कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर : घट्यो कि बढ्यो ?

विद्युतीय सवारीसाधनमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार बढ्यो
अपांगता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर नलाग्ने

काठमाडौँ — आगामी आर्थिक वर्षमा राजस्वमार्फत १४ खर्ब २२ अर्ब ५४ करोड संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवामा करका दरहरू हेरफेर गरेको छ । मंगलबार संघीय संसद्मा पेस भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ मार्फत सरकारले करका दरहरू हेरफेर गरेको हो ।

कर : घट्यो कि बढ्यो ?

आर्थिक विधेयकमार्फत सरकारले निकै चर्चामा रहेको विद्युतीय सवारीसाधन (ईभी) मा भन्सार र अन्तःशुल्क बढाएको छ । जसअनुसार अब ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । यस वर्ष अन्तःशुल्क लागेको थिएन भने १० प्रतिशत भन्सार दर लाग्दै आएको थियो । यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाएको छ ।

यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । १०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क पुर्‍याएको छ । यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । ३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ । पहिलो पटक हरित करको व्यवस्था ल्याइएको छ । नेपालभित्र पैठारी हुने कोइला, पत्थर कोइला, पेट्रोलियम तेलजस्ता वस्तुमा पहिलो पटक अधिकतम १ प्रतिशतसम्म हरित कर लगाइएको छ । भन्सार सेवा दस्तुर निकासीबापत एक सय तथा पैठारीबापत ५ सय प्रतिप्रज्ञापनपत्रको शुल्क खारेज गरिएको छ । यस्तै कृषि सुधार शुल्क खारेज गरिएको छ भने वैदेशिक पर्यटन शुल्कअन्तर्गत वैदेशिक भ्रमण प्याकेज भन्नाले यातायात साधन, खाना, घुमफिर तथा मनोरञ्जनसमेतको प्याकेज भनी थप स्पष्ट पारिएको छ ।

आर्थिक विधेयकमार्फत करका दरहरूमा उल्लेखनीय हेरफेर नगरेको नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष अरुण राउतले बताए । यसअघि सम्बन्ध पक्षबीचको कारोबारमा मूल्य निर्धारण गर्ने विधि निर्धारण भएको थिएन, अहिले त्यो विधि लागू गर्ने भनेको छ । ‘विधेयकमा आयकर ऐनको दफा ५७ मा थप व्यवस्था गरी नयाँ लगानीकर्ता भित्र्याउन सहज वातावरण बनाउने प्रयास गरिएको छ,’ उनले भने, ‘विदेशी बैंकबाट पैसा ल्याउँदा १० प्रतिशत कर लाग्थ्यो, त्यसलाई घटाएर ५ प्रतिशत बनाइयो । यसले नेपाली बैंकको लागत घट्ने देखिन्छ ।’ विगतमा जस्तो भूतप्रभावी करको व्यवस्था विधेयकमार्फत नगरिएको पनि उनले बताए ।

आर्थिक विधेयकमार्फत सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम कायम गरेको छ । औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउनेलगायत उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाएको छ । आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ भने मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ । मूल्य अभिवृद्धि कर २०५२ को दफा ५ को उपदफा ३ सँग सम्बन्धित आधारभूत कृषि वस्तु आलु, प्याज, छ्यापी, लसुन, डुन्डु, स्याउ, नास्पाती, क्विन्सलगायत उत्पादनमा भ्याट नलाग्ने व्यवस्था गरिएको हो ।

आर्थिक विधेयकअनुसार विभिन्न वस्तुको आयातमा भन्सार बिन्दुमा लाग्ने कृषि सुधार शुल्क पाँच प्रतिशतबाट बढाएर नौ प्रतिशत कायम गरिएको छ । प्यासिफिक सालमोन, सोले, स्पिकज्याक टुना, डगफिस तथा अन्य सार्कहरू, अल्बाकोर तथा लामो पखेटा भएका टुनालगायत माछाको आयातमा यस्तो शुल्क नौ प्रतिशत पुर्‍याइएको छ । मुसुरोको दाल (स्प्लिट रेड लेन्टिल्स) को निकासीमा प्रतिकिलोग्राम १ निकासी महसुल लाग्दै आएकामा त्यसलाई हटाइएको छ । पोलिप्रोपलिन, पोलिआइसोब्युटलिन, प्रोपलिन कोपोलिमरजस्ता वस्तुमा प्रतिकिलोग्राम पाँच रुपैयाँ बराबर निकासी महसुल लाग्ने गरी परिवर्तन भएको छ । काठमा कोणधारी (कोनिफोरस), गैरकोणधारी (नन–कोनिफोरस) मा दुई सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारिएको छ । सल्लो, देवदारु, भोजपत्र, लहरे पीपललगायतका काठमा लाग्ने निकासी महसुल घटेको हो ।

यसअघि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा भन्सार महसुल नलाग्ने र यसभन्दा बढी परिमाणमा आयात भएको १ सय ५० ग्रामसम्मको सुनमा तीन प्रतिशत भन्सार महसुल तिरेर ल्याउन सक्ने व्यवस्था रहेकामा अब भन्सार तिरेर थप ५० ग्राम सुन मात्रै ल्याउन पाइनेछ । त्यस्तै, अस्थायी पैठारीमा लाग्ने शुल्कसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ । एलपी ग्यास ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि वस्तु जाँचपास भएको ९६ घण्टासम्मका लागि १ हजार ५ सय रुपैयाँ कर लगाउने नयाँ व्यवस्था ल्याइएको छ । एलपी ग्यासबाहेक अन्य ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर ट्र्याक्टर र अन्य ढुवानीका साधनलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कनका लागि वस्तु जाँचपास भएको ७२ घण्टासम्मका लागि १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

अपांगता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । त्यस्तै, विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका ‘डिप साइकल लिड एसिड ब्याट्री’ मा पनि शून्य दरको भ्याट कायम गरिएको छ । आर्थिक विधेयकले सुकाएको नरिवलको गुदी (कोप्रा) मा १५ प्रतिशत अन्तःशुल्क लगाइएको छ । उखुको खुदोमा प्रतिक्विन्टल १ सय ५ बराबर अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर १ सय १० रुपैयाँ बनाइएको छ । बलगर गहुँ, कर्नफ्लेक्स र तौलमा कोकोको मात्रा ६ प्रतिशतभन्दा बढी भएका चकलेटमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । भोगटे, पमेलो, भुइँकटहर, क्यानबेरी, आँपलगायतका जुसमा १३ प्रतिशत अन्तःशुल्क लाग्दै आएकामा ५० पैसा थप गरिएको छ ।

सुर्तीरहित पान मसलामा प्रतिकिलो ८ सय ५० अन्तःशुल्क लाग्दै आएकामा ८ सय ७५ बनाइएको छ भने सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३ सय ६५ लाग्दै आएको अन्तःशुल्कलाई ३ सय ७५ बनाइएको छ । अल्कोहलरहित बियरमा प्रतिलिटर ३५ बाट ४५ रुपैयाँ, इनर्जी ड्रिङ्समा प्रतिलिटर ५० बाट ५२ पुर्‍याइएको छ । १२ प्रतिशतसम्म अल्कोहल भएको बियरमा ४ सय ४४ लाग्दै आएकामा ४ सय ६० पुर्‍याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको बियरमा प्रतिलिटर १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर १९ बराबर अन्तःशुल्क बढाइएको छ । त्यस्तै, छ्याङ (कन्ट्री बियर) मा प्रतिलिटर ४३ रहेको अन्तःशुल्कलाई ४८ पुर्‍याइएको छ ।

१५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्रान्डीमा प्रतिलिटर १ हजार ८ सय बराबर अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर १ हजार ८ सय ६० पुर्‍याइएको छ । २५ यूपी शक्ति भएको यस्तो प्रकृतिको ब्रान्डीमा प्रतिलिटर ४५ प्रतिशत कर बढाइएको छ । सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएकामा ३१ बनाइएको छ । त्यस्तै, फिल्टर नभएको चुरोटमा प्रतिएम ७ सय ३० बराबर लाग्दै आएको अन्तःशुल्कलाई बढाएर प्रतिएम ७ सय ५५ रुपैयाँ बनाइएको छ । त्यस्तै, फिल्टर भएको ७० मिलिमिटरसम्मको चुरोटमा प्रतिएम ५० रुपैयाँ अन्तःशुल्क बढाइएको छ । यसअघि प्रतिएम १ हजार ६ सय ९० बराबर अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर १ हजार ७ सय ४० पुर्‍याइएको छ ।

त्यस्तै, जर्दा, खैनी, नस गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलोग्राम ८ सय ५० बराबर लाग्दै आएकामा अन्तःशुल्कलाई प्रतिकिलोग्राम ८ सय ८० रुपैयाँ बनाइएको छ । खुद्रा बिक्रीका लागि राखिएको सुर्ती तथा धूलो सुर्ती (डस्ट टोबाको) को प्रतिकिलोग्राम ४ सय ७५ बराबर अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई ४ सय ८० बनाइएको छ । चुना मिलाई खाने खुद्रा बिक्रीका लागि प्याकिङ गरिएको सुर्तीमा प्रतिकिलोग्राम ४५ रुपैयाँ बराबर अन्तःशुल्क बढेको छ । हुक्का फ्लेबरमा प्रतिकिलोग्राम १ हजार ४ सय रुपैयाँ बराबर लाग्दै आएको अन्तःशुल्क बढेर १ हजार ५ सय रुपैयाँ पुगेको छ ।

विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुगन्धित अत्तर (बडी स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा १५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर २० रुपैयाँ पुर्‍याइएको छ । टायलका रूपमा वा रोलमा रहेका भुइँ ढाक्ने वस्तु (फ्लोर कभरिङ) को अन्तःशुल्क पाँच प्रतशितबाट बढेर १० प्रतिशत पुगेको छ । फलाम वा अमिश्रित इस्पात (नन एल्बाए स्टिल) का अर्धतयारी उत्पादनको अन्तःशुल्क हटाइएको छ । ल्यापटप तथा नोटबुकमा पाँच प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×