कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

भीडको हिस्सा बन्ने कि जिम्मेवार नागरिक ?

भाद्र २०, २०८१

चन्द्रकिशोर

चन्द्रकिशोर कान्तिपुरका नियमित स्तम्भकार हुन् ।

भीडको हिस्सा बन्ने कि जिम्मेवार नागरिक ?

फेसबुक पेजलाई ‘अनफलो’ गरिएको एक अभियान यतिखेर चर्चामा छ । आफ्ना असहमत पक्षलाई कमजोर देखाउन यो तरिका अपनाइएको बताइँदै छ । आह्वानकर्ताका समर्थकहरू यसलाई एक डिजिटल लडाइँ मान्दै आफ्नो बहादुरी देखाउन लागिपरेका छन् ।

के कुनै नेता वा संगठन जनप्रिय रहेको आधार उसको फलोअर संख्या हो ? के फलोअरहरूको संख्या मतपत्रमा अनुवाद हुन्छ ? कस्ता कुरा यो दुनियाँमा मन पराइँदो रहेछ ? अनि अपाहिज जनताले कस्तालाई अवतार मान्ने ? बेरंग हुँदै आएको लोकतान्त्रिक प्रक्रियामा यस्ता सवालबारे भुइँविमर्श हुन जरुरी छ ।

आज महात्मा गान्धी बाँचेको भए उनी यस लडाइँलाई कसरी हेर्थे ? अनफलो अभियानलाई के डिजिटल सत्याग्रह मान्न सकिन्छ ? गान्धीको समयमा मोबाइल आएको भए उनी यसको प्रयोग अवश्य गर्थे । तर सामाजिक सञ्जालमा घण्टैपिच्छे आफूलाई अपडेट गर्दैन थिए होला । उनी डिजिटल गुलामीलाई अस्वीकार गर्थे होला । हुन सक्छ, कुनै दिन उनी डिजिटल उपवास पनि बस्थे होला । त्यस दिन सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा उनी कुनै व्यक्तिको घर गएर भेट्थे होला । कसैलाई शुभ प्रभात, बधाई वा श्रद्धाञ्जली ट्याग गरेर लेख्नुभन्दा ती व्यक्ति वा आफन्तसँग बरु फोनमै कुरा गर्थे होला । प्रत्यक्ष भेटेर वा सोझै फोन संवादमार्फत दुःखसुख साझेदारी गर्थे होला । आत्मपीडक प्रश्नाकूलताबारे लेख्थे होला । सञ्जालबाट हुने घृणा, हिंसा, उत्तेजना, विधिहीनता वा विवेक शून्यताबारे आफ्ना प्रवचनहरूमा बोल्थे होला । उनी भन्थे होला– ‘मोबाइलले तपाईंलाई प्रयोग गरिरहेको छ कि तपाईंले मोबाइललाई प्रयोग गरिरहनुभएको छ ?’

जस्तो साधन, त्यस्तै साध्य । साध्य र साधनमा सम्बन्धविच्छेद भइहाल्यो वा सीमारेखा खिचियो भने साध्य नै कलुषित हुन्छ । शस्त्र वा हिंसाले स्थापित हुने शान्ति त श्मशान शान्ति हो । सार्वजनिक विमर्शका जुनसुकै तरिकाले अराजकता र अतिवादलाई उक्सायो भने सबैभन्दा पहिले त्यसका प्रयोगकर्तालाई नै निल्छ । अहिले विभिन्न कारणले राजनीतिक दलहरू कमजोर हुने, राजनीतिक प्रक्रिया निकम्मा हुने र राजनीतिमा बिस्तारै विचारको ठाउँ अराजकता र उत्तेजनाले लिने स्थिति निर्मितका लागि दबाबपूर्ण काम हुँदै छ । समाजमा विभिन्न अवाञ्छित तत्त्वहरूले चलखेलको मौका पाउने र मुलुकलाई भयंकर दुर्घटनाको दिशातिर लाने नियोजित यत्नहरू हुँदै छन् ।

अहिलेको अवस्थामा लोकतान्त्रिक राजनीति चुनौती, अप्ठ्यारो र कठिनाइको एउटा पुञ्ज पनि हो । तर यो हाम्रो अनिवार्य यात्राको बाटो हो । चुनौती छ भन्दैमा हामी यो बाटोबाट उम्किन सक्दैनौं । बाटो कठिन छ, तर जे जस्ता संकटहरू मौजुद छन् तिनको समाधान निकाल्न यही लोकतन्त्रको बाटो हिँड्नुपर्नेछ । यतिखेर संविधानको छहारी पाएर अनेक शक्तिहरू टुसाएका छन्, तर तिनीहरू यो छहारीलाई नै डढाउने व्यूह रच्दै छन् । लोकतन्त्र मान्छौं, निर्वाचन प्रक्रिया मान्छौं भनेर आउनेलाई छेकबार लगाउन मिल्दैन । नेपाली जनताले को रहने, को नरहने भन्ने कुरा आवश्यकता, उपयोगिता, औचित्य र इतिहासमा प्राप्त अनुभवका आधारमा टुंगो लगाउने हो । तर निर्वाचन जितेकै भरमा जोकोही लोकतन्त्रनिष्ठ नहुन पनि सक्छ । अहिले लोकतन्त्रका लागि लडेका पुराना दलहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण छ । लोकतान्त्रिक व्यवस्था मजबुतीकरणलाई नेपाली समाजको एक अनिवार्य कार्यभार मान्ने नयाँ राजनीतिक शक्तिहरूको भूमिका पनि कम छैन ।

यतिखेर सामाजिक सञ्जाललाई अराजक राजनीतिको औजार बनाइँदै छ । यो जानकारी पाउने, संवाद गर्ने र आफ्ना कुरा फैलाउने साधन थियो । अहिले यसले कैयौं प्रकारका समस्या खडा गर्दै छ । तर पनि हामी सहमत हुँदै गएका त छैनौं– जो सबभन्दा चर्को स्वरमा चिच्याउँछ,

सत्य ऊसँगै छ ! यो बुझेका व्यूहकारहरू अब आफ्नो मिथ्यालाई लोकतान्त्रिक स्पेसमा बेच्न सक्छु भनेर हौसिएका छन् । यो क्रम कुनै निर्वाचित सत्ताले वा संविधानका धाराहरू तेर्स्याएर रोकिनेवाला पनि छैन ।

कुनै नायक प्रकटीकरणका लागि प्रतीक्षारत आम मनोरुझानलाई चिर्ने जिम्मेवारी पनि लोकतन्त्रप्रेमीहरूकै हो । कठिनाइ त छ, तर पनि नदी पार गर्नैपर्नेछ । वर्तमान संविधानको प्राक्कथनमै ‘हामी नेपाली’ लेखिएको छ, त्यो हामीभित्र पर्ने नेपालीको जिम्मेवारी हो– लोकतन्त्रको रक्षा गर्ने । असली बराबरी– हकको बराबरी हो । न्यायमा बराबरी हो । संसाधनमा समान हिस्सेदारी हो । यो ‘साइबरी बराबरी’ को भ्रम क्षणिक हो, भंगुर हो । जोसँग अरूलाई झट्का दिने वा व्यंग्य हान्ने अभिव्यक्ति कला छ, तिनले आफ्ना ‘फलोअर’ को लामो तथ्यांक तयार पारेका छन् । ती निर्मित नवजमातलाई सोच्ने, बुझ्ने, कर्तव्य निर्वाह गर्नेभन्दा यस्तो ‘साइबर बहादुर’ बनाइएको छ, जोसँग अरूप्रति केवल उत्तेजना र घृणा छ । लोकतन्त्रलाई अतिवाद शमन गर्ने एक उत्तम तरिका मानिएको छ । तर अचेलको लोकतन्त्र सबैको मनमनमा बसिरहेको तानाशाही (निरंकुशता) को सघन रूप भएको छ ।

पुरानो लोककथा छ । सबैलाई भनिएको थियो– पोखरीमा दूध हाल्नु । तर भयो के भने सबैले आफूआफू सोचे– अरूले दूध हालिहाल्छन्, मैले एक बाल्टी पानी हाल्दा के फरक पर्छ ? अनि परिणाम, पोखरी केवल पानीले लबालब । हो, अहिले लोकतन्त्र त्यही नियति भोग्दै छ । यो लोकतन्त्र कुनै अमूक दल, नेता वा गठबन्धनले सबलीकरण हुने होइन । यो त प्रत्येक नागरिक स्वयंका प्रति गरिने न्यायबाट आर्जन हुने हो ।

महात्मा गान्धीका बारे दुनियाँभरि विमर्श चलिरहेको छ । त्यहाँ भनिने र सुनिने गरिएको छ– गान्धीभन्दा अगाडि पनि केही छ, त्यो सोच्ने काम भइरहेको छैन । जमानाले यतिविघ्न पलटी मारिसकेको छ कि गान्धी आज या त ट्रेजेडीका रूपमा रिपिट हुन्छन् वा कमेडीका रूपमा । तर पनि आज गान्धी बढी प्रासंगिक छन् । एक पटक भारतीय लोकनायक जयप्रकाश नारायणले भनेका कुरा यहाँ उल्लेख गर्नु जरुरी देखियो । उनका अनुसार गान्धीका बारे कुनै विमर्श गर्नुपर्‍यो भने ‘आजको समयमा गान्धीको प्रासंगिकता’ शीर्षक राखिन्छ । गान्धीका बारे त इतिहासले तय गरिसकेको छ । तर यस्ता विमर्शमा सहभागी हुनेहरूले चाहे भने आफ्नो सान्दर्भिकता बनाउन सक्छन् । लोकतन्त्रलाई पलपल सफाइ गरिएन भने अविरल नदी एक फोहरी नालामा अनुवाद हुन जान्छ । र, कुनै अधिनायक हाम्रै बीचबाट बिना दुन्दुभी बजाएर नै ह्वात्त आइदिन सक्छ । संविधानले जसलाई ‘नागरिक’ बन्ने उच्च गरिमा प्रदान गरेको छ, तिनीहरूले हस्तक्षेप गर्न सक्छन्, गर्नुपर्छ । नेपालका कोही पनि बासिन्दा कुनै संगठन, कुनै ओहोदामा रहे वा नरहे पनि ऊ पहिला नागरिक हो । यतिखेर डिजिटल स्पेसमा जुन घृणाको ताण्डव रचिँदै छ, लोकतन्त्र कुहिएको पानी भयो भनेर जुन भ्रम छरिँदै छ, त्यसको मुकाबिल गर्न अब ढिलो गर्न सकिँदैन ।

आज नेपालमा गान्धी आए भने लोकतन्त्रलाई स्वस्थ, उर्वर र अपनत्व भएको बनाउन कस्ता उपाय बताउँथे होला ? सन्देश स्पष्ट छ, हामीलाई केही स्पष्ट मूल्य र मान्यताको निर्वाह गरेर हिँड्ने नागरिक बन भन्थे । ‘त्यसका लागि पहिला– सत्य बोल । न कम न बेसी, केवल साँचो कुरा बोल । आफूलाई लागेको कुरा विनम्रतापूर्वक तर स्पष्ट रूपमा राख । तर्क र तथ्यका आधारमा सत्य बोल । आफ्नो दलभित्र वा आफ्नो बहुतहको सरकारबारे सत्य बोल्न नडराऊ । जो जहाँ छ, त्यहींबाट सत्य बोल । सत्य बोल्ने साहस देखाऊ । कुनै पनि प्रकारको अधिनायकबाट जोगिनुछ भने सत्य बोल्नु पहिलो सर्त हो । पहिला आफूलाई नै तौलौं, जहाँ पैताला टेकेका छौं, त्यहाँबाट सत्य बोल्न सकिन्छ ? सत्य बोल्दा आइपर्ने नाफा नोक्सानीको लेखाजोखा नगर, केवल सत्य बोल । यसले चहुँओर आन्तरिक लोकतन्त्रको आयतनलाई फराकिलो बनाउँछ । कहींकतै कसैको मनपरी, अटेरी, अख्तियार दुरुपयोग, न्याय बिक्री, विधि मिच्याइँ हुँदै गरेको छ भने त्यो हच्किन्छ । अहिले जो जहाँ बोल्नुपर्ने हो, ऊ कुनै जोखिम लिन चाहँदैन । मौन बस्नुमा नै मजा ठान्छ । सत्य आफू बोल्न नसके जो सत्य बोल्दै छ, तिनका साथ खडा भइदेऊ ।’

सत्य बोल्नका लागि कुनै सोपानतन्त्र चाहिँदैन । तर यो पनि सजिलो र सरल बाटो छैन । लोकतन्त्रमा बाँच्न प्रत्येक नागरिकमा साहस र अभय चाहिन्छ । जहाँका नागरिकमा यो दुई गुणजति बढी हुन्छ, त्यहाँको लोकतन्त्र त्यति नै उन्नत हुन्छ । भयको भुँडीमा केवल नकारात्मक कुराहरू अल्झिएका हुन्छन् । मैले यो कुरा बोलें भने मलाई ट्रोल गर्छन् भन्ने डरले अवाञ्छित तत्त्वहरूले प्रश्रय पाउँछन् । गान्धीको प्रयोगको आधार सत्याग्रह थियो । जहाँ एकमा एक जोड्दा दुई हुँदैन, सत्याग्रहको गणितमा एक र एक मिल्दा त्यसले असीमित ऊर्जा ल्याउँछ । त्यसैले सत्य बोल्न अगाडि बढेका पछाडि खडा भइदेऊ भन्छन् गान्धी । खडा हुन नसके, जो सत्य बोल्न चाहेका छन्, खुलेर वा नेपथ्यमै बसेर भए पनि तिनलाई सघाऊ पुर्‍याऊ ।

यस्ता साधारण कामले पनि लोकतान्त्रिक स्पेसमा सेफ्टी भल्भको काम गर्छ । एउटा वैकल्पिक दिशा प्राप्त हुन्छ । अरू केही नगरे पनि कमसेकम गलत गर्नेहरूको साथ नदेऊ । यहाँ दलपतिहरूले गलत बोल्दै छन् तर थपडी बजेको बज्यै छ । उसले भ्रष्टाचार गरेर अकुत कमाएको छ तर उसलाई दल भित्र्याउने होड चल्छ । गलत गर्नेहरूको साथ खडा हुँदा सत्य बोल्नेहरू त डराउँदैन, तर गलत गर्नेहरू झन् हौसिन्छन् । यसरी गलत गर्नेहरूको मौजुदा व्यूह अभेद्य बन्न पुग्छ ।

दक्षिण एसियामा लोकतन्त्रका लागि कुनै पनि मुलुकभन्दा नेपालीहरूले ज्यादा बलिदान गरेका छन् । नागरिकको जागरुकताले नै लोकतन्त्रलाई परिपक्व बनाउँछ । छोटाछोटा हस्तक्षेपहरूले शक्ति संरचनालाई लोकनिष्ठ बनाउँछ । लोकतन्त्रको बाटोमा हिँड्दा कतै दिक्क लाग्न सक्छ, पट्यार आउन सक्छ । तर यी सबैमा धैर्य राख्न सक्ने गान्धीपथको सामर्थ्य राख्न सकियो भने लोकतन्त्र जिन्दावाद रहन्छ । आफ्नो उद्देश्य प्राप्त गर्न लोकतन्त्र गतिशील छैन भने नयाँ समयमा प्रत्येक नागरिकले आफूलाई आफ्नो नयाँ भूमिकाका लागि तयार राख्नुपर्छ । तपाईं–हामी भीडको हिस्सा बन्ने कि एक जिम्मेवार नागरिक ? नागरिक हुनुको अर्थ नै हो, तपाईंसँग केही जिम्मेवारी छ, तपाईंको विवेकपूर्ण भूमिका छ । भीडसँग फगत कुतर्क, उच्छृंखलता र थेत्तरोपन हुन्छ । आज साधारणजस्तो देखिने ससाना काम सामान्य स्तरमा गरिनु नै आफ्नो नागरिक धर्मप्रतिको आदराञ्जली हो ।

@kishore_chandra


प्रकाशित : भाद्र २०, २०८१ ०६:४७
x
×