कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

रोहित लुम्बिनी, सन्दीप विराटनगर र करण काठमाडौंमा

भाद्र ३०, २०८१
रोहित लुम्बिनी, सन्दीप विराटनगर र करण काठमाडौंमा

Highlights

  • एनपीएलका मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पहिलो पटक आफ्नो गृहनगर क्षेत्रबाट खेल्ने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मार्की खेलाडीका लागि शनिबार गरिएको गोलाप्रथाबाट रोहित लुम्बिनी टोलीमा परेका हुन् । 

नवलपरासीका रोहित बाल्यकालमै काठमाडौं आएर प्रशिक्षण लिएका थिए । पछि उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आवद्ध भएका थिए । उनले कहिल्यै पनि आफ्नो क्षेत्र वा लुम्बिनी प्रदेशबाट खेल्न पाएका थिएनन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले गोला प्रथाबाट सबै आठ मार्की खेलाडीको चयन गरेको थियो । दीपेन्द्रसिंह ऐरी पनि आफ्नो गृह नगर क्षेत्र सुदूरपश्चिम र आसिफ शेख आफ्नो मधेश प्रदेशको जनकपुरमा पुगेका छन् । करण केसीले काठमाडौंबाट खेल्ने भएका छन् ।

गोलाप्रथाबाट सन्दीप लामिछाने विराटनगर, कुशल मल्ल चितवन, कुशल भुर्तेल पोखरा र सोमपाल कामी कर्णाली पुगेका छन् । विश्वकप लिग २ का खेल खेल्न नेपाली राष्ट्रिय टोली क्यानडामा रहेकाले ‘लक्की ड्र’ मा कुनै मार्की खेलाडी उपस्थित थिएनन् ।

मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएलको पहिलो संस्करणमा प्रत्येक मार्की खेलाडीले एक सिजनको पारिश्रमिक २० लाख रुपैयाँ पाउने क्यानका सचिव पारस खड्काले जानकारी गराए । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुने र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्नेछ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:३९
×