कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लोथर खोलामा पुल नबन्दा समस्या

भाद्र ३०, २०८१
लोथर खोलामा पुल नबन्दा समस्या

Highlights

  • मोटरसाइकल खोलाबाट तारेको २ हजार रुपैयाँसम्म

हेटौंडा — लोथर खोलामा पक्की पुल नबन्दा राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दाले वर्षायाममा कष्ट व्यहोर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–११ र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखन्डेको बीचमा पर्ने लोथर खोलामा पुल नबन्दा वर्षायाममा सवारी साधन आउजाउ गर्न समस्या भएको हो ।

पुल अभावमा विगत दुई महिनादेखि सवारी साधन आउजाउ गर्न ठप्प भएका छन् । ‘अहिले त मोटरसाइकल बोकेर खोला पार गर्नुपर्ने अवस्था आएको राक्सिराङ गाउँपालिका–६ सिलिङेका दिनेश चेपाङले भने, ‘खोला अलि घटेको समयमा मोटरसाइकल बोकेर खोला पार गर्ने गरिएको छ, एउटा मोटरसाइकल खोला तारेको युवाहरूले २ हजार रुपैयाँसम्म लिने गरेका छन् ।’

लोथर खोला उर्लिएका बेला यहाँबाट सवारी साधनहरू आउजाउ गर्न सक्तैनन् । राक्सिराङ गाउँपालिकाका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दालाई यही खोला तरेर आउजाउ गर्नुपर्ने वाध्यता छ । उक्त क्षेत्रमा विकास निर्माण गर्ने सामग्री हुन् वा खाद्यान्न, यही खोला पार गरेर ढुवानी गर्नुपर्छ । त्यति मात्र होइन, गाउँमा उत्पादित कृषिजन्य सामग्री पनि यही खोला पार गरेर लैजानुपर्छ । तर वर्षायाम लागेपछि लोथर खोलाका कारणले सवारी साधन संचालन हुन सक्तैनन् ।

चितवनको भण्डारा हुँदै सवारी साधनहरू सिलिङे, दामराङ, खरखन्डे, सिलाधुनीलगायत बस्तीमा आउजाउ गर्छन् तर लोथर खोलाका कारणले वर्षायाम लागेपछि सवारी साधन ठप्पै हुन्छन् । २ वर्षअघि उक्त क्षेत्रमा झोलुंगे पुल बनेकाले राक्सिराङ गाउँपालिकाका खरखन्डे क्षेत्रका विद्यार्थीलाई स्कुल आउजाउ गर्न भने त्यति समस्या छैन । राप्ती नगरपालिका—११ स्थित थालकटारमा रहेको माविमा खरखन्डे र सिलिङेको तल्लो भेगका विद्यार्थी पढ्न आउने गर्छन् । उक्त झोलुंगे पुल नबन्दासम्म वर्षायाममा लोथर खोला तर्न नसकेर उनीहरूको पढाइ प्रभावित हुँदै आएको थियो । ‘पक्की पुल नबन्दा वर्षायाममा बिरामीलाई उपचारका लागि एम्बुलेन्समा ल्याउन पनि समस्या छ,’ राक्सिराङ गाउँपालिकाका पूर्वअध्यक्ष सिंहबहादुर चेपाङले भने ।

अधिकांश चेपाङ समुदायको बस्ती रहेको उक्त चार वडाका बासिन्दाको मुख्य समस्या नै लोथर खोलाको पुल रहेको छ । उक्त क्षेत्रमा पक्की पुल निर्माण गर्न राक्सिराङ गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग माग गर्दै आएको तर सुनुवाइ नगरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘त्यत्रो ठूलो पक्की पुल बनाउन हामीसँग बजेट छैन,’ उनले भने, ‘तर, लोथर खोलामा पुल नबनाएसम्म वर्षायाममा गाउँलेलाई समस्याले छोड्ने छैन ।’

प्रकाशित : भाद्र ३०, २०८१ १३:४२
×