कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

सुदूरबाट उदाएकी भलिबल प्रतिभा

भाद्र २०, २०८१
सुदूरबाट उदाएकी भलिबल प्रतिभा

काठमाडौँ — सुदूरपश्चिमदेखि काठमाडौंको यात्रा । भलिबलमा त्यो पनि शून्यबाट सुरु गर्न । वर्ष ०७३ सालमा पहिलो पटक भलिबल छोएकी कविता भट्टलाई खेल र खेल्ने कोर्टबारे केही जानकारी थिएन । किनकि घरवरिपरि भलिबलको माहोल पाएकी थिइनन् । अग्लो कदले गर्दा उनको भलिबल यात्रा सुरु भएको थियो । त्यहीं शून्यबाट सफल भएकी कविता राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य बनिसकेकी छिन् ।

कष्टकर अवस्थामा विभागीय टोली आर्मीबाट भलिबल यात्रा सुरु गरेकी कविताले प्रशिक्षक नरेश थापाबाट भलिबलको कखरा सिके । ‘भलिबल के हो आर्मीमा आएर थाहा बल्ल थाह पाएँ । जब भलिबल खेल्न थालें, यसमै केही होला भन्ने लाग्यो । भविष्य नै यही हो भन्ने थिएन,’ कविताले सुरुआती क्षण सम्झिइन् । ९ वर्षअघि भलिबल सुरु गरेकी कविता अहिले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् ।

कविता मख्ख छिन् । हरेक खेलाडीको सपनाको अंश उनको भागमा पनि परेको छ । उनमा बेग्लै उर्जा मिलेको छ । अवार्ड मनोनयनमा पुग्दा मात्र सफलताको केही अंश पूरा भएको महसुस हुने कविताको भनाइ छ । ‘यति चाँडै यो सफलताको कल्पना पनि गरेको थिइनँ । मनोनयनमा परेको थाहा पाउनेबित्तिकै सोचें खेलाडी हुनुले सार्थकता पायो,’ कविताले भनिन् । गत वर्ष जेठमा भएको काभा नेसन्स लिग डेब्यू गरेकी थिइन् ।

उनले हालसम्म तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा काभा नेसन्स लिग पहिलो र दोस्रो संस्करण, एसियन कपसहित रुससँगको मैत्रीपूर्ण खेल खेलेकी छन् । उनी आफ्नो अन्तर्राष्ट्रिय भलिबल यात्रा सफलताको सूचक प्रशिक्षक जगदीश भट्टलाई मान्छिन् । वर्ष ०५६ सालमा डडेलधुरामा जन्मिएकी कविता अहिले यो अवार्डको दाबेदार खेलाडी हुन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २१ औं संस्करण आइपुग्दा भलिबलका आधा दर्जन खेलाडीले पिपल्स च्वाइस विधा जितेका छन् ।

भलिबलको साख जोगाउने जिम्मेवारी आफ्नो काँधमा आएको कवितालाई लाग्छ । उनी विभागीय टोली एपीएफका लागि पनि यो अवार्डलाई जित्ने लक्ष्यमा छन् । किनभने यसअघि एपीएफकै दुई खेलाडीले यो अवार्ड जितिसकेका छन् । ‘भलिबलको साख जोगाउने जिम्मेवारी आएको छ । भलिबलले नै ६ पटक यो अवार्ड जितेको हुँदा मेरोसँगै भलिबल, भलिबलप्रेमी र मेरो क्लब एपीएफका लागि यो अवार्ड जित्नैपर्ने दबाब छ,’ कविताको अठोट छ ।

कविता अहिले विभागीय टोली एपीएफमा छन् । वर्ष ०७४ मा एपीएफमा पुगेकी उनले घरेलु महिला भलिबलमा आफ्नो बेग्लै पहिचान बनाइन् । एपीएफले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा उनी टोलीकी सदस्य थिइन् । उनले एनभीए कप, टाइगर कप, टोरपाटन कपलगायत धेरै प्रतियोगितामा टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।

यी सबै सफलता एपीएफका हालका प्रशिक्षक र पूर्वप्रशिक्षक स्व. प्रशिक्षक ज्ञानेन्द्र विष्ट र टिम सदस्यको सहयोगमा भएको कविता सुनाउँछिन् । ‘एपीएफका लागि मैले घरेलु महिला भलिबलमा धेरै उपाधि जितिसकेको छु । समर्थकको माया बटुलेको छु । सुदूरपश्चिमबाट काठमाडौंमा आएर यति धेरै माया बटुलें, त्यही मायाले अहिले अवार्ड जित्नेमा विश्वस्त छु,’ कविताले भनिन् ।

भर्खरै सम्पन्न काभा नेसन्स लिगमा नेपाल दोस्रो हुँदा उनी टिमकी एक मुख्य सदस्य थिइन् । दुई वर्षको अन्तर्राष्ट्रिय भलिबल यात्रामा नै यति धेरै माया पाएकी उनको भलिबल जीवनले नयाँ मोड लिने अवसरमा छिन् । हालसम्म नेपाली भलिबलमा लागेर पाएको सफलताले अर्को रूप लिन यो अवार्ड आफ्ना लागि महत्त्वपूर्ण रहने उनको भनाइ छ । ‘अवार्डको मनोनयनमा पर्नु नै मेरा लागि धेरै ठूलो सफलता हो,’ उनले भनिन् ।

‘यो अवार्ड जितें भने मेरो खेल जीवनको पाटो सफल हुन्छ । अझ खेलाडी नै भएकोमा गर्व गर्ने क्षण पनि हो,’ उनले थपिन् । कविताको यो सफलताले उनीमात्र होइन, परिवार र सिंगो नेपाली भलिबलसहित सुदूरपश्चिम थप खुसी हुनेछ । उनी जन्मिएको पालिकाले त अहिले मत दिन आह्वान गरिरहेको छ । भलिबल समर्थकहरूले पनि भोटिङका लागि अभियान चलाइरहेका छन् । किनकि सम्पूर्ण भलिबलप्रेमीलाई थाहा छ, यो कविताको मात्र होइन सिंगो भलिबलको पनि जित हुनेछ ।

प्रकाशित : भाद्र २०, २०८१ ०५:३८
x
×