कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल र बंगलादेशबीच उर्जा सहकार्यका विषयमा छलफल

भाद्र ३०, २०८१
नेपाल र बंगलादेशबीच उर्जा सहकार्यका विषयमा छलफल

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेट भएको छ । आइतबार ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीचका उर्जा सहकार्यका विविध विषयमा छलफल भएको हो ।

भेटमा उर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताए ।

उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाईनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको सुरुवातलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुने विश्वास व्यक्त गरे ।

ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत व्यापारको ढोका खोल्ने बताए ।

मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत चौधरीले बंगलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरीद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेको बताए । विद्युत् उत्पादन, व्यापार र प्रसारण लाईनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गरे ।

राजदूत चौधरीले बंगलादेशले सिंचाईको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने बताए । भेटमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थित थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:२७
×