कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एक शोकमग्न यात्रीको मनोदशा

दुर्घटनाग्रस्त सौर्य एयर जहाजको झझल्को आइरह्यो
पर्वत पोर्तेल

काठमाडौँ — विराटनगर फर्किने जहाजको समय थियो, बुधबार दिउँसो १:४५ बजे । समय सदुपयोग गर्न काठमाडौं बागबजारबाट मुख्यालयतिर लम्किएँ ।

एक शोकमग्न यात्रीको मनोदशा

सेन्ट्रल बिजनेस पार्क थापाथलीमा रहेको मुख्यालय भवनको भुइँतलामै भेटिए सहकर्मी अंगद ढकाल । उनले चिया पिउन अनुरोध गरे । नजिकैको पल्पसा क्याफे गइयो । त्यहीं अर्का सहकर्मी दीपक सापकोटा र पूर्वसहकर्मी सीताराम बराल भेटिए । उनीहरूसँग एकछिन गफिएपछि चियाको अन्तिम सुर्को तानेर हामी त्यहाँबाट निस्कियौं । चियाको पैसा दीपकले नै तिरे ।

सेन्ट्रल बिजनेस पार्कको आठौं तलामा कान्तिपुरको न्युज रुम छ । त्यता उक्लिंदै गर्दा लिफ्टमै भेट भयो, ईकान्तिपुर अनलाइनका सम्पादक दुर्गा खनाल । लिफ्टबाटै सहकर्मी सुरज कुँवरले स्वागत गरे ।

न्युज रुममा सहकर्मीहरू आउने क्रम भर्खर सुरु हुँदैथ्यो । ईश्वरी ज्ञवाली, कञ्चन अधिकारी, रीना मोक्तान, यज्ञ बन्जाडे, सजना बराल, जनकराज सापकोटा, उपेन्द्रराज पाण्डेय, दीपक, अंगदलगायत हामी थियौं ।

अचानक अंगदले त्रिभुवन विमानस्थलबाट धूँवाको मुस्लो आकाशतिर उडिरहेको छ भने । त्यो थाहा पाएपछि हामी सबै न्युजरुमको पूर्वपट्टिको झ्यालतिर दौडियौं । त्यहींबाट जहाज दुर्घटना भएको पक्का अनुमान गर्न सकिन्थ्यो । तर, कुन जहाज, कसरी दुर्घटना भयो भन्नेबारे सबै सहकर्मी आ–आफ्ना स्रोतसँग जानकारी लिन र बुझ्नतिर लागे । अंगदचाहिं क्यामेरा च्यापेर घटनास्थलतिर दौडिए ।

एकैछिनमा पुष्टि भयो, दुर्घटनाग्रस्त जहाज सौर्य एयरको रहेछ । इन्जिनमा समस्या आएकाले एयरलायन्सका कर्मचारी र प्राविधिक लिएर जहाज पोखराका लागि ‘टेक अफ’ भएको रहेछ । तर, धावनमार्ग छाडेको निमेषभरमै जहाज दुर्घटनाग्रस्त भएको खबर आयो ।

०००

जहाज दुर्घटनापछि करिब एक घन्टा एयरपोर्ट ‘क्लोज’ भयो । मेरो उडान पनि एक घन्टा पछि धकेलियो । कुमारीपाटीस्थित सेन्ट्रल फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्म (सेसिफ) कार्यालयमा ‘लन्च’ गरेपछि सिन्धुपाल्चोकका सहकर्मी अनिष तिवारीले एयरपोर्टको प्रवेशद्वारसम्म ‘लिफ्ट’ दिए ।

एयरपोर्टको प्रवेशद्वारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सर्वसाधारणको मुहारमा वेदनाको कालो पोतिएझैं देखिन्थ्यो । अर्थात् सिंगो एयरपोर्ट शोकमग्न देखिन्थ्यो ।

विदेसिने यात्रु र उनीहरूका आफन्तको उपस्थितिले अन्तर्राष्ट्रिय टर्मिनल थामिनसक्नु थियो । यसो थोरै उक्लिएपछि आन्तरिक टर्मिनल भवन पुगियो । त्यहाँको परिदृश्य पनि उस्तै थियो । यात्रुहरू निराश देखिन्थे । करिब एक घन्टादेखि एयरपोर्ट बन्द हुँदा दर्जनौं आन्तरिक उडान ठप्प थिए । जसका कारण टर्मिनल भवनबाहिर र भित्र यात्रुहरूको चाप थामिनसक्नु थियो ।

बोर्डिङ पास बाँड्ने एयरलायन्सका काउन्टरहरूमा लाइन लामो देखिन्थ्यो । सँगै यात्रुहरूको मनस्थिति डराएझैं, आत्तिएझैं जस्तो अनुमान गर्न सकिन्थ्यो । कडा जाँचपास सकेर प्रतीक्षा कक्षतिर लाग्दा यात्रुको चाप झनै बाक्लो देखिन्थ्यो । त्यही बेला उडान खुल्यो । पौने २ बजे बुद्ध एयरको एउटा जहाज पोखरा उडिसकेको थियो । त्यसपछि सिमरा, भरतपुर र भद्रपुरका लागि क्रमशः जहाज उड्ने तालिका थियो । मेरो उडान अझै आधा घन्टा ‘डिले’ भयो ।

प्रतीक्षालयमा एकछिन टोलाएर बसिरहेको थिएँ, अचानक विमानस्थलकी महिला कर्मचारीले सुरिलो स्वरमा बोलाइन्, ‘बुद्ध एयरको विमानबाट विराटनगर पाल्नु हुने महानुभावहरू गेट नम्बर ५ तिर प्रस्थान गर्नुहोला ।’

जहाज उड्ने पक्का भो । तर, मनमा एक प्रकारको डर भने थियो । केही घन्टाअघिको ताजा दुर्घटनाले मन थोरै अस्थिर र मुटु अलि रफ्तारमा धड्किन थालेको थियो । जहाज चढ्नुअघि बसमा बसेका सबैको मनोदशा मेरै जस्तो होला भन्ने लाग्थ्यो । कसैको पनि मुहार हँसिलो र उज्यालो थिएन । मलिन अनुहार बोकेर हामी बुद्ध एयरमा चढ्यौं ।

सधैं मिठो मुस्कानका साथ विमानको ढोकामै स्वागत गर्ने परिचारिकाको सुन्दर मुहार पनि त्यति हर्षित थिएन । उनले दुःख लुकाएर हामीलाई न्यायो स्वागत गरेझैं लाग्थ्यो । विमानमा सबै यात्रु चढिसकेपछि परिचारिकाले सुरिलो स्वरमा भनिन्, ‘एयर ट्राफिकका कारण हाम्रो जहाज २० देखि २५ मिनेट ढिला हुन सक्छ । यसबाट तपाईंलाई पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

यति सुनिसकेपछि मैले यसो निदाउने निधो गरेँ । हुन त मलाई झ्याप्प निदाएर एकै चोटि विराटनगर पुगेर मात्रै बिउँझिने मन थियो । तर, यो निद्रा भन्ने चिज पनि बडो अजीबको हुने रहेछ । मान्छेले चाहँदा हत्तपत्त निद्रा नलाग्ने रैछ । जहाजका अन्य यात्रुहरूको होहल्लाले पनि होला म पटक्कै निदाउन सकिनँ । आँखा चिम्लिएको मात्रै थिएँ, मन अन्तै थियो । मनभित्र अनेक तर्कना नाचिरहेका थिए । अँह ! पटक्कै निद्रा लागेन ।

यत्तिकैमा परिचारिकाको दोस्रो स्वर गञ्जियो, ‘यात्रु महानुभावहरू अब हामी विराटनगर विमानस्थलतर्फ प्रस्थान गर्नेछौं । हाम्रो यात्राको समय ४० मिनेटको हुनेछ । कृपया कम्मरको पेटी बाँधिदिनु होला । विद्युतीय उपकरण बन्द गरिदिनु होला ।’

जहाज धावनमार्गतिर लम्कियो । मैले आँखा खोलेकै छैन । किनकि मलाई धावनमार्ग हेर्न मनै भएन । हाम्रो जहाज करिब दुई घन्टापछि बल्ल ‘टेक अफ’ गर्‍यो । केही घन्टाअघि ‘टेक अफ’ लगत्तै दुर्घटना भएको सौर्यको जहाजको झल्को आइरह्यो ।

जहाज निकै अघि बढिसकेको थियो । मैले आँखा खोलेकै थिइनँ । तर, सबै कुरा मैले सुनिरहेको थिएँ । महसुस गरिरहेको थिएँ । यत्तिकैमा एक जना महिलाको मोबाइल बज्छ । उनले रिसिभ गर्छिन् अनि भन्छिन्, ‘म आधा बाटो आइपुगेँ है, चिन्ता लिनु पर्दैन ।’

ती महिलाले बोलेको सुनेपछि एक परिचारिका आएर फोन अफ गर्न भन्छिन् । उनले बल्ल फोन अफ गर्छिन् । मलाई चाहिँ ती महिला फोनमा बोलेको सुनेर हाँसो लागिरह्यो । परिचारिकाले घोक्रो सुक्ने गरी फोन अफ या फ्लाइट मोडमा राख्नु भनेको कुरा ती महिलाले सुनिनन् या बुझपचाइन् ? बुझ्न सकिनँ ।

बेलाबेला जहाज ‘टर्बुलेन्स’ पनि भइरहेको थियो । तलमाथि, घच्याकघुचुक हुँदा मनमा कताकता ‘चस्स !’ डर पस्थ्यो । तर, सम्हालिनुको विकल्प थिएन । तेस्रो पटक परिचारिकाको आवाज गुन्जियो, ‘यात्रु महानुभावहरू अब हामी केही क्षणमा विराटनगर विमानस्थलमा अवतरण गर्दैछौं... ।’ यसले भने निक्कै राहत दियो ।

परिचारिका बोलेको करिब १० मिनेटपछि जहाज विराटनगरमा ‘ल्यान्ड’ भयो । जहाजभित्रका निराश यात्रुहरूको मुहारमा अचानक चमक देखा पर्‍यो । जहाजबाट ओर्लिंदै गर्दा एक महिला भन्दै थिइन्, ‘यात्रा नगरी पनि नहुने । यात्रा गर्दा पनि मुटुलाई बाँधेर यात्रा गर्नुपर्ने ।’

हामी ‘एराइभल’ तिर लम्किँदै गर्दा ‘डिपार्चर’ तिरका यात्रुहरूको मुहारमा केही समयअघिका हामीमा जस्तै निराशाको रेखा मडारिरहेको अनुभूत हुन्थ्यो ।

प्रकाशित : श्रावण १०, २०८१ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×