कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

संसार हल्लाइदिने स्विफ्ट

स्विफ्टोनोनिक्स के हो ? अर्थशास्त्रको नयाँ शब्दावली वा संगीत क्षेत्रको कुनै नयाँ विधा ? खासमा दुवै हो भन्दा हुन्छ । ‘एराज’ टुरका क्रममा गायिका टेलर स्विफ्ट जहाँ–जहाँ गइन्, त्यहाँको अर्थतन्त्र चलायमान भयो । निकै सकारात्मक प्रभावहरू देखिए । स्विफ्टका कारण अर्थतन्त्रमा परेको प्रभावलाई नै स्विफ्टोनोनिक्स भन्न थालिएको हो ।
हिमेश

काठमाडौँ — स्विफ्टोनोनिक्स । के यो हो ? अर्थशास्त्रको नयाँ शब्दावली ? कि संगीत क्षेत्रको कुनै नयाँ विधा ? दुवै हो भन्दा हुन्छ । संगीतकर्मी टेलर स्विफ्टका कारण अर्थशास्त्रमा परेको प्रभावलाई केही कसैले जनाउँछ भने त्यही हो, स्विफ्टोनोनिक्स ।

संसार हल्लाइदिने स्विफ्ट

गायिका र गीत लेखिकाका रूपमा त अब स्विफ्टको के नै परिचय आवश्यक रह्यो र । तर अमेरिकी अर्थतन्त्र मात्र होइन, पूराका पूरा विश्व अर्थतन्त्र नै उनको प्रस्तुतिले सकारात्मक रूपमा प्रभावित हुन लागेपछि त्यसको अध्ययन पनि त चाहियो ।

त्यही हो, स्विफ्टोनोनिक्स । गत वर्ष सुरु भएको स्विफ्टको ‘एराज टुर’ अझै सकिएको छैन । अझ गति लिइरहेको छ । यही टुरले कम्तीमा पनि उनले एक अर्ब डलरभन्दा बढी कमाइसकेका छन् । जसरी टुर अगाडि बढिरहेको छ, उनको कमाइ अझै अकासिँदै छ । अब भन्न सुरु भएको छ, उनी केवल संगीतकर्मी मात्र होइनन्, उम्दा व्यापारी पनि हुन् । उनलाई के राम्रोसँग थाहा छ भने संगीतको माध्यमबाट कसरी धेरैभन्दा धेरै कमाइन्छ ।

यसको एउटा स्पष्ट कारण त उनको संगीत नै हो, उनको व्यक्तित्व नै हो । उनी खुबै लोकप्रिय छिन् । उनको यो ख्याति अमेरिकामै मात्र सीमित छैन । पूरा विश्वमै छ । विशेषतः युवा पुस्तामा उनको लोकप्रियता अत्यधिक छ । फेरि उनको व्यक्तित्व आफैंमा आकर्षक छ । सुन्दर छिन् । अत्यधिक हिस्सी परेकी छन् । उनको आफ्नै फेसन शैली पनि छ । उनले के खान्छिन्, के लगाउँछिन्, कहाँ बस्छिन् र को कसलाई भेट्छिन्, त्यसले पूरा विश्वलाई प्रभावित पारिरहेको हुन्छ ।

यो सबै कुरामा अर्थ जोडिने नै भयो । खासमा यही हो, स्विफ्टोनोनिक्स । पैसाको हिसाबकिताब लगाउने फोर्ब्स म्यागेजिनको के अनुमान छ भने संगीतको माध्यमबाट उनी जत्तिको कमाउने अब कोही रहेनन् । फेरि उनी संगीतमै मात्र सीमित छैनन् । अरू संगीतकर्मीले पनि आ–आफ्नो समयमा लोभलाग्दो तरिकाले नकमाएका पनि होइनन् । तर उनीहरू त्यत्तिकैमा सीमित रहे । तर स्विफ्टले संगीतबाट कमाएको अरूतिर पनि लगानी गरिन् र दिनानुदिन झन्झन् मालामाल हुँदै गइन् ।

तस्बिरहरू : एपी

संगीत क्षेत्रमा त स्विफ्टले जे भन्छिन्, त्यही चल्छ । जस्तो, कन्सर्टकै कुरा । उनी सहभागी हुने कन्सर्टमा टिकटबाट जति उठ्छ, त्योभन्दा बढी आयोजकले उनलाई दिनुपर्छ । त्यसो भए, आयोजकले कसरी कमाउने त ? त्यसका लागि उनीहरूले अर्कै बाटो रोजे, कन्सर्टका क्रममा बिक्ने खाना र पेय पदार्थ । त्यसैले आयोजक के चाहन्छन् भने स्विफ्टको कन्सर्ट हेर्नेहरू सक्दो चाँडै कन्सर्ट स्थलमा पुगुन् । टिकटमा जत्तिकै अरूमा पनि खर्च गरून् ।

त्यति मात्र होइन, स्विफ्टको कन्सर्ट हेर्न उनका प्रशंसकहरू त्यही दिन मात्र होइन, अझ अगाडिदेखि त्यहाँ पुग्न थालेका छन् । अझ एक महादेशबाट अर्को महादेश भ्रमणमै निस्कन थालेका छन् । त्यो पनि खालि स्विफ्टकै कन्सर्ट हेर्नका लागि । यसले अचम्मले बजार चलायमान हुन नै थाल्यो । यसबाट धेरैले धेरै नै फाइदा लिन पाए । अर्थतन्त्रमा साँच्चै राम्रो प्रभाव पर्न थाल्यो, त्यो पनि अपेक्षा गरेभन्दा बढी । त्यसैले यो शब्द आएको हो, स्विफ्टोनोनिक्स ।

पूरा घटनाक्रम सुरु हुन्छ, कोभिड महामारीका बेला । त्यो बेला अमेरिकामा आम मानिसको बचत घटेको घट्यै भयो । विशेषतः पयर्टन उद्योग धराशायी जस्तै भयो । त्यही बेला त हो, स्विफ्टको ‘एराज टुर’ सुरु भएको । त्यो विषम परिस्थितिमा पनि स्विफ्टले जे भन्थिन्, त्यही हुन्थ्यो । एक प्रकारले उनले एकाधिकारको व्यापार जस्तै त्यसलाई चलाइने । त्यसैले त्यसको चर्को आलोचना नभएको पनि होइन । तर यसले स्विफ्टका प्रशंसकलाई केही पनि फरक पारेन ।

बरु अचम्मले भइदियो के भन्दा स्विफ्टका प्रशंसकले आफ्नो कमजोर कमाइ र बचतलाई पनि उनलाई हेर्न सुन्न मन खुलेर खर्चिन तयार भए । ती प्रशंसकलाई के पनि थाहा थियो भने त्यसपछिका दिन अझै गाह्रो हुन सक्नेछ । हुन सक्छ, आर्थिक मन्दी नै चल्न सक्नेछ । तर प्रशंसकले त्यसलाई वास्ता गरेनन् । पहिलो चरणको ‘एराज टुर’ मा हरेक प्रशंसकले कम्तीमा एक हजार तीन सय डलर खर्च गरे । यसले एकाएक अमेरिकी होटल उद्योगलाई राहत मिल्यो ।

होटल, रेस्टुरेन्टदेखि यससँग जोडिएका सबैको आम्दानी बढ्न थाल्यो । विश्वास नहुन सक्छ, स्विफ्टको टुरकै कारण त्यहाँका प्रमुख सहरहरूको आम्दानी नै बढ्यो, धेरैले रोजगारी पाउन थाले । सबैभन्दा ठूलो कुरा त मज्जाले आर्थिक चहलपहल देखापर्‍यो । यो क्रम अमेरिकामै मात्र रहेन, स्विफ्ट जताजता गइन्, त्यसको प्रभाव त्यता त्यतै पर्न थाल्यो । उनी टोकियो गइन्, अनि मेक्सिको सिटी, एडिनबरा, लिभरपुल र कार्डिफ । सबैतिर त्यस्तै बेजोड प्रभाव ।

स्विफ्ट आफ्नो दोस्रो चरणको टुरका लागि युरोपतिर छिन् । उनले युरोपका १८ सहरमा आफ्नो प्रस्तुति दिनेछिन् । यसै क्रममा असाध्यै बढी अचम्मको प्रवृत्ति देखियो । अधिकांश अमेरिकीका लागि स्विफ्टको कन्सर्ट आफ्नै देशमा हेर्नु महँगो र खर्चिलो हुँदोरहेछ । त्यसैले उनीहरूले स्विफ्टको कन्सर्ट हेर्नकै लागि भनेर युरोप भ्रमणको कार्यक्रम बनाए । भनेपछि स्विफ्टोनोनिक्स त आफ्नो ठाउँमा छँदैछ, अब त ‘टुर टुरिजम’ का कुरा पनि निस्किरहेका छन् ।

भयो के भन्दा अमेरिकाको मियामीका प्रशंसकले आफ्नै सहरमा स्विफ्टको कन्सर्ट हेर्ने हो भने एक हजार पाँच सय डलर खर्चिन पर्छ । तर तिनै मियामीको प्रशंसकले त्यत्तिकै रकम खर्चेर युरोप पुग्न सक्छन्, तीन रात त्यहाँको सहरमा बिताउन सक्छन् । खालि बढी खर्च भनेको अमेरिकामा भन्दा धेरै सस्तो कन्सर्टको टिकट मात्रै । फेरि भनौं, यही हो, स्विफ्टोनोनिक्स । स्विफ्ट त्यसै त्यसै विश्वकै सबैभन्दा प्रभावशालीमध्ये एक भएकी होइनन् ।

प्रकाशित : असार २, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x