कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई जना पक्राउ 

भाद्र ३०, २०८१
हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई जना पक्राउ 

हेटौंडा — मकवानपुर प्रहरीले हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीलाई प्रहरीले रोकी जाँच गर्ने क्रममा लुकाएर ल्याएको २ सय २३ केजी गाँजासहित धादिङका चालक र गाडीमा सवार एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चालक धादिङ थाक्रे गाउँपालिका-४ का ३४ वर्षीय जीवन मगर र गाडीमा सवार थाक्रे-६ का ३० वर्षीय प्रदीप क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे प्रहरी चौकीका प्रहरीले उक्त गाडीलाई रोकी जाँच गर्ने क्रममा गाडीको ढालाभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध, पिकअप गाडीसहित मगर र क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा लागूऔषध ओसारपसारको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:४१
×