कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

प्रदेशका कृषिमन्त्रीहरू काठमाडौंमा

भाद्र २०, २०८१
प्रदेशका कृषिमन्त्रीहरू काठमाडौंमा

काठमाडौँ — उत्पादन, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणबारे छलफल गर्न प्रदेशका कृषिमन्त्री सिंहदरबारमा भेला भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा मंगलबार प्रदेशका मन्त्रीहरूसँग छलफल भएको हो ।

त्यसक्रममा मन्त्री अधिकारीले व्यावसायिक खेतीका लागि युवा जनशक्तिलाई आकर्षित गर्न संघीय सरकारले काम अघि बढाएको बताए । कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई जोड दिएर कार्यक्रम बनाउन प्रदेशका कृषिमन्त्रीसँग आग्रहसमेत गरे ।

आफ्ना लागि आफैं उत्पादन गर्ने र स्थानीय उत्पादनलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । ‘उत्पादक र उपभोक्ताबीच रहेको खाडल हटाउन तीनै तहका सरकारहरूले पहल गर्न जरुरी छ,’ प्रदेशका कृषिमन्त्रीहरूसँग मंगलबार मन्त्रालयमा राखिएको विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले भने, ‘रैथाने उत्पादनहरूलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाउनेछ ।’ कृषि उपजहरूमा बढ्दो विषादीको प्रयोगप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

दसैंपछि किसान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय रहेको उनले जनाए । कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लानेको नाम सार्वजनिक गर्ने तयारी गरेको जनाउँदै मन्त्री अधिकारीले प्रदेशका मन्त्रीहरूसँग पनि सहयोग मागे ।

कृषि अनुदानमा रहेको दोहोरोपना हटाउनुपर्ने औंल्याउँदै अधिकारीले तीनै तहको सहकार्यमा मात्र उक्त काम सम्भव हुने बताए । उखु र दुग्ध किसानको बक्यौता रकम दसैं अगाडि नै उपलब्ध गराउने गरी प्रयास गरेको जनाए । कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गचित्र तयार गर्ने उनले आग्रह गरे ।

बैठकमा कोशी र गण्डकीबाहेक सबै प्रदेशका कृषिमन्त्रीको उपस्थिति थियो । बैठकमा बाली तथा पशुपन्छीजन्य रोग किरा, खोप, महामारी तथा क्वारेन्टाइनका विषय, किसान सूचीकरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन, कृषि बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनबारे छलफल भएको जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:४०
x
×