कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘पुजार सार्की’ : गम्भीर विषय, सतही प्रस्तुति

दलित मुद्दामाथि कमै फिल्म बन्छन् । यस किसिमको समस्यालाई उजागर गर्दै फिल्म बनाउनु सकारात्मक हो । ‘पुजार सार्की’ले वर्षौंदेखि गढेर बसेको जात व्यवस्था देखाउँदै त्यसविरुद्ध चर्को आवाज उठाउन सक्थ्यो । तर, कमजोर पटकथा, गम्भीर विषयमाथिको अध्ययन अभाव र असंवेदनशीलताले दलित मुक्ति/विद्रोहमाथि नै ‘पुजार सार्की’ले धावा बोलेको छ । 
रीना मोक्तान

काठमाडौँ — आहुति पुस्तक 'जात वार्ता'मा लेख्छन्,'अन्तरजातीय प्रेम र विवाह जात व्यवस्थाका विरुद्ध स्वभावैले विद्रोह हो’ । कसरी ? जात व्यवस्थामा आधारित समाजले फरक-फरक जातका विपरितलिङ्गी महिला वा पुरुषबीचको रक्तसम्बन्धलाई सबैभन्दा बढी वर्जित गर्छ । जात व्यवस्थाको सांस्कृतिक मूल्यमध्येको सबैभन्दा केन्द्रभागमा रहेको विषय नै रक्तपवित्रताको अवधारणा हो, जसलाई अन्तरजातीय प्रेम वा विवाहले ठाडै उल्लङ्घन गर्छ । 

‘पुजार सार्की’ : गम्भीर विषय, सतही प्रस्तुति

प्रदर्शनरत ‘पुजार सार्की’मा निर्देशक दिनेश राउतले यही सत्यमा टेकेर अन्तरजातीय प्रेम र विवाहमार्फत जात व्यवस्थाविरुद्ध विद्रोह गर्ने कोसिस गरेका छन् । तर, कमजोर पटकथा, दलित मुद्दाप्रतिको असंवेदनशीलता र सतही प्रस्तुतिले विद्रोहको यो आवाज ‘पुजार सार्की’मा मधुरो सुनिन्छ । खासमा अन्तरजातीय विवाहले नै जात व्यवस्था उन्मूलन गर्ने होइन । तर, यो फिल्ममा अन्तरजातीय विवाहलाई नै दलित मुक्तिका रूपमा स्थापित गर्न खोजिएको छ ।

फिल्मको कथा अन्तरजातीय विवाहवरपर नै घुम्छ, त्यसमा निर्देशक राउतले २०४६ को जनआन्दोलन(कम्युनिस्ट राजनीति)लाई पनि मिसाएका छन् । तर, प्रेम र राजनीतिलाई पटकथामा उन्न नजान्दा फिल्मले न प्रेमलाई स्थापित गर्न सकेको छ, न राजनीति नै । दलित मुद्दा र कम्युनिस्ट राजनीतिलाई अन्तरघुलन गर्न नसक्दा यो फिल्म गम्भीर विषयमाथिको सतही प्रस्तुति मात्रै बनेको छ । फिल्ममा दलितका मुद्दालाई मिहीन ढंगमा केलाइएको छैन ।

सुरुमा प्रेमकै कुरा ! कथित तल्लो जातका मैते(प्रदीप खड्का) मगरकी छोरी गौमाया(परीक्षा लिम्बू)सँग बिहे गर्न चाहन्छन् । तर, गौमायाको बुवा उनीहरूको प्रेम सम्बन्धलाई स्वीकार्ने पक्षमा हुँदैनन् । छोरी र मैतेलाई सँगै देख्दा खुकुरी तेर्स्याउन थाल्छन् । यता कालिका माईको पूजा गर्ने पुजार(आर्यन सिग्देल) पनि विभेद अन्त्य गर्दै कथित तल्लो जातकी मैया(अन्जना बराइली)लाई बिहे गर्न चाहन्छन् । समाजमा वर्जित यही प्रेमका खातिर यी दुई पात्रले कस्ता संघर्ष गर्लान् ? ‘पुजार सार्की’को मूल कथा यही हो । तर, उनीहरूको प्रेम र अन्तरजातीय विवाहलाई विश्वस्नीय प्रस्तुत गर्न नसक्दा आहुतिले पुस्तकमा उल्लेख गरेको विद्रोहको छेउ यो फिल्म पुग्दैन ।

आफ्नो प्रेमको सामाजिक स्वीकार्यका लागि यी दुई पात्रले खासै संघर्ष नै गर्नुपर्दैन । पुजारले शास्त्र पढे बाहुन भइने बताइदिएपछि मैते बाहुन बन्ने ध्यान्नमै हुन्छन् । बाहुन भएर बिहे गर्ने सोचमा शास्त्र पल्टाउन थाल्छन्, आफ्नो जातीय पहिचान खोतल्न थाल्छन् । त्योबाहेक यो पात्रले खासै गौमायाको लागि संघर्ष गरेको देखाइएको छैन । आफ्नो बिहेकै लागि मैते कहिले पुजारको शरण पर्छन् त कहिले मेघराज(पल शाह)को ! अब कथित उपल्लो जातको पुरुषलाई कथित तल्लो जातको महिलालाई बिहे गर्न, दलित पात्रले झैं संघर्ष गरिरहनु पर्दैन ! एउटा दृश्यमा पुजारले मैयासँग दमाहा बजाएर, ठूलै तामझामसहित बिहे गरेको देखाइन्छ, तर त्यतिञ्जेलसम्म उनीहरुको प्रेमको विरोध गर्ने समाज कहाँ गए ? परिवार कता गए ? फिल्मले देखाउँदैन ।

मैतेले गौमाया पाउन गरेको कसरत त दलित मुद्दाविपरीत देखिन्छ । जस्तै, मध्यान्तरअघिको समयसम्म कथित तल्लो जातले उपल्लो जातकी प्रेमिकासँग बिहे गर्न बाहुन नै बन्नुपर्ने धारणा पोखिएको छ । कथा वाचनमा यस किसिमको ब्राम्हणवादी सोच थुप्रै पटक हाबी भइदिएको छ । कथा वाचनका यस्ता मिहीन डोरोलाई समाउन बिर्सँदा निर्देशक राउतले दलितले वर्षौंदेखि सहँदै आएको विभेद र दमनको मुद्दालाई बलियो ढंगले देखाउन सकेका छैनन् । फिल्मले २०४६ को जनआन्दोलनदेखि २०८१ सम्मको दलित संघर्षलाई समेट्न खोजेको छ । यसबीच परिवर्तन हुँदै आएको सबै राजनीतिक घटनाक्रमलाई देखाउन खोज्दा पनि फिल्मले दलितको मुद्दालाई त्यसै छोएकोजस्तो मात्र देखिन्छ । राजनीतिको प्रवेशसँगै फिल्ममा अन्तरजातीय प्रेमले गति गुमाउँदै जान्छ । मैते र गौमायाको प्रेम, पुजार र मैयाको सम्बन्धमा जब जनआन्दोलन जोडिन्छ, यी दुई मुद्दाको तादात्म्य मिलाउन निर्देशक राउत चुकेका छन् । जनआन्दोलनले पञ्जायती व्यवस्था हटाउँदै बहुदलीय व्यवस्थाको सुरुवात गर्छ । कम्युनिस्ट राजनीतिका यस्तै ठूला घटनाक्रम र फेरबदललाई निर्देशक राउतले फिल्ममा हतारमै देखाएका छन्, तसर्थ त्यतिबेलाको राजनीतिक उथलपुथललाई देखाउने भाँती नपुर्याउँदा ‘पुजार सार्की’को मूल मुद्दा अलमलमा पर्छ । त्यसैले ‘व्यवस्था बदलियो’ भन्ने संवाद पात्रले संवादमा त बोल्छन्, तर त्यसलाई दृश्यमा स्थापना गर्न सकेका छैनन् ।

वर्षौंदेखि उत्पीडनमा परेकाहरूको यो कथालाई पनि ब्राम्हणवादी दृष्टिकोणबाट भनिएको छ । उदाहरणका लागि, मेघराजले नै मैते र मैयालाई पार्टीमा प्रवेश गराउँछन् । मेघराज कथित माथिल्लो जातका ! झट्ट हेर्दा मुक्तिको यो लडाइँमा कथित तल्लो जातका मैतेहरूलाई कथित उपल्लो जातले नै नेतृत्त्व लिएको देखाइएको छ । पुजारले जब तल्लो जातकी मैयासँग बिहे रचाउँछन्, उनले आफ्नो थरै परिवर्तन गर्छन् । कथित माथिल्लो जातले थर बदल्दैमा जात व्यवस्थाको अन्त्य हुन्छ र ? फिल्मको एउटा दृश्यमा मैयासँग बिहे गर्दा आफू झर्ने कुरा पुजारले गरेका हुन्छन् । यो त सार्की थर राखेर पुजारले आफ्नो जात झरेको कुरा स्वीकारेजस्तो भएन ! प्रगतिशील सोचाइका पुजारजस्ता पात्र लेख्दा लेखक विकाश सुवेदीले जात व्यवस्थाका मिहीन पक्षलाई मध्यनजर नगरेको देखिन्छ । पुजारजस्तो कथित ठूलो जातले मैयाजस्तो दलित महिलालाई मनपराइरहँदा, दलित पुरुषले जनजातिकै छोरीलाई मात्रै प्रेम गर्नुमा पनि त्यो सोच हाबी भएको छ । दलित पुरुषले कथित माथिल्लो जातकी महिलालाई प्रेम गर्नै नसक्ने हो र?

जनजातिभित्र जात व्यवस्थाको तहगत संरचना हुँदैन । तर, जात व्यवस्थाको प्रभावले पहाड र तराईका जनजातिले पनि जात व्यवस्थालाई आफ्नो व्यवहारको अङ्ग बनाए । गौमायाकी बुवा त्यसैको प्रतिफल हो । फिल्मको एउटा दृश्यमा यो पात्रलाई लचिलो देखाउँदै सन्तुलन कायम गर्न खोजिएको छ । जब दुई पात्रलाई गाउँलेले लखेट्दै गरेका हुन्छन्, ती पात्रको बचाउका लागि उभिँदा पात्र सन्तुलित देखिन्छ । तर, रुकुम -नसंहार देखाउने चक्करमा जनजातिकै कारण बितण्डा मच्चिएको भन्ने भाष्य सिर्जना गर्नु त विषयवस्तुको गाम्भिर्यमाथिको लापर्वाही नै हो ।

अर्को त यो फिल्ममा प्रमुख पात्रहरूले अधिकांश समय ‘जात विभेद’को कुरा शास्त्रमै नभएको प्रसंग उठाइरहन्छन् । निर्माण टिमले वर्ण व्यवस्थालाई भुलेर शास्त्रमा विभेद छैन भन्ने भाष्य मात्रै निर्माण गर्न खोजेको छ । शूद्र वर्णका शम्बूक ऋषिले तपस्या गर्दा राज्यमा अनिष्ट भएको भन्दै रामले उनको टाउको काटेर हत्या गरेको वर्णन रामायणमा पाइन्छ । महाभारतमा पनि कर्णलाई शूद्रका छोरा भन्दै आजीवन अपमान गरिएको प्रसंग भेटिन्छ । पात्रहरूले जात व्यवस्थाविरुद्ध आवाज उठाउनु त सकारात्मक नै हो, तर वर्ण व्यवस्था र त्यसले पक्षपोषण गर्दै आएको जातीय छुवाछुतलाई भुल्दा संवेदनशील विषयमै निर्माण टिमको ध्यान पुगेको देखिन्न ।

यस किसिमको गम्भीर मुद्दामा कसले कथा भन्दैछ ? भन्नेले धेरै अर्थ राख्छ । तपाईं जुन समुदायको हो त्यही समुदायको कथालाई मात्र राम्रोसँग बताउन/सुनाउन सक्नुहुन्छ । त्यसो भन्दैमा फिल्मकर्मीका हिसाबले अन्य समुदायको कथा भन्नै नपाउने भन्ने सिर्जनात्मक नियम कुनै छैन । तर, तपाईंले अन्य समुदायको पीडालाई कति नजिकले अनुभव गरेर दुरुस्तै बताउन सक्नुहुन्छ भन्ने चुनौति सदा रहन्छ । उदाहरणका लागि मार्टिन स्कोरसेजीले 'किलर्स अफ द फ्लावर मुन'मा ओसेज समुदायका अधिकांश मानिसलाई फिल्म निर्माणको फरक-फरक विभागमा राखेका थिए, ताकि आदिवासीको कथा भन्दै गर्दा त्यसमा गोरा अमेरिकीको धारणा नथोपरियोस्, कथालाई यथार्थ रुपमा देखाउन सकियोस् । कुनै समुदायको कथा भन्दै गर्दा त्यसलाई विश्वसनीय र सत्यको नजिक पुगोस् भन्ने सोचसहित निर्माण टिमले यस किसिमको संवेदनशीलता अपनाएका थिए ।

तर, त्यो संवेदनशीलता ‘पुजार सार्की’मा छैन । फिल्मका लेखक विकाश सुवेदी, निर्देशक दिनेश राउत । प्रमुख भूमिकामा कलाकार प्रदीप खड्का, आर्यन सिग्देल अनि पल शाह ! जात व्यवस्थामा उपल्लो मानिएका यही कथावाचकले दलित मुक्तिको मिहीन विषयलाई फिल्ममा नजरअन्दाज गरिदिएका छन् । नेपाली समाजमा खिलजस्तै गढेको जात व्यवस्थाजस्तो मुद्दामा ‘पुजार सार्की’को टिम संवेदनशील बनेको छैन । फिल्ममा जात व्यवस्था, विभेदजस्ता कुरा संवादमै मात्र सुनिन्छ, दृश्यमा खासै स्थापित गराउन सकेका छैनन् । फिल्मलाई अहिलेको परिस्थितिसँग जोड्न जबरजस्ती दृश्य तन्काइएको छ । फिल्मको अन्त्य(इन्डिङ) पनि जात व्यवस्थाविरुद्ध गह्रुँगा संवाद बोल्नकै लागि मात्र राखिएको छ । सन्देश दिनकै लागि राखिएको उक्त दृश्य पट्यालाग्दो देखिन्छ । नाराबाजीमा प्रयोग हुँदै आएको नारालाई मात्रै फिल्मको संवादमा मिसाएको छ, तर दृश्यमा विभेद स्थापित गरिएकै छैन । अचानोको पीर खुकुरीले जाने पो देखाउनु !

दलित मुद्दामाथि कमै फिल्म बन्छन् । यस किसिमको समस्यालाई उजागर गर्दै फिल्म बनाउनु सकारात्मक हो । ‘पुजार सार्की’ले वर्षौंदेखि गढेर बसेको जात व्यवस्था देखाउँदै त्यसविरुद्ध चर्को आवाज उठाउन सक्थ्यो । तर, कमजोर पटकथा, गम्भीर विषयमाथिको अध्ययन अभाव र असंवेदनशीलताले दलित मुक्ति/विद्रोहमाथि नै ‘पुजार सार्की’ले धावा बोलेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×