२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

सुगम दुलाल

काठमाडौँ — घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको रोमाञ्चक कथा । दुईमध्ये एक बेहुली आफ्नो बेहुला र उसको घर खोज्न संघर्ष गर्छे ।

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

अर्की बेहुली भने कसरी हुन्छ, आफू बाध्य भएर बिहे गरेको बेहुलाको घर जान नपरोस् भनेर भाग्ने जुक्ति खोज्न संघर्ष गर्छे । यी दुईको फरक–फरक संघर्षको कथाभित्र छ, महिलाको मूल्य । परम्परा र संस्कृतिका नाममा उनीहरूलाई कसरी बाँधिएको छ भन्ने दृश्यको फेहरिस्त ।

फिल्ममा महिलाका दिनहुँका आचरण र स्वभावभित्र कसरी गहिरो असमानताको प्रभाव लुकेको छ भन्ने भेट्टाउन सकिन्छ । मारपिट, हिंसा, गालीगलौज र अतिरञ्जित भावनात्मक दृश्यबिना नै महिलाका वेदना यसरी पोखिएको छ मानौं चलचित्रले मिठाई ख्वाएजसरी तीतो औषधि चखाउँदैछ, पितृसत्तात्मक समाजलाई । गल्तीले अर्काको घर पुगेकी जया आफ्नो नाम, ठेगाना ढाँट्दै श्रीमान्को घर फिर्ता जान खोज्दिनन् । जयाले किन झूटको सहारा लिएर सबैलाई अन्योलमा पार्छिन् ? उता आफ्नो श्रीमान्को पर्खाइमा रहेकी फूलकुमारीले श्रीमान् भेट्लिन् कि नभेट्लिन् ? यस्तै प्रश्नको वरिपरि ‘लापता लेडिज’ दौडिन्छ ।

किरण रावको निर्देशनमा बनेको यस चलचित्रले पृथक् शैलीमा व्यंग्य प्रहार गरेको छ । सरल कथाभित्र शक्तिशाली अर्थ दिन खोजिएको छ तर कथा र पात्रको आत्मालाई नबिगारी । कुनै दृश्य पनि सन्देश दिनकै लागि भनेर निर्माण गरिएको छैन तर केलाउने हो भने हरेक दृश्यले केही न केही व्यथा बोल्छ । ‘लापता लेडिज’ मा हराइरहेका महिला देखाइएको छैन । देखाइएको छ त हराइरहेको चिनारी । एउटा लडाइँ देखाइएको छ, जहाँ खोजी हुन्छ– लापता अस्तित्व, अधिकार र आवाजको ।

फिल्ममा वर्षौंदेखि समाजले अपनाउँदै आएका स–साना विभेदकारी कार्य यसरी सामान्यीकरण भएको देखाइएको छ कि पात्रहरूले त्यसमा कुनै गल्ती भेट्टाउन छोडिसकेका छन् । चलचित्रको सुरुवातमै नवविवाहित बेहुलाको परिवारले धेरै दाइजो पाएको फुर्ती लगाउँदै गरेको दृश्य देखाइन्छ । बेहुला असक्षम रहँदा मात्र दाइजो नपाउने मानिसको बुझाइ चलचित्रमा प्रस्ट छ । अरूका अघि घुम्टो खोल्न नपाइने, श्रीमान्को नामसम्म उच्चारण गर्न नहुने, आफूलाई मनपर्ने परिकार पकाउन नपाइने, बाहिर गएर काम गर्न नपाइने, शिक्षा अघि बढाउन नपाइने, बदनामीको डरले आफ्नै माइत जान पनि नपाइनेजस्ता अनेक लैंगिक विभेदका उदाहरण चलचित्रभरि भेटिन्छन् ।

सन् २००१ को समय देखाइएको कथामा आइपर्ने अनेक घटना र परिस्थितिले फिल्मलाई यसरी कसेको छ कि त्यो हेरुन्जेल दर्शकबीच अनिश्चितता कायम रहन्छ । जरा गाडेको भेदभावपूर्ण मानसिकताले अनेक बाध्यात्मक परिस्थितिको लहर निम्त्याउँछ, जुन दृश्य देखिने तहबाट नियाल्दा हास्यास्पद देखिन्छन् तर गहिरो तहबाट जाँच्दा चिन्तनयोग्य छन् । श्रीमती हराइसकेपछि प्रहरीमा रिपोर्ट लेखाउन जाँदा फूलकुमारीका श्रीमान् दीपकलाई प्रहरीले श्रीमतीको फोटो माग्छन् । दीपकले श्रीमतीसँग आफ्नो एउटा मात्र फोटो रहेको बताउँदै सोही तस्बिर देखाउँछन् । जसमा घुम्टो ओढेकाले फूलकुमारीको अनुहार छोपिएको हुन्छ ।

फिल्ममा देखाइएका निर्दोष बेहुलीलाई आफ्नो रेल यात्राको गन्तव्यसमेत थाहा हुँदैन । रेलमै श्रीमान्सँग साथ छुटेपछि फूलकुमारी रेल स्टेसनमै दिन बिताउन थाल्छिन् । श्रीमान्को ठेगाना सोध्दा उसलाई यत्ति मात्र याद हुन्छ कि श्रीमान्को गाउँको नाम एउटा फूलको नामसँग मिल्छ । चलचित्रभरि स्टेसनमै काम गर्ने छोटु अनेक फूलका नाम सुनाउँदै फूलकुमारीको ठेगाना पत्ता लगाउने कोसिस गर्छ । अन्त्यमा गाउँको नाम सुरजमुखी रहेको पत्ता लागुन्जेल फूलकुमारीले आफूलाई निर्दोषबाट परिपक्व फूलकुमारीमा परिणत गरिसकेकी हुन्छे । फिल्मको अन्तिम दृश्यमा फूलकुमारीको घुम्टो खस्छ । ऊ खसेको घुम्टो समाउँछे, रोकिन्छे तर शिरमाथि लगाउँदिन । यसले फिल्मलाई प्रतीकात्मक निष्कर्ष दिलाउँछ, फूलकुमारीहरूको जीवनमा बदलाव आएको छ ।

फिल्ममा अर्की पनि महिला पात्र छिन्, मञ्जु माई । रेल्वे स्टेसनमा चिया बेचेर संघर्षपूर्ण जीवन गुजारिरहेकी मञ्जु माईले हराइरहेकी फूलकुमारीको ठेगाना मात्रै खोज्न सघाउँदिनन्, जीवनको दिशा बदल्न पनि सघाउँछिन् । छुच्चो बोल्ने भए पनि मञ्जु माईका हरेक शब्द विद्रोहको भट्टीबाट निस्केजस्तो लाग्छ ।

समाजले सिकाएअनुसार पितृसत्ताको पहरेदार बनिरहेकी फूलकुमारी, विद्रोह गर्दै अघि बढ्न खोजिरहेकी जया अनि पितृसत्तासँग लडेर आफ्नै स्वतन्त्रतासँग रमाइरहेकी मञ्जु माई । यो तीन तहको कथामा ‘लापता लेडिज’ को पूरै कथा घुमेको छ । ‘लापता लेडिज’ २०२४ मार्च १ मा सिनेमा घरहरूमा रिलिज भएको हो । अनलाइन प्लेटफर्म नेटफ्लिक्समा अप्रिल २६ मा रिलिज भएदेखि फिल्मले सबैको ध्यान तानिरहेको छ र भारतसहित थुप्रै देशमा ट्रेन्डिङमा आइरहेको छ ।

(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख २४, २०८१ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?