कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

खासा र न्यालममै रोकिए दसैंको सामग्री बोकेका कन्टेनर

भाद्र २०, २०८१
खासा र न्यालममै रोकिए दसैंको सामग्री बोकेका कन्टेनर

Highlights

  • दसैंलक्षित सामग्री बोकेका ७० वटा र फलफूल बोकेका २३ वटा गरी ९३ कन्टेनर अलपत्र 

सिन्धुपाल्चोक — चीनले तातोपानी र खासा बजारको बीचमा सुरुङ निर्माण गरिरहेका कारण दसैं लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर खासा र न्यालममै रोकिएका छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग्री र फलफूल समयमै नआइपुग्ने त्रासले व्यवसायी चिन्तित छन् । 

नमस्ते, सिल्क, राखेमालगायत ट्रान्सपोर्ट कम्पनीका ९३ कन्टेनर चिनियाँ क्षेत्र खासा र न्यालममा रोकिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये दसैं लक्षित सामग्री बोकेका ७० वटा टेलर कन्टेनर हुन् । ‘दसैं आउन धेरै समय छैन, उता व्यापारीले हालेको सामान समयमै राजधानी आइनपुग्दा हामीजस्ता दर्जनौं व्यापारी पिरोलिन थालेका छन्,’ व्यवसायी कपिल पाख्रिनले भने ।

न्यालमसहित अन्य पार्किङमा कन्टेनरको दैनिक भाडा झन्डै एक हजार चिनियाँ युआन तिर्नुपर्छ । तीमध्ये न्यालम क्षेत्रमा रोकिएका २३ कन्टेनर फलफूल बोकेका छन् । ‘केही कन्टेनरका सामान त कुहिन थालेका छन्, एउटा चिनियाँ कन्टेनर बराबर तीन नेपाली कन्टेनर सामान हुन्छ भने कतिपय स्याउ बोकेका टेलर लामो भएकाले खासासम्म पनि आउन सकेका छैनन्,’ उनले भने ।

केही दिनअघि चीनको खासा र न्यालम क्षेत्रको पुनर्निर्माण अवस्था निरीक्षण गरेर आएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत दयानन्द केसीले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरेको बताए । चीनले खासालाई ३ वर्षभित्र स्मार्ट सिटी बनाउने लक्ष्यका साथ ५० प्रतिशत पुराना भवन भत्काइसकेको छ । त्यसका लागि सडक, सुरुङजस्ता संरचना निर्माणको गति तीव्र बनाएको उनको भनाइ छ । केसीको सट्टा आइतबार तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयको प्रमुखमा कमलकुमार भट्टराई आएका छन् । यी सबै समस्याबारे बुझिरहेको उनले जनाए । ‘उता अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने काम हुने कारण बाटोमै अड्किएका कन्टेनर केही दिन खासा प्रवेश गर्न पाउने छैनन् । चिनियाँ कन्टेनर तातोपानी आउन ढिला भए मूल्य उति महँगो पर्नेछ । पार्किङ भाडा, खाना, खाजा र ढिला हुँदा तिर्नुपर्ने बैंकको ब्याज सबै जोडिँदा उपभोक्तालाई महँगो पर्न जान्छ,’ उनले भने, ‘दसैं आउने समयमा धेरै सामान आउने र कुरेर बसिरहनुपर्ने बाध्यता व्यवसायीलाई छ ।’

व्यवसायीको समस्या समाधानका लागिरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजुले जनाए । ‘चिनियाँ भन्सारले सामान पठाउन ढिला गरेकाले कन्टेनर रोकिएको गुनासो उस्तै छ, न्यालम र खासाको बीचमा सुरुङ निर्माण भइरहेकाले कन्टेनर रोकिएका हुन्, चिनियाँ सहरबाट आएका सामानको पल्टी गर्ने ठाउँको अभावले पनि यस्तो भएको कुरा छ, यो समस्यालाई सुल्झाउन प्रयासरत छौं,’ गुभाजुले भने ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:१३
x
×