कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

संकटाविरुद्ध आर्मीको मिहिनेत

भाद्र २०, २०८१
संकटाविरुद्ध आर्मीको मिहिनेत

Highlights

  • तीन विदेशी खेलाडी लिएर मैदानमा उत्रेको संकटाले खेलमा आफ्नो प्रभाव जमायो

काठमाडौँ — संकटाले नेपाली फुटबलमा त्यस्तो उपलब्धि रचेको छ, त्यसमा टोलीलाई गर्व हुनेछ । सहिद स्मारक लिग ‘ए’ डिभिजन क्लबले अब दाबी गर्न सक्नेछ, हाम्रो महिला टिम छ र यसले पनि माथिल्लो डिभिजनमै खेल्छ ।

संकटाको एन्फा महिला लिग फुटबलमा बुधबार डेब्यु खेल रह्यो । र, यसले के पनि देखाएको छ भने संकटाले महिला फुटबलमा पार गर्नुपर्ने चुनौती भने अपार छ । संकटा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी क्लबको हातबाट सजिलै पराजित रह्यो ।

तर, आर्मी राम्रो अन्तरले विजयी भए पनि समस्या कम्ता रहेन । आर्मीले आफूले सक्दो ठीकसँग खेलेको भए जितको अन्तर धेरै हुनुपर्ने थियो । टिममा खेलाडीबीच समन्वय ठ्याक्कै अभाव देखियो । त्यसैले आर्मीकी प्रमुख खेलाडी दीपा शाहीले ठीकै भनिन् । उनको प्रतिक्रिया थियो, ‘हामीले विजयी सुरुआत लिएका छौं र यसक्रममा ३ अंक बटुल्न सफल रह्यौं । तर, टिममा सुधार गर्नुपर्ने ठाउँ धेरै छन्, त्यसलाई सच्याएर अगाडि जानुपर्ने हुन्छ ।’

यस्तो किन रह्यो त ? यसमा दीपाकै विश्लेषण ठीक रह्यो । उनको तर्क थियो, ‘अहिले टिममा केही नयाँ खेलाडी थपिएका छन् । नयाँ खेलाडीमा अनुभवको कमी छ । उनीहरूको पुराना खेलाडीसँग तालमेल मिल्न बाँकी छ । जतिबेला यो तालमेल बस्नेछ, टिमको

प्रदर्शन पक्कै राम्रो हुनेछ ।’ उनी नै प्लेयर अफ द म्याच पनि रहिन् । आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बुढाथोकीले पनि विजयी सुरुआत लिन सक्नु नै उपलब्धि रहेको बनाए ।

संकटा टिम तीन विदेशी खेलाडी लिएर मैदानमा उत्रेको थियो । तिनको प्रभाव स्पष्ट देखिएको थियो । गोलरक्षकको भूमिकामा सेनेगेली राष्ट्रिय टिमकी सदस्य रहेकी टेनिङ सेने थिइन् । उनले केही उत्कृष्ट बचाउ गरिन् । अर्की डिफेन्डर सेलिना एमिमा थिइन् । उनी भने घानाका खेलाडी हुन् । उनले आर्मीको आक्रमणलाई लगातार एक घण्टा रोकिन् । जतिबेला उनी घाइते हुँदै मैदान छाड्न बाध्य भइन्, आर्मीले ३ गोल थपेको थियो ।

सेलिना मंगलबारमात्रै काठमाडौं आइपुगेकी थिइन् । एकै दिनको अन्तरमा मैदानमा ओर्लेकी हुन् । खेलको पहिलो गोल भने सावित्रीदेवी मगरको नाममा रह्यो । उनले १९ औं मिनेटमा विमला चौधरीको पासमा बललाई चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिइन् । खेलले एक घण्टा छुँदा सेलिना घाइते भइन् । लगत्तै ६२ औं मिनेटमा विमलाले दोस्रो गोल थपिन् । चन्द्रा भण्डारीले स्वार्थी नभई उपलब्ध गराएको पासमा विमलाले नजिकको दूरीबाट सजिलै गोल गरिन् ।

तेस्रो गोल आत्मघाती थियो । खेलको ७१ औं मिनेटमा अनुशा थेबेले आर्मीको कर्नरमा गरेको हेड बलले पोस्टको यात्रा तय गरेको थियो । चौथो तथा अन्तिम गोल अनिता नामग्यालले ७७ औं मिनेटमा गरिन् । अनिताले चन्द्राकै पासमा सजिलै गोल गरिन् । संकटाले पूरा खेल अवधिमा खासै गतिलो कुनै आक्रमण बुन्न सकेन । संकटाका अधिकांश खेलाडी यू–१६, यू–१८ र यू–१९ का थिए र त्यसमध्ये लगभग सबैले पहिलो पटक लिग खेलिरहेका थिए ।

‘यो खेल हाम्रा लागि कठिन रह्यो,’ संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले भने, ‘हाम्रा अधिकांश खेलाडी उमेर समूहका हुन् । उनीहरूले यत्तिको माथिल्लो स्तरमा फुटबल खेलका थिएनन् । एकैपल्ट ठूलो मैदानमा खेल्दा उनीहरूलाई गाह्रो भयो ।’ उनको एउटा तर्क भने ठीक थियो । तीन विभागीय टिमलाई छाडेर चौथो राम्रो टिमका लागि भने संकटाले आफ्नो दाबी पेस गर्न सक्छ ।संकटाले चारै विदेशी खेलाडी उतार्न पायो भने यो टिम शीर्ष पाँचको बलियो प्रत्याशी रहनेछ ।

बिहीबारका खेल वाग्मतीविरुद्ध कोशी र वालिङविरुद्ध कर्णालीबीच हुने छन् ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:३६
x
×