कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चरित्र-चित्रणमा नाजिरको नजिर

रीना मोक्तान

काठमाडौँ — कोभिडअघि अभिनेता नाजिर हुसेन एकपछि अर्को फिल्ममा व्यस्त देखिन्थे । 'होस्टेल रिटनर्स'ले चर्चामा आएका उनी 'वीर विक्रम'मा माने, 'तिमीसँग'मा भरतराज मिश्र हुँदै 'रज्जारानी'को प्रमुख भूमिकामा रज्जा यादव बने । 'गरुड पुराण', 'कागजपत्र', 'वीर विक्रम २'सम्म आइपुग्दा फिल्ममा नाजिर नभई नहुने भइसकेका थिए । चाहे त्यो पात्र प्रमुख होस् या सहायक ।

चरित्र-चित्रणमा नाजिरको नजिर

यसबीच म्युजिक भिडियोतिर त्यसरी नै छाए । तर, 'वीर विक्रम २' पछि भने एकाएक हराए, सामाजिक सञ्जालतिर पनि झल्याकझुलुक्क ! म्युजिक भिडियो त ठप्प । आखिर नाजिर यसरी गायब किन भए त ? शुभचिन्तक चिन्तित बन्थे ।

नाजिर यो पाँच वर्षको अवधिमा तयारीमा रहेछन् । के-को तयारी ? यसको जवाफ हो- 'गुन्योचोलो' र 'अगस्त्य' यसबीच नाजिरले आफूलाई समय खर्चे । आफ्ना कामलाई फर्केर नियाले अनि एउटा निचोडमा पुगे-'अब दर्शकलाई ढाँट्नुपर्ने फिल्म गर्दिन' । अर्थात् नराम्रो फिल्मलाई राम्रो भन्दै हिँड्ने बाटो समात्नु थिएन । डाँडामा हिरोइनको हात समाएर नाच्ने चरित्रप्रति पटक्कै इच्छा रहेन ।

पैसा, मित्रता र सम्बन्धकै लागि गरेका फिल्मलाई एकएक गर्दै फेरि युट्युबमा हेरे, त्यसपछि ठाने -अब दालभात खान्छु तर राम्रो फिल्म गर्छु । नाजिरले यसबीच आफूलाई खर्चेको समय, मिहेनत र फिल्म छनौटको निर्णय पर्दामा देखिँदैछ ।

'गुन्योचोलो' र 'अगस्त्य'का चर्चाले यसबीच नाजिरले गरेको तयारी बोल्छ । 'म हराएको होइन, यतै कतै थिएँ । सामाजिक सञ्जालतिर पनि म जे हुँ त्यही देखिउँ भन्ने भयो । यस दौरान १०/११ कविता लेखें । २ वटा ड्रामा लेखे । ३ वटा सर्ट फिल्म लेखें । किताबसँग नजिकिएँ, प्रकृति छेउतिर बस्न पुगेँ,'नाजिर सुनाउँछन्,'२ वर्ष कोभिडले लग्यो, बाँकीको समय फिल्ममा गयो । म हराए कसरी ?'

'अभिनय खतरा, ज्यान भएन', आफ्ना फिल्मलाई युट्युबमा हेर्दा भेटिएको एउटा कमेन्टले नाजिरलाई कोभिडबीच पनि हात बाँधेर बस्न दिएन । लकडाउन खुल्दै गएपछि पर्सनल ट्रेनर राखेर जिम सुरु गरे । एक वर्षमै ज्यान बदलियो, ६० बाट ७९ केजी तौल बढाए । त्यही क्रममा 'गुन्योचोलो'को स्क्रिप्ट हात पर्‍यो । फिल्मका लागि तौल ६१ केजीमा घटाउनु पर्‍यो, पारलैंगिक महिला 'गुलाबी'को चरित्रका लागि ।

निर्देशक समुन्द्र भट्टले उक्त चरित्रमा अफर गर्दा सुरुमा नाजिर अवाक भए । 'आफूभन्दा फरक देखिने चरित्रको खोजीमा थिएँ । झट्ट गर्छु भनिहालेँ । चरित्रमा काम गर्न वर्षौं खर्चन तयार थिएँ, ढुंगा खोज्दा देउता भेटे झैं भयो,'नाजिर समुन्द्रसँगको पहिलो भेट सम्झन्छन्,'मलाई उहाँले घट्न सक्छौ त भन्नुभएको थियो । मैले तुरुन्तै हुन्छ भनेँ । 'गुन्योचोलो'का लागि १७ केजी घटाएँ । तौल घटाउन जिमलाई धेरै समय दिनुपर्ने, बिहान २ घण्टा, बेलुका २ घण्टा । खाना पनि जोखेरै खानुपर्ने । ६१ तौल भएपछि, कपडा नाप्न एकजना दिदी आइपुगिन् । नाजिरको शरिरमा आएको परिवर्तनले छक्क पर्दै भनेकी थिइन्, 'डमी साइजको भएको छौ' । सुटिङका क्रममा जब मेकअप र साडीमा नाजिर झुल्किन्थे, निर्देशकदेखि टिमका सबै छक्क !

'गुन्योचोलो'बाटै नाजिरले पटकथा लेखनमा डेब्यू गरेका छन् । संवाद पनि लेखेका छन् । खासमा सुरुमा फिल्मको स्क्रिप्ट अरुले नै लेखेका थिए । तर, निर्देशक भट्टको कथालाई पटकथामा राम्रोसँग उनिएन । आफूले देखेका पारलैंगिक महिला र स्क्रिप्टको चरित्रमा आकाश पातालको फरक ! नाजिरलाई पनि स्क्रिप्ट चित्त बुझेन ।

त्यतिबेला उनले निर्देशक भट्टलाई भने,'स्क्रिप्ट यही हुने हो भने फिल्म गर्दिनँ । मैले फिल्मको लागि शरिर घटाएँ, त्यसमा केही दु:ख छैन । हस्ताक्षर गर्दा लिएको पैसा पनि फिर्ता गर्छु' ।

नाजिरको यस्तो कुराले निर्देशक भट्टलाई सोच्न लगायो। त्यसपछि भोलिपल्टदेखि निर्देशक भट्टसँग मिलेर पटकथा लेख्न बसे । जर्मनीमा पढेको 'डाइनामिक ड्रामाटर्जी'को अनुभवले लेखनमा सहयोग गर्‍यो ।

खासमा चरित्र निर्माणकै क्रममा एक यौनिक पहिचान नखुलाएकी पारलैंगिक महिलासँग नाजिरले भेटेका थिए । उक्त पात्रलाई १ सय १८ प्रश्न सोधे । कुराकानीमा अर्की साथीलाई पनि साक्षी बनाए, ताकि उनलाई असहज हुने प्रश्न सोध्दा तीनले रोकिदिउन् । जब नाजिरले उनको कथा सुन्दै गए, गुन्योचोलोको स्क्रिप्ट फिक्का लाग्न थाल्यो । त्यसपछि नै हो, नाजिरले समुन्द्रसँग स्क्रिप्टमाथि गुनासो पोखेको । त्यही पात्रसँगको भेटले नाजिरलाई पटकथा लेख्ने उर्जा थप्यो ।

पटकथा लेखनमै झैं चरित्र निर्माणमा मिहेनत उस्तै लाग्यो । पारलैंगिक महिलाबीच बोलिने कोड भाषा सिक्नुपर्‍यो । हिलमा हिँड्न १ महिना ११ दिन लाग्यो । 'सुरुमा कुम मात्र हल्लिन्थ्यो, पछि त हिप पनि हल्लिन थाल्यो । मलाई कुनै चरित्रभित्र पस्न र निस्किन समय लागेको चरित्र नै गुलाबी हो,'नाजिर चरित्र निर्माणको समय सम्झन्छन् । नाजिरलाई गुलाबी चरित्र बनाउन ५/६ महिना लाग्यो ।

चरित्र निर्माणकै क्रममा कपाल बाट्न सिके । लिप्न सिके, चामल निफन्न जाने । अहिले त नङमा पालिस लगाउन, लिपिस्टिक लगाउन नाजिर माहिर छन् । आँखाको मेकअप सिके, सारीमा हिँड्न सक्ने भए ।

गुलाबी चरित्र बाँचिरहँदा नाजिरले महिला स्वतन्त्रतालाई भित्रैबाट अनुभूत गर्न पाए । 'सारी सम्हालन नै गाह्रो । ब्रा लगाएर ब्लाउजमा उभिँदा कसैले पछाडिबाट बेस्सरी तानेकोजस्तो लाग्यो । त्यतिबेला स्वतन्त्रता गुम्यो भन्ने लाग्यो । केही कुराले बाँधियो, कसैले आक्रमण गरे हात पनि चल्दैन कि जस्तो भन्ने भयो,'उनले आफ्नो अनुभव सुनाए,'हिल लगाउन पनि गार्‍हो । पुरुषको लुगा लगाउँदा जुन स्वतन्त्रता मैले अनुभव गर्थेँ, त्यो खोसिएको अनुभूति भयो । चुरा कतै अड्किरहन्थ्यो ।' गुलाबी बन्न मेकअपमै २ घण्टा लाग्ने । नक्कली परेला लगाउनु झन्झटिलो बन्यो । 'कट' सुन्न नपाउँदै परेला निकाल्न नाजिर हतारिन्थे ।

नाजिरले चरित्र निर्माणमा यस्ता बाह्य मात्रै होइन आन्तरिक पक्षलाई पनि ध्यान दिन्छन् । 'गुलाबी' चरित्र बनाउन, आन्तरिक पक्षमा त्यसरी नै मिहेनत गरे । गुलाबी आफैँमा भारी चरित्र, द्वन्द्व बोकेको पात्र हो । गुलाबलाई उनी नरमसँगै बलियो प्रस्तुत गर्न चाहन्थे । कहिले आफूभित्रको नरम स्वभाव खोज्थे, कहिले बलिया पाटो नियाल्थे । गुलाबीले समाजलाई हेर्ने दृष्टिकोण, परिवारलाई हेर्ने नजरमाथि घोत्लिरहन्थे ।

'चरित्र बनाउँदा मेरा धेरै नजिकका केटा साथीहरुसँग गुलाबी बनेर बोलेको छु । ११ महिना म महिला बनेर खान्थें, महिला बनेर हिँड्थे । यसरी महिला चरित्रलाई भित्रैबाट अनुभव गर्ने कोसिसमा हुन्थेँ,'नाजिरले सुनाए ।

'अगस्त्य'को चरित्र निर्माण गर्न त 'गुलाबी'भन्दा कठिन भएको नाजिरको अनुभव छ । वास्तविक जीवनमा कहिल्यै बन्न नचाहने चरित्र, 'अगस्त्य'मा बन्नु पर्‍यो । त्यो चरित्रलाई आत्मसाथ गर्नै समय लाग्यो । 'त्यो चरित्रलाई म वास्तविक जीवनमा नजिक हुन चाहन्न । दोस्ती गर्न पनि चाहन्न । समिपमा राख्न पनि चाहन्न,'अगस्त्य चरित्रबारे सुनाए । गुलाबीको एउटा कथक डान्स खिचिसकेपछि सौरभ चौधरीले नाजिरलाई भेट्न बोलाएका थिए । त्यतिबेला उनलाई लागेको थियो,'ओह्हो केटाले बोलायो' !

जब सौरभले नाजिरको 'अगस्त्य'मा भूमिका सुनाए, उनी आकर्षित बन्दै गए । पात्रको क्यानभास नै ठूलो । फिल्मको आधा कथा त बुझेका पनि थिएनन् । तर, त्यही एउटै भेटले उक्त पात्रप्रति नाजिर लोभिए । कुनै फ्रेममा त सौगात मल्ल भन्दा ठूलो देखिनुपर्ने । त्यतिबेला ठट्यौली शैलीमा नाजिरले सौरभले भनेका थिए,'म कसरी उहाँभन्दा ठूलो देखिनु, म त अहिले महिलावाला फिलमा छु' । चरित्रका लागि तौल ८० केजी बढाउनुपर्ने । ट्रेनरलाई तुरुन्तै त्यहीँबाट फोन घुमाए । ट्रनेरले सोधे,'दिनको ७ टाइम खान सक्छस् ? नाजिरले 'हुन्छ' भनिदिए ।

किताब पढ्दै, घर नजिकको नागार्जुन जंगल पस्दै बिस्तारै गुलाबी चरित्रलाई टाँढा बनाउँदै गए । जिममा पनि 'अगस्त्य'को निशान पात्रमाथि गफिन थाले ।

'धेरै दृश्यमा संवाद नै छैन । संवाद नभएपछि अनुहार र शारीरिक भाषाबाट देखाउनु पर्‍यो,'नाजिर चरित्र निर्माणका जटिल पाटो केलाउँछन् । फिल्ममा पाँच फरक भावनामा निशान बाँच्नुपर्छ । रिसाहा चरित्र, पितृसत्ताले भरिएको । त्यो बीचमा धेरैले नाजिरलाई त्यस्तो चरित्र दिने ? भन्दै निर्देशक चौधरीलाई सुनाएका रहेछन् । तर, निर्देशक सौरभले आफूमाथि विश्वास गरेकै कारण निशान चरित्र बनाउन सफल भएको नाजिर सुनाउँछन् ।

'त्यतिबेला ४ घण्टा जिम, २ घण्टा एक्सनको तालिम । खाने, सुत्ने अनि आराम । पेमा गुरुले फाइट सिकाउनुभयो । उडीउडी मान्छे कुट्न साह्रै मज्जा लाग्यो,'उनी सुनाउँछन्,'निशान भयंकर शरिर भएको पात्र हो । त्यो देखिने कुरा होला । तर त्यो पात्रले फरक दृश्यमा भोग्ने फरक भावना र विचारलाई बाँच्न गार्‍हो भयो । यो फिल्ममा मैले २ वटा चरित्रको जीन्दगी बाँचेको छु । सौरभजीले कसरी ममाथि विश्वास गर्नुभयो भन्ने भयो । उहाँले मप्रति देखाउनु भएको विश्वासले जित्यो' ।

यसपटक नाजिरले शरिरमा गरेको काम हेर्दा धेरैलाई लाग्न सक्छ, उनी हिरोको मापदण्डभित्र पर्ने कोसिस गर्दैछन् । तर नाजिरलाई थाहा छ, आफू त्यो मापदण्डभित्र पर्दिन भन्ने । 'बजारको सौन्दर्यको मापदण्डमा म पर्दिनँ, मलाई थाहा छ । तर दर्शकले मलाई कलाकारहरुकै भीडमा पनि नहराओस् भन्ने अपेक्षा राख्नुहुन्छ । त्यसैले चरित्र निर्माणमा मैले मिहेनत गर्नैपर्ने भयो,'नाजिर सुनाउँछन्,'हिरोको मान्यताभित्र पस्न होइन, तर चरित्रका लागि मैले काम गरेको हुँ । कुनै फिल्ममा होस्टेल रिटर्न्सको नाजिर बन्नु परे त्यो पनि बन्न तयार । अब कुनै पनि किसिमको चरित्र आयो र शरिरमै काम गर्नु पर्‍यो भने म त्यसमा काम गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ । बरु २/३ वटा फिल्म खेल्ने, तर यसरी काम गर्ने हिम्मत लिन्छु भन्ने भएको छ ।'

नाजिर अहिले फेरि नयाँ चरित्र निर्माणमा खटिसकेका छन् । उनकाअनुसार अब उनी यस्तो मधेसी चरित्रको तयारीमा छन्, जसले फिल्मले बनाएको त्यो परम्परागत मधेसी पात्रलाई भत्काउनेछ । 'अहिले पनि तराईका पूराना कलाकार साना-तिना भूमिका गरेर बसिरहेका छन् । कि त हजाम, कि त चटपटे बेच्ने । तर मैले अब गर्नेवाला मधेसी चरित्र हाँसोको पात्र, कुनै समुदायलाई होच्याउने किसिमको छैन ।'

प्रकाशित : फाल्गुन १५, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×