२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

काठमाडौँ — अभिनेता दयाहाङ राई फेस्टिभल पुगेको फिल्म नेपालको बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको धारणा राख्छन् । जेठ २५ देखि प्रदर्शनमा आउने 'गाउँ आएको बाटो' को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल पुगेको र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने बताए ।

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

'फेस्टिभल गएको फिल्मलाई अलिकति मज्जाले हेर्नुपर्छ भन्ने पनि भ्रम छ र फेस्टिभल नगएको फिल्मलाई पपकर्न खाएर सिध्याउनुपर्छ भनिन्छ,' उनले भने, 'खासमा फेस्टिभल पुग्नु त हाम्रो फिल्म विश्व बजारमा पुगेको हो । त्यस्तो प्रतिस्पर्धा हुने ठाउँमा फिल्म छनौट भएको छ भने त्यो फिल्मको निर्माणमा केही दम छ भन्ने हुन्छ । त्यस्ता फिल्मलाई गम्भिर भएर हेर्नैपर्छ भन्ने होइन ।'

टोरोन्टो, बुसानदेखि विश्वका प्रख्यात फिल्म फेस्टिभल पुगेको फिल्म 'गाउँ आएको बाटो'को उत्सव मनाउन पनि दर्शकले फिल्म हेर्नुपर्ने दया बताउँछन् । 'सयौं फिल्मकर्मीको फिल्म छानिएको फेस्टिभलमा हाम्रो फिल्म छानिएको छ र त्यस्तो फिल्म घरेलु बजारमा प्रदर्शन हुँदैछ भने त्यस्तो फिल्म त हेर्नुपर्छ नि । त्यस्तो चर्चित फेस्टिभल पुगेको फिल्मको उत्सव मनाउनका लागि पनि हेरिनुपर्छ,’ उनले भने ।

अभिनेता राई ‘गाउँ आएको बाटो’मा माइलाको भूमिकामा देखिएका छन् । चोयाको काम गर्ने माइलाको जीवन, उसको परिवारमा बाटो आएसँगै के कस्ता परिवर्तन आउँछन् ? भन्ने कथा फिल्ममा समावेश गरिएको निर्माण टिमले जनाए । बुवा छोरामाथिको सम्बन्धमा आधारित यो फिल्ममा माइलीको भूमिकामा पशुपति राई र बिन्द्रे चरित्रमा बाल कलाकार प्रसन राईको अभिनय छ । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् ।

फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ । नवीन सुब्बाको निर्देशन, महेश राईको लेखनमा तयार भएको यो फिल्मका निर्माता अमोद राई हुन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x