कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पारिश्रमिक विवादले मजदुरद्वारा तोडफोड, अपर त्रिशूलीको काम अवरुद्ध

भाद्र ३०, २०८१
पारिश्रमिक विवादले मजदुरद्वारा तोडफोड, अपर त्रिशूलीको काम अवरुद्ध

नुवाकाेट — ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर मजदुरहरू तोडफोडमा उत्रिएपछि रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा रसुवाको उत्तरगया र आमाछोदिङ गाउँपालिका–१ स्थित मैलुङमा निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो ।

आयोजनाको मुख्य प्रवर्द्धक कोरियन कम्पनी कोरिया इनर्जीको ९० प्रतिशत लगानीमा निर्माण भइरहेको आयोजनाको ठेकेदार तथा सब कन्ट्याक्टर कम्पनी पावर चाइनाले पारिश्रमिक र सेवासुविधा अनपेक्षित रूपमा घटाएको भन्दै मजदुरहरू तोडफोडमा उत्रिएका हुन् ।

आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइना कम्पनीले तलब १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्टि देखिएको निर्माणमा संलग्न मजदुर रामेछापका दिनेश श्रेष्ठले बताए ।

मजदुर र पावर चाइनाका कर्मचारीबीच विवाद बढेपछि मजदुरहरू तोडफोडमा उत्रिएका थिए । जसमा ४ जना सशस्त्र प्रहरीसमेत घाइते भएका छन् । झडपका क्रममा नेपाल वाटर एण्ड इनर्जी, मुख्य कोरियन निर्माण कम्पनी डुसान र पावर चाइनाको कार्यालय र आवाससहित केही गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । कोरियन इनर्जीका एक अधिकारीले पावर चाइनाले बिदाको पैसा भुक्तानी नगरेको कारण देखाउँदै मजदुरहरू आक्रमणमा उत्रिएको बताए ।

तोडफोडपछि निर्माण कार्य बन्द भएसँगै मजदुरहरू अहिले निर्माणस्थल छाडेर घर फर्किएका छन् । ६ सय ४० मिलियन डलर लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको आयोजना सन् २०२६ डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०२२ बाट काम थालिएको थियो । कोरियन सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियाली विकास बैंक (एडीबी) र एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) सहित ९ वटा अन्तर्राष्ट्रिय दातृ संस्थाको लगानीमा आयोजना निर्माण गरिरहेको हो ।

(कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता राजकृष्ण श्रेष्ठको सहयोगमा)

प्रकाशित : भाद्र ३०, २०८१ ११:१४
×