कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चरित्रलाई न्याय गर्ने नाजिर

अभिनेता नाजिर हुसेन चरित्रलाई न्याय दिन माहिर छन् । ‘होस्टेल रिटर्नस्’ को रामेश्वर यादव होस् वा ‘रज्जा रानी’ को रज्जा । अनि, ‘वीर विक्रम’ को मने वा ‘गुन्योचोलो’ मा पारलैंगिक महिलाको भूमिका । निकै उम्दा अभिनय गरेका छन् उनले ।
रीना मोक्तान

काठमाडौँ — अडिसन दिन जाँदा कलाकार स्वस्तिमा खड्का, सुशील सिटौला देखेर नाजिर हुसेनलाई लागेको थियो, ‘सबै राम्रा–राम्रा, चिट्टिक्क परेका छन् । मेरो लागि कुन चरित्र सुहाउला ?’ ‘होस्टेल रिटर्नस्’ को निर्माण टिमले उनलाई तत्कालै मधेशी चरित्र दिँदै संवाद बोल्न लगायो । भाती नपुर्‍याई संवाद बोल्दा टिमले उक्त चरित्रका लागि नाजिरलाई विश्वास गरेन । नाजिरलाई भने आफूमाथि पूरा विश्वास थियो ।

चरित्रलाई न्याय गर्ने नाजिर

त्यसअघि १९ वर्षको उमेरमै नाटक ‘सुनकेशरी’ मा ४० वर्षे चरित्रमा आफूलाई सावित गरिसकेका थिए उनले । ‘चरणदास चोर’ मा पनि उमेरभन्दा दुई गुणा बढीको चरित्र निभाए । त्यसैले टिमसँग दोस्रो मौका मागे, अनि भोलीपल्ट फेरि तयारीसहित संवाद बोलिदिए । नाजिरको अभिनय देखेर निर्देशक सुरज भुसाल खुसी भएपछि उनको भागमा पर्‍यो रामेश्वर यादवको चरित्र ।

‘होस्टेल रिटर्नस्’ बाट अत्यधिक रुचाइएको यही चरित्रको अभिनयले फिल्मजगत्मा नाजिरको प्रवेश धमाकेदार बन्यो । त्यसयता आफूले पाएका हरेक साना–ठूला सबै चरित्रमा नाजिरले आफूलाई खरो अभिनेताका रूपमा स्थापित गराउँदै आए । चरित्र अभिनेताका रूपमा परिचय बनाइसकेका नाजिर यो पटक नितान्त फरक भूमिकामा देखिँदै छन् । कात्तिक ९ देखि प्रदर्शनमा आउने फिल्म ‘गुन्योचोलो’ मा । यसअघि ‘गुलाबी’ शीर्षक राखिएको यो फिल्ममा नाजिर पारलैंगिक महिलाको भूमिकामा छन् ।

चुनौतीपूर्ण चरित्र गर्ने नाजिरको सधैंको रुचि हो । जब निर्देशक समुद्र भट्टले ‘गुन्योचोलो’ को स्क्रिप्ट उनीसामू राखिदिए, उनी उत्साहित भइहाले । ‘म चरित्र निर्माणको कति गहिराइसम्म पुग्न सक्छु भन्ने कुरा देखाउने मौका मिल्यो भन्ने भएको थियो,’ फिल्मको अफर पाउँदाको पहिलो क्षण सम्झे । यो फिल्मका लागि नाजिरले १७ केसी तौल घटाए । निर्माण टिमले चरित्रको फाइनल लुकको फोटो सुट गर्ने सोच्यो, त्यही बेला नाजिरले पहिलो पटक कालो साडी लगाए ।

फिल्मका अर्का कलाकार हटीनटी (अनुपम श्रेष्ठ) ले उनका लागि थुप्रै लुगा जोहो गरिदिएका थिए । जब सिलिकनको प्रयोगसँगै ब्रा लगाए, कसैले पछाडिबाट बेस्सरी समाएजस्तै भयो । ‘कसैले मेरो स्वतन्त्रता खोसिदिएजस्तो लागेको थियो । तर, जब चरित्र निर्माणका क्रममा म महिलाको अन्तिम लुकमा देखिँदै थिए– त्यतिबेला यी पक्षले त्यो चरित्रलाई झन् बलियो, सशक्त हुन शक्ति प्राप्त भएजस्तो लाग्यो,’ नाजिरले भने ।

पारलैंगिक महिलालाई भेट्दै, उनीहरूलाई सुनेर यो चरित्र निर्माण गरिरहँदा नाजिरले आफूभित्रका कोमलता महसुस गर्न पाए । त्यही स्वभावलाई आभास गर्दै शरीर तथा मानसपटलमा ल्याएर नाजिरले यो चरित्र निर्माण गरेका हुन् । ‘यो चरित्रमार्फत मसँग भएको कोमलतालाई मज्जाले देखाउन पाएँ,’ उनी भन्छन् ।

चरित्र निर्माणकै क्रममा हिलमा हिँड्न १ महिना ११ दिन लाग्यो उनलाई । सुरुमा हिलमा हिँड्दा कुम मात्र हल्लिन्थ्यो, विस्तारै कम्मर पनि हल्लिन थाल्यो । वर्कसप भइरहेको रेस्टुरेन्टमा हिल लगाएर हिँड्दाहिँड्दै हो नाजिरले आफूभित्रको गुलाबीलाई भेटेको । त्यसपछि ११ महिना उनी पारलैंगिक महिला बने ।

‘गुन्योचोलो’ कै लागि दुई वर्ष खर्चेका उनी यो फिल्मबाट निकै आशावादी छन् । ‘लस एन्जलसमा फिल्मको काम हुँदा बाहिरको टिमले हामीले चरित्र निर्माणमा याद गरेका मसिना कुराको तारिफ गर्नुहुन्थ्यो । अब नेपाली दर्शकले यो चरित्रलाई कसरी हेर्लान् भन्ने ठूलो अपेक्षा राखेको छु । अलिकति गाह्रो विषयमा आँटेका छौं, हेरौं,’ नाजिरले भने ।

यौनिक तथा अल्पसंख्यक समुदायभित्रको चरित्र निभाइसकेपछि अहिले यो समुदायलाई हेर्दा नाजिरलाई आफ्नै समुदाय भेटेझैं लाग्न थालेको छ । ‘उनीहरू मेरै साथी हुन् भन्ने लाग्छ । कलाकारका हिसाबले म उनीहरूको साथी हुँ, उनीहरूलाई बुझ्ने मित्र हुँ भन्ने लाग्छ,’ उनी भन्छन् ।

होस्टेल रिटर्नस्’ को रामेश्वर यादव बन्दा होस् वा ‘रज्जा रानी’ को रज्जा । त्यतिबेला नाजिरले बुझेको अभिनय यत्ति थियो, जति समय पर्दामा पाइन्छ, झ्याम्मै देखिनुपर्छ । सबैको आँखामा पर्ने अभिनय गर्नुपर्छ । छोटो भूमिका गर्दा आफूप्रति सबैलाई आकर्षित गर्न कति पटक लाउड अभिनय गरे । तर, चरित्र निर्माणमा अहिले नाजिरको खोज फरक हुन थालेको छ । उनी चरित्रको गहिराइभित्र पस्न त्यससँग सम्बन्धित स–साना विषयमा घोत्लिन्छन्, त्यसलाई टपक्क टिप्छन् ।

‘रज्जा रानी’ गर्दा त पहिलो पटक व्यावसायिक फिल्मको हिरो बन्न पाउँदाको जोस, केकी अधिकारीसँग रोमान्स गर्दाको उत्साह बेग्लै थियो उनमा । त्यही उत्साहले पनि उक्त चरित्र अलि बढी लाउड भएको आत्मालोचना गर्छन् उनी । ‘रज्जा रानी’ अघि नाजिरले ‘गाँठो’ गरेका थिए । नाच्नकै लागि काठमाडौं खाल्डो टेकेका नाजिरलाई रज्जा चरित्र भन्दा पनि फिल्ममा हिरोइनसँग नाच्न पाइन्छ भन्ने लोभ थियो ।

फिल्म प्रदर्शनका लागि रथ चढेर जनकपुरको हल पुग्दा भीडले नाजिरलाई घेर्‍यो । ‘जनकपुरको रामेश्वर, जनकपुर फर्कियो’ भन्दै भीडले चिच्चायो । ‘मेरो बुबा मुसलमान, आमा पहाडिया हिन्दु । अनि बच्चाबेला दादीहरू भन्ने गर्नुहुन्थ्यो, यो त मुसलमान होइन, पहाडिया देखिन्छ । जब जनकपुरमा हाम्रो छोरा, जनकपुरको छोरा भन्दै माया गर्नुभयो त्यतिबेला निकै खुसी लाग्यो,’ नाजिरले त्यतिबेलाको क्षण सम्झे ।

रामेश्वर यादव चरित्र हिट भइसकेपछि नाजिरकहाँ ‘स्टेरियोटाइप’ चरित्र बोकेर थुप्रै फिल्मकर्मी आए । यसबीच उस्तै–उस्तै चरित्र लिएर फिल्मकर्मी ठोक्किए । तर, मधेसीलाई गलत र सतही प्रस्तुत गर्ने, मजाकको रूपमा देखाउने चरित्र नगर्ने अडान लिएका उनले त्यस्ता फिल्म नकार्दै थुप्रै फिल्मकर्मीको चित्त पनि दुखाइदिए ।

‘तपाईंलाई नै हेरेर लेखेको हो । होस्टेल रिटर्नस् हेरेर लेखेको चरित्र हो । हामी आएछु वाला संवाद बोल्नुपर्‍यो । भोजपुरीलाई भाताङभुतुङ पारेर बोल्नुस् । तपाईंको चरित्र आउनासाथ दर्शक गललल हाँस्नु पर्छ भन्ने फिल्मकर्मीहरू आए,’ नाजिर सुनाउँछन्,’ जबरजस्ती राखिएको चरित्र आइरहँदा मैले त्यस्ता फिल्म नकारेको छु । मभित्र कुनै निर्देशकले केही देख्छ र ऊ मभित्रबाट त्यो निचोर बाहिर निकाल्न सक्छ भने त्यस्तो निर्देशकसँग काम गर्न रुचाउँछु ।’

डेब्यु फिल्मलाई फर्केर हेर्दा नाजिरलाई रामेश्वर यादव चरित्रको मधेशी चित्रण त्रुटिपूर्ण थियो भन्ने लाग्छ । अहिले कसैले तपाईंको चरित्र ल्याइहाले सुरुमै ‘नाइँ’ भनिहाल्दैनन् । चरित्रको गहिराइमा बढी ध्यान दिने भएका छन् । हालै उनले ‘उजेली’ टेलिशृंखलाका निर्देशक दीपेन्द्र गौचनले २० वर्षपछि बनाएको फिल्म ‘केटी हराएको सूचना’ मा मधेशी चरित्रमै अभिनय गरे । फिल्ममा मधेशी चरित्रलाई गलत तरिकाले चित्रण नगरिएकाले पात्रप्रति आफू आकर्षित बनेको नाजिर सुनाउँछन् । उजेलीजस्तो टेलिशृंखला गरेका निर्देशकसँग यस्तो चरित्रमा काम गर्न पाउँदा खुसी छु । दीपेन्द्र दाइले सुरुमा ‘अलिकति घट्नु, तिमी त गुन्डाजस्तो देखिन्छौ भन्नुभएको थियो । त्यतिबेला घटेर ८० केजी भएँ ।’

‘अगस्त्य’ मा नाजिरले चरित्र निर्माणका लागि जुन तरिकाले मिहिनेत गरेका थिए, पर्दामा भने त्यो फिस्स देखियो । निर्माणमा फिल्म चुक्दा, कलाकारले चरित्र बनाउन गरेको मिहिनेत देखिएन । ‘फिल्ममा हामी सबै जनाको प्रयास गजबको हो । कलाकारको हिसाबले मेरा पनि कमजोरी थिए होलान् । कहिलेकाहीँ हामी हाम्रा प्रयासहरूमा चुक्छौं । व्यावसायिक रूपले फिल्म सफल बन्यो,’ नाजिरले भने,’ तर, कलाकारले गरेको मिहिनेत नखुम्चिदियोस् भन्ने मेरो चाहना छ ।’ कोभिडअघि नाजिर एकपछि अर्को फिल्ममा व्यस्त देखिन्थे । ‘वीर विक्रम’ मा मने, ‘तिमीसँग’ मा भरतराज मिश्र हुँदै ‘रज्जारानी’ को रज्जा । ‘गरुड पुराण’, ‘कागजपत्र’, ‘वीर विक्रम २’ सम्म आइपुग्दा उनलाई दर्शकले खोज्न थालिसकेको थिए । चाहे त्यो पात्र प्रमुख होस् वा सहायक । ‘काजगपत्र’ मा शिल्पा मास्केको जोडी बनेका नाजिर ‘तिमीसँग’ मा साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी बने ।

तर, अहिले भने उनलाई हिरोइनसँग डाँडामा नाच्ने चरित्रले लोभ्याउँदैन । समय खर्चेर ‘गुलाबी’ जस्तो चरित्रमा डुब्न चाहन्छन् उनी । ‘म रहनुले अरुलाई फरक पार्छ/पार्दैन म जान्दिनँ तर, मलाई त फरक पार्छ । म रहें भने त फिल्म गर्छु । त्यसैले म रहन, बाँच्न मेरो घरको चुलो बल्नुपर्‍यो । छाना बलियो हुनुपर्‍यो । त्यसैले म रहनकै लागि त्यतिबेला ती काम गरें,’ एकपछि अर्को फिल्म गरिरहँदाको समय सम्झँदै नाजिरले भने ।

नाजिरले गरेका चरित्रमध्ये औधि रुचाइएको पात्र ‘वीर विक्रम’ को मने (मानबहादुर विक) एक हो । यो चरित्र फिल्मको छायांकन भइरहेको ठाउँ रामेछापमा भेटिएका एक पात्र हेर्दै निर्माण गरेका हुन् उनले । ‘नाटकले एउटा कलाकारलाई बहुआयमिक बन्न सिकाउँछ भन्नेमा म विश्वास गर्छु । यो चरित्र खोज्दै म आरन चलाइरहेको पात्रकहाँ पुगेँ । खुर्पा पिटिरहनुभएका ती व्यक्तिलाई हेरेरै मैले शारीरिक हाउभाउ समाते,’ उनले भने, ‘रेनाशा वान्तवा राईको डान्स असिस्टेन्टको टिसर्ट मागेर एकजोर लुगामै पूरा फिल्म खिचिएको हो ।’

प्रकाशित : श्रावण १०, २०८१ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×