कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुकुम पूर्वका ‘घरज्वाइँ’ र ‘खुस्मा’

महेश केसी

रुकुम पूर्व — रुकुम पूर्व अब ठूलो पर्दामा देखिने भएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला, मगर खाम भाषीको बाहुल्य रहेको र नेपालको एकमात्र सिकार आरक्ष भएको उपमाले परिचित जिल्ला अब चलचित्र ‘घरज्वाइँ’ र ‘खुस्मा’ मार्फत ठूलो पर्दामा देखिने भएको हो ।

रुकुम पूर्वका ‘घरज्वाइँ’ र ‘खुस्मा’

रुकुम पूर्वको सुन्दर भूगोल, मौलिक भाषा, कला, संस्कृति र अर्गानिक जीवनशैली कथामार्फत दर्शकमाझ पस्किन लागिएको हो ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘घरज्वाइँ’ र अगामी असोज ३ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खुस्मा’ ले रुकुम पूर्वलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा परिचत बनाउने आशा राखिएको छ । यसअघि विभिन्न लघु चलचित्र र डकुमेन्ट्रीमा देखिए पनि ठूलो पर्दामा पहिलोपल्ट आफ्नो जिल्लालाई देखाउन लागिएकामा गौरवान्वित भएको ‘घरज्वाइँ’ का निर्देशक अनिल बुढा मगरले बताए ।

गत मंगलबार प्रिमियर सो समेत गरिसकेको ‘घरज्वाइँ’ को अधिकांश छायांकन रुकुम पूर्वको तकसेरामा गरिएको हो भने केही भाग रुकुम पूर्वकै लकुम गाउँ र बागलुङको ढोरपाटन र आसपासमा गरिएको छ । प्रिमियर शोपश्चात् आएका प्रतिक्रियाले आफूलाई आशावादी बनाएको निर्देशक मगर बताए । ‘घरज्वाइँ चलचित्रको कथा नै यहाँको परम्परागत जीवनशैलीमा आधारित छ,’ निर्माता जनक घर्तीले भने, ‘सुन्दर रुकुम पूर्वलाई अब चलचित्रमा देखाउँदै छौं ।’

‘घरज्वाइँ’ मा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको छ । यस चलचित्रमा शिशिर वाङ्देल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायत कलाकार पनि छन् । ‘खुस्मा’ मा धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको छ । अशोक थापाले निर्देशन गरेको यस चलचित्रका निर्माता वीरबहादुर लामा, चन्द्र भट्टचन, बेताने मगर र मानबहादुर धना मगर रहेका छन् । यस चलचित्रको करिब ७० प्रतिशत हिस्सा रुकुम पूर्वको मैकोट र आसपासमा छायांकन गरिएको छ ।

सन् २०१२ मा प्रदर्शनमा आएर ७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘लुम्बा’ र सन् २०२२ मा प्रदर्शनमा आएर १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘आग्रे’ (द आइरन डिगर) डकुमेन्ट्री फिल्मको निर्देशन गरिसकेका अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’ उनको पहिलो चलचित्र हो ।

‘हामीले यसमा सारा मिहिनेत खर्चिएका छौं । यसकारण पनि सुरुदेखि प्रिमियर शोसम्म आइपुग्दा सकारात्मक प्रतिक्रिया आएको छ,’ निर्देशक मगरले भने, ‘चलचित्रले कति कमाउँछ भन्दा पनि चलचित्र बनाउन खोजेअनुसार बनाउन सकियो कि सकिएन र यसले के दियो भन्ने कुरा महत्त्वपूर्ण छ ।’ त्यस्तै यसअघि ‘द कोरियन ड्रिम’ नामक लघु चलचित्रको निर्देशन तथा चलचित्र ‘निरफूल’ को सहनिर्माताका रूपमा काम गरेका ‘खुस्मा’ का निर्देशक अशोक थापाको पनि यो डेब्यु फिल्म हो ।

मगर जाति र रुकुम पूर्वको भूगोललाई केन्द्र बनाएर छायांकन गरिएको भए पनि यो चलचित्रले सारा नेपालीको कथा भन्ने उनको दाबी छ । अभिनेता दयाहाङ राईले यहाँको सुन्दरताको प्रशंसा गरे भने अभिनेत्री मिरुना मगरले पनि रुकुम पूर्वमा आएर यहाँको क्यारेक्टरमा अभिनय गर्न पाएकामा खुसी व्यक्त गर्दै चलचित्र छायांकनका लागि ‘भर्जिन ल्यान्ड’ भएको प्रतिक्रिया दिइन् ।

चलचित्र ‘खुस्मा’ का नायक धीरज मगरको जन्मथलो पनि रुकुम पूर्व हो । पुथाउत्तरगंगाको उपल्लो सेरामा आफ्नो जन्मस्थान रहेको र आफू दुई वर्षको उमेरमा यहाँबाट आमासँगै सहर पसेको उनले जनाए । ‘आफ्नो जन्मथलोमा चलचित्रको नायक भएर आउन पाउँदा निकै खुसी छु,’ उनले भने, ‘जन्मस्थान पुनः टेक्न पाउँदा धन्य भएँ ।’

प्रकाशित : असार २८, २०८१ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×