कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

स्वप्निल सभापोखरी

भाद्र १४, २०८१
स्वप्निल सभापोखरी

धर्तीमा स्वर्गको यो टुक्रा कहाँबाट आयो होला ? संखुवासभाको सभापोखरी पुग्ने जो कोहीले पनि यस्तो प्रश्न त सोध्छ नै ।  रसिला चट्टाने टाकुराहरू, चट्टानको कापबाट उम्रेर बार्‍है मास कलकल बगिरहने निर्मल जल अनि हिमाली बुकी फूलका परपरसम्म फैलिएको फाँट । 

एकैछिन उभिएर हेर्दा यस्तो लाग्छ, यी फुलहरु सभापोखरीमा अर्पित हुनकै लागि फुलेका हुन् । हिउँले नुहाई धुवाई गरेर सफाचट परेको चट्टाने टाकुराहरूको विचमा रहेको छ- सभापोखरी । अनि पोखरीको बिचमा विराजमान छ, अजंगको कछुवा आकृतिको बढेमानको ढुंगा । यसको सामुन्नेमा पोखरीमै तैरिएर बसेजस्तो भान हुने अर्को ढुंगा पनि छ । यो ढुंगामा प्राचीन कालमा व्यास ऋषि बसेर सभा गर्थे भन्ने जनविश्वास छ ।

यहाँको अद्वितीय सुन्दरता यतिमै मात्र सीमित छैन । यस क्षेत्रमा पाँचपोखरी लगायतका अन्य मनमोहक र अलौकिक पोखरीहरु पनि छन् । सभापोखरी भने कहिल्यै धमिलो नहुने कञ्चन पानीले भरिएको छ । त्यसैले भक्तजनहरुले चढाएका सिक्काहरु पिँधमा टल्किएको सजिलै देख्न सकिन्छ । समुन्द्री सतहदेखि ४२ सय ४० मिटर उचाईमा रहेको यो पोखरी करिब सय मिटर चौडा र २ सय मिटर लम्बाईमा फैलिएको छ ।

यहाँ पुग्न उति सजिलो भने छैन । सदरमुकामबाट तीन दिनको पैदलयात्रामा यहाँ पुगिन्छ । तर यो यात्रा पनि त्यति सहज भने छैन । भौगोलिक विकटता, प्रत्येक घुम्तीमा देखापर्ने अनेकन कठिनाई र उचाईका कारण हुने स्वासप्रश्वासजन्य समस्याहरु । थकाईको त के कुरा गराई भयो र ? तर आँखाअघि जब सभापोखरी देखापर्छ, सारा थकाई एकैछिनमा हराएजस्तो अनुभूति हुन्छ । मन अधैर्य भएजस्तो चञ्चल हुन्छ अनि शरिर चंगाजस्तै । कताबाट उभिएर कस्तो फोटो खिचौं भनेजस्तो अधैर्य त भईन्छ नै, यहाँको सुन्दरता कसलाई कसरी र कतिबेला पो बताउन पाईने हो भनेजस्तो छटपटी पनि भईहाल्छ ।

यहाँ पुगेकाहरु पोखरीको सौन्दर्यलाई क्यामेरामा कैद गर्न यति हतारिन्छन् कि त्यसको कुनै सीमा छैन । हतार नगरुन् पनि किन, कुनबेला कुहिरोले आँखा अगाडिको सौन्दर्य ढाकिदिने हो पत्तै हुँदैन । एकैछिन अघि पर परसम्म देखिएको दृश्य क्षणभरमै गायब भएजस्तो हुन्छ । अनि एकैछिनमा फेरि पुरै मौसम खुला पनि भईहाल्छ । एकैछिनमा निलो आकाश देखिन्छ, एकैछिनमा आकाश धुम्म परेर सिमसिम पानी परिहाल्छ । मौसम खुल्ने बित्तिकै गुलाबका पत्र-पत्र जस्ता पहाडहरु देखिन्छन् । अनि ती पहाडभन्दा पर हिमाली भेडाहरुको बथान थुप्रिरहेको जस्तो निख्खर सेतो बादल भुवा जसरी हल्का भएर आकाशमा तैरिरहेजस्तो देखिन्छ । त्योभन्दा पर क्षितिज र निलो आकाश भने सभापोखरीको कञ्चन पानीमै तरिएजस्तो अनुभूति हुन्छ । स्वप्निल सभापोखरी वास्तवमै मनमोहक छटाले भरिपूर्ण छ ।

सभापोखरी पुग्ने मुख्य २ बाटोहरु रहेछन् । एउटा तेह्रथुमको बसन्तपुर, संखुवासभाको टुटेदेउराली हुँदै गुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्र भएर गुफापोखरी हुँदै ताप्लेजुङको मनमोहन पहाड छिचोलेर सभापोखरी पुग्ने । यो बाटो तुलनात्क रुपमा सहज छ । किनभने उकाली ओराली थोरै पर्छ । अर्को बाटो छ, संखुवासभाको सदरमुकाम खाँदबारीबाट बाह्रबिसे हुँदै जाने । बाह्रबिसेबाट करिब ८ किमी यात्रा त गाडीमै गर्न सकिन्छ । त्यसपछि भने पैदल यात्राको विकल्प छैन । समुन्द्री सतहदेखि करिब ७५० मिटरको उचाईमा रहेको यो स्थानबाट सुरु हुने यात्रा सभापोखरीमै पुगेर टुंगिन्छ ।

मौलिक संस्कृतिका धनी लिम्बु बाहुल्य क्षेत्रको सांस्कृतिक विविधता नियाल्दै गरिने यात्रा लिम्बुबस्ती फाकुवा पार गरेपछि भने लगातार उकालो चढाई हुँदै अघि बढ्छ । उकालो चढ्दै जाँदा मकैबारी पनि देखिन छाड्छ । पाखाभरी देखिने खर र विभिन्न जातका लहलह झुलिरहेका घाँस छोएर बहने सिरसिरे हावाले छोईरहन्छ । यात्राको दुःख थोरै भएपनि कम गराईरहन्छ ।

यात्राको बिचबिचमा देखिन्छन, भेडीगोठहरु । एउटा गोठबाट अर्को गोठसम्म ओहोरदोहोर गरिरहेका स-साना बाबु नानीहरु । सामान्यभन्दा पनि कम गतिको हिडाईंले पनि श्वास बढिरहेको अनुभव भईरहेको बेला समुन्द्र सतहदेखि २८५० मिटर उचाईमा रहेको माथिल्लो हाङदो खर्क आसपास बाबुनानीहरु निस्फक्री कुदिरहेको देखिन्छ ।

यात्रामा कुहिरोमण्डलभित्र हिँडिरहेको भान हुन्छ । स्थानीयहरु भन्छन्, यहाँ कुहिरो नहुने हो भने मानिसहरु उकाली ओराली नै गर्न सक्दैनन् । कुहिरोले गर्दा तल र माथीको दृश्य देख्नुपर्दैन र डर हराउँछ भन्ने स्थानीयको तर्क हो जस्तो लाग्यो ।

चलेत्रोको भीर उक्लिेनबित्तिकै सफा मौसम देख्न पाईन्छ । करिब ३८५० मिटर उचाईको यो चलेत्रो भीरको सिरानमा बिहानपख पुग्न सक्ने हो भने पल्लोपट्टी रहेको गोरुजुरेको पहाडलाई उदाउँदो सूर्यको पहिलो किरणले स्पर्श गरेको मनमोहन दृश्य देख्न पाईन्छ ।

चलेत्रोको भीरको सिरानलाई स्थानीयहरु विषबारी भन्छन् । किनकी यहाँ देखिने कैयन सुन्दर फूल तथा बोट बिरुवा विषालु हुन्छन् रे । यिनै फूल र बोट बिरुवा छोएर बहने हावाले यात्रीलाई टाउको दुखाउने र लेक लाग्ने समस्या उत्पन्न गराउने गर्दोरहेछ ।

विषबारी कट्ने बित्तिकै बान्की परेका पहाड, अनेकन बनस्पति र जडिबुटी र कल-कल बगिरहेको पानी र त्यसको संगीतले यात्रा मनमोहक गराउँछ । कहिँकतै तेर्सो बाटो पनि आउँछ । खुट्टाहरु फुरुङ्ग परेजस्तो गर्छन् । फलेलेमा पुगेपछि भने बाह्रबिसेबाट आउने यात्रु र गुफापोखरी तथा ताप्लेजुङ हुँदै आउने यात्रुहरुसँग भेट हुन्छ ।

उकाले र तेर्सोबाटो छिचोल्दै बतासे सेलेलेको चट्टानी बाटो हुँदै ४२ सय ७८ मिटर उचाईमा रहेको धर्म ढोकामा पुगुन्जेल बाटोमा ढकमक्क फुलेका हिमाली बुकी फूलहरु देखिन्छन् । चक्कर लाग्ने भीरमा खुरुरु दौडिरहेका जंगली भेडाहरु, अनेकन स्वरका धनी चराचुरुङ्गीहरु हाम्रो यात्राको साक्षी जस्ता लाग्छन् ।

धर्मढोकामा पूजाआजा गरिसकेर करिब एक किमी दूरी पार गरेपछि सभापोखरी पुग्न सकिन्छ । करिब २३ किलोमिटरको दूरी पैदल यात्रा पुरा गर्न जाँदा ३ र फर्किँदा २ दिन लाग्छ । कष्टप्रद यात्राको सम्झनाले भन्दापनि गन्तव्यमा पुगिसकेपछि देखिने सुन्दरताले मन यसरी भरिन्छ, हृदय यसरी ढक्क फुल्छ कि सारा संसार भुलेर यही प्राकृतिक सुन्दरतामा हराउँछ जस्तो ।


प्रकाशित : भाद्र १४, २०८१ १४:०२
×