कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ बन्यो च्याम्पियन 

भाद्र ३०, २०८१
ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ बन्यो च्याम्पियन 

दाङ — घोराहीमा भएको दोस्रो अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ एकेडेमी च्याम्पियन भएको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराही–१४ स्थित कभर्ड हलमा शनिबार भएको फाइनलमा सिद्धार्थ एकेडेमीले २ स्वर्ण र २ का‌ंस्य पदक जित्दै च्याम्पियन भएको हो ।

यसैगरी १ स्वर्ण, १ रजत र २ कांस्यसहित जनज्योति विद्या मन्दिर दोस्रो भएको छ । १ स्वर्ण र १ रजतसहित पद्मोदय पब्लिक नमुना मावि तृतीय भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया रोका र छात्रतर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन भएका छन्् । उत्कृष्ट खेलाडीलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनले बताए ।

फाइनल खेलको सिंगल इभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले २–० को सोझो सेटमा पद्मोदय पब्लिक नमुना माविका राजीव रेग्मीलाई पराजित गरे । छात्रातर्फ जनज्योति विद्यामन्दिरकी लिला मल्लले २–० को सोझो सेटमा लिटिल एञ्जल स्कुलकी सुप्रिया रोकालाई हराइन् । ब्याडमिन्टनको डबल इभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चौधरीले जनज्योति विद्यामन्दिरका आभाष घर्ती र रञ्जित पुनलाई २–१ को सेटमा हराए ।

डबल इभेन्टमा छात्रातर्फ पद्मोदय पब्लिक नमुना माविका सुस्मिता वली र विजया पाठकले लिटिल एन्जल स्कुलका चेतना घर्ती र सुप्रिया रोकालाई २–० को सोझो सेटमा पराजित गरे । प्रतियोगितामा घोराहीका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा कुल १८ वटा खेल भएको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ ०९:०३
×