सिँचाइ आयोजनाले स्थानीयको उठीबास

सरकारले बस्तीनजिक ड्याम बनाएपछि पीडामा देवदह र तिलोत्तमाका स्थानीय 

फाल्गुन २२, २०८०

सन्जु पौडेल

Irrigation project upliftment of local people

लुम्बिनी — रूपन्देहीको देवदह–३ वसन्तपुरकी ४० वर्षीया कुमारी मुसहरलाई रातभर निद्रा पर्दैन । बिहान उठ्दा कुटिरा बोकेर कता जानुपर्ने हो भन्ने पिरले जाग्रामै बस्छिन् । तीन वर्षअघि आफ्नै घर थियो । ४ छोरी र १ छोरासहितको परिवार खुसी थिए ।

अहिले अर्कैको घरमा परिवारले आश्रय लिइरहेको छ । उनको घर बाढीले बगायो । लत्ताकपडा केही बचेनन् । छिमेकीले उद्धार गरेकाले परिवार जोगियो । उनी अपांगता भएकी व्यक्ति हुन् । ‘घर बनाउन सकिएन,’ उनले भनिन्, ‘अर्काको शरणमा छौं ।’ 

एउटा खुट्टाको बलमा हिँडडुल गर्छिन् । गुजारा चलाउन श्रीमान् ट्र्याक्टर चलाउँछन् । पतिकै कमाइले परिवार धानिन सकस हुन्छ । ‘छिमेकीले दया मानेर एउटा कोठा दिएका छन्,’ उनले भनिन्, ‘देवता रहेछन्, भाडामा जाने कोठा हो, आफैंले पनि बुझेर निस्कन पर्ने भइसक्यो, कहाँ जाने ?’ भत्केको घर हेर्न, सांसद, स्थानीय जनप्रतिनिधि सबै आए, बनाइदिने आश्वासन पनि दिए । तर उक्त ठाउँ र घरको अवस्था उस्तै छ । देवदह–३ हात्तीडाँडाका मनबहादुर रुचालको पीडा पनि उस्तै छ । आगामी वर्षात्को चिन्ता उनलाई अहिल्यैबाट भइरहेको छ । ‘मेरो १ बिघाा खेत थियो, बाढीले पुरेर ४ कट्ठामात्र बाँकी छ,’ उनले भने, ‘म काम गर्न सक्दैन, खेत पुरिएपछि छाक टार्न धौधौ भो ।’ 

सरकारले सिँचाइसँगै सुन्दर पर्यटकीयस्थल पनि बनाउने भन्दै बस्तीनजिक ड्याम निर्माण गरेपछि देवदह–३ र तिलोत्तमा–१२ का स्थानीयको उठीबास लागेको रुचालले बताए । ‘खेत पुरियो, डिंगा बाच्छा लग्यो,’ उनले भने, ‘मान्छे बाँच्यौं, तर आइसाल के हुने हो, चिन्ता लागेको छ ।’ उर्लिएर आउने खहरे ड्यामका कारण ताल बन्छ । ड्यामकै कारण माटो, ढुंगा थिग्रिएर पानी बस्तीमा पस्न थालेको उनले जनाए । 

संघीय सरकारको योजनाअन्तर्गत ०७४ भदौ २४ मा शिलान्यास भएको रोहिणी सिँचाइ आयोजनाअन्तर्गत ड्याम निर्माण गरिएको हो । तर ड्यामबाट पानीको निकास नहुँदा क्षति हुन थालेको तिलोत्तमा–१२ का छविलाल खरेलको भनाइ छ । 

अनुगमनमा आएका प्राविधिकले ड्याम निर्माणमा गडबडी भएको स्विकारेका थिए । उक्त क्षेत्रको झन्डै ६० बिघा खेतीयोग्य जमिनमा माटो र ढुंगा थिग्रिएर खेती लगाउन नमिल्ने, केहीको जग्गा नै ड्याम बनाउन प्रयोगसमेत भएको खरेलले जनाए । देवदह–२ र ३ का हात्तीडाँडा, वसन्तपुर, टटेरा र तिलोत्तमा–१२ बाढीले हरेक वर्ष क्षति पुर्‍याउने गरेको उनले बताए । दुई वर्षमा पूरा हुने जनाइएको आयोजना ६ वर्षमा पनि अधुरै भएकाले क्षति बढेको उनको भनाइ छ ।

Irrigation project upliftment of local people

रोहिणी नदीमा ३ हजार ५०० मिटर लम्बाइको ताल निर्माण गरेर ८ सय मिटर चौडाइ र ५० मिटर गहिराइसहितको ड्याम बनाएर तिलोत्तमा र देवदह क्षेत्रमा १ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको तिलोत्तमा–१० का बासिन्दा तथा पूर्वप्रदेश योजना आयोग सदस्य दामोदर भुसालले बताए । आयोजनाको प्रस्तावमा बायाँ देवदहतर्फ २ हजार ६ सय ५५ लिटर प्रतिसेकेन्ड पानीको बहाव क्षमतासहितको क्यानल तयार गर्ने र तिलोत्तमातर्फ ९ सय ६५ लिटर प्रतिसेकेन्ड पानी जाने गरी क्यानल बनाउने उल्लेख भए पनि उक्त कामसमेत अधुरै छाडेर परियोजना अलपत्र पारिएकाले जनतामा निराशा छाएको उनले जनाए । 

जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको रोहिणी सिँचाइ योजनाअन्तर्गत हेडवर्क्स, गाइडबन्ड र प्रोटेक्सन निर्माणमा ३० करोड ७७ लाख ६८ हजार र नहर संरचनामा ८ करोड ७८ लाख ५१ हजारसमेत कुल ३९ करोड ५६ लाख १९ हजार रुपैयाँ खर्च भए पनि योजना सञ्चालनमा देखिएको छैन । संघीय सरकारको ४७ करोड २४ लाख ८६ हजार लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आयोजना अघि बढाएको थियो । कार्यालयले ०७४ जेठ ४ मा अर्घाखाँची बबुल जेभीलाई ०७७ जेठ ३ सम्म आयोजना सम्पन्न गर्न निर्माणको जिम्मा लगाएको थियो । 

आयोजना सम्पन्न नहुँदै बाँधका कारण बस्तीमा बाढी पस्न थालेपछि पुनः मूल्यांकनका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तयार पारेको डीपीआरबापत मन्त्रालयले भुक्तानी नदिएपछि ०७८ देखि नहरको कुनै पनि काम अघि नबढेको डिभिजन प्रमुख दामोदर सापकोटाले बताए । सम्झौताअनुसार ०७७ जेठ ३ मा सम्पन्न गर्नुपर्ने भए पनि ९० प्रतिशत काम भएर योजना अलपत्र छ । ०७२/७३ देखि सुरु भएको रोहिणी सिँचाइ आयोजनाको अध्ययन, बाँध निर्माण भई ०७८/७९ सम्म भुक्तानी भएको तथ्यांक रहेको कार्यालय प्रमुख सापकोटाले बताए । 

दुई प्याकेजमा काम भई भुक्तानी भएको उनले जनाए । ती २ मध्ये हेडअफिस बाँध पहिलो प्याकेजको रहेको र त्यसका लागि करिब ३१ करोड रुपैयाँ खर्च भएको देखिने उनको भनाइ छ । उक्त प्याकेज सम्पन्न हुन ८० सेन्टिमिटरभन्दा माथिको हाइप चाहिने भए पनि त्योभन्दा तल भएकै स्थितिमा भुक्तानी भएको पाइएको उनले जनाए । ‘८० सेन्टिमिटर तल राख्दासमेत बीचमा डुबान भयो,’ उनले भने, ‘ब्याकवाटरले डुब्यो भनेर जनताले आवाज उठाइरहेका छन् ।’ अर्को प्याकेजमा करिब ९ करोड खर्च भएको उनले बताए । उक्त बजेटअनुसार नहर निर्माण गरी तयार पारिएको भन्दै उनले बाँधमा पानी बग्ने पाटो खुला गरिए नहरबाट बग्ने काम सहजै हुने उनको भनाइ छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully