कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एकैपटक ४० सहसचिवको सरुवा 

भाद्र ३०, २०८१
एकैपटक ४० सहसचिवको सरुवा 

Highlights

  • गृहमा पाँच जना सहसचिव भित्रिए, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा यातायात र खानेपानीका महानिर्देशकको सरुवा 

काठमाडौँ — सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार आइतबार सरुवाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पाँच जना सहसचिवलाई विभिन्न मन्त्रालय र स्थानीय तहबाट गृह मन्त्रालय तानिएको छ ।

यातायात व्यवस्था विभाग र खानेपानी विभागको महानिर्देशक तथारामेछापकी प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ । प्रशासन सेवाका २२ र इन्जिनियरिङ समूहका १० जना सहसचिवको सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सरुवा गरिएको छ । महानगरमा सरोज प्रसाद गुरागाईलाई पठाइएको छ । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।

यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनले गत साउनको अन्तिम साता इमरजेन्सीबाहेक स्मार्ट लाइसेन्स छाप्न नसक्ने घोषणा गरेका थिए । उनले प्रदेशको एकल अधिकार उतै पठाउनुपर्ने बताउँदै आएका थिए । उनी लामो समय यातायातमा टिक्न सक्ने महानिर्देशक हुन् । उनले पटक–पटक सरुवा माग्दै आएका थिए ।

सहसचिवहरु उमेश कुमार ढकाल, गोविन्द प्रसाद रिजाल, प्रकाश पौडेल, सुमन घिमिरे र श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ । ढकाललाई संघीय मामिला र रिजाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गृह लगिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सचिव प्रकाश पौडेललाई गृह मन्त्रालय लगिएको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ । सहसचिव पौडेल राजस्व अनुसन्धान विभागको महानिर्देशक, रक्षा मन्त्रालय हुँदै गण्डकी प्रदेशमा कार्यरत थिए । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय दलित आयोगबाट शिवराज चौलागाईलाई पठाइएको छ ।

घिमिरेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गृह लगिएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा मन्त्रालय सरुवा गरिएको छ । मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयमा कार्यरत राजीव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय पठाइएको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेका माधव प्रसाद भट्टराईलाई सहरी विकास मन्त्रालय ल्याइएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:२२
×