कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

खोइ मानसिक स्वास्थ्य शिक्षा ?

भाद्र २८, २०८१

शिक्षा रिसाल

रिसाल पत्रकार हुन् ।

खोइ मानसिक स्वास्थ्य शिक्षा ?

Highlights

  • यदि मानसिक रूपमा स्वस्थ बालबालिका र किशोरकिशोरी हुर्काउन सके मात्र देश र समाजले स्वस्थ, सबल र खुसी युवा प्राप्त गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण प्रश्न हो– विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाबारे कहिलेदेखि पढाउने ?

किशोरावस्था जीवनकालको अद्वितीय र महत्त्वपूर्ण समय हो । यसबेला शारीरिक, भावनात्मक र सामाजिक परिवर्तन देखा पर्छन् । किशोरावस्था सकारात्मक मानसिक स्थिति, सामाजिक र भावनात्मक बानी विकास गर्ने महत्त्वपूर्ण अवधि हो ।

विशेषगरी नेपालजस्ता विपन्न देशमा गरिबी, दुर्व्यवहार वा हिंसाको सामना गरेका बालबालिका आफ्नो किशोरावस्थामा प्रवेश गर्दै युवावस्थामा पुगिसक्दा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दै जाने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

१० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था बुझिन्छ । किशोरावस्थाको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न नसक्दा वयस्क जीवनमा शारीरिक र मानसिक असर पर्ने विभिन्न अध्ययन अनुसन्धानले स्वीकार गरिसकेका छन् । त्यसैले नेपालजस्ता विपन्न देशमा मानसिक स्वास्थ्य शिक्षा अपरिहार्य बनिसकेको छ ।

नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा काभ्रेमा १२३ बालबालिकाले आत्महत्या गरे । यो संख्याले यसै अवधिमा आत्महत्या गरेका ६ मध्ये एक जना बालबालिका भएको देखाउँछ । यही तथ्यांक केलाउँदा ८३ प्रतिशतमा केही न केही मानसिक स्वास्थ्य समस्या भएको प्रहरीे तथ्यांक छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक हेर्दा विश्वभरका किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याको जोखिममा छन् । १० देखि १९ वर्षमध्येका हरेक सात जनामा एक जनाले मानसिक स्वास्थ्य समस्या अनुभव गरेका हुन्छन्, जुन यस उमेर समूहमा १३ प्रतिशत हो । किशोरकिशोरीमा बिरामी र अपांगताको प्रमुख कारणमा डिप्रेसन, चिन्ता र व्यवहारगत विकार पर्छन् । त्यस्तै, १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको चौथो प्रमुख कारण हो ।

स्वस्थ निद्रा, नियमित व्यायाम, समस्याको समाधान, विभिन्न सीप सिकाइ र मनोभावनालाई व्यवस्थापन किशोरावस्थाका महत्त्वपूर्ण सिकाइ हुन् । यसका लागि परिवार, विद्यालय र समुदायमा सहयोगी वातावरण अति आवश्यक हुन्छ । तर हालको अवस्थामा सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी, घरेलु झगडा, लागूपदार्थ प्रयोग, यौन हिंसा, अपराधजस्ता विभिन्न आर्थिक र सामाजिक कारणले नैराश्य, डिप्रेसन, एन्जाइटी बढ्दै गएको छ । विद्यालय, परिवार र आफ्नै साथीमाझ पनि खुलेर कुरा गर्न नसक्ने, लाज, डर र लाञ्छनाका कारण कसैले पनि आफ्नो कुरा खुलेर व्यक्त नगर्दा यो समस्या झन् विकराल बन्दै गएको मनोचिकित्सक बताउँछन् ।

विश्वव्यापी रूपमा हरेक ७ मध्ये १ जना किशोरकिशोरीले मानसिक स्वास्थ्य अवस्थाको अनुभव गरिरहेको अनुमान छ । यी धेरैजसो पहिचानमा नआएका र उपचार नै नपाएका हुन् । मानसिक स्वास्थ्य अवस्था भएका किशोरकिशोरी विशेषगरी सामाजिक भेदभाव, कलंक (मद्दत खोज्ने तत्परतालाई असर गर्ने), शैक्षिक कठिनाइ, जोखिमपूर्ण व्यवहार, शारीरिक अस्वस्थता र मानवअधिकार उल्लंघनप्रति संवेदनशील हुन्छन् । किशोरकिशोरीहरू जति धेरै जोखिमको सम्पर्कमा आउँछन् उनीहरूको मानसिक स्वास्थ्यमा त्यति नै धेरै नकारात्मक असर पर्छ । घरेलु जीवनको गुणस्तर र साथीसँगको सम्बन्धले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । हिंसा (विशेषगरी यौन हिंसा, घरेलु हिंसा र धम्की), सामाजिक–आर्थिक समस्या पनि मानसिक स्वास्थ्यका प्रमुख जोखिम हुन् ।

जीवन अवस्था, जातीय भेदभाव, सहयोग र सेवामा पहुँच नपाएका कारण केही मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा छन् । जातीय वा यौनिक अल्पसंख्यक पृष्ठभूमि वा अन्य भेदभावग्रस्त समूहका किशोरकिशोरीमा पनि विभिन्न मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहेको हुन्छ । दीर्घरोगी, अटिज्म स्पेक्ट्रम विकार, बौद्धिक अपांगता वा अन्य न्युरोलोजिकल अवस्था भएका किशोरकिशोरी झन् धेरै यो समस्याको उच्च जोखिममा छन् ।

डब्लूएचओका अनुसार १० देखि १४ वर्षका ३.६ प्रतिशत र १५–१९ वर्षका ४.६ प्रतिशतले चिन्ता विकार अर्थात् एन्जाइटी डिसअर्डरको अनुभव गर्छन् । त्यस्तै, १० देखि १४ वर्षका १.१ प्रतिशत र १५ देखि १९ वर्षका २.८ प्रतिशतमा डिप्रेसन हुने अनुमान गरिएको छ । डिप्रेसन र चिन्ताका केही लक्षण हुन्छन्, जसमा कोहीसँग बोल्न मन नलाग्ने, एक्लै बस्ने, धेरै सोच्ने, अल्छी हुने, रुचि लागेका काममा रुचि घट्दै जाने, नकारात्मक सोच बढ्ने गर्छ । चिन्ता र डिप्रेसनले विद्यालय उपस्थिति र विद्यालय कार्यलाई गहिरो रूपमा प्रभाव पार्न सक्छ ।

ठूलो उमेरका किशोरकिशोरीको तुलनामा भर्खरै किशोरावस्थामा प्रवेश गरेकाहरूमा व्यवहारगत विकार देखिन्छ । उनीहरूमा ध्यानकेन्द्रित गर्न गाह्रो हुने, कुनै पनि गतिविधि अत्यधिक गर्ने, परिणामलाई ध्यान नदिई कार्य गर्ने, चञ्चलपन, छटपटी र हडबडीमा रहने समस्या देखिन्छ । १० देखि १४ वर्षका ३.६ प्रतिशत र १५ देखि १९ वर्षका २.४ प्रतिशतमा यस्ता समस्या हुने गरेको तथ्यांक छ । यस्तो व्यवहारले विद्यार्थीको शैक्षिक अवस्थामा प्रत्यक्ष्य र प्रतिकूल असर पारिरहेको हुन्छ भने विभिन्न आपराधिक मानसिकताको विकास गरिरहेको हुन्छ । एनोरेक्सिया नर्भोसा खाने बानीसँग सम्बन्धित विकार सामान्यतया किशोरावस्था र वयस्कमा देखा पर्छन् । वजन बढ्ने चिन्ता, दुब्लो हुँदा पनि मोटाएको छु कि भन्ने भावना देखिन्छ भने अस्वस्थ खानेकुरा खाने, पेट दुख्ने, कमजोर रहने समस्या देखिन्छ । केही किशोरकिशोरीको भने शरीरको वजन असामान्य रूपमा बढ्ने गर्छ ।

किशोरकिशोरी (विशेषगरी १५–१९ वर्ष) मा हुने मृत्युको चौथो प्रमुख कारण आत्महत्या हो । मदिराको हानिकारक प्रयोग, घरेलु हिंसा, दुर्व्यवहार, प्रेममा असफलता र आत्महत्याका साधनमा पहुँच जोखिम कारकमा समावेश छन् । यी सबै कारकको एउटा प्रमुख जड कारण भनेकै मानसिक स्वास्थ्यमा नकारात्मक असर हो । आफ्नो मनोभावनालाई नियन्त्रण गर्न नसक्दा दिमागले विभिन्न यस्ता नकारात्मक कुरामा प्रोत्साहन गर्न सक्छ । लागूपदार्थ प्रयोग वा यौन हिंसामा जोखिम लिने जस्ता हानिकारक व्यवहार किशोरावस्थामा नै सुरु हुन्छन् । त्यसैले अबको अवस्थामा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यबारे पहिचान र सम्बोधन गर्न अपरिहार्य बनिसकेको छ । यसका लागि सुरुवाती स्थान नै विद्यालय वा शैक्षिक संस्था हुन् । विद्यालय त्यस्ता ठाउँ हुन्, जहाँ किशोरकिशोरीले धेरैजसो समय बिताउँछन् र शैक्षिक सिकाइका संरचनासँगै साथीहरूसँग अन्तरक्रिया गर्छन् र सामाजिक भावनात्मक सीप विकास गर्न सक्छन् । शिक्षक, विद्यालय, कर्मचारी र साथीहरूले किशोरकिशोरीका जोखिम कारक र मानसिक स्वास्थ्य अवस्था पहिचान गरी समाधान र न्यूनीकरण गर्न सक्छन् ।

अर्को प्रमुख रणनीति भनेको शिक्षकको कल्याण प्रवर्द्धन गर्न विद्यालय वातावरणमा शिक्षकलाई कार्यशाला सञ्चालन गरिनु हो । यस्ता कार्यक्रमले शिक्षकको मानसिक स्वास्थ्यलाई सुधार गर्न सक्छन्, जुन पहिले नै विद्यार्थीमा उच्च सामाजिक र भावनात्मक कल्याणसँग सम्बन्धित भएको पाइएको छ । कक्षाकोठामा शिक्षक, विद्यार्थीसँग अझ प्रभावकारी रूपमा संलग्न हुने, रचनात्मक कक्षाकोठा स्थापना गर्ने, प्रविधि प्रयोगका तरिका सिकाउनेलगायतले विद्यार्थीको कल्याणमा प्रभाव पार्न सक्छ ।

विकसित पश्चिमा मुलुकका साथै भारतका केही राज्यका विद्यालयले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्कुल मेन्टल हेल्थ, टक विथ काउन्सेलर, आर यू ओके जस्ता कार्यक्रम सक्रिय रूपमा भइरहेका छन् । विद्यालय, कलेज जस्ता हरेक स्थानमा मानसिक स्वास्थ्यका सवाल, समस्या र समाधान विषयक छलफल र यसलाई लाञ्छनाका विषय नबनाउन सचेतनामूलक अभियान आयोजना गरिरहेका छन् । नेपालको सन्दर्भमा केही संघसंथाले यस्ता कामको थालनी गरे पनि सक्रिय रूपमा सञ्चालन गर्न सकिरहेका छैनन् । सरकार र सरोकारवालाबाट हुनुपर्ने पहलको प्रयास यहाँ शून्य छ । किनकि अझै पनि मानसिक स्वास्थ्यलाई हीनभावका रूपमा हेर्ने गरिएको छ ।

विद्यालय, कलेज वा अन्य शैक्षिक संस्थामा किशोरकिशोरीको अध्ययन अध्यापनसँगै मानसिक अवस्था, भावनात्मक बौद्धिकता, व्यक्तित्वका प्रकार र विशेषगरी विद्यार्थी जीवनमा आइपर्ने तनाव व्यवस्थापनका बारेमा सिकाइनुपर्ने हो । त्यसैले स्थानीय सरकार र विद्यालयले सक्रिय रूपमा स्वस्थ समाजको निर्माणका लागि पहल गर्न आवश्यक छ । नो हेल्थ विथाउट मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्यबिना स्वास्थ सम्भव छैन । यदि मानसिक रूपमा स्वस्थ बालबालिका र किशोरकिशोरी हुर्काउन सके मात्र देश र समाजले स्वस्थ, सबल र खुसी युवा प्राप्त गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण प्रश्न हो– विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाबारे कहिलेदेखि पढाउने ?

प्रकाशित : भाद्र २८, २०८१ ०७:२५
×