कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

‘कम्तीमा नागरिकता भए भत्ता पाइन्थ्यो, ओखती किन्ने पैसा हुन्थ्यो’

भाद्र १९, २०८१
‘कम्तीमा नागरिकता भए भत्ता पाइन्थ्यो, ओखती किन्ने पैसा हुन्थ्यो’

Highlights

  • नागरिकता नपाएकाहरुको कथा

चितवन — रामरति मर्दनीया थारुलाई आफ्नो उमेर कति भयो थाहा छैन । गाला चाउरिएर अनुहारमा मुजा परेका छन् । कपालका रौं कपासझैं सेता छन् । आँखाले भर दिँदैन । हातखुट्टा पनि कमजोर छन् । औंला घरिघरि फर्कन्छन्, घुँडा करकर खान्छ । रातमा निन्द्रा पर्न गाह्रो हुन्छ ।

शारीरिक अवस्था हेर्दा उनी सरकारले दिने सामाजिक सुरक्षा भत्ताको असली हकदार देखिन्छिन् । तर नागरिकताको प्रमाणपत्र नहुँदा उनले यो सुविधा उपभोग गर्न पाएकी छैनन् ।

चितवनको दक्षिणी भेग माडी नगरपालिकाको केन्द्र वसन्तपुर बजारबाट दक्षिणपूर्व बाँदरमुढे खोला छेउमा लहरै १०/१२ घर छन् । वडा–६ मा पर्ने शिवराजपुरमा पहाडघर कास्कीको घान्द्रुक भएका अर्जुनबहादुर गुरुङ र उनका दुई भाइको अढाई बिघा जति जमिन छ । उक्त जमिनको पुछारमा नदी उकासको ऐलानी जग्गा छ । ‘हुन त हाम्रो नम्बरीको पछिल्लो भागको ऐलानी जग्गा हो । तर अन्यत्र जग्गा जमिन नभएर भौतारिँदै हिँडेका उनीहरूलाई त्यहीं घर बनाएर बस भनेका हौं,’ अर्जुनबहादुरले भने ।

त्यही ऐलानीमा बनेको एउटा छाप्रोमा रामरति र उनका छोराको परिवार बस्छ । खरले छाएको छाप्रो चुहिएर बेहाल हुन्छ । खोला छेउमा भएका कारण बर्खे भेल आउने त्राससँगै सर्पको डर र खतरा पनि उत्तिकै छ ।

अर्जुनबहादुरले जमिन दिएर घर बनाएको पाँच वर्ष जति भयो । त्यसैले ढल्दो उमेरमा लालपुर्जा आउला/नआउला भन्ने पिरलोमा रामरति छैनन् । तर, कम्तीमा नागरिकता भए भत्ता पाइन्थ्यो, ओखती किन्ने पैसा हुन्थ्यो भन्ने आशा भने उनमा छ । उनका श्रीमान् ठगाई महतोको निधन भइसकेको छ । ठगाई पहिला चितवनकै पदमपुरमा बस्थे । त्यहाँ पनि उनीहरूको जग्गा जमिन थिएन, अरुको घरको काम गर्थे । यही सिलसिलामा ठगाइ र रामरतिको बिहे भयो । रामरतिका बाबुआमा थिएनन् । ठगाईले २०३० सालमा आफ्नो नागरिकता बनाउँदा श्रीमतीको पनि बनाइदिन खोजेका रहेछन् । तर बाबुआमाको नागरिकता पनि चाहिन्छ भनेपछि उनले थप प्रयास गरेनन् ।

‘म सानै हुँदा बाबुआमा थिएनन्, नागरिकता कहाँ खोज्ने,’ रामरतिले भनिन् । नागरिकता नभए पनि काम चलेकै थियो । तर अहिले विभिन्न काममा नागरिकता नभइ हुँदैन । ‘अरु त केही थिएन तर नागरिकता भए भत्ता त पाइन्थ्यो । औषधि खर्च त हुन्थ्यो,’ रामरतिका छोरा रामेश्वरले भने ।

पदमपुरको बस्ती चितवन निकुञ्जभित्र पर्ने भएका कारणले सरकारले सारेर नयाँ ठाउँमा लग्यो । ठगाई पनि नयाँ ठाउँमा गएका थिए । तर उनको जीवनमा नयाँपन आएन । जग्गा नपाउने भएपछि उनी भौतारिँदै माडी आए । माडीमा पनि कहिले कहाँ, कहिले कहाँ छाप्रो बनाउँदै ठाउँ फेर्दै उनको जीवन बित्यो ।

ठगाईका छोरा रामेश्वर अहिले आमा र आफ्ना परिवारसहित खोला आडमा अडिएका छन् । तर, रामेश्वरलाई आमाको मात्रै हैन, श्रीमती सुनिताको नागरिकता पनि बनाउन नपाएको पीडा छ । ५० वर्षीय रामेश्वरले सुनितासँग २०५२ वैशाखमा बिहे गरेका हुन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण रामेश्वर काम खोज्दै बिभिन्न ठाउँ पुग्थे ।

नवलपरासीको त्रिवेणीमा उनले सुनितालाई भेटे । ‘त्रिवेणी रानीनगरमा म होटलमा काम गर्न गएका बेला उसँग भेट भयो । बाआमा कोही पनि छैनन् भनेका कारणले माया लाग्यो र बिहे गरें,’ रामेश्वरले भने । बाआमा नहुनुको असर सुनितालाई रामेश्वरले नागरिकता बनाइदिने समयमा पर्‍यो । आमा रामरतिको जस्तै अवस्था सुनितालाई पनि दोहोरियो । माइतीको प्रमाण नभइ नागरिताको सिफारिससम्म पाइँदैन, माइती को हुन्, कहाँ छन् सासुलाई जस्तो सुनितालाई पनि सम्झना छैन ।

जनुई महतो श्रीमान् डिल्लीरामसँगै आफ्नो छाप्रोमा ।

रामरतिका सासू–बुहारी नागरिकताकै पिरलोमा छन् । यसैगरी टोलमा बस्ने सबैका आ–आफ्ना समस्या र गुनासा छन् । तर, शुद्ध पिउने पानीको अभाव त्यहाँको साझा समस्या हो । जग्गा–जमिन नभएका जीवन दराई पहिला नवलपरासीको चोरमारामा बस्थे । त्यहाँबाट बस्ती उठाएपछि उनी माडी प्याउलीको ऐलानीमा आएर बसे । बाढी आएर नौ वर्षअघि प्यालीको घरजग्गा बगायो । त्यसपछि उनी ठाउँठाउँ भौतारिदै हिँडे । पाँच वर्षयता रामेश्वरकै छिमेकी भएर बसेका छन् ।

‘ओत लाग्ने छाप्रो बनाउने जमिन त पाइयो । तर अरु धेरै खाले समस्या छन् । यहाँ शुद्ध खानेपानी नै छैन,’ जीवनले भने । १० घरको बीचमा चार वटा चापाकल छन् । तर चापाकलको पानी राम्रो छैन । पानी राखेका भाँडा खिया लागेझै रातो हुन्छन् ।

‘धोएका कपडा झन् मैलो हुन्छन् । फिल्टर गरे पनि चिल्लो रहन्छ । यस्तो पानी पिउने कसरी, खाना पकाउने कसरी ?’ जीवनले भने । त्यसैले उनीहरू पानी लिन भाँडा बोकेर तीन/चार सय मिटर पर अर्काको घरतिर जान्छन् । त्यहाँ गएर पानी बोक्नु गाह्रो त हैन । तर अर्काको घरमा पानी लिन जाँदा संकोच लाग्ने जीवन सुनाउँछन् ।

ती घरमा चापाकल नभएर पाइपबाट धारामा पानी आउँछ । यस्तै धाराको पाइप आफ्नो टोलमा पनि ल्याइदिए सुविस्ता हुने जीवन बताउँछन् । त्यहाँ बिजुलीको पनि समस्या छ । १० मध्ये दुई घरले १८० मिटर परबाट तार टाँगेर बिजुली बालेका छन् । त्यति परबाट बिजुली ल्याउने आर्थिक हैसियत अरुको नभएको जीवनले दर्साए । ‘निमेक मजदुरी गरेर परिवार पाल्नेहरू बस्ने ठाउँ हो । टाढाबाट तार टाँगेर बत्ती बाल्ने हैसियत सबैको छैन,’ उनले भने ।

सासु र श्रीमान‍्को बीचमा सुनिता मर्दनीया थारु ।

नागरिकताको प्रमाणपत्र पाउन विवाहित महिलाले माइतीको प्रमाण पेस गर्नु पर्छ । वंशजको नागरिकता लिनका लागि माइतीको वंशज खुल्ने नागरिकता र प्रमाण पेस गर्नु पर्छ । विदेशी बिहे गरेको हो भने वैवाहिक अंगीकृत नागरिकता लिन पनि सम्बन्धित देशको नागरिकता त्याग्ने कारबाही चलाएको प्रमाण र बाबुआमाको नागरिकता या आधार कार्ड, रासन कार्ड जस्ता कागजपत्र पेस गर्नु पर्ने नियम छ । ‘यी दुई आधार नभइ नागरिकताका लागि विवाहित महिलालाई सिफारिस गर्न सकिँदैन,’ माडी–६ का वडाध्यक्ष दिपेन्द्र पौडेलले भने ।

वडाध्यक्ष पौडेल नागरिकताको सिफारिसका लागि तोकिएको कागजपत्र जुटाउन नसक्नेहरू वडामा १५ जना जति भएको बताउँछन् । जसमा अधिकांश महिला छन् । वडा ६ कै जनुई महतो पनि नागरिकता, लालपुर्जा र शुद्ध पिउने पानीको समस्यामा छन् । बसन्तपुर बजार आडैमा पूर्वतर्फ रौतेनी खोला किनारमा रहेको पुरानो थारु बस्तीमा जनुईको जन्म भएको हो ।

आफू कति वर्षकी भए भन्ने राम्रो हेक्का पनि उनलाई छैन । उनी आफूलाई ५० की भएको बताउँछिन् । सानैमा उनका बाबु बिते, राम्रोसँग नहुर्कदै आमा पनि बितिन् । बाबुआमा बस्दै आएको ऐलानी जमिनमा जनुई भाइ चुडामणिसँग बस्दै आइन् ।

बाँदुरमुढे खोला आडमा रहेको भूमिहीनहरूको बस्ती । तस्बिरहरू : रमेशकुमार पौडेल/कान्तिपुर

माडीकै अर्को गाउँ अम्रौलीका डिल्लीराम महतोसँग बिहे भएपछि पनि जनुईले उक्त जमिन छाडिनन् । तर श्रीमान् र तीन सन्तालले नागरिकता पाउँदा जनुई नागरिकताविहीन नै छन् । ‘बाबुआमाको नागरिकता लेऊ भन्छ, उहाँहरूले नागरिकता लिनु भयो या भएन भन्ने कुरा हामीलाई थाहा छैन । मेरो पनि बनेको छैन, भाइको पनि बनेको छैन,’ जनुईले भनिन् । उनी जन्मेको जमिन अझै पनि ऐलानी नै हो ।

घर छेउमा गाडेको धारोमा उही पिउन, पकाउन, भाडा माझ्न र कपडा धुन पनि नमिल्ने मैलो पानी आउँछ । सफा पानी आउने एउटा धारा दिए ठूलो सहयोग हुने उनी बताउँछिन् । तर चुनावका बेलाबाहेक उनका कुरा कसैले राम्रोसँग सुनिदिँदो रहेनछ । सिमेन्टका साना खाले पोल र ब्लक बनाउन दैनिक ज्यालादारीमा जनुई र श्रीमान् डिल्लीरामले काम गर्दै आएका छन् ।

डिल्लीराम दुई महिनादेखि अलि अस्वस्थ छन् । ढाडमा घाउ आएका कारण गत साता उनको शल्यक्रिया भयो । राम्रोसँग काम गर्न सकिएला नसकिएला भन्ने पिरलोमा उनी छन् । ‘अहिले त नागरिकता धेरै ठाउँमा खोज्दो रहेछ । नागरिकता बनाउन म पहिला त गाविसमा दुई पटक गएँ, टोली आउँदा पनि एकपटक गएँ । मिल्दैन भनेपछि थप प्रयास गरिनँ । अब नागरिकताबिना खै कसरी काम चलाउने हो,’ डिल्लीरामले दुःख पोखे ।

रामरति, सुनिता र जनुई आफूसँग नागरिकताको समस्या लिएर कोही पनि नआएको वडाध्यक्ष पौडेल बताउँछन् । ‘उहाँहरू पहिला जानुभएको थियो होला, कागज प्रमाण खोज्ने कुरा हुन्छ । नजुटेका कारण पछिल्लो समय यसै बस्नु भयो होला । यस्ता समस्याको निराकरण खै के कसरी गर्ने हो ?’ वडाध्यक्ष पौडेलले भने । बिजुली र खानोपानीको समस्याका लागि भने वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०८१ २२:१३
x
×