कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
सगरमाथा आरोहीकी आमा

आठ आरोही जन्माउने किमजुङ

आरोहणको मौसममा किमजुङ शेर्पाका आठ सन्तानहरू अनेकन हिमाल चढिरहेका हुन्छन् । उनी चाहिँ गुम्बामा गएर दियो जलाउँदै प्रत्येक दिन प्रार्थना गर्छिन्, ‘मेरा सन्तान सकुशल घर फिरून् ।’ आरोही सन्तानहरू चुचुरोमा पुग्नु नपुग्नुले किमजुङका लागि ज्यादा अर्थ राख्दैन । तिनलाई घरमा सकुशल आएको देख्नु नै उनका लागि सर्वाधिक खुसी दिने क्षण हो । 

काठमाडौँ — उनलाई के लाग्छ भने– जीवन आफैंमा एक आरोह हो र बाँच्नु भनेको दुर्जेय हिमालहरू चढ्नु बराबरको दुस्कर काम हो । हो, चुचुरामा पुग्दाको आनन्द पनि छ चढ्नुमा, जसरी चढ्दाको दुःख छ आरोहणमा । कैयौं पटक सगरमाथा चढेका आठ आरोहीहरूकी आमा किमजुङ शेर्पालाई के लाग्छ भने, जीवन धान्दाको सास्ती मात्रै छैन बाँच्नुमा, यसलाई भोग गर्नुको आनन्द पनि छ मनग्यै । सबभन्दा ठूलो त, हिमाल चढी फर्किआएका छोराहरूलाई भेट्नु र तिनको चुलिँदो सफलता देख्नुमा छ । 

आठ आरोही जन्माउने किमजुङ

‘उनीहरू हिमाल चढ्न जाँदा मलाई एकदम छटपटी हुन्छ,’ उनी भन्छिन्, ‘तर जब फर्केर आउँछन्, मलाई सबैभन्दा खुसी त्यसै बेला लाग्छ ।’ एउटी आमाका लागि सन्तानको विजय र सफलताले स्वयं सन्तानलाई भन्दा बढी खुसी दिन्छ । तर, त्योभन्दा बढी खुसी दिँदोरहेछ, ती टाढा कुनै कन्दरामा सकुशल सास फेरिरहेका छन् भन्ने खबरले । सगरमाथा देखिने हिमालहरूमा अग्लो हो भने आमा मनुष्यत्वले पाउन सक्ने गरिमापूर्ण उचाइहरूमा सबभन्दा अग्लो ।

आरोहणको मौसममा उनका आठ सन्तानहरू अनेकन हिमाल चढिरहेका हुन्छन् । उनी चाहिँ गुम्बामा गएर दियो जलाउँदै प्रत्येक दिन प्रार्थना गर्छिन्– मेरा सन्तान सकुशल घर फिरून् ।’ आरोही सन्तानहरू चुचुरोमा पुग्नु नपुग्नुले किमजुङका लागि ज्यादा अर्थ राख्दैन । तिनलाई घरमा सकुशल आएको देख्नु नै उनका लागि सर्वाधिक खुसी दिने क्षण हो ।

उनका जेठा छोरा हुन् पेम्बा ग्याल्जेन शेर्पा जसले सगरमाथा, केटु, कञ्चनजंघा, लोत्से, मकालु, चोयु, धौलागिरि, मनास्लुलगायत आठ हजार मिटर अग्ला संसारका १४ वटै हिमाल चढेको कीर्तिमान कायम गरेका छन् ।

दोलखाको च्छो रोल्पा तालनजिक हिमाली बस्ती वेदिङ गाउँमा किमजुङ जन्मिन् र हुर्किन् । सदरमुकाम चरिकोट पुग्नै चार दिन लाग्ने वेदिङमा तिनताक लेखपढ गर्ने सुविधा र चलन दुवै थिएन । ‘म चौंरी चराएर हुर्कें र भारी बोक्न सक्ने भएपछि काममा लागें,’ किमजुङ सुदूर अतीत चिहाउँछिन्, ‘त्यसबेला पाउने एउटै काम भनेको कुइरेहरूको भारी बोक्नु थियो ।’

पन्ध्र वर्षको उमेरमा उनले पनि भारी बोक्ने काम पाइन् । चार दिनसम्म पर्यटकका सामान बोक्नेहरूको लस्करमा मिस्सिएर पन्ध्र वर्षकी एउटी किशोरीले चरिकोट बजारमा पहिलो पटक गाडी देख्दाको आश्चर्यजनक उल्लासलाई ‘अल्फ्रेड हिचकक’ जस्ता निर्देशकले देखेको भए क्या गज्जबको दृश्य देख्न पाउँथ्यो होला दुनियाँले । अथवा, यसलाई टीएस इलिएट वा रविन्द्रनाथ ठाकुरका हृदयले देखेको भए कुन मोहनीले भरिएको कविता लेख्थ्यो होला ।

तर, धेरै दिनको थकानयुक्त लामो यात्रापछि चौडा सडक र त्यसमा गुडिरहेको गाडी देख्दा किमजुङको अनुहारमा पोतिएको कष्टलाई ढाक्दै फुलेको त्यो आश्चर्यले भरिएको भाव त्यसै खेर गयो । तीन वर्षको उमेरमा आमा ल्हामु शेर्पा किमजुङलाई गुमाएपछि बालापन ननिख्रिँदै घरधन्धाको बोझ उठाउन विवश उनले १५ वर्षको उमेरमा तय गरेको त्यो भारीसहितको यात्रामा दुःख र पसिना मात्रै थिएन, पहिलो पटक देखिएका अनेकन आश्चर्य र मोहक दृश्यहरू पनि थिए ।

चरिकोटबाट गाडी चढेर भारीसहित काठमाडौं आएकी उनको सम्झनामा जुन कलकलाउँदो वाग्मती बगेको छ, त्यो अब कहीं छैन । न काठमाडौंका फाँटहरू अहिले फाँटका रूपमा छन् । न बौद्धको त्यो घनाजंगल अहिले छ । बौद्धबाट भारी बोकेर असन इन्द्रचोक गएको त्यो सुदूर सम्झना नातिनातिनालाई सुनाउँदा ती तीनछक त पर्छन् नै, किमजुङ आफैंलाई पनि त्यस्तो समय थियो र भन्ने प्रश्नले आफ्नै अनुभवलाई शंका गराउन खोज्छ ।

‘त्यस बेला काठमाडौंमा डेरा गर्दा दाउरा खोजेर भात पकाउनुपर्थ्यो,’ भन्छिन्, ‘भारी बोकेर आएको पैसाले मैले पनि कोठा लिएँ, दाउरा किनें र मःम पकाएर खाएकी थिएँ बौद्धमा ।’ दिनभरि भारी बोक्दा आउने १० रुपैयाँ ज्यालाले उनको पहिलो काठमाडौं यात्रामा चाहिने सबै खर्च पानीको जोहो गर्न पुगेको थियो । यसरी उनी १५ वर्षदेखि सुरु भएको भारी बोक्ने कामको निरन्तरता आठ/दस वर्षसम्म चल्यो । आफूभन्दा पाँच वर्षले जेठा गाउँकै छिरिङ नोर्बुसँग उनको विवाह भयो । र, विवाहपछि लगातार जन्मिए– पेम्बा ग्याल्जेन, फुर्वा थुन्डु, पेम्बा दोर्जे, निमा ग्याल्जेन, फुर्वा तेन्जिङ, फुर्वा ठिल, सोनाम पेम्बा, पासाङ फुटी, दादिकी र निमा ल्हामु ।

सोनाम र पासाङको बीचमा अर्को एक बच्चा जन्मिएको भए पनि करिब एक वर्षभन्दा बढी नबाँचेको उनले बताइन् । उनका सन्तानमध्ये हिमाल नचढ्ने भने केबल दुई मात्र भए । एउटी निमा र अर्को सोनाम । निमाले हिमाल चढ्ने चाहना हुँदाहुँदै पनि सकिनन्, किनभने दाजुहरूको करिअर पछ्याउँदै भारी बोकेर पदयात्रामा निक्लेका बेलामा सोलुखुम्बुका पर्वतारोही डाकिपा शेर्पासँग २०६४ मा उनको भेट भयो । त्यो भेट तीव्र गतिमा प्रेम र पछि विवाहमा बदलियो । र, विवाहपछि बच्चाहरू जन्मिएकाले निमा घरसंसारको पर्वत आरोहणमै व्यस्त बनिन् ।

डाकिपाले भने लगातार हिमाल चढेर सगरमाथामा मात्रै १२ पटक पाइला हालिसके । किमजुङ हिमाल चढिरहने ज्वाइँ र हिमाल चढ्न नपाएकी छोरी निमाको कपनस्थित घरमा नातानातिना खेलाएर कहिले काठमाडौंतिरै र कहिले चाहिँ थातथलो वेदिङमा छोराहरूले खोलिदिएको होमस्टेमा आउने पर्यटकलाई सत्कार गरेर आनन्दको समय गुजार्छिन् । ‘अब भयो, हिमाल नचढ भनेर म छोराहरूलाई भन्छु, तर कोही मान्दैनन्,’ किमजुङ भन्छिन्, ‘पहिले हामीलाई भारी नबोकी र हिमाल नचढी बाँच्न मुस्किल थियो, तर अहिले त त्यो अवस्था छैन, अब भयो भन्छु तर कसैले सुन्दैन ।’

गौरीशंकरको छायामा थपक्कसँग बसेको वेदिङको त्यही गाउँमा किमजुङले छोराछोरी सबैलाई हुर्काइन् । सबैले सुरुमा भारी बोक्दै पदयात्रा र आरोहणको कला सिके । अनि विस्तारै हिमालहरू चढ्न थाले । जेठो छोरा पेम्बा ग्याल्जेनले झैं सबै सन्तानले सगरमाथा मात्रै होइन, अग्ला सबै शिखरहरूमा पटक–पटक पाइला हालेर अनेकन अभिलेखहरू बनाइसकेका छन् । उनीहरूको यो सफलताको समयभर उनी आरोहण सफल भएर तलसम्म आइपुगेको खबर सुन्न अधीर भएर पर्खिरहेकी हुन्छिन् ।

माइलो छोरा फुर्वा थुन्डु सन् २००६ मा सगरमाथा नजिकैको एउटा हिमाल चढ्न गएका थिए, जो कहिल्यै फर्किएनन् । त्यसै वर्ष उनका पति नोर्बु पनि बितेका थिए । किमजुङको जीवनमा यो वर्षजति अपशकुनी कहिल्यै कुनै वर्ष भएन । परिवारजन गुमाउँदाको यो पीडाले उनी आहत छिन् र फेरि त्यस्तो भोग्न नपरोस् भनेर छोराहरूलाई हिमशिखरको उचाइ नाप्नबाट अवकाश लिए पनि हुने भन्ने कामना पटक–पटक प्रकट गरिरहन्छिन् ।

हिमाली गाउँका अरू कैयन् शेर्पा युवाहरूले झैं एक भरियाका रूपमा करिअर सुरु गरेर आफ्ना सन्तानले हिमालका दुर्जेय चुचुराहरूलाई एकपछि अर्को गर्दै बर्सेनि आरोहण गरिरहेको खबर सर्वाधिक सुन्न पाउने सायद पहिलो आमा हुन् किमजुङ । किनभने, सबभन्दा धेरै पर्वतारोही छोराछोरी भएकी हिमाली आमा पनि उनी नै हुन् । ‘हामीहरू सबै नै सधैं हिमाल चढिरहेका हुन्छौं र आमा हामीलाई फर्केर आएको भेट्न सधैं नै पर्खिरहनुहुन्छ,’ पर्वातारोही ज्वाइँ डाकिपा भन्छन्, ‘एउटा दुइटा भए पो पर्खाइ सकिन्थ्यो, थुप्रैले चढिरहँदा त उहाँलाई कसै न कसैको पर्खाइमै बस्नुपर्ने अवस्था आउँदोरहेछ ।’

जन्मेको बारअनुसार सन्तानको नाम राख्ने चलन छ शेर्पा समुदायमा । जस्तो कि, आइतबार जन्मने निमा, सोमबार दावा, मंगलबार मिङ्मा, बुधबार लाक्पा, बिहीबार फुर्वा, शुक्रबार पासाङ र शनिबार पेम्बा । शनिबार जन्मेका पहिलो सन्तान पेम्बाले धेरै वर्षदेखि उनले गरेको अनुरोध सुनेका छन् र हाल आरोहणबाट अवकाश लिएका छन् । सातौं छोरा सोनाम कपन गुम्बामा भिक्षु जीवनमा प्रवेश गरेर ध्यानका अनेकन अभ्यासहरू गरिरहेका छन् । दाजुभाइहरू देखिने हिमाल चढिरहेका बेला उनी मनका क्लेसहरूको दुर्जेय हिमाल चढिरहेका हुन्छन् । र, सोनामको यो कर्म किमजुङलाई खुब मन पर्छ ।

‘हिमाल चढ्नुभन्दा पनि मनलाई जित्नु दुस्कर छ’ भन्ने बुद्धवाणी किमजुङलाई थाहा छैन, तर पनि उनलाई सोनामले आन्तरिक जगत्को आरोहणलाई छानेकामा निकै खुसी लागेको छ । ‘कम्तीमा ऊ एउटालाई त मैले कुरेर बस्न पर्दैन कि ?’ किमजुङ भन्छिन्, ‘अरू सब कहाँकहाँ गइरहेका हुन्छन्, फर्केर आएपछि मात्रै मलाई मीठो निद्रा लाग्छ ।’ छोराहरू फर्केर आएपछि र अनेकन कीर्तिमान कायम गरेपछि त्यसको खुसीयालीमा तारे होटलहरूमा उनलाई लगेर ‘मिठोमिठो खुवाउँछन् ।’ किमजुङलाई पनि उनीहरू फर्केपछि सँगै बसेर खाँदाको क्षण बेहदै रमाइलो लाग्छ ।

वर्षौंको कडा परिश्रम, तालिम र लगनशीलता पछि जानेको हिमाल आरोहणलाई सन्तानले तुरुन्त त्याग्न सक्दैनन् भन्ने थाहा छ उनलाई । त्यसैले, उनीहरूको प्रत्येक आरोहणको सफलता अनिवार्य रूपले देख्ने अकाट्य अभिलाषा हुनु उनका लागि प्राकृतिक रूपले नै स्वाभाविक छ । अप्रत्याशित मौसम, आँधी समानको हावा र अक्करे हिमचुचुरामाथि आफ्नो कोखले पाएको प्रत्येक विजयले किमजुङको हृदयमा व्यक्त नै गर्न नसकिने आनन्दको फूल फुलाउँछ ।

आफ्ना सन्तानले दृढ संकल्प र अटल आस्थाका साथ उच्च शिखरहरू एक/एक गर्दै चढे र परिवारको प्रतिष्ठालाई एउटा गर्ब गर्न लायक बिन्दुमा पुर्‍याए । वेदिङमा राजसी हिमालय आरोहणमा मिलेका एकपछि अर्को सफलताका समाचारहरू सुन्दै बसेकी एक आमा किमजुङको खुसीलाई कालिदासको आँखाले हेर्न सके अहिले पनि शाकुन्तलझैं बेजोड कुनै काव्यको रचना हुन सक्दो हो । वा, देवकोटाको हृदयले देख्न सके क्या भावपूर्ण निबन्धको जन्म हुँदो हो । शेली र टोल्सटयको आँखा भएको कसैले देखे कुन मोहनीको कृति रच्दो हो !

तर, ‘माल पाएर चाल नपाएकाहरूले भरिएको बस्ती’मा आरोहीहरू जन्माउने एउटा दिव्य कोखको अधीर प्रार्थना अनि छटपटी र सन्तान भेट्दा हुने प्रत्येक पटकको अतुलनीय खुसीलाई कला वा सिनेमामा उधिन्छु भनेर आउने कोही निक्लेको छैन अहिलेसम्म । उनका छोरा पेम्बाले सत्ताइस पटक सगरमाथा चढिसकेका छन् । अर्का छोरा पेम्बा दोर्जेले सन् २००४ मा सबभन्दा छोटो समयमा सगरमाथा पुगेको कीर्तिमान पनि स्थापित गरिसकेका छन् । किमजुङका अर्का छोरा पेम्बा दोर्जे शेर्पाले सबैभन्दा छिटो सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् ।

‘छिटो हिँड्न सक्नु पेम्बाको बल थियो,’ किमजुङ भन्छिन्, ‘ऊ सानैदेखि बाख्रा जस्तै छिटो र फुर्तीका साथ उकालीओराली गर्न सक्थ्यो ।’ पेम्बा दोर्जेको यो उपलब्धि विश्वभर मनाइन्छ, जसले उनको परिवारलाई मात्र नभई शेर्पा समुदायलाई पनि सम्मान दिएको छ । यस्ता अनेकन उपलब्धिहरू छन्, जसले शेर्पा परिवारकी मूली किमजुङको पोल्टामा सधैं खुसी नै थपिरहेको छ । उपलब्धिहरूले आफ्ना सन्तानहरू जीवित किंवदन्ती जस्तो बनेकामा कीर्तिमानी आमा किमजुङ चाहिँ तिनको सफलताभन्दा बढी कुशलता चाहन्छिन् हरबखत ।

‘मलाई मेरा छोराछोरीहरूप्रति गर्व छ,’ हँसिलो मुद्राकी किमजुङ भन्छिन्, ‘एउटा सुनसान गाउँबाट उठेर उनीहरू संसारले चिन्ने गरी माथि पुगेका छन्, योभन्दा पनि ठूलो कुरा, उनीहरू मलाई अझै पनि साना केटाकेटी नै जस्तो लाग्छन् र मलाई त्यस्तै व्यवहार गर्न दिन्छन् ।’ किमजुङकी एकमात्र आरोही छोरी लाक्पा डिकीले पनि सगरमाथामा आफ्नो पैतालाको छाप छाडेकी छन् । उनीहरूको प्रत्येक आरोहण थप बल र लगनशीलताको प्रमाण हो । र, तिनको प्रत्येक फिर्ती आमा किमजुङका लागि राहत हो ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : असार १८, २०८१ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

जसका दसमध्ये आठ छाेराहरूले सगरमाथा आराेहण गरे

x
×