कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बहादुरसिंह लामा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

सुवास विडारी

मकवानपुर — कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) मंगलबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । 

बहादुरसिंह लामा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

उनी कांग्रेसबाट वाग्मतीको पहिलो मुख्यमन्त्री बनेका छन् । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई संसदीय दलको निर्वाचनमा पराजित गरेसँगै उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिँदै आएको थियो ।

बुवा दीपबहादुर लामा र आमा पूर्णिमायाको कान्छो छोरा लामाको जन्म २०२७ कात्तिक ८ मा नुवाकोटको तत्कालीन कार्की मनकामना गाविसको मानेमा भएको थियो । उनको परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छन् । उनकी पत्नी, एक छोरा र एक छोरी रहेका छन् ।

परिवार नै राजनीतिमा सक्रिय भएका कारण सानै उमेरदेखि नै उनमा राजनीतिक चेतना थियो । उनी युवा अवस्थाबाटै समाजसेवा र राजनीतिमा सक्रिय थिए । हजुरबुबा राजनीतिमा सक्रिय रहेका कारण आफू कांग्रेसमा आबद्ध भएको उनले बताए ।

‘मेरो हजुरबुवा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । जसका कारणले मलाई पनि अगाडि बढ्न सहयोग पुग्यो,’ उनले भने । प्राथमिक शिक्षा आफूले गाउँकै विद्यालयबाट पूरा गरेको उनले बताए । विदुर नगरपालिका–७ स्थित चण्डेश्वरी माविबाट उनले एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका उनी सोही वर्ष शंकरदेव क्याम्पस इकाइ सदस्य भएका थिए । नेविसंघको नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै उनको राजनीतिक यात्रा अगाडि बढेको थियो । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्ष पदमा लामा निर्वाचित भएका थिए ।

पार्टीको १३ र १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी हाल पनि केन्द्रीय सदस्य छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी नुवाकोट ३ मा पराजित भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र)का महासचिव एवं चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतान्तरले पराजित गरेका थिए । २०७४ सालमा उनी प्रतिनिधिसभा सदस्य र २०७९ सालमा वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । सरकारमा रहँदा सन्तुलित बजेट ल्याएको भन्दै विपक्षीले पनि उनको प्रशंसा गरेका थिए ।

उनी निर्माण व्यवसायी समेत हुन् । उनको हिम्डुङ एण्ड थोकर निर्माण कम्पनी सेवा रहेको छ । यो ‘क’ वर्गको निर्माण कम्पनी हो । संविधानसभा, प्रतिनिधिसभा र प्रदेशसभामा हालसम्म आफूले गरेको असल अभ्यासलाई आफ्नो मुख्यमन्त्रीको कार्यकालमा पनि निरन्तरता दिने योजना रहेको लामाले बताए ।

प्रकाशित : श्रावण ८, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×