३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अख्तियारका सचिवको यात्रा : नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा

भक्तपुरको सुडालस्थित चरेली गाउँको एक किसान परिवारमा जन्मेहुर्केका रामेश्वर दंगाल २०७२ को भूकम्पमा विपद् व्यवस्थापनमा खटिए, पन्ध्र महिनायता भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको अनुसन्धान गर्ने भूमिकामा छन्
घनश्याम खड्का

काठमाडौँ — अंग्रेजीमा एउटा पदावली छ– ‘हिस्टोरिकल एम्नेसिया’ अर्थात् ‘ऐतिहासिक विस्मरण’ । कुनै समय जीवनमरणको घटना समयक्रममा केही होइनजस्तो गरी बिर्सने मनुष्यको आम बानीलाई जनाउन प्रयोग गरिने यो पदावलीमा हाम्रा वैयक्तिक अनुभवको पनि पुट पाइन्छ । जस्तो कि, ९ वर्षअघि महाभूकम्प जाँदा हामी भुल्नै नसक्ने त्रासदीको क्षणमा पुग्यौं भन्ने ठान्थ्यौं । अग्ला घर बनाएकामा पछुताएका थियौं । र, हेर्दाहेर्दै सभ्यता नै बढारिएलाजसरी बस्तीका घरहरू धूलोमा मिलेपछि ‘मरिलानु के रहेछ र ?’ भनेर जीवनको क्षणभंगुरताका बारेमा घोत्लिएका थियौं । तर, समयक्रममा यो सब विस्मृतिको गर्तमा पुग्यो ।

अख्तियारका सचिवको यात्रा : नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा

९ वर्षअघि गएको भूकम्पलाई कसरी सम्झनुहुन्छ ? भ्रष्टाचारका फाइलहरू केलाउँदैमा बेफुर्सदी बनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले भुसुक्कै बिर्सेका थिए, त्यो दिन । जबकि, भूकम्प जाँदाका बखत विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर अन्तर्राष्ट्रिय सहायता टोलीका लागि नेपालका एक मात्र ‘फोकल पर्सन’ थिए ।

उनको व्यस्तता कतिसम्म थियो भने दुई टेक्टोनिक प्लेट जुधेर यो हिमाली देशमा हाहाकार मच्चाएपछि उद्धार तथा खोजी र प्रतिकार्य व्यवस्थापनमा लगातार ७ दिनसम्म खटिन पर्दा सुत्ने अवकाशसम्म पनि पाएका थिएनन् उनले । त्यतिबेला उनलाई लागेको थियो, यो विपद् र यसको व्यवस्थापनका क्रममा झेल्नुपरेको बाधा अवरोध जीवनमा भुल्न नसक्ने अनुभवका रूपमा रहनेछ । हुन त, अनुभव र सम्झनाहरू अहिले पनि दुरुस्त मनको कुनै अन्तरकुन्तरमा गएर बसेको छ । तर, त्यो कतिसम्म तल पुगेको छ भने, वैशाख १२ आएर दिनभरि लम्पसार पर्दा पनि कसैले नसम्झाई त्यो बाहिर आउँदैन ।

‘अहो, हो त नि, त्यो दिन आजैको मितिमा आएको थियो है !’ वैशाख १२ गते अख्तियारस्थित उनकै कार्यकक्षमा कान्तिपुरसँगको गफगाफमा भूकम्पको प्रसंग उठेपछि दंगाल एकाएक चकित झैं भए, ‘कति चाँडो बिर्सिइएछ त्यत्रो विपद्लाई !’ एक कर्मचारीका रूपमा अनेकन मन्त्रालय र अनेकन जिम्मेवारी पाएका रामेश्वरलाई भूकम्पका बेला गरेको विपद् व्यवस्थापनको काम भने जीवनको दुर्लभ अनुभव मान्छन् जो फेरि बटुलौं भनेर मिल्दैन । सय वर्ष वरपरको अन्तरालमा ठूलो भूकम्पले कुपित हुने यो नेपालमा सहस्राब्दी लागेपछि नै कुनै डरलाग्दो प्रकोपको आशंका गरिन थालिएको थियो । जाइकाले २००२ मा गरेको एउटा अध्ययनको त प्रस्ट निष्कर्ष थियो– आसपासलाई केन्द्र बनाएर नेपालमा जुनसुकै बेला ठूलो भुइँचालो जान सक्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

आकलन के गरिएको थियो भने, भुइँचालोमा अधिकांश भवनहरू भत्किनेछन् । जोखिमको त्यस सूचीमा सिंहदरबारका मन्त्रालय र अरू सरकारी भवनहरू पनि समावेश थिए । ‘यस्तो आपत्कालीन अवस्थामा उद्धारका लागि राज्यलाई काम गर्ने सुरक्षित ठाउँ चाहिन्छ भनेर सिंहदरबारभित्र एउटा सबै सुविधायुक्त प्रिफ्याब हाउस बनाउने निर्णयमा सरकार पुग्यो,’ दंगालले गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखा सम्हाल्दाको समयबारे भन्छन्, ‘म विपद् व्यवस्थापन शाखाको प्रमुख भएर जानु पनि, यूएनडीपीको सहयोगमा भवन बन्न सुरु हुनु पनि एकैपटकजस्तो भयो ।’

यो थियो २०६७ सालतिरको कुरा । ठूलो भुइँचालो आउँछ र तत्काल अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ भन्ने पूर्वानुमानका साथ बनाइएको त्यस घरको नाम राखिएको थियो– राष्ट्रिय कार्यसञ्चालन केन्द्र । विकसित देशहरूले विपद्का बेला काम गर्न सुरक्षित तवरमा बनाउने गरेको ‘नेसनल इमर्जेन्सी अपरेसन सेन्टर’ अब नेपालमा पनि भयो भनेर भर्खरै विपद् व्यवस्थापनमा काम गर्न थालेका रामेश्वर खुसी थिए । नेपालभर जुनसुकै विपद् आए पनि उद्धार गर्नेदेखि राहत दिनेसम्मको काम दंगालअन्तर्गतकै शाखाले हेर्थ्यो । तीन वर्ष विपद् व्यवस्थापन शाखा हाँक्दा दंगालले विपद्का बेला के कसरी उद्धार तथा प्रतिकार्य गर्ने भन्ने प्रोटोकल निर्माणदेखि यसको तयारीका अनेकन योजनाहरू बनाउने जिम्मेवारी निर्वाह गरे ।

संयोग कस्तो भने, पाँच वर्षपछि त्यही महाशाखाको प्रमुख भएर रामेश्वर गृह मन्त्रालयमा पुगेका बेला देशमा ठूलो भूकम्प गयो । यो आपत्मा कसरी अघि बढ्नुपर्छ र अन्तर्राष्ट्रिय समन्वय के कसरी गर्नुपर्छ भन्ने जानकारी र अधिकार रामेश्वरसँग जति थियो, अरू कसैसँग पनि थिएन । शनिबारको दिन हुनाले रामेश्वर घरमै थिए । भुइँचालोले सातो लिनेबित्तिकै उनी लगाइराखेको सामान्य घरेलु लुगा र चप्पलमै सिंहदरबारस्थित विपद् केन्द्रतिर दौडिए । बाटोमा आउँदा उनले भक्तपुर सहर पूरै धूलामा हराएको देखें, कौशलटारमा त सडक नै भास्सिएको थियो । ठाउँ–ठाउँमा घरहरू लडेर मानिस किच्चिएको भन्ने होहल्ला थियो भने खुला ठाउँको खोजीमा मानिसहरू आत्तिएको भावमुद्रामा कमिलासरी यताउता गरिरहेका थिए ।

रामेश्वर कोलाहलमा डराएको सहरको अस्तव्यस्ततालाई पार गर्दै कसैगरी इमर्जेन्सी अपरेसन सेन्टर पुगे । फोन कतै लागिरहेको थिएन । यस्तै अवस्था आउला भनेर विपद् केन्द्रमा स्याटलाइट फोन सेट राखिएको थियो । त्यसैको सहायताले अन्तर्राष्ट्रिय समन्वय गर्न उनलाई निकै सहज भयो । ‘त्यहीँ संसारभरबाट फोन आउन थाले,’ उद्धारका लागि अन्तर्राष्ट्रिय निकाय र नेपाल सरकारबीचको तत्कालीन ‘फोकल पर्सन’ रामेश्वर भन्छन्, ‘हेर्दाहेर्दै ४०/५० देशबाट खोजी तथा उद्धार टोलीहरू नेपालका लागि रवाना भए ।’

ठूलो खालको भुइँचालो, सुनामी वा कुनै यस्तै विपद् पृथ्वीको जुन कुनामा परे पनि मानवीय सहायताका लागि सबभन्दा पहिले तयार हुने पंक्ति ‘इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुप’ सँग निरन्तर फोन संवादमा बस्दाबस्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, गृह सचिव सूर्य सिलवाललगायतको टिम पनि आपत्का बेला काम लाग्ला भनेर बनाइएको त्यही विपद् कार्य सञ्चालन केन्द्रमा आइपुगे । किनभने, अनुमान गरेअनुसारै सिंहदरबारका भवनहरू चर्किएका र हल्लिरहेका थिए ।

आवास र आपत्कालका लागि खानेकुराको बन्दोबस्तीसहित बनाइएको त्यही प्रिफ्याब हाउसमा बसेर अन्तर्राष्ट्रिय टोलीलाई दंगालले दिनरात नभनी परिचालन गरे । कुरा गर्दागर्दा फोन सेट तातेर पड्केलाजस्तो र आवाज सुन्दासुन्दा कानको जाली फुट्लाजस्तो अनुभवले उनलाई निकै गालेको थियो । तर, सबतिर भएको बर्बादीबाट देशलाई जसरी पनि निकाल्नुपर्छ भन्ने भावले कैयन् दिनको अनिद्रालाई जितेर काममा खट्न सकेको अनुभव उनका लागि खास थियो । कहाँबाट को आइरहेको छ र उद्धारको काम के कसरी भइरहेको छ भनेर उनले गृह सचिवलाई, गृह सचिवले गृहमन्त्रीलाई, गृहमन्त्रीले प्रधानमन्त्रीलाई र प्रधानमन्त्रीले संविधानसभाका सदस्यलाई जनाउ दिनुपर्थ्यो ।

सिंहदरबारस्थित संसदीय सचिवालयको काठेघरमा सबै दलका नेतासहितको बैठक बस्ने भयो जहाँ सरकारले के गरिरहेको छ भन्ने जानकारी मागिएको थियो । त्यसका लागि प्रधानमन्त्री कोइरालाले गृहमन्त्री वामदेवलाई अघि सारे भने गृहमन्त्री गौतमले गृह सचिव सिलवाललाई । गृह सचिवले चाहिँ विपद् महाशाखाका प्रमुख दंगाललाई अघि सारे । गृह सचिवले फोन गरेर संसद्मा जानुपर्‍यो भनेर बोलाउँदा कैयन् दिनका अनिँदो दंगाल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुवासीका लागि पाल माग्न आएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई कसरी चित्त बुझाउने भन्ने कसरतमा भिडिरहेका थिए । नभएको पाल दिन सकिन भन्दा माधव नेपाल रिसाउने अवस्था थियो । तर, दिनका लागि पाल थिएन । के गरौं कसो गरौं भइरहेका बेला सिलवालको फोन आएपछि दंगाल सर्वदलीय बैठकतिर कुदिहाले ।

जताततैको अस्तव्यस्तता र लगातारको परकम्पको त्यस समयमा सरकारले जति काम गरे पनि कम देखिन्थ्यो । त्यसैले, जनआक्रोश सरकारतिर बढ्नु स्वाभाविकै थियो । त्यही जनआक्रोश बोकेर बैठकमा आएका नेताहरू प्रधानमन्त्री सुशील कोइरालाको लोसो जवाफदेखि क्रुद्ध हुने खतरा विद्यमान थियो । ‘त्यहाँ सबले प्रधानमन्त्रीलाई सरकारले के गरिरहेको छ भनेर ठाडठाडो प्रश्न गरे,’ दंगाल सम्झन्छन्, ‘अनि प्रधानमन्त्रीले मतिर हेरेर के कसो भइरहेको छ, सुनाउनुहोस् भन्नुभयो ।’ दंगालको दायाँबायाँ माओवादी नेताहरू पम्फा भुसाल र नारायणकाजी श्रेष्ठ थिए । उनले झन्डै ४५ देशबाट खोजी तथा उद्धार टोली नेपाल आएर काम गरिरहेको सूचना दिए । अनि थपे– अब हामीलाई थप टोली चाहिँदैन ।

७२ घण्टाभित्र उद्धार गर्न सके मानिसहरूलाई जीवितै फेला पार्न सकिने आशा हुनाले त्यस अवधिमा उद्धार तथा खोजीको कार्यलाई ज्यादा सघनताका साथ लैजाने र पछि राहत तथा पुनःस्थापनाको काम चालु गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन नै छ विपद्मा । यही चलनलाई सम्झेर दंगालले सर्च एन्ड रेस्क्यु टिमलाई रोक्न पर्‍यो भनी प्रस्ताव गर्दा नेता गणहरूबाट तीव्र विरोध भयो । ‘अन्तर्राष्ट्रिय सहयोग चाहिने ठाउँमा उल्टै रोक्नुपर्छ किन भनेको भनेर उहाँहरू कराउनुभयो,’ दंगाल भन्छन्, ‘मैले उद्धार टोली होइन, अब हामीलाई राहत र पुनःस्थापनाका लागि टोली चाहिन्छ भन्ने बुझाउन कम्ता गाह्रो भएन ।’

धेरै देशका टोलीहरूलाई लामो समय राख्दा राहत वितरणदेखि पुनःस्थापनाका अरू काम गर्न बाधा परे तापनि सर्च एन्ड रेस्क्यु टिमका मानिसलाई फिर्ता जाऊ भन्ने आँट प्रधानमन्त्री कोइरालाले गरेनन् । न यस्तो गर भनेर उनले कसैलाई आदेश नै दिए । ‘हाम्रो हवाई संयन्त्र र सबै होटलहरू रेस्क्यु टिमले नै भरिएको थियो, राहत र पुनःस्थापनाको काममा आउनेहरूलाई सहज बनाउन उनीहरूलाई फर्काउनै पर्थ्यो,’ दंगालले भने, ‘तर अन्तर्राष्ट्रिय सहायता रोकेको आरोप लाग्ला भनेर प्रधानमन्त्री यो निर्णय लिन तयार हुनुभएन, बाध्य भएर मैले मन्त्रिपरिषद्लाई खबरै नगरी उनीहरूलाई फर्कन पत्र पठाएँ ।’

त्यसपछि उनलाई राहत तथा पुनःस्थापनाका टोलीहरू परिचालन गर्न केही सजिलो भयो । विपद् व्यवस्थापनको उनको यो अनुभव सुन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा दंगाललाई बोलाइन थालियो । फिलिपिन्सदेखि आबुधाबीसम्म पुगेर उनले भुइँचालोमा आफ्नो नेतृत्वको प्रतिकार्यात्मक अनुभव सुनाएका छन् । जापानदेखि अमेरिकासम्म पुगेर विपद् व्यवस्थापनका सम्बन्धमा भएका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका छन् । एक पटक, अमेरिकाको हवाईमा भएको सम्मेलनमा नेपालले भूकम्पको व्यवस्थापन कसरी गरेको थियो भनेर एक भिडियो रिपोर्ट देखाइयो । भिडियोमा दंगालसँग गरिएको संवाद, विपद् प्रतिकार्यमा सरकारको रणनीति र सरकारले राहत र व्यवस्थापनका लागि ‘सर्च एन्ड रेस्क्यु टिम’ लाई हटाउन गरेका निर्णयहरूसँग सम्बन्धित दृश्यहरू देखाइयो ।

‘त्यसपछि म एकाएक सहभागीहरूको नजरमा परें,’ उनले भने, ‘मैले घर जानु भनेर पठाएका धेरै मानिसहरू त त्यहीँ आएका रहेछन्, पछि भेटघाट हुँदा रमाइलो लाग्यो ।’ भक्तपुरको सुडालस्थित चरेली गाउँको एक किसान परिवारमा जन्मेहुर्केका रामेश्वर विपद् व्यवस्थापनदेखि अख्तियारमा आएर भ्रष्टाचारको अनुसन्धान गर्नेसम्मको भूमिकामा आइपुग्दा धेरै घुम्ती पार गरेका छन् । उपत्यकाको ठाउँ भए पनि चरेलीदेखि उनी पढ्ने कमलविनायकस्थित सरस्वती माविमा आउँदा दुई घण्टा हिँड्नुपर्थ्यो । एसएलसी पास गरेपछि शंकरदेव कलेजमा आउन दुई घण्टाको पैदलपछि थप एक घण्टाको बस यात्रा पनि थपियो । यसरी, कलेजदेखि घरको यात्रामा हरेक दिन ६–७ घण्टाको यात्राले हत्तु हैरान हुनुपर्दाको सास्तीले होला, धेरैले पढाइ छाड्थे । रामेश्वरले भने जति नै हैरानी भए पनि पढाइ छाडेनन् ।

‘तर यही पाराले पढाइ जारी राख्नचाहिँ हम्मे थियो,’ रामेश्वर सम्झन्छन्, ‘केही सजिलो होला भनेर मैले पढ्दापढ्दै जागिर खाने विचार गरें ।’ २० वर्षको उमेरमा उनले २०५० सालमा दुर्गम विकास समितिको लेखापालको जागिर पाए । जागिरका लागि उनी संखुवासभा जानुपर्ने भयो । राजधानीबाट बाहिर ननिस्केका उनी संखुवासभा हुनसम्मको विकट होला भन्ने ठानेर सिरक–डस्नादेखि दन्तमञ्जन र चामलसहितको गुन्टा कसेर घरबाट निक्लेका थिए । निक्लँदा विदेशै जान लागेजस्तो गरी बाआमाले रातो टीका र फूलको माला लगाइदिएका थिए । ‘डोमेस्टिक फ्लाइटमा कसैले पनि माला लगाएका थिएनन्, मेरो माला देखेर सब जना हाँस्न थाले, लाजले मैले त्यो फुकालेर विमानस्थलमै कतै फालिदिएँ,’ रामेश्वर बितेका दिन सम्झन्छन्, ‘तुम्लिङटार विमानस्थलमा ओर्लेर सदरमुकाम खाँदबारी पुग्दा गज्जबको बजार भेटेपछि मलाई बन्दोबस्तीका सामानहरू ल्याएकामा हाँसो उठ्यो ।’

खाँदबारी पुगेपछि रामेश्वरले निजामती प्रशासनका थुप्रै कर्मचारीहरू साथी बनाए । लोक सेवा दिएर जागिर खाने काइदाका बारेमा थाहा पाए । अनि संखुवासभामै बस्दाबस्दै २०५४ मा नायब सुब्बामा नाम निकालेर निजामती सेवा प्रवेश गरे । त्यसको दुई वर्षपछि उनले प्रशासन, लेखा र संसद् सेवामा शाखा अधिकृतको लिखित परीक्षामा नाम निकाले । उनले प्रशासन रोजे । त्यसपछि अवसरहरूले उनलाई पछ्याउँदै आए । शाखा अधिकृत भएको ३ वर्षमा नर्वेको बर्गेन विश्वविद्यालयमा उनले एमफिल गर्ने छात्रवृत्ति पाए, फर्केर आएलगत्तै उपसचिवको खुला प्रतिस्पर्धामा नाम निकाले । ३३ वर्षको उमेरमा नै उपसचिव भएपछि उनले केही समय लोक सेवा दिएनन् । तर, सरकारले केही समय उनलाई जगेडामा राख्यो । त्यसदेखि झोंक्किएका उनी सहसचिवको परीक्षामा सामेल भए । लिखितमा नाम निकाले पनि उनलाई लोक सेवाले ठाडठाडो उत्तर दिएको भनेर अन्तर्वार्तामा फाल्यो ।

‘फेल गरे गर्छन् तर म रिझाउनका लागि चाप्लुसी शैलीमा प्रस्तुत हुन्न भनेर आफ्नो मौलिकता बदलिन,’ रामेश्वर भन्छन्, ‘चार पटकसम्म नाम निकाले, तीन पटक अन्तर्वार्तामा फालिएँ ।’ कयोदेवी यमी आयोगको अध्यक्ष थिइन् त्यतिबेला । यमीसहित आयोगका सबै पदाधिकारी अन्तर्वार्तामा बस्थे । ‘चौथो पटकचाहिँ उनीहरूले मलाई लौ भैगो, तपाईंलाई कति फाल्नु भनेर सहसचिवमा पास गरिदिए,’ दंगाल भन्छन्, ‘यो पनि एक रमाइलो अनुभव रह्यो मेरा लागि ।’ कसैलाई गुरु थापेर लोक सेवाको तयारी पनि नगर्ने र रटिरटाउ उत्तर पनि नदिने आफ्नो स्वभावले कतिपय ठाउँमा सजिलो पनि पारेको उनी ठान्छन् ।

पन्ध्र महिनादेखि अख्तियारको सचिवका हैसियतले त्यहाँको प्रशासन सम्हाल्दै आएका दंगाल सहसचिव हुँदा अख्तियारमै प्रवक्ता पनि भएका थिए । विपद् व्यवस्थापन महाशाखामा बस्दा देशभर विपदै विपद्को सामना गरेजस्तै, अख्तियारमा बसेपछि आएका फाइलहरू र भएका अनुसन्धानले उनी राज्य संयन्त्रमा भ्रष्टाचारै भ्रष्टाचार भएको देखिरहेका छन् । सार्वजनिक प्रशासन र नागिरक, नागरिक र राजनीतिज्ञ र राजनीतिज्ञ र प्रशासकबीचको आपसी सम्बन्ध र विश्वासमा ठूलो खाडल देखिएको उनी ठान्छन् ।

‘विधि, पद्धति र प्रक्रियाबाट भन्दा बिचौलिया दलाल र स्वार्थ समूहमार्फत राजनीतिज्ञसँग अनुचित साँठगाँठ गरी व्यक्तिगत फाइदा हत्याउन जस्तोसुकै काम पनि गर्न तयार हुने गैरव्यावसायिक कर्मचारीतन्त्र र आफ्नो स्वार्थका लागि तिनै कर्मचारी परिचालन गरी निश्चित वर्गको हितमा निर्णय गराउने र अन्तिम जिम्मेवारी कर्मचारीतन्त्रकै थाप्लोमा पन्छाउने राजनीतिज्ञको सार्वजनिक प्रशासनमा बोलवाला छ,’ दंगाल भन्छन् ।

नियम, कानुन र व्यावसायिक मर्यादाभित्र कार्य गर्दा पनि प्रणालीबाट नै अवसर पाइन्छ भनेर कुरेर बस्ने कर्मचारीहरू निराश हुने गरेको उनी बताउँछन् । सार्वजनिक प्रशासनमा यिनै बिचौलिया वर्गको हालीमुहाली रहेको अनुभव छ । ‘व्यावसायिक, इमानदार कर्मचारी वर्गले आफ्नो क्षमता र योग्यताअनुसार काम गर्ने अवसर पाउने अवस्थाको सिर्जना हुँदैन तबसम्म हाम्रो सार्वजनिक प्रशासनले अग्रगति लिन सक्दैन,’ निजामती सेवामा उनको तीन दशक लामो अनुभवले भन्छ, ‘आम जनताले पनि यसबाट प्रतिफल लिन सक्दैनन् ।’

प्रकाशित : वैशाख २४, २०८१ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?