कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

द्वारिकादासले बनाए होटल, अम्बिकाले बनाइन् सम्पदा

द्वारिकादासले २०१५–१६ सालतिर बत्तीसपुतलीमा जग्गा किनेर घर बनाए, त्यही घरबाट जन्मेको द्वारिकाज होटल तथा धुलिखेलको रिसोर्ट आज वार्षिक १ अर्ब हाराहारी आर्जन गर्ने आतिथ्य उद्योग बनेको छ
सुरज कुँवर

काठमाडौँ — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिकको दूरीमा रहेको बुटिक शैलीको होटल हो, द्वारिकाज । संसारभर अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल नजिकै स्थापना भएका होटल प्रायः पर्यटकको बासस्थानका लागि पहिलो रोजाइमा पर्छन् । किनकि, ती होटलबाट विमानस्थल ओहोरदोहोर गर्न सहज हुन्छ । 

द्वारिकादासले बनाए होटल, अम्बिकाले बनाइन् सम्पदा

तर, प्रसिद्ध भूगर्भविद् टोनी हेगनको भनाइलाई सापटी लिई भन्नुपर्दा विमानस्थलबाट नजिक भएकै कारणले मात्र द्वारिकाज पर्यटकको रोजाइमा पर्ने गरेको होइन । किनकि, द्वारिकाज होटल मात्रै होइन, यो त दक्षिण एसियाकै अद्वितीय सम्पदास्थल अनि कला सम्पदाको जीवन्त संग्रहालय पनि हो ।

१२ औं शताब्दीदेखि उदाएको मल्ल वंशले १८ औं शताब्दीसम्म झन्डै ६ सय वर्ष काठमाडौं उपत्यकामा शासन गर्‍यो । मल्लकालको विशेषता भनेकै मन्दिर, दरबार, धार्मिक भवन, निजी घरमा काष्ठकलाको सजावट थियो । ती काष्ठकला तथा मूर्तिमा त्यसताकाको नेवारी शिल्पकला ओतप्रोत भएको पाइन्छ । उचित मर्मतसम्भार र हेरचाहको अभावले अहिले त्यसबेलाको सम्पदा धेरै स्थानमा जीवन्त छैन । तर, काठमाडौंको मखनका रैथाने द्वारिकादास श्रेष्ठले मल्लकालीन सम्पदालाई होटलमार्फत जोगाइदिए ।

आज नेपालमा बुटिक शैलीको होटलको पर्यायवाची द्वारिकाज भएको छ । होटल संघ नेपाल (हान) का केन्द्रीय अध्यक्ष विनायक शाहका अनुसार निजी क्षेत्रले होटल निर्माण गर्दा ‘द्वारिकाजस्तो’ भनी मानक नै बनेको छ ।

२०३४ सालमा दर्ता भएको द्वारिकाज होटल इतिहास रुचाउनेहरूका लागि त्यसबेलाको कान्तिपुर, भादगाउँ र ललितपुर (काठमाडौं उपत्यका) को दुरुस्त अनुहार भएको भूगर्भविद् हेगनको टिप्पणी थियो । ‘द्वारिकाजले सम्पदाको संरक्षण गरी थप कार्यमा प्रयोग गर्न सकिने देखाएको छ,’ उनले द्वारिकाजबारे सार्वजनिक अभिव्यक्तिमै भनेका थिए, ‘वास्तवमा यो काठमाडौं उपत्यकाको रूप जोगाउन के गर्नुपर्छ भन्ने उदाहरण हो । काठमाडौंको विशिष्टता र सौन्दर्यलाई पुनःस्थापना गर्ने ठूलो र विशाल कार्यकर्ताको एक पाइला हो । यसले अहिले अनियन्त्रित वातावरणीय तनाव र आधुनिकीकरणको सामना गरिरहेको छ ।’

पर्यटन क्षेत्रले सम्पदा र वातावरण क्षेत्रलाई नष्ट गर्नु हुँदैन भन्ने जीवन्त प्रमाण यसले बोकेको छ । त्यसैले होला शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटल परिसरमा आयोजित श्रद्धाञ्जली समारोहमा जति शुभेच्छुकहरू संस्थापक अम्बिका श्रेष्ठको निधनमा स्तब्ध देखिन्थे, त्यति नै एक महिला व्यवसायी श्रेष्ठले सम्पदाको कसरी संरक्षण गर्नुपर्छ भनेर दिएको सन्देशलाई सान्त्वनाका रूपमा ग्रहण गरिरहेका देखिन्थे ।

‘यो सम्पत्ति अब कुनै एक व्यक्तिको मात्र नभई राज्यले पनि जोगाउनुपर्ने सम्पदामा परिणत भएको छ,’ पूर्वपर्यटन राज्यमन्त्री यांकिला शेर्पा भन्दै थिइन्, ‘अम्बिकाजी र उहाँका श्रीमान् द्वारिकादास श्रेष्ठले गोठबाट थालेको १० कोठाको सानो होटल आज नेपाल चिनाउने पर्यटकीय प्रडक्ट बनेको छ । यो नेपाली कला, संस्कृति विश्वसामु देखाउने सम्पदास्थल हो ।’

तस्बिर : सुरज कुँवर/कान्तिपुर

नेपाल भ्रमणमा आउने पर्यटकदेखि विशिष्ट पाहुनाहरूको रोजाइमा द्वारिकाज पर्छ । यदि विशिष्ट पाहुनाहरू काठमाडौंका अन्य कुनै पाँचतारे होटलमा बसिरहेका छन् भने पनि उनीहरू द्वारिकाजको रैथानेपन झल्किने परिकारको स्वाद लिन बत्तीसपुतली पुगेकै हुन्छन् । हालै नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा हुन् वा नेपालको चुनाव अनुगमन गर्ने कार्टर सेन्टरका संस्थापक पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टर, सबैलाई द्वारिकाजको कृष्णा अर्पण रेस्टुरेन्टले आकर्षित गरेको थियो ।

द्वारिकादास पत्नी अम्बिकाका साथ

द्वारिकाजको ‘सिग्नेचर’ मानिने यो ‘भेन्यु’मा नेपाली व्यञ्जन ढिँडोदेखि नेवारी परिकार छोयलासम्मका २२ वटा नेपाली स्वादका परिकार पाइन्छन् । थारू, मगर, नेवार, तामाङ, क्षत्री, ब्राह्मणलगायत नेपाली जातजातिको पोसाकमा सजिएर अतिथि सत्कारमा सेवा गर्ने यहाँका कर्मचारीहरूले मल्लकालीन नेपालको झल्को दिने गरी समयबजी, च्याउको सेकुवा, सिकर्नी, फर्सीको हलुवा, मिसमास अचार, पुरी र तरकारी पस्किन्छन् ।

‘कतिवटा परिकार खाने ? ६, १२ वा २२ वटै ! त्यो अतिथिहरूको भोक र रोजाइमा निर्भर छ,’ द्वारिकाजका एक वरिष्ठ सेफले भने, ‘थोरै थोरै टेस्ट गर्ने भए हामी सबै नेपाली परिकार अतिथिहरूको नामै राखेर मेनु तयार पार्छौं ।’ बेलुकी ६ बजेदेखि राति ११ बजेसम्ममा मात्रै खुला हुने कृष्णा अर्पणको मौलिक व्यञ्जनको स्वाद लिन गाउन लगाएर खानुपर्ने नियम भने पालना गर्नैपर्छ ।

द्वारिकाज होटलको रोयल स्विट ।

यहाँभित्र आँगनमा फैलिएको अर्को ‘भेन्यु’ तोरण हो । यहाँ संसारभरका स्वादको परख गर्न पाइन्छ । द्वारिकाको वास्तुकला अवलोकन गर्दै ब्रेक–फास्ट, लन्च, डिनर यहाँ तयार हुन्छ । होटलभित्र रहने अतिथिका लागि यो चौबीसै घण्टा खुल्छ । बाहिरबाट जानेका लागि भने निश्चित समयसम्म मात्र खुला हुन्छ ।

द्वारिकाजले जापानी खान्कीहरूलाई माकोज रेस्टुरेन्टमा सजाएको छ । शान्त वातावरण र सजावटमा अतिथिहरूलाई ‘अथेन्टिक’ जापानी खानाहरू प्रदान गरिन्छ । द्वारिकाजको उत्तरी कुनामा फ्युजन बार राखिएको छ । पोखरी (स्विमिङ पुल) छेउमा रहेको बार साथीसंगी भेटघाट र गफका लागि अर्को आरामदायी कटेज हो ।

द्वारिकाजको मार्केटिङ विभागका अनुसार यी तीन भेन्युमा हुने खानपानको प्रतिव्यक्ति न्यूनतम अमेरिकी डलर ३८ (४ हजार ९ सय) बाट ब्रेकफास्ट मेन्यु सुरु भई १ सय ५३ डलर (१९ हजार) हाराहारीसम्मको डिनर शुल्कसम्म पर्छ । यहाँ अतिथिका लागि ८० वटा कोठा छन् । जसमा हेरिटेज डिलक्स रुम, जुनियर स्विट, एक्जुकेटिभ स्विट र रोयल स्विट छन् । हेरिटेज डिलक्स रुमको सिजनमा एक रातको ४ सय ४६ डलर (५७ हजार रुपैयाँ), जुनियर स्विटको ५ सय ७१ डलर (७४ हजार रुपैयाँ), एक्जुकेटिभ स्विटको ७ सय १२ डलर (९२ हजार रुपैयाँ) र रोयल स्विटको २ हजार ५ सय ३५ डलर (३ लाख २९ हजार रुपैयाँ) पर्छ ।

प्राकृतिक सम्पदा संरक्षण गर्ने अभियानका रूपमा अम्बिकाले २०७० सालमा द्वारिकाज होटल्स तथा रेस्टुरेन्ट ग्रुपको शाखा धुलिखेलमा विस्तार गरिन् । करिब ३ सय ९३ रोपनी क्षेत्रफलमा द्वारिका रिसोर्ट धुलिखेलमा सञ्चालनमा छ । यो रिसोर्टले आफ्नै कृषि फार्मको उत्पादन अतिथिमाझ पस्किँदै आएको छ । हिमाली शृंखला देखाउँदै त्यहाँ स्पा, ध्यानको व्यवस्था गरिएको छ । त्यहाँ तीन बेड भएको भिलालाई अतिथिले ७ हजार ६ सय डलर (झन्डै १० लाख) रुपैयाँ तिर्नुपर्छ । सबैभन्दा सस्तो जुनियर स्विटको ६ सय २० डलर (८० हजार रुपैयाँ) पर्ने मार्केटिङ विभागले जनाएको छ । मनसुन (जुन १ देखि ३१ अगस्टसम्म) सिजनमा काठमाडौं र धुलिखेलको मेनु मूल्य पर्यटकको न्यून गतिविधिका कारण थोरै घटबढ हुन सक्छ ।

द्वारिकाजका दुवै स्थानमा अहिले ४ सय ८० नेपालीले रोजगारी प्राप्त गरेको प्रमुख लेखा नियन्त्रक गोपाल मल्लले बताए । उनका अनुसार यी दुवै रिसोर्टले वार्षिक १ अर्ब हाराहारीको कारोबार गर्छन् । ‘यो वर्ष द्वारिकाज काठमाडौंले ६५ करोड र धुलिखेलले ३५ करोड रुपैयाँ कारोबार गरेका छन्,’ चार दशकदेखि द्वारिका समूहमा आबद्ध मल्लले भने, ‘यो कुल कारोबारमा ५५ लाख डलर हाराहारी (७१ करोड रुपैयाँ बराबर) विदेशी मुद्रा आर्जन गरेका छौं ।’

२००७ सालताका नेपालको कुल जनसंख्याको ५ प्रतिशतभन्दा कम नागरिक शिक्षित थिए । त्यसताका द्वारिकादास भारतमा पढ्न गई कानुन र वाणिज्यशास्त्रको डिग्री लिई नेपाल फर्किएका थिए । उनको परिवारले २००९ सालमा न्युरोडमा पहिलो होटल पारस स्थापना गरेको थियो । त्यसबेला नेपालमा पर्यटक आगमन निषेध थियो । पशुपतिमा दर्शन गर्न आउने भारतीय तीर्थालु होटलका ग्राहक हुन्थे । तीर्थयात्रीलाई बास दिएबापत पैसा लिनु त्यसताका ‘पाप’ मानिन्थ्यो ।

द्वारिकादासले २०१५–१६ सालतिर बत्तीसपुतलीमा जग्गा किनेर घर बनाए । त्यही घरबाट जन्मेको द्वारिकाज होटल तथा धुलिखेलको रिसोर्ट आज वार्षिक १ अर्ब हाराहारी आर्जन गर्ने आतिथ्य उद्योग बनेको छ । द्वारिकादास बत्तीसपुतली सर्नुअघिदेखि नै पुराना वास्तुकला झल्किने झ्याल, ढोका संकलन गरिरहेका थिए । होटलले दिएको जानकारीअनुसार २०१०–०१५ सालताका संकलन गरिएको पहिलो झ्याल अहिले बत्तीसपुतलीको फ्युजन बारमा देख्न पाइन्छ ।

श्रेष्ठ परिवारका अनुसार, पुरानो झ्याल, ढोका राखेर होटल स्थापना गर्दा द्वारिकादासलाई धेरैले त्यसताका गरिबीका कारण पुरानो राखेको भनी निरुत्साहित गरेका थिए । तर उनले आफ्नो अभियानलाई पत्नी अम्बिकाको साथमा निरन्तरता दिँदै गए । आज त्यही सम्पत्ति नेपालको सांस्कृतिक सम्पदा र गौरवको विषय भएको छ । शनिबार अम्बिकाप्रति श्रद्धाञ्जली सभामा राखिएको स्मरण पुस्तिकामा आफ्ना सम्झनाहरू लेख्ने धेरैले श्रेष्ठ दम्पतीले नेपाललाई सम्पदामा समृद्ध बनाई योगदान पुर्‍याएको उल्लेख गरेको देखिन्थ्यो ।

यो अभियानको सुरुवात २००९ सालको एक चिसो बिहानबाट भएको थियो । वसन्तपुरतर्फ हिँडिरहेका बेला द्वारिकादासले सिकर्मीहरूले आगो बाल्न काठको स्तम्भ बञ्चरोले काटिरहेको देखे । भविष्यमा के गर्ने कुनै योजनाबिना नेवारी संस्कृति झल्किने आगोले पोलिसकेको त्यही स्तम्भ सिकर्मीबाट किनेर उनले काठ संग्रह थालेका थिए । वार्षिक हजारौं पर्यटक, अध्येता, विद्यार्थी आकर्षित हुने यो सम्पत्तिको हेरचाह अब श्रेष्ठ दम्पतीका दुई छोरीहरू संगीता र विनीताको काँधमा सरेको छ ।

भारतको दार्जिलिङमा वि.सं १९८९ फागुन १ मा जन्मिएकी अम्बिका प्रधान (श्रेष्ठ) को २३ वर्षको उमेरमा २०१२ सालमा काठमाडौंका द्वारिकादाससँग बिहे भएको थियो । दार्जिलिङको लोरेटो कलेज र सेन्ट जोसेफ कलेजबाट विद्याललय शिक्षा लिई पटना विश्वविद्यालयबाट आर्टसमा स्नातक गरेकी अम्बिका बिहेपछि काठमाडौंमा शिक्षक, अमेरिकन लाइब्रेरी तथा सूचना केन्द्रमा अधिकृत, सरकारी अस्पतालमा स्वयंसेवक हुँदै जेसिसको युवा आन्दोलनमा लागिन् । २०४८ माघ २७ मा द्वारिकादासको निधनपछि होटलको सम्पूर्ण जिम्मेवारी उनैले सम्हालिन् । जुन समयमा महिलालाई घरको चारघेरा बाहिर निस्कन मुस्किल थियो ।

पर्यटन उद्यमी, सम्पदा अभियन्ता अम्बिकाको ९२ वर्षको उमेरमा बिहीबार उपचारका क्रममा निधन भयो । शनिबार उनको योगदानलाई स्मरण गर्दै सयौं व्यवसायी, राजनीतिकर्मी, स्वदेशी/विदेशी कूटनीतिज्ञ, कलाकार, उनका समकालीनहरू बत्तीसपुतलीस्थित द्वारिकाज परिसरमा भेला भएका थिए । उनको पार्थिव शरीरलाई शनिबार नै दुई छोरी संगीता र विनीतासहित परिवारजनले अन्तिम बिदाइ गरे ।

प्रकाशित : श्रावण ६, २०८१ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×