कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बेलायतमा विद्यार्थीलाई बस्ने कोठा र काम पाउनै सास्ती

विदेशी विद्यार्थी एकैचोटी ओइरिँदा बेलायतमा अहिले न काम पर्याप्त छ, न बस्ने कोठा । पहिला ४ सय पाउण्ड पर्ने डबल रुम अहिले ९ सय पाउण्डसम्म पुगेको छ । कतिपय नेपाली एजेण्टहरुले काम र कोठा खोज्ने बहानामै ठगिदिने गरेको पनि पाइएको छ ।
नवीन पोखरेल

लन्डन — तनहुँ दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा 'हेल्थ एण्ड सोसल केयर' पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो । 

बेलायतमा विद्यार्थीलाई बस्ने कोठा र काम पाउनै सास्ती

घरकी कान्छी छोरी । परिवारलाई केही गर्नुपर्ने जिम्मेवारी पनि भएकाले विकसित देशमा केही गर्न सकिएला भन्ने मनोबलसहित उनी यहाँ आएकी छन् ।

अढाइ वर्षको ब्याचलर्स पढ्न आशिकाले पहिलो वर्षको १६ हजार ८०० पाउण्ड फीमध्ये आधा ८ हजार पाउण्ड (करिब १३ लाख ६० हजार रुपैयाँ) तिरिसकिन् । ५ हजार विश्वविद्यालयले छात्रवृत्ति दिएको छ । बाँकी ६ महिनाभित्र तिर्नुपर्छ ।

'काम खोज्दैछु । पाउन धेरै गा‍र्‍हो रहेछ', उनले दुःखेसो पोखिन्, 'अकोमोडेसन जसोतसो पाएँ । तर जागिर नहुँदा खर्च कसरी जुटाउने चिन्तित छु ।'

बेलायतको अवस्था गार्‍हो छ भन्ने थाहा हुँदाहुँदै पनि आँटेर एजुकेशन लोनमा पढ्न आएको उनले सुनाइन् ।

'नेपालमा मेडिकल फिल्डको पढाइ छ तर केयरको नभएर आएकी हुँ' उनी कारण खोल्छिन् ।

बुटबलका इन्द्रदेव चौधरी बकिंगमसायर न्यू युनिभर्सिटी अक्सब्रीजमा एमएस्सी इन हस्पिटालिटी पढ्न लन्डन आएको महिना दिन भयो । १२ हजार ४ सय पाउण्ड (करिब २१ लाख रुपैयाँ) फी मध्ये उनले ८ हजार ७ सय तिरिसके, अब ३ हजार ७ सय पाउण्ड बाँकी छ ।

उनले कोठा जेनतेन पाएका छन् तर जागिर पाउने छाँटकाँट छैन । 'बेलायतको कष्टपूर्ण अवस्था थाहा थियो, तर सुधार हुन्छ कि भनेर आयौं', उनले सुनाए, 'नेपालको परिस्थिति झन् राम्रो छैन । संघर्ष त गर्छु हेरौं केही सुधार हुन्छ कि ।'

उता, अनुज चौधरी जनवरी १७ मा लन्डन टेके । योर्क सेन्टजोन युनीमा एमएस्सी ग्लोबल हेल्थ केयर म्यानेजमेन्ट पढ्न आएका उनले ९ हजार ७८५ पाउण्डमध्ये ६ हजार १६० पाउण्ड (करिब १० लाख रुपैयाँ) तिरिसके । अब ३ हजार ६२५ पाउण्ड फी बुझाउन बाँकी छ ।

नोबेल कलेज काठमाडौं, सिनामंगलमा मेडिकल बायोकेमेष्ट्री सकेर उनीसहित एउटै कलेजका ५ जना बेलायत आएका छन् ।

अहिले पाँचै जना आफन्तकहाँ मिलेर बसेका छन्, कोठा भेटिएको छैन । 'तत्काल काम पाउने सम्भावना छैन । कामका लागि सबैतिर अप्लाइ गरेको काम भेटिएको छैन । एक महिनालाई मात्र पुग्ने खर्च छ । काम भएन भने घरबाट मगाउनुपर्छ', उनले पीडा पोखे ।

अनुजकै साथी सुदुरपश्चिम बझाङका २५ वर्षीय मीनबहादुर खड्का नेपालमा बस्ने, पढ्ने वातावरण नभएर बेलायत आएको बताउँछन् । 'तर, यहाँ आएको काम त परै जाओस्, कोठा नै पाइएन', उनले सुनाए, 'काम खोज्न सबैतिर पुगिसक्यौं। हाम्रो त सिभीमा 'रिफ्रेन्स' लेखिदिने मान्छे पनि छैनन् कसरी काम पाउने खोई ?'

विद्यार्थीका माथि उल्लेखित समस्याले अरु हजारौं विद्यार्थीका समस्यालाई प्रतिनिधित्व गर्छ ।

विदेशी विद्यार्थी एकैचोटी ओइरिँदा अहिले न काम पर्याप्त छ, न बस्ने कोठा । पढाइ चलिरहँदा काम पाएपनि कानूनतः साताको २० घण्टामात्र गर्न मिल्ने भएकाले विद्यार्थीले पढेर कमाउँछु भन्ने नसोचे पनि हुन्छ ।

नेपालमा शैक्षिक कन्सल्टेन्सीहरुको गलत जानकारी, विद्यार्थीको तयारी कम र पढाइभन्दा कमाइप्रति लोभ अनि नेपालको खस्कँदो अर्थतन्त्र आदि पनि विद्यार्थीले दुःख पाउनुको प्रमुख कारण मानिएको छ ।

कोठा पाइहाले पनि पहिला ४ सय पाउण्ड पर्ने डबल रुम अहिले ९ सय पाउण्डसम्म पुगेको छ । घरबेटीले सानो बक्स रुमकै ५ सय पाउण्डसम्म भन्न थालेका छन् । कतिपय नेपाली एजेण्टहरुले काम र कोठा खोज्ने बहानामै ठगिदिने गरेको पनि पाइएको छ ।

५/६ महिनासम्म काम नपाएर बिचल्ली भएको गुनासो गर्दै विद्यार्थीहरुले सामाजिक सञ्जाल र साथीभाइसँग आफ्ना पीडा पोखिरहेका घट्ना अहिले सामान्य जस्तो बनेका छन्।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विद्यार्थीमा कोठा र काम नपाउने समस्या बढी सुनिएको बताउँछिन् । विविध समस्याका कारण कतिपय विद्यार्थी डिप्रेसनको शिकार भएको समेत उनले बताइन् ।

'दूतावासले विश्वविद्यालयसँग सम्बन्धित पढाइ वा फी को किस्तामा समस्या आए सहयोग गर्ने गरेको छ । कोठा र काम खोज्न त हामीले पनि सक्ने कुरा भएन', खनालले कान्तिपुरसँग भनिन्, 'विद्यार्थी आफैं सचेत हुनुपर्ने अवस्था छ । भिसा लाग्ने बित्तिकै आँखा चिम्लिएर नआउनुहोला । मानसिक, आर्थिक रुपमा तयारी नभइन्जेल बेलायत आउँदा धेरै दुःख छ । विश्वविद्यालयको पढाइ हुँदा काम गरेर कमाउने कल्पना पनि गर्न सकिन्न ।'

बेलायत अध्ययन गर्न आउने भए कम्तीमा ६ महिनालाई खान बस्न पुग्ने खर्च, फी तिर्ने जोहो गर्न पनि उनले सुझाव दिइन् ।

नेपाल राष्ट्र बैंकले विश्वविद्यालयको खातामा नेपालबाट सिधै पैसा हाल्न सक्ने भएकाले खर्चको पूर्व प्रबन्ध गरेर आउन उनको सुझाव छ ।

यकीन तथ्यांक नभएपनि गत सेप्टेम्बर इन्टेकमा मात्र झण्डै ८ हजार नेपाली विद्यार्थी बेलायत आएको कन्सल्टेन्सीले बताउने गरेको उनले जनाइन् ।

बेलायतको गृह मन्त्रालयले गत नोभेम्बर २३ मा जारी गरेको तथ्यांकअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या झण्डै दुई गुणा बढेको छ ।

तथ्यांकअनुसार सन् २०२२ को पहिलो त्रैमासिकदेखि तेस्रो त्रैमासिकसम्ममा ३ हजार ३६३ विद्यार्थीले बेलायतको भिसा पाएका थिए ।

सन् २०२३ को सोही अवधिमा बेलायतको भिसा पाउने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ५४७ पुगेको छ जुन सन् २०२२ को तुलनामा करिब ९८ प्रतिशतले बढी छ । यी दुई वर्षमा बेलायत आउने विद्यार्थीको संख्यामा सबैभन्दा वृद्धि हुने मुलुक नेपाल हो ।

अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीले हाल भोगिरहेका समस्याबारे गत आइतबार लन्डनमा एक अन्तरक्रिया समेत भयो । लन्डन साउथ हयारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टका सञ्चालक सुवर्ण पाण्डेले आयोजना गरेको छलफलमा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं व्यवसायीले समस्या समाधानका उपाय के के हुन सक्छन् भन्नेबारे बहस गरे ।

सहभागी वक्ताहरुले अध्ययन गर्न बेलायत आउनु अघिको तयारी, आइसकेपछि जागिर र कोठा खोज्ने तरिका एवं अन्य नियमसम्बन्धमा विभिन्न सुझाव दिए ।

विद्यार्थीले नेपालमा अध्ययन र जागिरको अवसर नभएपछि बेलायत आएको उल्लेख गर्दै यहाँ कोठा र जागिरकै अभाव हुँदा जीवन कष्टकर बनेको पीडा पोखेका थिए । विद्यार्थीले बेलायत आइसकेका विद्यार्थीलाई नै गल्ती देखाउने गरेकाप्रति गुनासो पनि गरे ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले व्यक्तिगत सहयोगले भन्दा पनि सामूहिक प्रयासमामात्र विद्यार्थीका समस्या समाधान हुन सक्ने औंल्याए ।

कानूनविद एवं नेपाली जनसम्पर्क समिति बेलायतका सभापति महेशकुमार दाहालले विद्यार्थीका अभिभावकलाई पनि बेलायतको वास्तविकता बुझाइदिन आवश्यक भइसकेको बताए ।

एनआरएनए अभियन्ता एवं इन्जिनियर आरके त्रिपाठीले आफ्नो दुःख अरुलाई सेयर गरेर नेपालबाट आउन खोज्ने विद्यार्थीलाई रोकिदिन आग्रह गर्दै कन्सल्टेन्सीलाई पनि गलत आश्वासन नदिन अपिल गरे ।

‘हामी सबैले सामूहिक प्रयासमा बेलायतको अवस्था नेपालमा सुनाउनु पर्ने अवस्था आइसक्यो’, उनले भने, ‘बेलायत अर्को बिहार भइसकेको छ । काम पाउन सजिलो छैन । त्यसैले आउनु अघि बुझेर आउनु तपाईं विद्यार्थीहरुको पनि दायित्व हो ।’

अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ

आप्रवासी संख्या बढेपछि बेलायतले यसको नियन्त्रणतर्फ कदम चालिसकेको छ । वर्क परमिट र पारिवारिक भिसामा बेलायत आउन वार्षिक तलव थ्रेसहोल्ड वृद्धि हुने घोषणा भएको छ भने विदेशी विद्यार्थी (पोष्ट ग्रयाजुएट रिसर्च कोर्सबाहेक) ले गत जनवरी १ देखि डिपेन्डेन्ट ल्याउन नपाउने नियम कार्यान्वयनमा आइसकेको छ । विद्यार्थी भिसामा हुनेहरुले आफ्नो अध्ययन पूरा नभएसम्म वर्क पर्मिट रुटमा जान पनि नमिल्ने नियम ल्याइएको छ ।

गत वर्ष विदेशी विद्यार्थी लगायत बेलायत आउने प्रवासीहरुको संख्या ७ लाख ४५ हजार पुगेको समाचार प्रकाशित भएपछि बेलायत सरकारले वर्क परमिट र अध्ययन भिसा नियन्त्रण गर्ने रणनीति तय गरेको हो ।

नयाँ नियमहरु लागू भएपछि काम गर्न वा पढ्न बेलायत आउने मानिसहरुको संख्या ३ लाख जतिले घट्नसक्ने अपेक्षा सरकारी अधिकारीहरुको छ ।

प्रकाशित : माघ १७, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?