कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

विश्वकप क्रिकेट लिग-२ : नेपाल आज ओमानसँग खेल्दै

आश्विन २, २०८१
विश्वकप क्रिकेट लिग-२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौँ — नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार ओमानको सामना गर्दै छ । तर, नेपाल ढुक्क हुने स्थितिमा छैन । नेपालले पछिल्लो समय विश्वासिलो प्रदर्शन देखाउन सकिरहेको छैन । सोमबार राति घरेलु टोली क्यानडासँग खेल नै त्यसको गतिलो उदाहरण थियो ।

टोरन्टोको किङ सिटीस्थित म्यापल लिफ नर्थ वेस्ट मैदानमा क्यानडाले नेपाललाई १ सय ३ रनले पराजित गरेको थियो । लिग २ को दोस्रो शृंखलाको पहिलो खेलमा नेपालले आत्मसमर्पण नै गर्नुपर्‍यो । नेपालले ५ खेलमा ४ हार बेहोरिसकेको छ । त्यसमध्ये तीन हार त फेब्रुअरीमा घरेलु मैदानमै थियो ।

विदेशी भूमिमा नेपाल त्यसै कमजोर देखिँदै आएको छ । क्यानडाविरुद्ध नेपालले त्यही कमजोरी दोहोर्‍याएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय संरचनामा नेपालले क्यानडासँग पहिलो पटक हार बेहोरेको हो । फेब्रुअरीमा काठमाडौं आउँदा क्यानडाले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा नेपालविरुद्ध ‘क्लिनस्विप’ हार बेहोरेको थियो ।

अनुशासित बलिङ गर्न नसके पनि नेपालले क्यानडाको ब्याटिङ नियन्त्रणमा राखेको थियो । ३७ ओभरमा क्यानडा १३३–५ को स्थितिमा थियो । त्यसपछि खेल पूरै क्यानडाको अधिनमा रह्यो र नेपालले बाँकी अवधिको खेलमा निकै फितलो प्रदर्शन गर्‍यो । त्यो चाहे बलिङ होस् या ब्याटिङमा ।

अन्तिम १३ ओभरमा नेपालले १ सय २० रन खर्चेको थियो । कप्तान निकोलस किर्तन र शाद बिन जाफर दुवै देव्रेहाते ब्याटर क्रिजमा रहेको अवस्थामा अफ स्पिन बलरको हिसाबमा बलिङ गर्न आउने कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको निर्णय निकै घातक रह्यो । नेपालले आफ्ना प्रमुख कुनै पनि बलरलाई फुल कोटाको १० ओभर बलिङ गर्न दिएको थिएन भने ८ बलर प्रयोग गरेको थियो ।

कप्तान किर्तनले ४४ बलमा अविजित ७३ रन बनाएपछि क्यानडाले २५३–८ को स्कोर खडा गरेको थियो । ३३ औं ओभरमा ब्याटिङ गर्न आएका उनले ३ चौका र ४ छक्का प्रहार गरे । क्यानडेली इनिङ्सको अन्तिम ओभरतिर किर्तनले रोहित र दीपेन्द्रको बलमा २–२ छक्का प्रहार गरेका थिए । डिलोन हेलिगरले २८ बलमा समान २ चौका र छक्कासहित ३० रन बनाए । तल्लोक्रममा जाफरले १३ बलमा १७ र कलिम सानाले ८ बलम १० रन बनाए ।

माथिल्लोक्रममा एरोन जोन्सन १०, प्रगत सिंह १७, हर्ष ठाकरे १७ र श्रेयष मोभा ४ रनमा आउट भए । टिकेर खेलेका ओपनर नवनीत ढालिवालले ९० बल खेल्दै ४ चौका प्रहार गरेर ४८ रन बनाए । नेपाली बलरले १० वाइड र १ नो–बल फालेका थिए । सोमपाल कामी र ललित राजवंशीले २–२ तथा सन्दीप लामिछाने, गुलशन झा र रोहितले १–१ विकेट लिए ।

तल्लोक्रमका ब्याटर करण केसीले २७ रन बनाए पनि नेपाल ४०.१ ओभरमा १ सय ५० रनमा अलआउट भयो । दसौं नम्बरमा ब्याटिङ गरेका करणले २४ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे । सन्दीपले १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए । कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित ५, कुशल मल्ल १२, दीपेन्द्र ८, सोमपाल ६ र गुलशन १५ रनमा आउट भए ।

प्रकाशित : आश्विन २, २०८१ ०६:०९
x
×