कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सातामै तीन स्पष्टीकरण

भाद्र १९, २०८१
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सातामै तीन स्पष्टीकरण

Highlights

  • अन्तर्राष्ट्रिय गन्तव्यहरूमा निगमले गर्दै आएका उडान जहाज अभावले धमाधम रद्द, सयौं यात्रु गन्तव्यमै पुग्न नपाएर बिचल्ली हुन थालेपछि नेपालकै बदनाम हुने चिन्ता

काठमाडौँ — धमाधम जहाज ग्राउन्डेड गर्दै करोडौँ रुपैयाँको नोक्सान बेहोर्ने गरी नेपाल वायुसेवा निगमलाई धराशायी बनाएको अभियोगमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकै सातामा तीन स्पष्टीकरण सोधिएको छ । यसमा दुई स्पष्टीकरण पर्यटनमन्त्री बद्री पाण्डेले र एउटा निगमको सञ्चालक समितिले सोधेका हुन् ।

अन्तर्राष्ट्रिय गन्तव्यहरूमा निगमले गर्दै आएका उडान जहाज अभावले धमाधम रद्द, कुनै गन्तव्यमा मर्जर गर्दै सयौं यात्रु गन्तव्यमै पुग्न नपाएर बिचल्ली हुने घटनाले नेपालकै बदनाम हुन थालेपछि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्यक्ष अधिकारीलाई बोलाएको पर्यटन राज्यमन्त्री अरुण चौधरीले जनाए । तर अधिकारी बैठकमा जानकारी नदिई आएनन् ।

‘मन्त्री, सचिवलाई होइन, निगम अध्यक्ष अधिकारीले सरकारलाई नै टेरेनन,’ राज्यमन्त्री चौधरीले भने, ‘हामीले तुरुन्त स्पष्टीकरण सोध्न पर्यटन सचिव गणेशप्रसाद पाण्डेलाई निर्देशन दिइसकेका छौं ।’ यसअघि आइतबार पनि मन्त्री पाण्डेले डाकेको बैठकमा अध्यक्ष अधिकारी अनुपस्थित भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।

‘युवराज अधिकारी यसअघि पनि बैठकमा जानकारी नगराई अनुपस्थित भएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ सहसचिवसमेत रहेका लामिछानेले भने, ‘उहाँको अनुपस्थितिले निगममा भए–गरेका कामको समीक्षा गर्न पाइएन । पटक–पटक बैठकमा नआएकाले मन्त्रालयका तर्फबाट दोस्रो स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।’ नेपाल वायुसेवा निगमको सञ्चालक समितिले पनि निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

चार वटा जेट विमानमध्ये दुइटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सानी बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भदौ १३ मा स्पष्टीकरण सोधेको थियो ।

अध्यक्षको सचिवालय स्रोतका अनुसार, नजिकिँदै गरेका चाडपर्वकै मुखमा ढिलाइ गर्दै नियमित गर्नुपर्ने विस्तृत मर्मतसम्भार (सी–चेक) मा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेकोलगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधेको हो । ‘निगमको सञ्चालक समितिले सोधेको स्पष्टीकरण हाम्रो (कार्यकारी अध्यक्ष) को कार्यालयमा आइपुगेको छ,’ स्रोतले कान्तिपुरसँग भन्यो ।

भदौ १३ गते सञ्चालक समितिमा दर्ता गरिएको स्पष्टीकरणको विस्तृत जवाफ अर्को बैठकमा आफैं हस्ताक्षर गरेर उपस्थित भई बुझाउन कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको छ । बद्री पाण्डे पर्यटनमन्त्री हुनुअघि अधिकारीले प्रेम आले, जीवनराम श्रेष्ठ, सुदन किराती र हितबहादुर तामाङसँग काम गरिसकेका छन् । सबै मन्त्रीसँग अधिकारीको सम्बन्ध तिक्ततापूर्ण नै रहेको बताइन्छ ।

अधिकारीलाई पाचँवटै मन्त्रीको कार्यकालमा कम्तीमा २१ पटक स्पष्टीकरण सोधिएको पर्यटन मन्त्रालयको प्रशासन स्रोतको दाबी छ । सबैभन्दा पहिले पूर्वमन्त्री आलेले ०७९ जेठमा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएको भन्दै अधिकारीलाई तत्कालीन मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो । उनी सर्वोच्च अदालतको अल्पकालीन आदेशबाट निगमको नेतृत्व गर्दै आएका छन् । उक्त मुद्दाको पेसी सरेको सरै छ ।

निगममा ३४ वर्ष काम गरेर ५८ वर्षको उमेरहद मापदण्डअनुसार अवकाशमा गएका अधिकारीलाई नेकपा समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा निगमको नेतृत्व दिइएको थियो । त्यसताका प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई ०७८ कार्तिकमा ४ वर्षका लागि नियुक्त गरेका थिए । अधिकारी आइसकेपछि ४५ अर्ब ऋण व्ययभार रहेको निगमको आर्थिक दायित्व ५३ अर्ब रुपैयाँ पुगेको छ । यसबारे निगमको सञ्चालक समितिले स्पष्टीकरणमा जवाफ मागेको एक बोर्ड सदस्यले बताए ।

अधिकारीले वाइडबडी अन्नपूर्णलाई असार ९ माइटालीको नेपल्स पठाएका थिए । एमआरओ एजेन्ट कम्पनीले बैना भुक्तानी नगरेको भनी त्यो विमान ३७ दिनसम्म पार्किङमै थन्काइदिएको थियो । ३७ दिनसम्म उक्त विमान त्यहाँ रहँदा पार्किङ शुल्क, बिमालगायत अतिरिक्त खर्च लाग्नेबाहेक उक्त विमानले दैनिक २ करोड हाराहारी कारोबार गुमाउँदा ७४ करोड नोक्सानी भएको ती सदस्यको भनाइ छ ।

इटालीको एजेन्ट कम्पनी एटीआईटेकले वाइडबडी जहाजलाई ३० दिनभित्र मर्मत सकेर पठाउने सम्झौतापत्रमा उल्लेख गरेको छ । तर साढे दुई महिना भइसक्दा पनि जहाज मर्मत सकिएको छैन ।

अधिकारीले निगमको सञ्चालक समिति सदस्य किशोर प्रधान र निर्देशक टंकनिधि दाहालसँग साउन ७ को राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरी इटाली पठाइएको जहाज साउन ३० मा नेपाल आइसक्ने भनेका थिए । तर त्यो जहाज भदौ २४ सम्म नेपाल नआउने जनाउँदै निगमको मार्केटिङ विभागले जापानको नारिताका लागि राखिएका दुइटा उडान रद्द गरेको सुचना बुधबार सबै विभागलाई सर्कुलर गरेको छ ।

यसैबीच अर्को वाइडबडी पनि भदौ १२ मा मर्मतका लागि नेपल्स पठाइसकिएको छ । त्यो जहाजको पनि मर्मत सुरु नभइसकेकाले कहिले नेपाल फर्काइने हो, टुंगो नलागेको निगमका एक इन्जिनियरले जनाए । यी सबै घटनामा चरम लापरबाही देखिएपछि पर्यटनमन्त्री पाण्डेले भदौ १२ मा ११ बँदे स्पष्टीकरण सोधेका थिए । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको पत्रको म्याद मंगलबार सकिएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ २२:४६
x
×