गीत चर्चामा, गायक गुमनाम

स्याङ्जा, तनहुँ र पाल्पाको संगम केलादीघाट पुग्ने बाटोमा पर्छ, स्थानीय सोल्टी होटल । पुरानो होटलको नाममा बजारलाई नै सोल्टी बजार भनिन्छ । त्यही सोल्टी बजारलाई सम्झिएर ०७८ मा निश्चल दवाडीले सिर्जना गरेको गीत हो ‘सोल्टी बजारमा...’ । 

श्रावण ९, २०८१

दीपक परियार

Song popular, singer unknown

पोखरा — युट्युबमा ४ करोड २३ लाख पटक हेरिएको अहिलेको चर्चित दोहोरी गीत ‘गोर्खे खुकुरी...’ का गायक, लेखक एवं संगीतकार हुन्, निश्चल दवाडी । उनलाई चिनाएको भने डेढ वर्षअगाडि सार्वजनिक भएको ‘सोल्टी बजार...’ गीतले हो । उनकै शब्द, संगीत र स्वर रहको यो गीत युट्युबमा झन्डै ३ करोडपल्ट हेरिएको छ ।

यी दुवै दोहोरी गीतमा महिला गायनतर्फ शान्तिश्री परियारले साथ दिएकी छन् । मेला, महोत्सव, विदेशमा हुने विभिन्न कार्यक्रममा शान्तिश्री परियार व्यस्त रहे पनि सर्जक दवाडी गुमनामजस्तै छन् । तनहुँमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका उनी दिनभर आफ्नै ग्राफिक आर्ट्स पसलमा व्यस्त हुन्छन् । बिहान–बेलुका गीत, संगीत सिर्जनामा ध्यान दिन्छन् । 

तत्कालीन किहुँ गाविस र हालको भीमाद नगरपालिका–१ मा रहेको हुँक्का गाउँ अझैसम्म पिछडिएको छ । एक घण्टा हिँडेर विद्यालय जाँदा उनी गीत गुन्गुनाउँदै पुग्थे । फर्कंदा मुखमा लोकगीत नै झुन्डिएको हुन्थ्यो । मेलापात, वनपाखा, चाडपर्व, पूजापाठमा उनी गीत गाउन पुग्थे । विद्यालयमा उनलाई हौसला दिइरहने साथी थिए, दिलबहादुर झेडी । विद्यालयमा हुने गायन प्रतियोगितामा भाग लिन निश्चल लजाउँथे । उनै दिलबहादुरले निश्चलको नाम लेखाइदिएपछि गायन प्रतियोगितामा भाग लिएको उनलाई सम्झना छ । गाउँकै पुरुषोत्तम सिग्देलले पनि संगीत क्षेत्रमा लाग्न प्रेरणा दिइरहन्थे । उनी भगवान भण्डारी, कस्तुप पन्त, विमलराज क्षेत्रीका गीतमा खुब चाख राख्थे । 

Song popular, singer unknown२०६२ मा एसएलसी सकेर उनी पोखरा आए । पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । पोखरामा बसेर क्याम्पस पढ्दा अभाव झेल्नुपर्‍यो । उनको परिवार हुनेखाने थिएन । बुबाआमा घरमै थिए । दिदीको बिहे भइसकेको थियो । दाइ मनबहादुर सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट मारिएका थिए । पोखरा आएकै वर्ष उनले रेस्टुरेन्ट, फर्निचर, आर्ट पसलमा काम गरे । विद्यालयदेखि गायनसँगै चित्रकलामा पनि रुचि भएका उनले दोस्रो वर्षमा आफ्नै आर्ट पसल खोले । ‘ग्राफिक डिजाइन’ सिके । 

‘ग्राफिक डिजाइन’ र संगीतलाई उनले सँगसँगै लैजाने सोचे । अलि मियाँ लोक तारामा भाग लिए । २०६६ मा ‘माछापुच्छ्रे वेस्टर्न युनियन’ लोक दोहोरी तारामा भाग लिएपछि भने लोक दोहोरी क्षेत्रमा उनको सक्रियता ह्वात्तै बढ्यो । उक्त प्रतियोगितामा कलाकार करण तामाङसँगको भेटपछि उनले पोखराकै विभिन्न दोहोरी साँझमा काम गर्ने मौका पाए । त्यही प्रतियोगितामा कलाकार प्रकाश सपुत, श्याम रानाले समेत भाग लिएका थिए । 

दोहोरी साँझमा काम गर्ने क्रममै उनले कास्की, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, स्याङ्जा, गोरखाका विभिन्न दोहोरी गीत प्रतियोगितामा भाग लिए । प्रतियोगितामा उनले कुनै न कुनै पुरस्कार जितिरहेकै हुन्थे । २०६७ मा उनले सविना श्रीससँगको सहकार्यमा पहिलो गीत ‘हजार खुसी...’ रेकर्ड गरे । गीत चलेन । दोस्रो गीत ‘कान्छु तिमीलाई त...’ ले ठीकै प्रतिक्रिया पाएको उनले बताए । अर्को गीत ‘स्विटर ऊनीको...’ र ‘भेटिन कतै...’ एफएमहरूमा बज्न थाले । ‘त्यतिबेला एफएममा गीत बज्नु भनेको त्यो गीत चल्यो भन्ने बुझिन्थ्यो,’ उनले भने, ‘गर्न खोज्दा हुने रहेछ भन्ने पर्‍यो ।’ 

उनी आफ्ना लागि आफैं गीत रचना गर्छन्, संगीत भर्छन् । केही गीतमा अभिनय पनि गरेका छन् । त्यतिञ्जेलसम्मका गीतले सोचेजस्तो सफलता नपाएपछि उनले ‘दमौली, हिँड माया मैसँग रमाउली...’ गीतक सर्जक बाबुकृष्ण परियार, अर्का कलाकार सुरज लामिछानेसँगको सहकार्यमा त्रिशूल ब्रान्ड कम्पनी स्थापना गरे । यही निश्चलको शब्द र सुरजको संगीतमा तयार भयो ‘भीर मौरी भीरैमा...’ । तर उनले गाउने आँट गरेनन् । बसन्त थापा र शान्तिश्री परियारले गाए । गीतले चर्चा पायो । 

Song popular, singer unknown

आफ्ना शब्द चलेपछि निश्चल केही हौसिए । गीत सार्वजनिक भएको दुई महिनापछि आफ्नै शब्द, संगीत र स्वरमा ‘सोल्टी बजारमा...’ ल्याए । गीतले निकै चर्चा कमायो । सुनिल क्षेत्री र रजनी गुरुङको अभिनयले पनि गीतले चर्चा पाउनुमा भूमिका खेलेको उनी बताउँछन् । ‘अब यो गीत चलेन भने संगीत क्षेत्रबाटै टाढा हुन्छु भन्ने सोचमा थिएँ,’ उनले भने, ‘तर सार्वजनिक भएको छोटो समयमै चर्चित बन्यो । प्रतिक्रिया पनि राम्रो पाएँ ।’ 

स्याङ्जा, तनहुँ र पाल्पाको संगम केलादीघाट पुग्ने बाटोमा पर्छ, स्थानीय सोल्टी होटल । पुरानो होटलको नाममा बजारलाई नै सोल्टी बजार भनिन्छ । त्यही सोल्टी बजारलाई सम्झिएर ०७८ मा उनले गीत सिर्जना गरेका थिए । ‘१०–१२ वटा भाकाबाट छानेर अहिलेको भाका तयार भएको हो,’ उनले भने, ‘रेकर्ड गर्ने बेलासम्म पनि परिमार्जन गर्नुपर्‍यो ।’ 

गत वर्ष उनले अर्को गीत ‘गोर्खा नेपालमा...’ ल्याए । अञ्जु पन्तसँगको गीतमा गम्भीर विष्ट र प्रियंका कार्कीले अभिनय गरे । तर उक्त गीत अपेक्षा गरेजस्तो भएन । ‘सोल्टी बजारमा...’ गीतले दिएको मुनाफा ‘गोर्खा नेपालमा..’ डुबेको उनले सुनाए । दीपिका बयम्बु मगरसँगको सहकार्यमा अर्को गीत ‘बन्धकी’ आएपछि उनले राहतको सास फेरे । ‘सधैं सफलता मात्रै हुँदैन, कुनै गीत नचल्न पनि सक्छ भनेर मानसिक रूपमा तयार नै थिएँ,’ उनले भने, ‘लगानी डुबे पनि तनाबमा बसिनँ ।’ 

‘सोल्टी बजारमा..’ रचना गरेकै बेलातिर उनले ‘गोर्खे खुकुरी लाहुरे कम्मरमा...’ बोलको गीतमा लेखेका थिए । भीमाद बजारबाट गाउँतिर उक्लिँदै गर्दा उनले यो गीत रचेका थिए । लाहुरे परिवेश, गुरुङ समुदायभित्रको माया प्रेम, लाहुरे गाउँ फर्किँदाको माहोललाई उनले शब्दमा बुने । लोमश शर्मा, सरोज प्रजा, बिना राउत, विमला खाजुम लिम्बू लगायतको अभिनय रहेको यो गीत युट्युबमा सार्वजनिक भएको तीन महिनामै ४ करोडपल्ट हेरियो । सरल शब्द र छिट्टै मुखमा झुन्डिने लय भएकाले गीतले सफलता पाएको उनी बताउँछन् । 

‘गोर्खे खुकुरी...’ ले सफलता पाएपछि उनीसँग त्यस्तै गीत सिर्जना गरिदिन भन्दै कलाकार आउँछन् । उनले त्यस्तो आग्रहलाई पन्छाउने गरेका छन् । ‘धेरैभन्दा पनि राम्रो काम गरौं भन्ने लागेको छ,’ उनले हाँस्दै भने, ‘फेरि आफूले सिर्जना गरेको गीत आफैंले गाउन पाए हुन्थ्यो भन्ने लोभ पनि हुँदो रहेछ ।’ शब्द, संगीत र गायनमध्ये गायनमा आफूले अझै सुधार गर्नुपर्ने गर्नुपर्ने महसुस उनले गरेका छन् । गीत चर्चित भइसक्दा पनि उनले देशभित्रैका सहरमा हुने मेला, महोत्सवमा कम अवसर पाएका छन् । 

‘सोल्टी बजारमा...’ गीत आउनुअघि नै उनी प्रस्तुति दिन भारतसम्म पुगेका छन् । त्यसबाहेक अहिलेसम्म विदेश यात्रा जुरेको छैन । सबैसँग खुल्न नसक्ने आफ्नो स्वभाव रहेको र कसैसँग पहुँच नभएकाले पनि त्यस्तो अवसर नआएको हुन सक्ने उनको अनुमान छ । ‘विदेशतिर कार्यक्रम गर्ने संस्थासँग चिनजान पनि छैन, लौन भनेर भन्न पनि सकेको छैन,’ उनी भन्छन्, ‘भर्खरै २–३ वटा गीतले चर्चा पाउँदै छ, अझै २–४ वटा गीत चल्यो भने त्यस्तो अवसर आउँला नि ।’ 

गीतसंगीतबाटै उनले आत्मसन्तुष्टि पाएका छन् । नेपालभर घुमेर लोप हुन लागेका कला संस्कृतिलाई उजागर गर्ने उनको धोको छ । एक महिनाअघि सार्वजनिक भएको लोकगीत ‘गंगे गोठाले...’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । यही वर्षभित्र ‘सोल्टी बजारमा...’ को भाग २ ल्याउने तयारीमा छन् । उनी ‘ग्राफिक डिजाइनर’ र चित्रकारसँगै ‘ट्याटु आर्टिस्ट’ पनि हुन् । चित्र कोर्न र 

‘ट्याटु’ खोप्न जुन धैर्यता चाहिन्छ, गीतको शब्द कोर्न पनि त्यस्तै धैर्यता चाहिने उनको अनुभव छ । ‘अहिले आजको भोलि चर्चित हुनुपर्ने भोक छ, जुन गलत हो,’ उनले भने, ‘मिहिनेत गरेपछि परिणाम आइहाल्छ । भाइरलको गलत प्रयोग राम्रो होइन ।’

संगीत

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully