कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साहसिक खेलको प्रचार गर्न एसियाली पत्रकारलाई आग्रह

भाद्र ३०, २०८१
साहसिक खेलको प्रचार गर्न एसियाली पत्रकारलाई आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल साहसिक खेलको प्रचुर सम्भावना भएको देश हो भनेर विश्व खेलकुदमा सन्देश पुर्‍याउन आह्वान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का पदाधिकारी र एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका विजेताहरूको भेटमा राष्ट्रपति पौडेलले उक्त सन्देश विश्व खेलकुदमा प्रसारित गर्न आह्वान गरे । 

एआईपीएस एसियाको २५औं कंग्रेसका लागि २८ देशका ८० प्रतिनिधि नेपालमा आएका थिए । राष्ट्रपति पौडेलले एसियाली खेल पत्रकारको संगठन एआईपीएस एसियाले कंग्रेस आयोजनाका लागि नेपाली भूमि छानेकामा धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘एआईपीएस एसियाको कंग्रेस सफलतापूर्वक सम्पन्न गरी एसियाली खेलकुद पत्रकारको हकहितमा महत्त्वपूर्ण निर्णयसहित काठमाडौं घोषणापत्र जारी गर्नुभएकोमा तपाईहरू बधाईका पात्र हुनुहुन्छ ।’

सगरमाथाको देश र बुद्ध जन्मस्थलको रूपमा नेपालको पहिचान विश्वव्यापी रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले अब नेपाल खेल र खेलाडीको देश पनि भएको बताए ।

पौडेलले भर्खरै युवा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर नेपालको शिर उँचो पारेको बताए । उनले साहसिक खेलकुद, हाइअल्टिच्युड खेल, अल्ट्रा दौडमा नेपालको सम्भावना उच्च रहेकाले त्यसबारेमा विश्व खेलकुदमा प्रचारित गर्न एसियाका खेलपत्रकारहरूको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले सर्वोच्च शिखरको बेसक्याम्पमा हुने एभरेस्ट म्याराथनबाट नेपाली खेलाडीको नाम गिनिज बुकमा लेखिएको पनि स्मरण गराए ।

पौडेलले एआईपीएस एसियाको कंग्रेसको जस्तो महत्त्वपूर्ण कार्यक्रम सफलतापूर्वक आयोजना गरेकामा नेपाल खेलकुद पत्रकार मञ्चलाई दिन बधाई तथा धन्यवाद ज्ञापन गरे ।

स्पोर्टस अवार्ड २०८० का विजेतालाई बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलले दुई दशकदेखि राष्ट्रका उत्कृष्ट खेलाडीको सम्मान गरेर मञ्चले सराहनीय कार्य गरेको बताए । एआईपीएस एसियाको तर्फबाट अध्यक्ष ही डोङ जोङले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरेका थिए । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले एआईपीएस एसिया र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डबारेमा जानकारी गराए ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:३६
×