँस लिन त्यही गोठ जान्थिन् । उतिबेला पहाडतिर भनिन्थ्यो– ओलन बेच्नु हुँदैन । गोठबाट दूध होइन, मोही आउँथ्यो घरमा । गोठमा बनेको घिउ थोरै घर आउँथ्यो, बाँकी गोठालाहरू नै खान्थे ।

***

हरिकलाको बिहे भयो १४ वर्षको उमेरमा । उनकी दिदीको त आठै वर्षमा बिहे भएको थियो । सँगसँगै थियो उनको माइती र घर । हरिकलाका श्रीमान् खेमलाल लामिछाने त्यतिखेर १८ वर्षका थिए । घरको आर्थिक अवस्था कमजोर थियो, मध्यम वर्गीय पनि भन्न नमिल्ने । बिहेलगत्तै श्रीमान् भारत असम हिँडे, कामको खोजीमा– हरिकलाकी आमाले दिएको एक मोहोर लिएर । गाउँलेहरू कुरा काट्थे, तिमीलाई छोडेर अलपत्र पार्छन् अब । तर, पछि २०१४ सालमा छुट्टीमा घर आएका बेला खेमलाल हरिकलालाई लिएर असम गए । खेमलाल चौकीदारी गर्थे । उनीहरू असमको चियाबगानमा बस्थे । जेठी छोरी दिलु र छोरो झलक त्यहीँ जन्मे ।

हरिकलाका ६ सन्तानमा कान्छो छोरो १४ दिनमै बिते । केही वर्षअघि जेठो छोरो पनि बिते । भन्छिन्, ‘आफैंले जन्माएका सन्तानहरू आफू छँदै बिते भने त्योभन्दा ठूलो दुःख केही नहुँदो रहेछ ।’ जेठो छोरो झलक जन्मिँदाको कथा उनको स्मृतिमा ताजै छ, मानौं त्यो भर्खरै घटेको हो । श्रीमान् काममा गएका थिए । त्यो परदेशमा चिनेजानेका कोही थिएनन् । उनले छोरालाई बाँसले बेरेको पाइखानामा जन्माइन् र धोतीको पोल्टामा बोकेर घर ल्याइन्, नुहाइदिइन्, नाल काटिदिइन् । अहिले उनलाई लाग्छ, परेपछि जानिँदो रहेछ ।

***

असमबाट थोरै पैसा कमाएर नेपाल फिरेपछि खेमलाल–हरिकला चितवन पदमपुर, पिपरियामा बसाइँ सरे । एक बिघा १२ कट्ठा जग्गा व्यवस्था गरे, २०१८ सालमा । पदमपुरमा सुरुमा बनाएको घर आगलागीले खरानी भयो । त्यहाँ घर हुन्थे– खरखडाई, फुसले बनेका । अन्न, भाँडाकुँडा, लुगा–कपडाभन्दा पनि बुबा, हजुरबाका पालाका कागज, किताब जले भनेर खेमलालले खुब पीर माने । गाउँमा बर्सेनि कुनै न कुनै घर–गोठमा आगलागी भइरहन्थ्यो ।

जीवाको गाउँ थियो– तीनतिर राष्ट्रिय निकुञ्ज र एकापट्टि राप्ती नदीले घेरिएको, राप्तीपारिको पदमपुर थारू बस्तीबीच । गाउँमा जंगली जनावरले दुःख दिन्थे । बर्खामा राप्ती तर्नु असाध्यै सकस हुन्थ्यो, ज्यान नै जोखिममा राख्नुपर्ने । बर्खामा राप्ती उर्लेका बेला बिरामी उपचार गर्न बजार लैजान नपाउँदा कत्तिले अकालमै ज्यान गुमाउँथे । चितवन औलो लाग्ने ठाउँ थियो । कतिसम्म भनिन्थ्यो भने चितवनतिर औंला देखाए त्यो औंला झारिदिन्छ औलोले । ०११ सालमा औलो उन्मूलन भएपछि बसाइँसराइ र आवादी सुरु भएको हो चितवनमा । राणाकालमा कसैलाई सजाय दिनुपरे ‘चितवन पठाउनू’ भनिन्थ्यो । र, पानी लाग्ने, खेतीपाती गर्ने ठाउँको खोजीमा जीवाको परिवार चितवन सरेको थियो । टाँडी बल्लबल्ल बजारउन्मुख थियो ।

२०२१ सालमा पदमपुरमै जन्मिए जीवा । साइँला छोरा हुन् उनी । चितवनको जीवाको घरमा थियो– इनार र धारा । गाउँभरिका मान्छे पानी लिन आउँथे उनकै घरमा । त्यसरी पानी दिन पाउँदा ‘पुण्य हुने काम गरेको छु’ भन्ने बोध हुन्थ्यो खेमलाललाई । गर्मी मात्र होइन, असाध्यै दुःख पनि थियो चितवनमा । मेलापात, घाँस–दाउरा गर्दै हरिकलाले छोराछोरी हुर्काइन् । हरिकला हरेक दिन मेलापात जानैपर्थ्यो । साँझ ७ बजे दिनभरको कामले थकित गाउँ सुतिसक्थ्यो । ७ कक्षासम्म पदमपुर पढेर टाँडीको नेपाल माध्यमिक विद्यालयमा ८, ९ र १० पढे जीवाले । छोराहरूलाई पढाउनकै लागि टाँडीमा घर किनेका थिए जीवाका बुबाले ।

जीवा ६ वर्षको छँदा कक्षा एकमा भर्ना भएका थिए । प्राथमिक पढाइ हुन्थ्यो– ‘धरमभकारी’ मा । मंसिरमा अन्न उब्जाएपछि गाउँभरिका मान्छेले अन्न ल्याएर जम्मा गर्थे, त्यो भकारीमा । र, जेठ–असारमा अन्न चाहिँदा सापट लैजान्थे । त्यहीँ हुन्थ्यो कचहरी पनि । ऋषिपञ्चमीको एक दिन थियो, जीवाकै घरमा गाउँका दिदीबहिनी भेला भएका थिए, पञ्चमी पूजा गर्न । उनकै उमेरका केटाकेटी आमाहरूका पछि लागेर घरमा आएका थिए । जीवालाई स्कुल जान पटक्कै मन थिएन ।

घरमा रमिता थियो, नाचगान थियो । बाको डरले भारी मन लिएर उनी स्कुल गए । मन नअडिएपछि उनी भागे, घर । बासँग लुक्दालुक्दै पनि उनको नजर छोरामा परिहाल्यो । त्यसपछि बाले बेस्सरी पिटे जीवालाई– भागेर आउने ? भन्दै । जीवाकी आमा असाध्यै रोइन् । पिटाइ नरोकिएपछि छुट्याइन्, ‘के यसलाई मार्न खोजेको ?’ भन्दै । आफूले पढ्न नपाए पनि खेमलालले ‘छोराछोरी पढाउनुपर्छ’ भनेर घरमै शिक्षक राखेका थिए । गाउँमा पढाउन बाहिरबाट आएका शिक्षक उनैको घरमा बस्थे । बुबाको सर्त थियो– तिमीहरूले मेरा छोराहरूलाई पढाउनुपर्छ ।

***

त्यो एक दिनको सम्झनाले जीवालाई छोपिरहन्छ, एकतमासको ‘नोस्टाल्जिक’ बनाउँछ । त्यो दिन थियो– २० सेप्टेम्बर, १९८६ । रातभरिको वर्षाले राप्ती नदी भयानक उर्लेको थियो । जीवा भोलिपल्ट सोभियत संघ जाँदै थिए पढ्न, छात्रवृत्तिमा । तर, राप्तीको बाढी झन् बढिरहेको थियो । बूढापाकाहरू भन्थे– ‘राप्ती यसरी त कहिल्यै बहुलाएको थिएन । यति ठूलो बाढी यसअघि देखेकै थिएनौं ।’ धमिलो राप्तीसँगै जीवाको सपना पनि धमिलिँदै थियो । राप्ती बढेपछि सबै गाउँले गाउँमै बन्दी हुनुपर्थ्यो । तर, जीवाले त जसरी पनि राप्ती तर्नैपर्थ्यो– विदेश उड्ने तय जो भइसकेको थियो । उनको बाध्यता बुझेर छन्नु महतोले उनलाई नदी तार्ने आँट देखाए । तर, जीवाकी आमा खुब आत्तिइन्, रुवाबासी चल्यो घरमा । रुँदैरुँदै टीका लगाइदिइन्, आशीर्वाद दिइन् ।

बाले छोरालाई त्यो राप्तीको भेलमा एक्लै पठाउन मानेनन् । उनी पनि छोरासँगै डुंगा चढे । ‘जब हामी नदीको बीचमा पुग्यौं, मलाई लाग्न थाल्यो, यसरी ज्यान नै दाउमा राखेर मैले के गर्न खोजिरहेको छु ? आफूले लिएको हठपूर्ण निर्णय ठूलो दुर्घटनामा परिणत भइदियो भने के होला ? मैले आफूलाई मात्र होइन, बाको ज्यानलाई पनि जोखिममा राखेर बाढी तर्न बाध्य बनाएको थिएँ । केही भइहाल्यो भने मैले गलत निर्णय गरें भनेर पश्चात्ताप गर्न पनि पाउने छैन । केही भएन भने ठीक हुनेछ र त्यो मेरो हठ साहसी हुनेछ,’ आप्रवासी नेपाली इन्जिनियरहरूको संघर्षको संस्मरण–किताब ‘आँगन छोडेपछि’ मा जीवाले लेखेका छन् । तर, त्यो दिन त्यस्तो केही भएन । र, छन्नुले राप्ती तारे अनि जीवा सोभियत संघ उडे ।

***

निरक्षर हरिकलाले कहिल्यै अक्षर चिन्ने रहर गरिनन्, श्रीमान्–छोराहरूले सिकाउँछु भन्दा पनि । अक्षर नचिनेकामा कुनै पश्चात्ताप पनि छैन उनलाई । तर, भयंकर पश्चात्ताप छ– उबेला छोरीलाई नपढाएकामा । ‘त्यो समय छोरीलाई पढाउने कुरा खासै सोचिँदैनथ्यो । अर्काको घर जाने जात भन्थे छोरीहरूलाई । चास्सचुस्स यसो पनि भन्थे– अर्काको भाग्यमा खाने जात,’ हरिकला भन्छिन् ।

त्यतिबेला हरिकलाले छोरीलाई स्कुलबाट छुटाइन् । खेमलालले ‘छोराछोरीले खुब पढ्नुपर्छ’ भनेर छोरीलाई पनि स्कुल भर्ना गरिदिएका थिए । तर, हरिकलाले ‘घरको काम सघाउली’ भन्ने सोचेर छोरीलाई पढ्न छुटाएकी थिइन् । भन्छिन्, ‘अहिले भएको भए म त्यसो किन गर्दी हुँ र ?’ आमासँग भेट भएका बेला आजभोलि पनि पढ्न नपाएकामा गुनासो गरिरहन्छिन् छोरी । आजकाल छोरीहरूले पढेर तरक्की गरेको देखेर हरिकला कल्पिन्छिन्– पढेकी भए मेरी छोरी पनि आफ्नै खुट्टामा उभिन्थी !

दुई वर्षअघि हरिकला हरपाक पुगिन् छोरा जीवासँग । बुबा लडेको भीरमा टाँस्सिए उनका आँखा । भनिन्, ‘अहो ! यहाँसम्म पानी लिन आउँथें म ।’ जीवासँग भनेकी थिइन्, ‘उबेला बुद्धि नआएर हो कि, नपढेर हो कि वा पैसो नभएर हो कि ? पहिलेका मान्छेसँग अक्कल नभएरै दुःख पाएका होलान् । नत्र त्यो पाइप लगाउन उतिसारो महँगो त हुँदैन होला । माथि लेक जाँदा त्यत्रो ३ घण्टाको बाटो हिँडेर गोठ गयो, पानी खान पाइने होइन ।’

हरपाकमा पानी ल्याउन एक घण्टा ठ्याक्कै लाग्थ्यो । घरमुनि रोहोटे भन्ने ठाउँमा पँधेरो थियो । हिउँदताका चाँडै पुग्नेले पानी पाउँथ्यो नत्र कुर्नुपर्थ्यो । बिहान सबेरै साजी पानीले दैलो लिप्नुपर्थ्यो । गाउँमा भनिन्थ्यो– काग कराएपछि दैलो लिप्न हुन्न । त्यसैले राति नै पानी लिन पँधेरा पुग्थिन् उनी । रोहोटेमा पानी सुकेपछि जंगलको धारापानी पुग्नुपर्थ्यो पानी लिन । दुःख गरेर पानी ल्यायो बिहानलाई पुग्छ, बेलुकालाई छैन । अहिले त घरैपिच्छे धारा छन् । हरिकलालाई लाग्छ, सुख लेखेको रहेछ आजकालका मान्छेलाई ।

***

उहिलेका दिन सम्झिँदा कथा बाँचेजस्तो लाग्छ हरिकलालाई । भन्छिन्, ‘ठूलो परिवारमा दुःख थियो । मैले जीवनमा उछार पाइनँ ।’ भारतमा बसेका हुनाले थारू समुदायका मानिस खेमलाललाई ‘लाहुरे बाजे’ भन्थे, जो थिए चुरोटका अम्मली । हरिकलाले त्यो अम्मल छुटाउन निकै खोजिन् तर ‘नानीदेखि लागेको बानी सिस्नुपानी लाउँदा पनि नजानी’ भनेर उम्किन्थे उनी ।

अक्षर चिन्ने अवसरबाट वञ्चित आफ्नी आमामा आएको परिवर्तनले जीवालाई चकित पार्छ । हरिकला बुहारीलाई भन्छिन्– आजको जमानामा रजस्वला बार्नुपर्दैन । अनि छोरा बितेपछि बुहारीलाई भनिन्– आजकाल रातो सारी लगाउने चलन छ, तिमीले पनि लगाए हुन्छ । आमाको पुस्ताले जे भोग्यो, समाजअनुसार आमाले आफूलाई परिवर्तन गर्न सक्छिन् भन्ने सोचेका थिएनन् जीवाले । तर, आमामा आएको त्यो परिवर्तनले जीवालाई पनि सिकायो– समयअनुसार सबैले परिवर्तन हुनैपर्छ ।

जीवाले संसार घुम्दा सुखमा भएका आमा पनि देखे, दुःखमा–विपद्मा–द्वन्द्वमा परेका आमा पनि । तर, सबै आमाको संवेदना, ममता, स्नेह र माया उस्तै रैछ । जीवालाई लाग्छ, आमा माया, करुणा र सहनशीलताको अर्को रूप हो । भन्छन्, ‘त्यसैले त भन्ने गरिन्छ नि– आफू सबै ठाउँ पुग्न नसक्ने भएकाले ईश्वरले आमालाई सिर्जना गरेका हुन् ।’

हरिकलालाई अहिले मधुमेह र दम छ, शरीर दुख्छ । ‘निद्रा लागेन’ भनिरहन्छिन् । थरीथरीका औषधि खान्छिन् । प्रायः चितवन बस्छिन् छोरासँग, अहिले काठमाडौं छिन् । उनलाई काठमाडौं बस्न फिटिक्कै मन लाग्दैन । शरीर काठमाडौंमा भए पनि चितवनमै छ मन । ‘४३ जना नाति–नातिना, पनाति–पनातिनाको गोठ भएछ,’ भन्दै खुसी हुन्छिन् ।

हरिकलाका श्रीमान् खेमलाल बिते २०७१ सालमा । श्रीमान् बितेपछि उनले रातो लुगा, चुरापोते, रातो टीका लगाउन छोडिन् । निधारमा सानो सुनको टिकुलीचाहिँ लगाउँछिन् । ‘बितेको मान्छेलाई पानी दिनुपर्छ, पानी नराखे पितृहरू तिर्खाउँछन्,’ सोचेर घरमा हुँदा र चोखो भएका बेला श्रीमान्का लागि दैलोमा पानी राख्न भुल्दिनन् । हरिकलालाई लाग्छ– मैले कत्ति चोला फेरें कत्ति । ‘पहिले दुःखको चोला थियो, अहिले सुखको,’ भन्छिन्, ‘मनले असाध्यै खुसी छु ।’

प्रकाशित : श्रावण ८, २०८१ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×