कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माथिल्लो मिदिमखोलाको बिजुली राष्ट्रिय प्रसारणमा

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको छ 
आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङको मिदिमखोलामा ७.५ मेगावाटको माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको हो ।

माथिल्लो मिदिमखोलाको बिजुली राष्ट्रिय प्रसारणमा

प्रवर्द्धक कम्पनी आफैंले निर्माण गरेको ३३ केभीको २६ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनमा आयोजनाको स्विचयार्डदेखि विद्युत् प्रवाह गरी भोर्लेटार लगिएको छ । विद्युत् आयोजनाको व्यापारिक उत्पादन मिति (आरसीओडी) भने तोकिएको छैन ।

‘ड्राई टेस्ट’, ‘वेट टेस्ट’ र ‘सर्किट टेस्ट’पछि टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्दै आन्तरिक परीक्षण भइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर पवन भट्टले जनाए । ‘हामी आरसीओडीको पर्खाइमा छौं । अहिले आन्तरिक परीक्षणका काम सकिने क्रममा छन्,’ उनले भने, ‘परीक्षण पूर्ण रूपमा सकिएपछि आरसीओडी माग्छौं । त्यतिन्जेल प्राधिकरणका इन्जिनियरहरूले अनुगमन–निरीक्षण गर्नेछन् ।’ आयोजनाबाट फागुन १६ देखि विद्युत् उत्पादन सुरु गरेर आन्तरिक उपकरणहरूको परीक्षण गरिएको हो । ‘दैनिकजसो विद्युत् उत्पादन गर्दै–रोक्दै काम भइरहेको छ,’ उनले भने । आयोजनाले हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान गरी पुस २४ देखि २८ सम्म ‘ड्राई टेस्ट’ गरेको थियो । ‘ड्राई टेस्ट’ पछि संरचनामा पानी भरेर ‘वेट टेस्ट’ गरेको थियो ।

प्रवर्द्धक कम्पनीले बाँधबाट ३.७३५ किमि लामो पेनस्टक पाइपमार्फत मिदिमखोलाको पानी ल्याएर तल्ह्यु सिरानबाट पानी खसालेर मिदिमखोला किनारमा निर्माण गरिएको विद्युत् गृहबाट बिजुली उत्पादन गरेको हो । आयोजनाबाट वार्षिक ४२.२५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाले प्रक्षेपण गरेको छ । आयोजनाको ग्रस हेड ४ सय ५७ मिटर छ । आयोजनामा विद्युत् उत्पादनका लागि दुई वटा होरिजेन्टल पेल्टन टर्बाइन जडान गरिएका छन् ।

प्रवर्द्धकले विद्युत् विकास विभागबाट ०७६ भदौ २६ मा उत्पादन अनुमतिपत्र लिएर ०७७ देखि आयोजनाको निर्माण कार्य थालेको हो । सुरुमा २ वर्षभित्रै (०७८ सालभित्र) आोजना निर्माण सकेर बिजुली उत्पादन गर्ने कार्यतालिका रहे पनि कोरोना संक्रमण जोखिम, बाढीपहिरोलगायत कारणले निर्माण प्रभावित भएको थियो । कोरोना संक्रमणले १ वर्षभन्दा बढी समय लम्ब्याइदियो । राजमार्गको पहिरो, ग्रामीण सडकको पहिरो तथा बाढीले समस्या बनाउँदा निर्माण कार्य लम्बिएको आयोजनाका जनसम्पर्क अधिकृत विनम ज्ञवालीले बताए ।

पछिल्लो तालिकाअनुसार ०७९ साउनभित्र विद्युत् उत्पादन गर्ने योजना थियो । ‘बाढीपहिरोले सडक बगायो । हामीले समयमै उपकरण आयोजनास्थलमा पुर्‍याउन सकेनौं । आयोजनाको निर्माण कार्य प्रभावित भयो,’ उनले भने । कुल १ अर्ब ४४ करोड रुपैयाँ लागत प्रक्षेपण गरिएको माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनामा कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । २५ प्रतिशत इक्विटी (स्वापुँजी) प्रवर्द्धक आफैंले जुटाएको छ । आयोजनाको निर्माण अवधि लम्बिएका कारण लागत बढ्ने प्रवर्द्धकले बताएको छ ।

आयोजना सञ्चालन जिम्मा इन्फ्रालाई

प्रवर्द्धक मिदिमखोला हाइड्रोपावरले आयोजनाबाट विद्युत् उत्पादन भएसँगै सञ्चालन तथा मर्मतसम्भारको जिम्मा इन्फ्रा प्रालिलाई दिने बताएको छ । आयोजना निर्माण सकेसँगै सञ्चालन र मर्मतसम्भारको जिम्मा आयोजना आफैंले लिने गरे पनि यसको जिम्मेवारी अर्को कम्पनीलाई करारमा दिने नयाँ प्रणालीको सुरु गरेको छ ।

विद्युत् आयोजनाबाट बिजुली उत्पादनपछि ५ वर्षसम्म सञ्चालत तथा मर्मतसम्भार जेड इन्फ्राले गर्ने सम्झौता भएको आयोजनाका प्रोजेक्ट म्यानेजर भट्टको भनाइ छ । विद्युत् उत्पादन, मर्मतसम्भारलगायतमा कर्मचारी भर्नादेखि व्यवस्थापकीय कार्य सबै इन्फ्राले गर्नेछ । दुवै पक्षबीच सम्झौता गरिए पनि आर्थिक भार भने खुलाइएको छैन । विद्युत् उत्पादन करारमा लिने कम्पनीले राम्रोसँग हेरचाह गरे आयोजनाको आयु लम्बिन सक्छ । आयोजनाले यसअघि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको १ वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मा लिएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×