कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मादल बजाएरै चर्चा 

विप्लव महर्जन

सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका–३ पिमखोलाकी सुशीला बुढा मगर ३९ वर्षकी भइन् । सानैदेखि नाच्ने, गाउने, मौलिक बाजा मादल बजाउने रुचि राख्ने उनी गाउँमा कसैको बिहे, पूजाआजा, मेलापर्व तथा नाचगान भए मादल बजाउन पुगिहाल्थिन् । गाउँघरमा रहेर कृषिकर्म गर्दै आएकी उनले अहिले भने मादलकै कारण चर्चा कमाउन थालेकी छन् । 

मादल बजाएरै चर्चा 

कर्णाली कलाकार प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय महिला मादल बादन प्रतियोगिता २०८१ मा उनी प्रथम भइन् । हुन त महिलाले मादल बजाउनु हुँदैन अलच्छिन लाग्छ, पुरुष जस्तो स्वभावका हुन्छन् भनी उनलाई मादल बजाउनबाट रोक्न आफन्तलगायत छिमेकीले प्रयास नगरेका होइनन् । तर उनले त्यसको कुनै वास्ता नगरी मादल बजाउन जुटिरहिन् । आज त्यसैको फल पाएकी छन् उनले । त्यतिमात्रै होइन, महिला पनि हरेक कुरामा पुरुषभन्दा कम छैनन् भन्ने पनि देखाउन सफल भएकी छन् ।

उनले मादल बजाउन अहिलेसम्म कतै प्रशिक्षण भने लिएकी छैनन् । गाउँघरमै हुने विभिन्न कार्यक्रममा बजाउँदै सिकेकी उनले मौलिक बाजा मादलमा नौ तालसम्म हान्छिन् । एकै पटक दुईवटा मादल लगातार एक घण्टाभन्दा बढी समयसम्म पनि बजाउन सक्छिन् । ‘जब म १२ वर्षकी थिएँ । विद्यालयमा पढ्दै गर्दा साथीहरूको लहैलहैमा लागेर गाउँघरमा हुने नाच हेर्न जान्थे । त्यहीं जानी नजानी मादल बजाउँथे । त्यहींबाट नै मैले मादल बजाउन सिकेकी हुँ,’ उनी भन्छिन् ।

बिहे गरेको केही वर्ष नबित्दै श्रीमान्सँग अलग भएपछि कृषि पेसामा आबद्ध रहेकी उनको लक्ष्य भनेको आफ्नो जन्मभूमि पिमखोला र जिल्ला चिनाउने मात्र नभई स्थानीय पाठ्यक्रममा पिमखोलाको सांगीतिक क्षेत्रलाई समेट्ने उनको लक्ष्य छ । पछिल्लो समय त गाउँघरमा नाचगानको कार्यक्रम भयो भने पनि उनको खोजी हुन्छ पहिले । ‘हुन त मैले मादल बजाउने सीपलाई त्यत्ति महत्त्व दिएकी थिइनँ र गाउँघरमै सीमित थिएँ,’ उनले भनिन्, ‘तर, जब प्रतियोगितामा प्रथम भएँ त्यसपछि मात्र यसको महत्त्व बुझें ।’ गाउँघरमा मादल बजाउने गरेको र काठमाडौंमा जम्मा पाँच दिनमा विभिन्न ताल हान्न सिकेको भरमा आफू प्रथम भएको उनको भनाइ छ । प्रथम भइसकेपछि मौलिक बाजा तथा वाद्यवादन यन्त्र मादल बजाएर केही गर्न सकिन्छ भन्ने हौसला मिलेको उनी बताउँछिन् ।

राष्ट्रिय प्रतियोगितामा प्रथम भएकी उनले अहिले गाउँका महिला तथा बालबालिकालाई पनि मादल बजाउन सिकाउँदै आएकी छन् । उनका अनुसार गाउँघरमा मादल बजाएर जीविकोपार्जन गर्न सम्भव नभए पनि यसलाई संरक्षण गर्नुपर्ने अवस्था आएको छ । ‘आउँदा दिनमा मौलिक बाजा संरक्षणमा लाग्नेछु । संरक्षणकै लागि भनेर एक दर्जन बढी महिला तथा बालबालिकालाई बिनाशुल्क मादल बजाउन सिकाइसकेकी छु,’ उनले भनिन् । तर त्यसका लागि सम्बन्धित निकायले सहयोग नगरेको उनको गुनासो छ ।

प्रकाशित : श्रावण ११, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×