कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

इतिहास सम्झाउने आरसीटी संग्रहालय

आश्विन २, २०८१
इतिहास सम्झाउने आरसीटी संग्रहालय

Highlights

  • संग्रहालयले नेपाली फुटबलमा त्यस्ता धेरै प्रश्न छाडेको छ, जसको उत्तर खोज्नैपर्ने हुन्छ

काठमाडौँ — कमलाक्षीको अन्नपूर्ण आरसीटी भवनको एउटा सानो कोठा । सायदै २२ गुणा २६ को होला । तर कोठा सानो भएर के भयो र, यसले सुनाउने नेपाली फुटबलको इतिहास भने असाध्यै ठूलो छ । अझभन्दा हुन्छ, यो संग्रहालयले इतिहास सुनाइरहेको छ ।

क्लबको संग्रहालय बनाउने सोच र यसका लागि कामको थालनी सायद दसै वर्ष हुन थाल्यो होला । तर, अहिले यसले एउटा ठोस आकार लिएको छ । एउटा क्लबले गरेको कार्यको रूपमा यसलाई ठूलै उपलब्धि मान्न सकिन्छ ।

स्तरोन्नतिपछि मंगलबार यसलाई औपचारिक रूपमा फेरि क्लबकै जिम्मेवारीमा हस्तान्तर गरिएको थियो । यसअघि यसलाई आर्थिक सहयोग गर्दै हेर्नलायक बनाउने काम भने काठमाडौं महानगरपालिका वडा २७ ले गरेको थियो । अझ ठ्याक्कैभन्दा वडाका अध्यक्ष योगेशकुमार खड्गीले । नेपाली फुटबल इतिहासकै सबैभन्दा सफल क्लबमा पर्छ, अन्नपूर्ण आरसीटी । आरसीटी एक्लैले छ पटक सहिद स्मारक लिग ‘ए’ डिभिजन जितेको छ ।

अहिले भने यो क्लब ‘बी’ डिभिजनमै छ । वडा अध्यक्ष खड्गीको भनाइ छ, अब स्थानीय खेलाडी उत्पादन गर्नुपर्छ, यसका लागि वडा सहयोग गर्न तयार छ । संग्रहालयको प्रारम्भिक सोच तयार पार्ने काम गरेका थिए नरेश वैद्यले । पछिल्लो एक दशक जति समय उनी यो काममा खटेको खट्यै छन् । यो काममा उनलाई मन खोलेर सहयोग गर्नेमा पर्छन् क्लबका अध्यक्ष सुरेश शाक्य । संग्रहालयले अहिले जुन रूप लिएको छ, त्यो देखेर दुवै दंग छन् ।

अझ उनीहरू दुवै जना यो संग्रहालयलाई अझ विस्तृत बनाउने योजना बुनिरहेका छन् । अब प्रश्न हो, यो संग्रहालयले कसरी इतिहास बताउँछ त ? सम्भवतः यसको तीन उत्तर हुन सक्छ । पहिलो सहिद स्मारक लिग ‘ए’ डिभिजनकै मौलिक सिल्ड । अनुमान के छ भने सायद यही हो, रामजानकी सिल्ड पनि । यो सिल्ड यही संग्रहालयमा सुरक्षित छ ।

आरसीटीले ३० सालतिर लगातार तीनपल्ट जितेर यसलाई आफ्नो बनाएको थियो । यही सिल्ड त एकमात्र प्रमाण हो, जसले यसको पूर्वविजेताबारे भन्न सक्छ । अनि यसलाई हेरेपछि प्रश्न उठ्न सक्छ, यो पुलिस फोर्स र आर्मी–११ भन्ने जस्ता टिम कस्ता थिए ? विद्या व्यायाम मन्दिर, फ्रेन्ड्स युनियन, द्यौराली क्लब, सुनाखरी एथलेटिक्स जस्ता टिम कता गए ? यसै संग्रहालयमा शुभजन्मोत्सव कप पनि छ । आरसीटीले वर्ष ०५७ मा यो कप जितेको थियो । त्यसपछि यो ट्रफी आरसीटीसँगै रह्यो । नेपाली फुटबलमा सबैभन्दा लोकप्रिय यो बर्थडे कप आधिकारिक ढंगले अन्तिम पटक त्यही साल भएको थियो ।

संयोगले आरसीटीले वर्ष ०३० को पहिलो संस्करण पनि जितेको थियो । राजतन्त्र नरहेपछि यो प्रतियोगिता हुने कुरै भएन । तर, यही कपले पनि अनेक कथा भनिरहेको छ । जस्तो, पुलिस र थिम्पू–११ बीचको अत्यधिक सनसनीपूर्ण प्रतिद्वन्द्विता । नेपाली फुटबलमा एउटा कालखण्ड यस्तो थियो, जतिबेला पुलिस र भुटानी टिमबीचको खेलले पूरा काठमाडौंलाई रोमाञ्च बनाएको थियो । यही संग्रहालयमा एउटा अर्को सिल्ड पनि छ । यो हो, राष्ट्रिय लिगको ट्रफी ।

नेपाली फुटबलमा राष्ट्रिय लिगबारे असाध्यै कम लेखिएको छ । कसैले पनि भन्न सक्दैनन्, यो राष्ट्रिय लिगको सोच साँच्चै कहिले सुरु भयो ? यो सिल्डले भन्छ, आरसीटीले वर्ष ०३९ देखि ०४२ सालसम्म यो प्रतियोगिता लगातार जितेको छ । त्यसैले यो सिल्ड भने क्लबकै अधिनमा रह्यो । त्यस्तै नेपाली फुटबलले पाएका सबैभन्दा उत्कृष्ट खेलाडीमा एक हुन्, उमेश प्रधान । आफ्नो खेलजीवनमा उनले जति पदक जिते र उपलब्धि चुमे, त्यसका सबै साक्षीप्रमाण यो संग्रहालयलाई दिएका छन् ।

यसमा सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा जितेको दुई ऐतिहासिक स्वर्ण पनि छ । यी दुई यस्ता स्वर्ण हुन्, जसलाई हामीले अचेल बिर्सन थालेका छौं । अथवा भनौं, नयाँ पुस्ताले त्यसलाई सम्झना छाडेको छ । के यससँगै जोडिएका कथा नयाँ पुस्ताका लागि जर्गेना गर्नुपर्दैन त ? यसरी यो संग्रहालयले नेपाली फुटबलमा त्यस्ता धेरै प्रश्न छाडेको छ, जसको उत्तर खोज्नैपर्ने हुन्छ । नत्र नेपाली फुटबल सधैं अपुरो र अधुरो रहनेछ ।

प्रकाशित : आश्विन २, २०८१ ०६:१०
x
×