कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
खगेन्द्र संग्रौलाकी आमा

साँघुरो घेरामा बाँचेकी भागिरथा

खगेन्द्र संग्रौला भन्छन्, ‘जन्मिनु, धूलो खेल्दै हुर्किनु, जबान हुनु, बिहा गर्नु, सन्तान पैदा गर्नु, बूढाबूढी हुनु, रोगाउनु र मर्नु– बस्, आमाका पालामा भूगोलको साँघुरो घेरोभित्र जीवनचक्रको घेरो यही थियो ।’
दीपक सापकोटा

काठमाडौँ — खगेन्द्र संग्रौला चिन्नेहरूलाई थाहा छ, उनको अर्को नाम पनि छ– कुन्साङ काका । दुवै नामले बरोबर चिनिएका संग्रौलालाई चाहिँ के लाग्दोरहेछ भने उनकी आमाको भएको एउटै नाम पनि चलन–चल्तीमा थिएन ।

साँघुरो घेरामा बाँचेकी भागिरथा

काठमान्डुको सहरी दौडादौडमा उनी सोचिबस्छन्– ‘छोराछोरीको न्वारानमा, व्रतबन्धमा, विवाहमा, पुराणमा, यज्ञमा बाको नाम अवश्य चाहिन्थ्यो, तर आमाको नाम सायद चाहिँदैनथ्यो । जस्तो लेनदेनका तमसुकमा, सम्पत्तिको स्वामित्वका लिखतमा आमाको नाम चाहिँदैनथ्यो ।’ जेजति चलअचल जेथो थियो, त्यो पनि खगेन्द्रका बाको थियो, आमाको केही थिएन ।

त्यसो त खगेन्द्रलाई लाग्छ– आमाको आफ्नै शरीर पनि उनको थिएन । ‘आमा घरका हामी सबैकी दासीजस्ती थिइन् । कामको चाङले पुरिएकी, बक् हरण गरिएकी,’ खगेन्द्र भन्छन् । उनकी आमाले १० सन्तानलाई जन्म दिइन्– छोराछोरी बराबर । तीमध्ये अन्तिम छोरी ९ महिना मात्र बाँचिन् । खगेन्द्रको गाउँमा ओखतीका नाममा सिटामोल र जीवनजल पनि पुगेको थिएन, बिमार लाग्दा ग्रहदशा हेर्ने अन्धविश्वासका केही व्यापारी थिए– ग्रहदशा हेर्ने ज्योतिषी, ढ्याङ्रो वा थाल ठोक्ने धामी, झाँक्री वा बिजुवा ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

‘त्यस्तो अवस्थामा हामी ९ सन्तानलाई आमाले कसरी बचाएर हुर्काइन् होला, आश्चर्य लाग्छ,’ आमाले बिताएका कहालीलाग्दा श्यामश्वेत दिनको सम्झना गर्छन् खगेन्द्र, ‘आमाका आठ–दस वर्ष त गर्भमा बच्चा बोक्दैमा बिते । डेढ–दुई वर्षको अन्तरमा जन्मेका हामी बालबच्चालाई दूध चुसाउँदा, गुहु–मुत सोहोर्दा, नुहाइदिँदा, लुगा धोइदिँदा, खुवाइ–पियाइ र फकाइ–फुल्याइ गर्दा आमाका अरू कतिकति वर्ष बिते ।’ खगेन्द्रको स्मृतिगारमा उनकी आमाको नदीझैं बगेको एक रेखीय जीवन–गाथा अंकित छ ।

***

खगेन्द्र संग्रौलाको किताब–‘मेनु’मा सबैभन्दा कान्छो किताब हो, ‘अविश्रान्त लखरलखर’ । अन्तर्वार्ताकार उदय अधिकारीसँगको संवादमा यो किताब छापिनुअघि उनीमाथि उज्ज्वल प्रसाईंले लेखेको जीवनी छापिएको थियो, ‘एक बागी’ । निबन्धकार, कथाकार, उपन्यासकार, स्तम्भकार, विश्लेषक, अनुवादक, नागरिक आन्दोलनका अभियन्ता संग्रौलाको नेपाली साहित्य संसारमा अद्भुत आभा छ । आफ्नो विशिष्ट लेखनीले उनी परैबाट ठ्याक्कै चिनिए । र, विद्याव्यसनी भए । भाषा–शिल्पमा मौलिकता संग्रौलाको असली आविष्कार हो ।

खगेन्द्र संग्रौलाकी आमा भागिरथा ।

नेपाली समकालीन लेखकमा सम्भवतः सबैभन्दा बढी चिनिए–पढिए उनी । यहाँ आलोचना र प्रशंसा, गाली र तारिफ संग्रौलाजति सायदै अरू लेखकले पाएका छन् । संग्रौलाका ‘आफ्नै आँखाको लयमा,’ ‘सम्झनाका कुइनेटाहरू’, ‘बाल्यकालका पदचापहरू’ (संस्मरण), ‘जूनकीरीको संगीत’ (उपन्यास), ‘कुन्साङ काकाका कथा’ (कथासंग्रह) ‘मास्टरपिस’ हुन् । तीन जना दाजुपछि खगेन्द्रको जन्म भयो । उनीमाथि एक जना दिदी थिइन् । खगेन्द्र जन्मेको दस वर्षपछि अर्को कान्छो छोरो जन्म्यो । खगेन्द्र पुलपुलिएका थिए– अटेरी र घमन्डी पनि । पढाइमा तीखो उनी कक्षामा सधैं प्रथम हुन्थे । पछि आमा भन्थिन् रे– अहिले पो तँ अलि जाती भइस्, सानो छँदा त ख्याल अटेरी थिइस् र ! अनि घमन्डी पनि उस्तै !

***

खगेन्द्रकी आमा भागिरथा संग्रौला (१९७२–२०५४) ताप्लेजुङको याङपाङमा जन्मिइन् । केटाकेटीमा गट्टा खेल्दै, आमालाई काम सघाउँदै, दिदी–दाजुसँग भेडाबाख्रा, गाईबस्तु चराउँदै, घाँस–दाउरा खोज्दै, पुरुषको बिहा हुँदा आमाले खेलेको रत्यौली हेर्दै भागिरथाको बाल्यकाल बित्यो । भागिरथाका माइती खरेल थिए– गाउँठाउँमा हकडक भएका, हुनेखाने, ‘मै हुँ’ टाइपका । खगेन्द्रलाई मामाघरको झल्को आउँछ बेलाबेला । दुई दिनको बाटोमा पर्थ्यो मामाघर । ‘त्यो भेग हाम्रो गाउँभन्दा दुर्गम र एकलासमा थियो । घरहरू टाढाटाढा फाट्टफुट्ट थिए । मामाघर खेतको सिरानमा थियो । घरमाथि वन थियो, घरमुनि लहलह धान फल्ने खेत,’ खगेन्द्रको सम्झनाको लहरमा छ, ‘धनी मामाहरू मलाई राम्रो दछिना दिन्थे । दछिनाकै लोभले पनि म आमाको पछि लागेर मावल पुग्थें ।’ मावली गाउँमा घाँस–दाउरा खोज्न र गाईबस्तु हेर्न जाने पठ्ठा–पठ्ठीहरू पिपिरी पात बजाउँथे, दोहोरी गाउँथे र माया लाउँथे । गाउँमा जातपात, छुवाछूत, भेदभाव, हेलाँहोचो कडा थियो ।

भागिरथाले अरू कसैलाई सुनाएको आफ्नो विवाह–वर्णन एक दिन खगेन्द्रले सुनेका थिए, ‘बिहा हुँदा म सोह्र वर्षकी थिएँ । पञ्चै बाजा रनवन रन्काउँदै बजिरहेका थिए । मलाई जबर्जस्ती डोलीमा चढाए । कोकोहोलो मच्चाउँदै म रोएँ । मसँगै मेरी आमा पनि रोइन् । मलाई डोलीमा बोकेर कुदाए । मैले आँखाअगाडि अँध्यारै–अँध्यारो देखें । डरले कहालिएँ– कहाँ लाने हुन्, के गर्ने हुन् ? बेहुलाको मिजास कस्तो होला ? सासू कस्ती होलिन् ? मैले कोसँग कसरी बोल्ने होला ? चिन्नु न जान्नुको मान्छेसँग चिन्नु न जान्नुको गाउँतिर कुदाउँदा मलाई त त्यसैत्यसै ऐंठन होलाजस्तो भयो । जन्ती सबै लोग्नेमान्छे थिए । बाटामा मलाई दिसा–पिसाब लाग्यो । मैले कुन मुखले कोसँग के भन्ने ? आखिरमा खपिनसक्नुभएपछि मैले मुख फोरें । मलाई दिसा–पिसाब गर्न झ्यासतिर जान दिए । उत्ताउला ठेट्नाले बाटाभरि के–के भन्दै मलाई जिस्क्याइरहे । आखिरमा नचिनेको गाउँमा नचिनेको घरमा मलाई भित्र्याए ।’

पाँचथर, सुभाङ गुरुङछाप हो– खगेन्द्रको गाउँ । खगेन्द्रका बुबा लक्ष्मीप्रसाद संग्रौला थिए, ऊ जमानाका ज्योतिषी । घरमा अनुभूति आदानप्रदान वा वार्तालापको संस्कृति शून्य थियो । बोलीमा लक्ष्मीप्रसादकै एकाधिकार थियो– आमा, छोराछोरी सबै बुबाका मूक श्रोता ! अह्रनखटन गर्दा, केही कुरामा छोराछोरीसँग रिसाउँदा र नानीलाई सुताउन लोरी गाउँदाबाहेक भागिरथाको स्वर सुनिँदैनथ्यो । घरको सन्नाटा भंग हुन्थ्यो– बुबाले छोराछोरीलाई अह्रनखटन र हप्कीदप्की गर्दा वा पञ्चायन पूजामा गीता पाठ गर्दा वा बेलुका अँगेनाका डिलमा बसेर रामायण–महाभारतका सिलोक हाल्दा वा ज्योतिष हेर्न कताकता घुमेर ल्याएका खबर र कथाकिस्सा छिमेकी केटाहरूलाई सुनाउँदा !

ऊबेला पत्नीले पतिको नाम काड्न सख्त मनाही थियो । पतिबारे चित्त नबुझेका कुरा भन्नु त परै जाओस् । बा र आमाले एक वचन दोहोरो कुरा गरेको कहिल्यै सुनेनन् खगेन्द्रले । बाले आमालाई नराम्रो भनेको पनि कहिल्यै सुनेनन् । भन्छन्, ‘छाँटले आमाबाको मौन दाम्पत्य जमानाअनुसार राम्रै हुँदो हो ।’

***

सुभाङ गुरुङछापमा ऊबेला बजार थिएन । किनबेचको चलन पनि थिएन । खगेन्द्रको यादहरूमा, उनको घरमाथि वनबीचको डाँडोमा प–पन्ध्र दिनमा बजार लाग्थ्यो, किनबेचमा राखिने उति धेरै चीजबिज हुँदैनथे । अन्न, फल र सागसब्जी खेतबारीमा उब्जिन्थे । ती चीज बेच्ने चलन थिएन । बूढापाका भन्थे– सागसब्जी बेचे अलच्छिन लाग्छ । खाएर बाँकी रहेका चीज खेतबारीमा सढेर जान्थे । अन्नचाहिँ कहिलेकाहीं थोरैतिनो किनबेच हुन्थ्यो । खगेन्द्रले सुनिजानेको कुरा थियो, उनको घरदेखि ४/५ दिनको बाटोमा पर्ने बिजनबारीमा बजार थियो । उनका बा र दाजु कहिलेकाहीं घिउका टिन बोकेर बिजनबारी जान्थे । अनि घिउ बेचेर नुन, तेल, चिनी, चियापत्ती, सुर्ती, जिरा–मरिच, लुगाफाटो किनेर घर फिर्थे ।

उब्जनी राम्रो नहुने गरिब महिलाहरू अनिकालमा खगेन्द्रको घर आउँथे । श्रीमान् घरमा नभएका बेला भागिरथा तिनलाई एकाध पाथी अन्न सुटुक्क बेच्थिन्– पाथीको आना–सुकामा । पैसो दुईमुखे थैलीमा लुकाउँथिन् । र, त्यो पैसो चाडपर्वमा भान्जाभान्जी र छारीचेलीलाई दछिना दिन पाउँदा उनी असाध्यै खुसी हुन्थिन् । खगेन्द्रलाई त्यो गाउँले जीवनको सम्झना ‘घटनाहीन’ लाग्छ । भन्छन्, ‘जन्मिनु, धूलो खेल्दै हुर्किनु, जबान हुनु, बिहा गर्नु, सन्तान पैदा गर्नु, बूढाबूढी हुनु, रोगाउनु र मर्नु– बस्, आमाका पालामा भूगोलको साँघुरो घेरोभित्र जीवनचक्रको घेरो यही थियो ।’

***

ग्राम्य बाल्यजीवनका केही अंश फिल्मका रिलझैं फेरिइरहन्छन् खगेन्द्रको स्मृति–लोकमा । उनलाई बाहिरफेर खेल्न जान मन लाग्थ्यो । भागिरथा खगेन्द्रलाई अह्राउँथिन्– बहिनी बोक्न वा कोक्रामा हल्लाउन । कोक्रामा बहिनी ननिदाउँदा उनलाई हत्ते हुन्थ्यो । कोक्रो हल्लाउन छाडेर उनी बाहिरतिर भाग्न खोज्थे । उनको कपालको जुल्फी समातेर हातमा कोक्राको डोरी थमाउँदै भागिरथा उनलाई गाली गर्थिन् । असलमा भागिरथा छोराछोरीसँग उतिसाह्रो रिसाउँदिनथिन् । केही घटनामा मात्रै आमा रिसाएको सम्झना छ खगेन्द्रलाई । उनको चुलोमा पाक्थ्यो– कोदो वा मकैको ढिँडो, ठूलो भड्डुमा च्याख्लाको भात, सानो भड्डुमा धानको भात ।

भागिरथा छोराछोरीलाई पहिले ढिँडो अनि च्याख्लाको भात अनि थोरै धानको भात दिन्थिन् । धानको भातमा तुरुक्क दूध पनि चुहाइदिन्थिन् । खगेन्द्रलाई मकैको ढिँडो एकदम नमिठो लाग्थ्यो । ‘ढिँडो खान्नँ’ भनेर म घुर्की लाउँथे । अनि आमा उनीसँग रिसाउँथिन् । उनी धानको भात र दूध थपिमाग्थे । ‘मैले कसरी पुर्‍याउनु’ भनेर भागिरथा फेरि रिसाउँथिन् । खगेन्द्रलाई काम होइन, पढ्न मन लाग्थ्यो । भागिरथाले उनलाई ‘पढ्’ भन्नु पर्दैनथ्यो, बरु ‘नपढ्’ भन्नुपर्थ्यो । गाउँमा मट्टीतेल दुर्लभ र महँगो थियो । बेलुका भात खाएर सबै सुतेपछि पनि मट्टीतेलको कुप्पी बालेर उनी पढिरहन्थे । भागिरथा उनलाई ‘बत्ती निभाएर सुत्, मट्टितेल नास हुन्छ’ भन्थिन् ।

***

भागिरथाको साथी भने पनि, संगी भने पनि केवल काम, काम र काम थियो । खगेन्द्र सोचिबस्छन्– एकबारको जुनीमा साथीसंगीसँग घुमफिर गर्न, बातचित गर्न, हाँसखेल गर्न आमालाई फुर्संदै कहाँ थियो र ? यसो थकाइ मार्न, माइत जान, हाटबजार जान, पुराण सुन्न जान पनि उनलाई फुर्सद भएन । महिनावारी हुँदा महिनामा तीन/दिन चुलाको धन्दाबाट फुर्सद हुन्थ्यो । आमाको सट्टा व्रतबन्ध गरेका खगेन्द्रका दाजु चुलामा उक्लेर भात–तिहुन पकाउँथे । उनकी आमा तल मझेरीमा बसेर पलपल अह्रनखटन गर्थिन्– चामल यति हाल्, पानी उति हाल्, तेल यति हाल्, नुन उति हाल् !

पुरुषहरू घरभित्रको कामधन्दामा सिन्कोसम्म भाँच्दैनथे । पानी ओसार्दा, भात पकाउँदा, भाँडा माझ्दा, भुइँ लिप्दा, लुगा धुँदा पुरुषको ‘नाक काटिन्थ्यो’ । कामधन्धाको सबै बोझ आमाहरूले बोक्नुपर्थ्यो । कामको भयंकर भारी बोकेर हिँडिरहेकी भागिरथालाई हाँस्ने फुर्सद पनि थिएन । तैपनि कतिपय क्षण आमा मुस्कुराएको सम्झना छ खगेन्द्रलाई । ‘दूध चुसाउँदा जब बालख र आमाका आँखाको मिलन हुन्थ्यो, आमा मक्ख पर्दै मुसुक्क हाँस्थिन् । बालख बामे सर्न खोज्दा, उभिन खोज्दा, टुकुटुकु हिँड्न खोज्दा आमा मुुसुक्क हाँस्थिन् । बालखले तोतेबोली बोल्दा आमा मखलेल हुन्थिन्,’ उनी सम्झन्छन् । तर, आफ्नी आमा ठूलो आवाजमा हाँसेको चाहिँ खगेन्द्रलाई याद छैन ।

आमा रोएको पहिलो पटक २००७ सालमा देखे– खगेन्द्रले, काठमान्डुमा त्रिभुवनले राजगद्दी छाडेपछि त्यो मौका छोपेर पाँचथरका राई–लिम्बूले ‘हुलचाल’ उठाएपछि । ‘बाहुन–क्षेत्रीले आफ्नो थातथलो कब्जा गरी आफूमाथि हुकुम चलाएको तिनलाई मनपरेको रहेनछ क्यार, मौकामा साटो फेर्न तिनले उधुम मचाएछन् । बा’हरू तरबार बोकेर माथि डाँडातिर कतै लुक्न गए । हामी केटाकेटी हुलचालबाट जोगिन घरमुनि देवीथानमाथिको ढुंगोमा आमाको वरिपरि झुरुम्म बस्यौं । हुलचालका मान्छेले बन्दुक पड्काउँदै, कान्ला नाघ्दै, जयजयकार गर्दै हुरीको चालमा हाम्रो घरमा धावा बोले । उधुम मच्चाएर हुलचालको हूल बाटो लाग्यो । अनि हामी घर फर्क्यौं,’ खगेन्द्र सम्झनाको पुरानो सन्दुक खोल्छन् ।

त्यो दृश्य उनको आँखामा ताजै छ– बार्दलीमा गाग्रीमा हालेको लप्सीको अचार आँगनभरि छरपस्ट थियो । पिँढीका बीचको थाम दुई–तीन ठाउँमा आधा काटिएको थियो । दैलो फोरिएको थियो । भित्र अँगेनामा र चुलामा हुलचालेले हगेछन्, गुहु दङदङी गनाइरहेको थियो । पिँढीको एक कुनामा खुट्टो काटिएको परेवा लडिरहेको थियो । आमाले परेवालाई हातमा लिइन्, मुसारिन्, म्वाईं खाइन् । त्यो दृश्यले भागिरथा परेवालाई छातीमा टाँसेर घुँक्कघुँक्क रोइरहिन् । ‘बाल्यकालका पदचापहरू’ मा खगेन्द्रले २००७ सालको त्यो सम्झना लेखेका छन् ।

खै के विषयमा हो कुन्नि एक दिन भागिरथा खगेन्द्र माथिका साइँला दाजुसँग रिसले आगो भइन् । आँखै नहेरी आँगनमा दाजुलाई चिर्पटले हिर्काइन्, दाजु ढले । त्यसपछि तिनले अताल्लिँदै दाजुलाई पानी छम्किइन् । दाजु होसमा आएपछि उसलाई मुसार्दै खुब रोइन् ।

भागिरथाको काखकी कान्छी छोरी नौ महिनाकी थिइन् । २०१५ सालको चुनावका दिन तिनी बितिन् । खगेन्द्रको मस्तिष्कमा त्यो क्षणको स्मृति यस्तो छ, ‘आमा र म हेर्दै छौं, पहिले बहिनीका आँखामा जालो लाग्यो, अनि बहिनीको सास बढ्यो, अनि बहिनीको मुख प्याकप्याक भयो । अनि बहिनी मरी ।’ छोरी काखमा बोकेर छाती पिट्दै, कपाल लुछ्दै भागिरथा उपद्रो रोइन् त्यस दिन । श्रीमान् बितेको दिन उनी रुँदारुँदै बेहोस भइन् ।

***

०५२ साल, फागुन १ गते माओवादीले बन्दुक पड्काएर विद्रोह छेड्यो । काठमान्डुमा सत्ताले खगेन्द्रलाई पक्रियो, बेपत्ता पार्‍यो । बाहिर ठूलै हल्ला चल्यो, हल्लाको दबाबले उनी छुटे । खगेन्द्रले सुने– ‘छोरो मारियो भनेर भागिरथा रोएकी रोयै छिन् ।’ अनि उनी हत्तपत्त झापा झरे । भागिरथा त पीरले हाड मात्रै बाँकी रहिछन्– फुकिढल ज्यान, सुसाउँदो स्वर, राता आँखाभरि कचेरा, गालामा कत्ला ! ‘आमाको दशा दयनीय भएछ । आमाले मेरा हात मुसार्दै सुद्दी हराएको स्वरमा भनिन्– ए, तँ तैं होस् ? जो पनि तँलाई मारे होलान् भन्थ्यो । मैले त माया मारिसक्या थें । यो तँ तैं होस् ? मेरो कारणले आमाको त्यो दुर्दशा भएको देख्दा मेरो मन एकदमै खिन्न भयो ।’

त्यसबेला खगेन्द्रलाई उनकी आमाले सोधेकी थिइन्– बाबै ! तैंले कसको के बिगार्‍या थिस् र तिनले तँलाई मार्न खोज्या हुन् ? उनले बुझाउन सकेनन्– निरंकुश सत्ता, बागी विद्रोह र सत्ताले गर्ने हत्याको कथा ! झापाबाट काठमान्डु हिँड्न लाग्दा छोरोलाई अँगालोमा अँठ्याएर खगेन्द्रकी आमाले रुँदै भनिन्– भो, नजा, तँलाई मार्छन् । ‘मलाई कसैले मार्दैन’ भनेर उनले आमाका हात पन्छाए । खगेन्द्र मनमनै रुँदै बाटो लागे, आमा डाँको छोडेर रोइरहिन् ।

***

खगेन्द्रले पढिरहेको उनकी आमालाई सधैं व्यर्थैजस्तो लाग्थ्यो । राति अबेरसम्म पढेको देखेर उनकी आमा सोध्थिन्– हैन, तेरो जाँच सकिया छैन ? उनको बुझाइमा ‘पढ्नु’ जाँच बुझाउनकै लागि थियो । भन्थिन्– ‘भो, पढ्न पुग्यो । अब सुत्, आँखा बिग्रिन्छन् ।’ पढेर, जागिर खाएर आमा भेट्न गाउँ जादा खगेन्द्र उनलाई लुगाफाटो लगिदिन्थे । उनको प्रतिक्रिया हुन्थ्यो– मौन प्रसन्नता । बिदा हुँदा आमाका हातमा केही पैसा राखिदिन्थे, आमा चुपचाप पैसा लिन्थिन् । पछि खगेन्द्रले थाहा पाए– भागिरथा त्यो पैसा खर्च नगरी जोगाएर राख्दिरहिछन् । अर्को पटक बिदा हुने बेला त्यही पैसा हातमा लिएर उनलाई सोध्थिन्– तँसँग बाटा खर्च त छ ?

आमाबाट खगेन्द्रले पाएको ज्ञान थियो– अथक मिहिनेत, मायालुपन, किफायतीपन । खगेन्द्रको विचारमा आमा हुनुको दर्शन हो– सिर्जनशीलता, करुणामयता, त्याग, विनम्रता, शिष्टता, सहकारिता ।

खगेन्द्रको विचारमा ‘बक् हरण गरिएकी’ आमाका गुनासा अथाह हुँदा हुन्, तर ती कहिल्यै सुनिएनन् । कहिलेकाहीं थकित सुस्केरा हाल्दै भन्थिन्– ‘अहो, मेरो कर्म’ । ‘बक्, हक र भाषा हरण गरिएकी आमाका सुस्केराहरू नै अव्यक्त गुनासाका पीडादायी अभिव्यक्ति थिए,’ खगेन्द्र भन्छन् ।

***

आमाको सम्झनाका डोबहरूमा खगेन्द्र संग्रौलाको मनमा एउटै भाव उब्जिन्छ– पश्चात्ताप, पश्चात्ताप, फेरि पनि पश्चात्ताप ! त्यो पश्चाताप–कथा यस्तो छ । १९ वर्षे ठिटै छँदा खगेन्द्र घरबाट काठमान्डु हिँडेका थिए– पढ्न  २२ सालमा । त्यसपछि मास्टरी र क्रान्ति–धुनमा उनी पश्चिमतिर बरालिए । आमानजिक बस्ने मौका मिलेन । धेरै धेरै पछि उनकी ८२ वर्षकी आमालाई काठमान्डु ल्याइयो– उमेर र बिमारले रुग्ण, क्लान्त अवस्थामा । उनकी गलित आमालाई लाग्थ्यो– कोही मेरोछेउ भइरहोस्, कोही मसँग केही कुरा गरिरहोस् । तर, सहरको दौडादौडमा उनीछेउ बसिरहने फुर्सद कसलाई होस् ? कोठामा एक्लै हुँदा उनकी आमा अताल्लिएर रुन्थिन् । सायद सोच्थिन्, ‘मलाई सबैले बिर्सिए !’

त्यो बेला प्रधानमन्त्री थिए– राजावादी लोकेन्द्रबहादुर चन्द, गृहमन्त्री थिए– जबजमार्गी वामदेव गौतम । आतंककारी तह लगाउन आतंककारी विधेयक ल्याइँदै थियो । खगेन्द्र अति व्यस्त भए– नागरिक हक हरण गर्ने त्यो विधेयकविरुद्ध कोठे छलफलमा, कहिले सडकमा । उनकी श्रीमती पनि व्यस्त थिइन्– घरधन्दा र जागिरमा । उनी आमासँगै आएकी सानी लाली आमा छेउ त हुन्थी, त्यो बालखले वृद्ध आमाको मनोभाव के बुझोस् ?

र, दुःखैदुःखमा बितिन् भागिरथा । खगेन्द्रलाई अहिले पनि लागिरहन्छ– क्रुर सत्ताले मलाई आमाको जीवनका अन्तिम घडीहरूमा सँगै भइरहन दिएन । नजिक भइरहन पाएको भए आमाको बेचैनी र भय केही कम हुँदो हो अनि आमाको मृत्यु कम पीडादायी हुँदो हो । असारको एक झरीमय दिन खगेन्द्र भन्छन्, ‘दुःख लाग्छ, आमाको त्यो अन्तिम घडीमा म नित्य आमाको नजिक भइरहन सकिनँ ।’ मार्क्सवादमा विश्वास गर्ने र भौतिकवादी जीवनशैलीको अभ्यास गर्दै गएका संग्रौलाको जीवनमा आमाको मृत्यु भएको घटना जति जटिल थियो, त्यो बेला कर्मकाण्डीय काजकिरिया गर्ने कि नगर्ने भन्नेमा झन् कठिन घडी थियो ।

कठिन किनभने उनले परम्परागत काजकिरिया नगर्ने कुरालाई हिन्दु धर्म मान्ने उनको परिवारले सजिलै सहने कुरा थिएन । तर, उनी आफ्नो विश्वासमा अडिए । उनलाई आफ्नो परिवार मात्रै होइन, कम्युनिस्ट भनिने कतिपय साथीहरूले पनि गिज्याए तर खगेन्द्र किरिया बसेनन् । पछि उनले हिन्दु काजकिरिया र पाखण्डको धज्जी उडाएर ‘आमा र यमदूतहरू’ भन्ने किताब नै लेखे ।

आमा–स्मृतिहरूले घेर्छन् बेलाबेला ; उत्तरार्द्धमा आमाछेउ बस्न नपाएको पश्चात्तापमय क्लेसको त्यो करौंतीले उनको हृदय सधैं र्‍याइँर्‍याइँ रेटिन्छ ।

प्रकाशित : श्रावण १, २०८१ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×