कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

चीनको बढ्दो सफ्टपावर

पहिले चीनको बारेमा सोच्दा गर्दा झट्ट मस्तिष्कमा आउने कुराहरु हुन्- मार्सल आर्ट (कुंग फू), ग्रेटवाल, खाना, बेइजिङ ओपेरा, अनि पाण्डा ।अहिले भने त्योबाहेक चीनको तीव्र आर्थिक विकास, गरिबी न्यूनिकरण, चिनियाँ नेतृत्व र यसले अन्तराष्ट्रियस्तरमा बनाएको सकारात्मक छवि नै हो ।

चीनको बढ्दो सफ्टपावर

पाँच हजार वर्ष पुरानो सभ्यता, संस्कृति, दुई हजार वर्ष पुरानो कन्फ्यूसियस मूल्य मान्यता, र अहिलेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) यी सबैको कूलयोग नै चीनको सफ्टपावर हो ।

विश्वमा चीनको शान्तिपूर्ण उदय हुनुमा चिनियाँ सफ्टपावर नीति पनि एक हो । अहिलेसम्म हेर्दा चीनको उदय अन्तर्राष्ट्रिय प्रणालीभित्रै रहेर नै भएको हो जसलाई 'स्टेट स्याचुरेशन' भन्निछ । यो अरु जस्तो यद्धबाट आएको होईन । त्यसैले पनि यसलाई 'पिसफुल राइज' भनिएको हो । तर उदय आफैंमा शान्तिपूर्ण हुन्छ कि हुन्न अर्को बहसको विषय हो । तथापी, बिना युद्व अन्तर्राष्ट्रियस्तरमा विकासको हरेक आयाममा अगाडी आउनु आफैंमा सफ्ट पावर हो ।

अमेरिकाका प्रोफेसर जोसेफ एस. न्येले सफ्टपावरको अवधारणालाई अगाडि सारेका हुन् । उनको विचारमा सफ्टपावर भनेको जबर्जस्ती नगरी अरुको व्यवहारलाई प्रभाव पार्ने क्षमता हो । उनले पावरलाई हार्डपावर, सफ्टपावर र स्मार्टपावरमा वर्गीकरण गरेता पनि यसको अभ्यास भने चीनमा पहिले देखि नै हुँदैन आएको पाइन्छ ।

चीनले कन्फ्यूसियस इन्स्टिटयूटका माध्यमबाट भाषा तथा संस्कृतिको प्रवर्धन गरिरहेको छ । सर्वप्रथम, सन् २००४ मा दक्षिण कोरियामा कन्फ्यूसियस इन्स्टिटयूटको स्थापना भएयता संसारैभरि करिब पाँचसय भन्दा बढी यस्ता इन्स्टिटयूटहरु स्थापना भएका छन् । कन्फ्यूसियस मान्यताले नैतिक मूल्य मान्यता, आपसी सम्मान र भाइचारालाई अभिवृद्वि गर्ने कुरामा जोड दिन्छ । चीनको वैदेशिक नीतिमा पनि यो मूल्यमान्यताको प्रभाव देख्न सकिन्छ । तर, पश्चिमा चिन्तक म्याक्सवेबरले चीनमा कन्फ्यूसियसवादले गर्दा पूँजीवादको विकास हुन नसकेको धारणा व्यक्त गरेको थिए जुन आफैंमा पर्याप्त अध्ययन नगरी निष्कर्षमा पुगेको धेरैको अनुमान छ ।

त्यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङले एक दशक लामो चिनियाँ साँस्कृतिक क्रान्ति (१९६६–१९७६) गर्दा पुरानो विचार, पुरानो संस्कृति, पुरानो परम्परा अनि पुरानो रीतिरिवाजहरुका विरुद्व उभिएका थिए । पछि, सन् १९७८ मा देनस्याओपिङ सिंगापुरको भ्रमण गर्दा तत्कालीन प्रधानमन्त्री ली क्वान यू सँग सिंगापुरको विकासको बारेमा छलफल गरेका थिए ।

ली क्वान यू ले उनलाई राजनैतिक स्थिरता, द्रुत आर्थिक विकासका लागि बाह्य लगानी भित्राउन तथा शिक्षा प्रणालीमा सुधार गर्न सुझाव दिएका थिए । तर उनले यो पनि भनेका थिए की सिंगापुरको विकास कन्फ्यूसियस मूल्यमान्यताका कारण सम्भव भएको हो ।

वास्तवमा यो प्रणालीले 'जनता सबैभन्दा महत्वपूर्ण हो, सरकार दोस्रो हो...' भन्ने बाट पनि कति लोकतान्त्रिक छ भन्ने देखाउँछ । कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय कांग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले भनेका थिए, 'हामीले चीनको साँचो, बहुआयामिक र चौतर्फी छवि प्रस्तुत गर्नुपर्छ, र चीनको सफ्टपावर र विश्वमा चिनियाँ संस्कृतिको प्रभाव बढाउनुपर्छ ।' यस भनाईबाट पनि चीन आफ्नो संस्कृतिलाई सफ्टपावरको आधार मान्दछ । वास्तवमा, सफ्टपावरको कुरा भने चीनका तत्कालीन राष्ट्रपति हुजिन्ताओले सन् २००७ मा आफ्नो भाषणमा उल्लेख गरेका थिए ।

उनले संस्कृति राष्ट्रिय एकता, सिर्जनशीलता, विश्वव्यापी क्षेत्रमा प्रतिस्पर्धात्मक शक्तिको बढ्दो महत्वपूर्ण स्रोत बन्दै गएको बताएका थिए । उनले जनताको आधारभूत साँस्कृतिक अधिकार र हितलाई अझ राम्रोसँग सुनिश्चित गर्न चिनियाँ संस्कृतिलाई देशको सफ्टपावरको हिस्साको रुपमा प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । समग्रमा, आपसी सम्मान र भाइचारालाई अभिवृद्धि गर्ने कन्फ्युसियस दर्शनलाई वैदेशिक नीतिमा समेत समावेश गरी सहयोग, सहकार्य, सम्मान र सहअस्तित्वका अवधारणाबमोजिम चीन अघि बढिरहेको छ ।

चिनियाँ लेखकहरुको एक सम्मेलनमा राष्ट्रपति सी चिनफिङले 'जब हामी फल खान्छौं, हामी त्यो रुखको बारेमा सोच्दछौ जसले त्यसलाई फलाएको हुन्छ, जब हामी पानी पिउँदछौं, हामी यसको स्रोतको बारेमा सोच्दछौं' भनेबाट पनि चिनियाँ संस्कृति नै चिनियाँ सफ्टपावरको स्रोत हो भन्ने देखिन्छ ।

चीनमा एक अर्कालाई पाण्डा अंकित उपहारहरु दिने चलन चिनियाँ संस्कृतिको एक अभिन्न अंग नै हो । खासगरी, अन्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई सद्भावनाको प्रतीकका रुपमा पाण्डा नै प्रदान गर्नु नै पाण्डा कूटनीति भनिन्छ ।

हालैका वर्षहरुमा चिनियाँ सरकारले अमेरिका, फ्रान्स, जापान र दक्षिण कोरिया लगाएतका राष्ट्रहरुलाई पाण्डाहरु दिएको छ । वास्तवमा यस्तो खालको पाण्डा कूटनीति नै चीनको सफ्टपावर हो । यस्तो कूटनीतिको अभ्यास भने सातौं शताब्दीमा चिनियाँ सम्राटले शान्तिको संकेतको रुपमा जापानमा एकजोडी पाण्डा पठाएबाट भएको हो । सन् १९४९ मा कम्युनिष्ट पार्टी सत्तामा आएपछि तत्कालीन अध्यक्ष माओत्से तुङले उत्तरकोरिया र सोभियत संघ (हालको रुस) लाई पाण्डा उपहार दिएर यस्तो अभ्यासको पूर्नजीवित गरेका हुन् ।

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण पछि कूटनीतिक संकेतकारुपमा सोही वर्ष लिङ–लिन र हसिङ–हसिङ नाम गरेका एक जोडि पाण्डा वासिङटन डीसी पठाईएको थियो । तत्कालीन विश्व राजनैतिक परिस्थितिले चीन–अमेरिका नजिकिनुमा धेरै तथ्यहरुमध्ये पाण्डा कूटनीति पनि एक कारक हो जसबाट दुवै देशको सम्बन्धमा नयाँ युगको सुरुवात भएको मानिन्छ । यसरी चीनले लामो समयदेखि आफ्नो कूटनैतिक अभ्यासमा पाण्डा उपहार प्रदान गर्दै सफ्टपावर प्रस्तुत गर्दै आएको छ ।

चीनमा एउटा भनाई छ भने एउटा शत्रु पनि धेरै हुन्छ र सयजना साथीहरु पनि थोरै हुन्छन् । सी चिनफिङ भन्छन्, हामीसँग साथीहरुको फराकिलो सर्कल हुनुपर्छ । साथीहरु जति धेरै भयो त्यति राम्रो भन्ने भनाईबाट पनि चिनियाँ संस्करणको सफ्टपावर थप मित्रहरु बनाउनमा केन्द्रित छ ।

चीनमा सार्वजनिक नीतिको सुरुवात सन् २००९ मा पूर्व राष्ट्रपति हुजिन्ताओको समयदेखि औपचारिक रुपमा सुरु भएको मानिन्छ । यसको मुल उद्देश्य अन्तर्राष्ट्रियस्तरमा चीनको छवि सुधार्न र अन्य देशहरुसँगको सम्बन्धलाई बलियो बनाउनु हो ।

उनले यसलाई चीनको आर्थिक तथा राजनैतिक हितलाई अघि बढाउने उपायका रुपमा हेरेका थिए । चीनले आर्थिक विकासका लागि वैदेशिक लगानी आकर्षित गर्न सार्वजनिक कूटनीतिलाई अगाडी सारेको पाईन्छ । हु ले चीनको भाषा, महान संस्कृति र मूल्यमान्यता जस्ता सफ्टपावरलाई प्रवर्धन गर्न सार्वजनिक नीतिको प्रयोग गरेका हुन् । कुनै समयमा चीनबाट विद्यार्थीहरु अध्ययनका लागि रुस, युरोप र अमेरिका जाने गरेका थिए भने अहिले संसारैभरिबाट विद्यार्थीहरु चीन जान थालेका छन् । यो पनि चीनको सफलता हो ।

सन् २००८ मा ओलम्पिक खेल आयोजना गरेर पब्लिक कूटनीति मार्फत चीनले आफ्नो सफ्टपावर देखाउने अवसर प्राप्त गरेको थियो । त्यसैगरी, सिल्क रोडको 'पुनरुत्थान'को रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) मार्फत विकास रणनीतिलाई सशक्त गर्ने प्रयास गरिएको छ । यसले कनेक्टीभिटी लाई जोडदिन्छ । बीआरआइको धेरै पक्षहरु मध्ये मानिस–मानिसहरु बीचको अन्तर्क्रिया तथा सम्बन्धलाई बढाउनु हो । सफ्टपावरको रुपमा बीआरआइका राजनैतिक र आर्थिक पक्षका बावजुद यसले थप साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्दछ । यो रणनीति अन्तर्गत बीआरआइ छात्रवृत्ति प्रदान गर्नु, सांस्कृतिक गतिविधिहरु गर्नुका साथै युवाहरुबीच संवाद र सहकार्य तथा भ्रमणलाई प्राथमिकतामा राखिएको छ, जुन चीनको बढ्दो सफ्टपावरका रुपमा हेर्न सकिन्छ ।

अन्तममा, चिनियाँ सफ्टपावर समयसँगै फड्को मार्दैछ । चार दशकको आर्थिक सुधार पनि चिनियाँ संस्करणको सफ्टपावरको कारक तत्व हो । अर्को अर्थमा चीनको आर्थिक विकासले पनि सफ्टपावरलाई मलजल गरेको छ । धेरैको भनाईमा सफ्टपावरको उद्देश्य अन्तमा हार्डपावरलाई (सैन्य शक्ति) नै सहयोग गर्नु हो । तथापी, विभिन्न कारणहरु बाहेक भाषागत जटिलताले पनि चीनको सफ्टपावर अन्य ठूला शक्ति खासगरी अमेरिकाको तुलनामा कमजोर रहेको छ । चलचित्रको उत्पादन तथा प्रवर्धन पनि सफ्टपावरको एक महत्वपूर्ण पक्ष हो । तर, हलिवुडको लोकप्रियताको तुलनामा चीन धेरै पछाडि रहेको छ । अन्तर्राष्ट्रिय आमसञ्चारको कुरा गर्दा भने चीन पश्चिमका देशहरु भन्दा धेरै पछाडि रहेको अध्ययनले देखाएको छ । जे होस्, चिनियाँ संस्करणको सफ्टपावर यसको उत्पत्ति, साँस्कृतिक, आर्थिक विकास, विचार, नीति तथा कार्यक्रम र नेतृत्वका हिसाबले धेरै फरक छ । यो चिनियाँ नेतृत्वले भन्ने गरेको आपसरी सहकार्य, समझदारी र पारस्परिक लाभ अर्थात् 'वीन–वीन' र चीनको सपनासँग पनि सम्बन्धित छ । चिनियाँ संस्करणको सफ्टपावर चिनियाँ विशेषताको समाजवादलाई फलदायी बनाउनतर्फ निर्देशित रहेको पाईन्छ ।

(लेखक चीनको सिचुवान विश्वविद्यालयका पीएचडी स्कलर हुन् )


प्रकाशित : जेष्ठ १७, २०८१ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×